खुलामञ्च, बसपार्कबाट साढे सात बजे बस छुट्यो। करिब साढे नौ बजे जिरोकिलो पुग्यौं। मण्डन देवपुरी, हिँगुपाटी, इन्द्रावतीको तिरैतिर सिपाघाटको सानो बजार पार गरेर बाहुनेपाटी, अनि बाँसबारी हुँदै करिब साढे ११ बजे मेलम्ची पुग्यौँ। ढिलो नगरी भोकको औषधी यतै खायौँ।
पाँचपोखरी पुग्ने चल्तीका दुइटा बाटा रहेछन्। मेलम्चीबाट तिपेनी, धाप, मानेखर्क भोताङ हुँदै नोसिमपाटी र दोस्रो सिन्धुपाल्चोक, चौताराबाट स्याउले, सानो ओखरेनी, फुस्रे, कामीखर्कडाँडा, जुकेडाँडा, पौवाबास जताबाट गए पनि पुग्नै पर्ने नोसिमपाटी।
प्रकृति र संस्कृतिसँग रमाउने मेरो इच्छा साउन मासको बादलझैं मडारियो। बागबजारको चियापसलमा बसेर अमृतजी र मैले योजना बनायौँ। जाने भयौं तीन जना अमृत, इन्द्र र म, मेलम्चीको बाटो जनैपूर्णिमाको मेला भर्न।
मेलम्चीबाट तिपेनीसम्म बस जाँदो रहेछ। होटल साहुले हामी हिँड्नै आएका ठानेर हो कि बस कुर्नुभन्दा हिँड्नु नै बेस भने।
इन्द्रावतीको झोलुङ्गेपुल तरेर धान रोप्न ठीक्क पारेजस्तो हिले मोटरबाटोतिरै पाइला बढायौं। बाटोमै जलेश्वर महादेव रैछन् हिलोमै डुबेका। राजधानीवासी भएकाले त्यतिबेला हिलो र धुलो हाम्रा लागि मितैसरी थिए।
कुरा हो, ०७४ साल साउन १० को।
अविरल बग्दछ इन्द्रावतीको शिर पाँचपोखरी पुग्ने हामीले अठोट गर्यौँ। समुद्र सतहबाट ४३ देखि ४६ सय मिटरको उचाइमा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र पाँचपोखरी सिन्धुपाल्चोकको भोताङ लेकमा पर्छ।
विश्वकै उच्च सिमसार कुण्डमध्ये नवौंमा पर्ने जसलाई सूर्यकुण्ड, भैरवकुण्ड, गणेशकुण्ड, नागकुण्ड, र सरस्वतीकुण्ड भनेर पुजिन्छ।
ज्यामिरे, काफ्ले खोला तर्दै सिम्लेबेसीको तिपेनी हाइड्रो पावरकेन्द्र, खाल्टे पुग्दा झण्डै २ बजेको थियो। स्थानीय विष्णु पुरीले हाइड्रोपावरबाट ०५५ सालदेखि ७.५ किलोवाट बिजुली निकालेर भोटेकोशी लाइनमै जोडिएको कुरो बताए।
तिपेनी बजारमा चिया खाँदै गर्दा भेटिएका ८२ वर्षीय बद्रीनारायण श्रेष्ठसँग तिपेनीबारे सोधेँ, ‘इन्द्रावती, छरछरे खोला र तिपेनी खोला मिसिएर त्रिवेणी बनेको हो, यही त्रिवेणीबाट ‘तिपेनी’ बन्यो।’
थाङपाल गाउँपालिका बाँसखर्क, वरूवा, भोताङ, थाङपालकोट, गुन्सा, थाङपालधाप, भोटेनाम्लाङ र लागार्चे ८ वटा गाविस मिसिएर बनेको थाहा भयो चिया खाँदै गर्दा।
बाटामा भेटिए जाजरकोटे युवा निम भाइ। थर अहिले बिर्सें।
‘पाँचपोखरी?’ मैले सोधेँ।
‘म त अफिस खोज्दै हिँडेको सर’, हाँस्दै भने।
निम भाइ मेलम्ची कृषि सेवा केन्द्रबाट पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि खटिएका जेटिए रहेछन्।
महादेव खोलामा पुल निर्माणको काम भैरहेको थियो। पुल पारिबाट भोताङसम्म जाने मिनिटाटा, जिप पाइन्छ, प्रतिव्यक्ति पाँचसय भाडा लिन्छन्, उनैले सुनाए, तर गाडी आएन। हाम्रा गोडा हिँड्नै तम्सिए। जङ्गलको बाटो हुँदै चार बजेतिर चिन्ने गाउँ पुग्यौँ। दाहिनेतिरको ढाव गाविस जाने बाटो नलागी, गुन्छा राइथान जाने बाटो लाग्यौँ।
हामी अघिका बटुवाले पाति चढाए। किन चढाको ? उनले भने ‘पुर्खाको बिँडो थामेको।’
सडकको देव्रेतिर याङ्ग्री खोलाको छेवैको ढुङ्गामा गाईको पाइला आकृति रहेछ। हामीले पनि पातl चढायौं।
याङ्ग्री खोला यतै गडगडाइरहेको थियो। ऊ भन्दै थियो, ‘म पनि एकदिन मेलम्चीसँगै काठमाडौं आउँछु, उतै भेटौंला।’
भूकम्पले जीर्ण पारेको सिन्धुपाल्चोक टिनपाताले रंगिएका देखिन्थे। जेटिए निम भाइले याङ्री डाँडामाथि रहेको बरूवा गाविस देखाउँदै भने ‘भूकम्पबाट प्रभावित गाविसमध्ये नेपालकै सबैभन्दा प्रभावित ठाउँ हो सर त्यो। जहाँ दुई तीन मिटरका धाँजा फाटेका थिए।’
राहत वितरणमा पुग्दाका घटना सविस्तार सुनाउँदै उनले भने ‘एउटै वडाका ५२ जना र गाविसभरि झण्डै तीनसय मानिसले ज्यान गुमाए।’
बरुवा गाउँ हेर्न हामीलाई शिरको टोपी समाउनु पर्यो।
गाउँपालिका धापमा छ रे, धापसम्म साथी बनेका जेटिए गुफा डाँडा आइपुगेपछि भने जिल्लिए।
पाँचपोखरी थाङपाल गाउँपालिका बनेपछि धापमा नभई ८ गाउँको केन्द्र पर्ने गोल्मेस्वरीमा सरेको कुरो स्थानीयले बताइदिए।
उनी याङ्ग्री खोलामा माछा मार्न आएका उतैका भाइहरूसँगै उकालो लागे।
हामी भने याङग्रीमा मिसिन हतारिएको हाँडीखोलाको तिरैतिर अगाडि बढ्यौँ।
हाँडीखोलामा पक्की पुल रहेनछ। झोलुङ्गे पुल तरेर नाकै ठोकिने ठाडै भिरको बाटो उक्लियौँ।
माथि थाप्लामा ‘थाप्लाङ मा. वि.’ रहेछ, गुरूहरू ओरालो झरिरहेका थिए।
इन्द्रले भने- कति अप्ठ्यारो बाटो। डब्लु डब्लु एम भन्ने संस्थाले ढुंगाको सिँढी राखिदिएकाले अहिले त सहज भयो सरले भने।
हाम्लाई भने खुइखुइ गर्दै पसिनै काढ्न पर्ने।
धापगाउँ पुग्दा घाम बास बस्न खोज्दै थियो। हामी बाटो छोट्याउन पाइला बढाउँदै थियौँ। एक्कासि मुसलधारे पानी परिहाल्यो। तै, पसलमै ओत लाग्न भ्याइयो, ब्यागले वर्षादी ओढ्यो छाता आफूले। झमक्क साँझ पर्यो,अगाडि जाने कि बास बस्ने दोधारमै थियौं, तै ढुङ्गा खोज्दा देउता मिलेझैं बाटामा पाका मानिस भेटिए।
यात्रीले बाटो छोट्याउनु जाति, हिँड्नुस् बास बस्ने ठाउँ माथि छ। जङ्गलको बाटो डर र शङ्का बोकेरै उनकै पछिपछि लाग्यौँ।
कुरा गर्दै जाँदा थाहा पाइयो, उनी धाप हाइड्रोपावरका रातका पहरेदार रहेछन्। पापी मन शान्त भयो।
धापमा कान्छा गोले झाँक्रीको बाटो छेउमै एकतले जस्ताको टहरो रहेछ।
‘झाँक्रीभाइ, लौ पाहुना ल्याइदिएको छु’ बुढाले भने।
हामी उनकै पछि लागेर भित्र पस्यौं। लौ हामी त झाँक्रीको मेला हेर्न आएको बासै झाँक्रीकै घरमा, के चाहियो अब।
भाइका घर गरेर खाने सातौं श्रीमती कान्छी तामाङ्नी, बुढाले चिनाए।
धामी झाँक्रीको रमाइलो हेर्ने, भिडिओ बनाउने हाम्रो इच्छा एकैछिनमा तुषारापत भयो। यसपाला कैयौं वर्षपछि जनैपूर्णिमाको दिन चन्द्रग्रहण परेकाले नागपञ्चमीका दिनमै जनैपूर्णे मान्ने पञ्चाङ्ग समितिको निर्णय रहेछ।
सिन्धुपाल्चोकका तामाङ जातिका झाँक्रीहरू जनैपूर्णे, नागपञ्चमीका दिन हैन पूर्णिमाकै दिन अर्थात् साउन २३ गते नै हुन्छ। त्यसका लागि साउन २० गते मात्र आ–आफ्ना गाउँबाट मेला भर्न जाने निर्णय सुनेपछि मन खल्लो भयो।
कान्छा गोलेले बुढालाई खोएविर्के र सितन खुवाए। कान्छी तामाङनीले हामीलाई तातोपानी र चिसोपानी खुवाएर तताइन्। भात पस्कँदै, कान्छी तामाङनीले भनिन् ‘हेर्नुस न सर, छोडेर गैसकेका स्वास्नीहरू पनि अझै आएर खाने बस्ने गर्छन्। हाम्रो बुढो त्यसमै रमाउँछ, मलाई पटक्कै मन पर्दैन। बेचेको सम्पत्ति र छोडेर गएकी स्वास्नीलाई आफ्नो भन्न मिल्छ ?’ उनले मनको बह पोखिन्।
यिनैबाट जन्मेका छोराछोरीहरू पल्लो कोठामा कोही पढ्दै थिए, कोही मोबाइल चलाउँदै थिए। हामीले कान्छा गोलेलाई यो उमेरमा अब घर नबिगार्न सम्झायौँ। ‘सम्झेर आउँछन् ता, मरिलानु के छ हजुर, यसो वात मारने रमाइलो मात्र हो।’ कान्छा गोलेलाई रङ चढिसकेकाले, हाम्रा कुरा रङमै उडाइदिए।
रात निकै छिप्पिसकेको थियो। म अँगेनाको छेउमै आगो ताप्दा ताप्दै फ्याङलो गुन्द्रीमाथि भुसुक्कै भएछु। साथीहरू खाटमा सुतेछन्।
हिँड्नु अघि बिहानै कान्छा गोलेका परिवारसँग फोटो खिचायौँ। भोताङ कोटगाउँ जाने सडकको बाटो छोडेर गोरेटोबाट उकालो लाग्यौँ। कहिले कच्ची बाटो, कहिले खेतका आली कान्ला हुँदै ढाडखर्क पुग्यौँ।
पानी पनि कति दर्कन सकेको, बेस्सरी दर्क्यो। यता खत्री, कँडेल, सापकोटाको बसोबास रहेछ। घरबेटी सापकोटाले बताइदिएको छोटो बाटो मकैबारी र धानखेत हुँदै मानेखर्कको सडक भेट्यौँ।
धुलिखेल अस्पतालको सहयोगमा चलेको ‘मानेखर्क स्वास्थ्य केन्द्र’ को राम्रै भवन रहेछ।
यस ठाउँलाई थाङपालकोट नागी मेन्धाङ डाँडा भनिँदो रहेछ।
उँचा ठाउँमा भोताङ रहेछ। त्यता पुरूषहरूको प्रायः खरानी रङको दौरा सुरूवाल, टोपी र कम्मरमा पेटी भारी बोक्दादेखि ठाटिँदासम्मको पहिरन थियो।
यता चिया पसल बाक्लै रहेछ। चिया चाख्दै पासगाउँ पुग्यौँ।
हिजो बास बसेका पदयात्री भेटिए। खोलानाला, घटृ, झर्ना वारिपारि हेर्दै रमाउँदै, फोटो खिच्दै छिम्ती भोताङ बजार पुग्यौं। सानो बजार रहेछ। एकछिन टहलिएर ओरालो लाग्यौं। अत्यास लाग्नेगरी खसेको दूधे छाँगो तलको लामो झोलुङ्गे पुल तर्दा आनन्द आयो। वनैवनको ढुङ्गे सिँढी हुँदै करिब १ घण्टा ठाडै उकालो लागेपछि दुई वटा आकर्षक छोर्तेन भेटिए। देउरालीमा खान बस्न पाइने दुइटा पसल रहेछन्।
हामी यतै बस्यौं फुर्तोकी तामाङको होटलमा। दिनको १ बजेको थियो। हिँडेको भए साँझसम्म नोसिमपाटी बास बस्न पुग्थ्यौं। बाटाका सहयात्री उतै लागे। तामाङ भाषामा मेमे भनेको हजुरबा रहेछ। फुर्तोका बुढा हामी सबैको मेमे बने। मेमेका परिवार हँसिला र फरासिला थिए।
मेमेसँग बिहानै, झिसमिसेमै बिदा लिएर हिँड्यौं। पाँचपोखरी पुग्ने उत्साहले शरीरमा छुटृै स्फूर्ति आएको थियो। यात्रामा उकाली, ओराली चढ्नु त नियति नै भए, दूधे खोलाका साँघु तर्दै, मनमोहक झरनाहरू पार गर्दै, चौंरीगोठमा थकाइ मार्दै, चौंरीको दूध, छुर्पी, भिर मौरीको मह चाख्दैै अगाडि बढ्यौं। जादुगरीझैं ठाउँ बस्ती लुकाइदिने हुस्सुको मजा, छोर्तेन र चौंरीका बथानसँग फोटो खिचाउँदै, उकालै उकालो चढेर नोसिमपाटीको थाप्लो दिनको १ बजे टेक्यौं।
नोसिमपाटीमा खान बस्नका लागि पाँच छ वटा काठेछाप्रा रहेछन्। गोठ भनौँ न। सिरानीको काठेछाप्रामा दुई हुलले खाएपछि पालो पर्खन भात पाकुन्जेल १ घन्टा मात्र सुस्तायौँ यता।
प्रकृतिलाई नजिकैबाट हेर्दा पाइने आनन्द लि रहेका थियौं। दौडेर पुग्नु मात्र ठूलो ध्येय ठान्नेहरूलाई मेरा पदयात्रीका आँखाले पदयात्री र तीर्थयात्रीका बीच फरक नै यही त हो भन्ने ठम्यायो।
उनीहरूको कहरको, हाम्रो रहरको यात्रा थियो। उफ् अगुवा बनेर आएका अमृतजी बाटैमा कता हो कता। हिजोको खोया विर्केले राम्रै काम गरे छ क्यारे, नोसिमपाटीमा भात खाँदा समेत भेटिएन।
नोसिमपाटीबाट पाँचपोखरी पुग्दाको ढुङ्गे पहरोको बाटो जो कोहीलाई पनि अत्याउने खालकै छ। यो चार पाँच घण्टाको बाटोमा पानीसम्म पाइन्न, त्यसैले नोसिम पाटीबाट उता लाग्दा पानी र केही खानेकुराको जोहो गर्नु है भनेका थिए। नोसिम पाटीबाट तातोपानी बोक्यौं।
लसुन र अदुवा, सातु, चकलेट त हामीसँगै थियो। छाता, वर्षादी र टर्चलाइट त यात्रा क्रममा छुटाउनै भएन। बाटामा जुका लाग्छन् भनेर नुन, टिम्मुर र सञ्चो पनि बोकेकै थियौं।
झन्डै ४ सय मिटर तेर्सो र ठाडै उकालो चढेपछि लौरी चढाउने लौरी विनायक आयो।
अचम्म लाग्दो यस्तो ठाउँ कसले पत्ता लगाए होलान्! गोधुली समयमा भेडा बाख्रालाई सुसेली हाल्दै गोठतिर बोलाइरहेका गोठालालाई सोधें, उनले दुखित हाउभाउमा भने– ‘माथि जानुस्, बिचरा एउटा बुढा छन्, तिनका हात पनि छैनन्, गोडा पनि छैन, पेटभन्दा माथिको मात्र भाग छ। तिनैले सबै कुरा बताइदिहाल्छन्।
अझ थपे, ‘ती बुढालाई चाहिँ नहेर्नुस् है, बिजोक छ, बडो गम्भीर भएर उनले भने, हामी छक्क पर्यौँ।
हामी सबलाङ्गका लागि तारानाथको ‘घनघस्याको उकालो’ जस्तै ठाउँमा ती हातगोडा नभएका बुढा कसरी आए होलान्, अचम्म लाग्यो।
झमक्क साँझ भैसकेको थियो। हामी तिनका कुरामा नअलमलिई उकालो लागिहाल्यौं। जति नजिक पुग्छौं बाटो उति कठिन हुन थाल्यो। बाटामा एकजना भाइलाई साह्रै गाहो भैरहेको रहेछ। तातो पानी मागे। मैले तातो पानी र अलिकति सातु दिएँ। साथीहरूले घोलेर खुवाए।
ढुङ्गे उकालो पार गर्नेबित्तिकै झुलुक्क पाँचपोखरीको पहिलो पोखरी देख्यौँ। सात बजेको हुँदो हो। हाम्रा सारा थकाइ पाँचपोखरीको एउटै पोखरीले बिर्साइदियो। पोखरीको छेउछेउ हुँदै मान्छे झुम्मिएका ठाउँतिर लाग्यौँ। गोठालाका हात गोडा केही नभएका बिजोकका बुढालाई केहीले घेरेर बसेका रहेछन्। बुढालाई देखेर म फिस्स हाँसें। अर्धकदको सालिक रहेछ। हुन पनि हो, छातीभन्दा तल केही थिएन, हामीसँग ठट्यौली गरे वा साँच्चै ठाने उनै जानुन्।
बुढाले सबै कुरा भन्छन्, तिनले भनेका थिए। नभन्दै सालिकमुनि पाँचपोखरी उत्त्पत्तिबारे सबै कुरा लेखिएको रहेछ। हामीले कसैलाई सोध्नै परेन।
धार्मिक किंवदन्ती अनुसार आजभन्दा २३२५ वर्षअघिको हो रे। एकदिन एक जना सिकारी बुन्बा रूम्बा वाइवा आफ्नो कुकुरसहित सिकार खेल्दै यो ठाउँमा आइपुगेछन्। हिउँ नै हिउँ भएको ठाउँमा पनि धान रोपिरहेको देखेर उनी छक्क परेछन्।
ओहो यस्तो ठाउँमा धान रोप्ने मानिस को होलान् उनलाई जिज्ञासा लागेछ। हेर्दैहेर्दै पाँचपोखरी मन्दिर भए स्थान पुग्दा धानखेतमा काम गर्ने सबै अलप भएछन् रे। सिकारी आश्चर्यमा परेछन्। यो काम पक्कै पनि भगवान महादेव र उनैका गणहरूकै हुनुपर्छ। उनले तत्काल आफ्नो सिकारी कुकुरको घाँटीमा झुन्डिएको घण्ट फुकालेर किला गाडी त्यहीँ झुन्डाएर पूजाआजा गरेछन्। ढुङ्गाको मन्दिर बनाएछन्। धानखेतहरू एकैछिनमा पानीले भरिएको पोखरी बनेछ।
यही किम्बदन्ती अनुसार पाँच पोखरी देख्ने पहिलो व्यक्ति सिकारी बुन्बा रूम्वा वाइवा हुन् भन्ने जनश्रुतिअनुसार उनकै सम्झनामा ०६४ साल भदौ २ गते अर्धकदको सालिक स्थापना गरिएको रहेछ।
त्यसैले मानिसहरू अहिले पनि पाँचपोखरी घुम्दा धानका बाला भेटिन्छन् कि भनेर आँखा डुलाउँदा रहेछन्। तिनका भनाइमा धानको बाला भेटिए शुभ र धनवान होइन्छ रे।
पोखरीमा कहिलेकाहीँ देखिने सेता जोडी हाँस महादेव र पार्वती हुन् भन्दा रहेछन्। एक जना मेलम्चीतिरका मानिसले भने- पोहरसाल आउँदा मैले एकजोडा सेता हाँसको दर्शन पाएको थिएँ।
यति विकट ठाउँमा पनि तीर्थयात्रीहरूका लागि सुत्ने बस्ने, खाने व्यवस्था मिलाएको देख्दा अचम्म लाग्यो। मेलाबाहेक अन्य समयमा जाँदा भने बाटामा रहेका गोठहरूमा मात्र बस्न खान पाइने रहेछ। प्रायः फागुनबाट मङ्सिरसम्म यस्ता गोठहरूमा आफ्ना चौंरी, झ्यापुल्ले खसी, बाख्रा, गाई चरिचरणका लागि मानिस यता बस्दा रहेछन्।
संजोग यसपटक पाँचपोखरीलाई पर्यटन क्षेत्रको रूपमा विकास गराउने उद्देश्यले पहिलोपटक पाँचपोखरी पदमार्गमा दौड प्रतियोगिता राखिएको थियो।
यसै सिलसिलामा पाँचपोखरीमै आइपुगेका नवनिर्वाचित गाउँपालिका अध्यक्ष टासी लामासँग भेट भयो। अर्को साल काठमाडौंंदेखि भोताङ छिम्तिगाउँसम्म मोटरमा बिनारोकतोक एकै दिनमा आउन सक्ने बाटो बन्छ, तपाईंहरू पनि आउनुस् है भन्थे। के भयो होला अहिले?
पाँचपोखरीबाट फर्कंदा जनैपूर्णिमाको भोलिपल्ट बाटोमा पर्ने गुरजा गाउँको राइथान पोखरीमा लाग्ने स्थानीय मेला पाञ्चाङ्ग समितिका कारण देख्न पाइएन, ओर्लेर चिया भने खायौँ।
जेहोस् युट्युब, गुगल र पदयात्री सुमन भाइका कुराले लोभिएको म,आफ्नै बलबुतामा पुगेर भूस्वर्गै टेकेजस्तो लाग्यो।
हिँड्ने रहर बोक्नेहरूका लागि एकपटक पुग्नैपर्ने ठाउँ पाँचपोखरी रहेछ। मेरा लागि चार रात पाँच दिनको त्यो पैदल यात्रा स्थानीय भूगोल र थातथलोबारे जुन ज्ञान मिल्यो त्यो भने अविस्मरणीय नै रह्यो।