म नेपालको शिक्षा क्षेत्रमा डेढ दशकदेखि क्रियाशील छु। यहीँ विषयलाई लिएर देशका लगभग सबै जिल्ला घुमेर शिक्षाको अवस्थाबारे नजिकैबाट नियाल्ने अवसर पाएको छु।
मलाई देशको मात्र नभएर विदेशको शिक्षा नीतिबारे थोरबहुत जानकारी छ।
यसै क्रममा करिब दुई महिनाअघि विश्वकै उत्कृष्ट शिक्षा नीति तथा शैक्षिक गुण्स्तरमा ख्याती कमाएको नर्वे र फिनल्याण्डको शिक्षा प्रणालीबारे अध्ययन अवलोकनमा जाने मौका मिल्यो।
जर्मनस्थित शिक्षा क्षेत्रमा क्रियाशील संस्था इन्टरनेशनल सोसाइटी फर इन्जिनियरिङ रिसर्च एण्ड डेभलभमेन्ट (आईएसईआरडी) को निम्तोमा जान हामी १२ जनाको टिम थियौं।
१८ साउनदेखि सुरू हुने भएको सम्मेलनमा नेपालसहित दर्जन बढी देशबाट सहभागी आएका थिए।
सम्मलेनमा हामीले हाम्रो देशका शैक्षिक अवस्थाको बारेमा जानकारी गरायौं भने हामीले अन्य देशको शैक्षीक अवस्थाका बारेमा जानकारी लियौं।
यसले हामीलाई हाम्रो देशको शिक्षाको अवस्थासँग अन्य देशको शिक्षाको अवस्थालाई तुलना गर्ने अवसर मिल्यो।
तीन दिनको सम्मेलन सकिएपछि हामी युरोप घुम्ने योजना बनायौं। हामी सबै शिक्षासँग जोडिएकाले युरोपमै शिक्षा क्षेत्रमा ख्याती कमाएका डेनमार्क, स्वीडेन र फिनल्याण्ड घुम्ने र शिक्षाको अवस्था जानकारी लिने योजना बनायौं।
यहीँ क्रममा हामीलाई केही नेपाली दाजुभाइले घुम्न र त्यहाँको शैक्षीक स्थितिको बारेमा जानकारी दिन सहयोग गर्नुभयो।
जर्मनीका एनआरएनका अध्यक्षसमेत भईसकेका दाजु मानवकुमार श्रेष्ठले हामीलाई परिवारसँगै राखेर घरमै खाना खुवाउनुभयो।
मानव कुमार दाजुको घरमा खाना खाईरहँदा नेपालमै भएको जस्तो अनुभूती भयो। विदेशमा बस्ने नेपालीले देशको बारेमा गरेको चिन्ता र चासो देख्दा साह्रै खुशी लाग्यो। यस्ता चासो दिने मानव दाजु मात्र नभएर विदेशमा अधिकांश कर्मथलो बनाएकाहरू छन्। यस्ता भावनालाई उचित ध्यान दिन सके त्यहाँ सिकेका सिपलाई स्वदेशमै लगानी गर्न सकिन्थ्यो।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भनेजस्तै नेपालको केही पनि कुरा निस्कँदा श्रेष्ठ दाजुका परिवार एकाग्र भएर ध्यान दिनुहुन्थ्यो।
भोलि डेनर्माक जाने तयारी गर्नुपर्ने भएकाले मानव दाजुकोमा खाना खाएर हामी होटल आयौं। भोलिपल्ट बिहानै हामी रेलमा डेनमार्कको राजधानी कोपहेगन लाग्यौं।
करिब आठ घण्टा यात्रा गर्दा बाटोमा देखिएका मन लोभ्याउने व्यवस्थित खेती, उद्योग कलकारखाना, सोलास पलान्ट देख्दा हाम्रो देश कहिले यस्तो होला भन्ने मनमनै लाग्यो। यस्ता कुरा खेल्दा कतिबेला डेनमार्क पुगियो पत्तै भएन।
हाम्रो टोली कोपनहेगनका सेन्ट्रल स्टेशनबाट होटल जाने बाटो खोज्न थाल्यो। त्यहीँ बेला मलाई ट्वाइलेट जान मन लाग्यो। यहाँ टवाईलेटलाई WC भन्दोरहेछ। म WC खोज्दै गएँ। केही पर मानिसहरू लाइन लागेको देखेँ। म पनि करिब दस जना पछाडि उभिएँ। भित्र पस्ने बेलामा पैसा चाहिँदोरहेछ। त्यहाँ कार्ड मात्र चल्दो रहेछ। मेरो कार्ड चलेन, मैले पैसा लिन आग्रह गरेँ तर त्यहाँका कर्मचारीले मानेनन्।
त्सपछि म फर्किन लाग्दै थिएँ पछिबाट ‘आइ विल पे फर यू’ भन्दै एक युवतीले कार्डबाट मेरो पैसा तिरिदिइन्। मैले धन्यवाद, भन्दै म भित्र पसेँ।
बाहिर निस्किएपछि मेरो मनमा धेरै कुराहरू आए, यो देशमा म जस्ता पर्यटक आउदैनन्? कि मैले मेसो नपाएको हो, के यहाँ सबै चिज डिजीटल हुन्छ? मेरो देश, कहिले, कसले र कसरी बन्ला सोच्न थालेँ।
हामीले तीन दिनको लागि यातायातको कार्ड बनाएर होटलतिर लाग्यौं। होटल केही टाढा भएकाले हामीले बस चढ्नुपर्दोरहेछ। करिब २५ मिनेटको बस यात्रापछि हामी बस स्टेसनबाट करिब ३०० मिटर हिँडेर होटल पुग्यौं।
होटल सफा, शान्त र राम्रो रहेछ। होटल भित्र छिरिसकेपछि होटलको भित्री सजावटले अझै मन लोभ्यायो। त्यहाँको सुरक्षा प्रणाली कडा रहेछ। होटलमा दर्ता भएका आगन्तुकबाहेक अन्यलाई होटल प्रवेशमा निकै गाह्रो पर्ने रहेछ। कर्मचारीले भन्दा पनि होटलमा राखिएको प्रविधिले चिन्नु पर्दोरहेछ।
भोलिपल्ट हामी बिहानै राजधानी कोपनहेगनतर्फ निस्कियौं। हामीले त्यहाँका घुम्नैपर्ने केही पर्यटकीय स्थलहरू छुटाएनौं।
यहाँ हामीले करिब दुई घण्टा मोटरबोटमार्फत सम्पूर्ण शहर घुमियो। हामी मात्र होइन, यहाँ आउने अधिकांश पर्यटक यसरी नै घुम्ने रहेछन्।
कोपनहेगनमा अर्को एउटा विशेष ठाउँ रहेछ। करिब ८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पार्कमा पर्यटकहरू गाँजा तथा विभिन्न नसालु पदार्थ सेवन गर्नकै लागि आउने रहेछन्। यो एउटा यहाँको विशेष पर्यटकीयस्थलनै रहेछ। हामीले पनि एक फन्को मार्यौं।
भोलिपल्ट हामीले स्टकहोम जाने बसको टिकट लिनु थियो। टिकट पाउन निकै मुस्किल पर्यो। यसैक्रममा हामीलाई सागरजीलगायत केही नेपाली दाजुभाइले सहयोग गर्नुभयो।
खै किन हो, विदेशमा रहनुभएका नेपाली दाजुभाइले हामीलाई बहुत धेरै स्वागत सत्कार गर्नुभयो।
त्यहाँ पनि हाम्रो जम्बो टोलीलाई कास्कीबाट डेनमार्कमा बस्दै आउनुभएका कृष्ण र निलम खड्काले आफ्नो घरमा बिहानको खाना खुवाउनुभयो।
तीन दिनको डेनमार्क बसाइपश्चात हामी बेलुका स्वीडेनको राजधानी स्टकहोम जान बसपार्क पुग्यौं। हाम्रो बस छुट्ने समय ४:४५ बजेको थियो। एक मिनेट पनि तलमाथि नभइ बस गुड्यो।
युरोपमा मलाई सबैभन्दा धेरै मन परेको त्यहाँको यातायात लाग्यो। भनेको समयभन्दा १ मिनेट पनि कहीँ कतै ढिलो चाडो थिएन। त्यसैले होला अधिकांश मानिसको पहिलो रोजाई नै सार्वजनिक यातायात हुँदो रहेछ।
डेनमार्क र स्वीडेन जोडिने सीमानामा हामीले करिब तीन किलोमिटर यात्रा समुद्रमुनिबाट गर्यौं। समुन्द्रमुनीको यात्रा मेरो लागि पहिलो थियो।
समुन्द्रमुनीबाट यात्रा गरिरहँदा मलाई आफ्नो देशको पहिरो र बाढीले ग्रस्त सडकको याद झलझली आयो। यसरी आम सर्वसाधारणको पहुँच पुग्ने सर्वसुलभ हिसाबले यातायातको पहुँच कसरी सम्भव हुन्छ भन्ने कल्पना गर्न थालेँ। यो हिसाबले हेर्दा हामी युरोपभन्दा करिब सय वर्ष पछि परेको आभास भयो।
केहीबेरमा हाम्रो बस परिवर्तन गर्ने स्टेशन आयो। त्यहाँ हामी करिब ३ घण्टा पर्खिनुपर्ने र अर्को बस चढ्नुपर्ने थियो। त्यहाँको बसस्टेसन र प्रतिक्षालयको सुविधा हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा कम थिएन। त्यहाँबाट हामी अर्को बस चढेर करिब ६ घण्टाको यात्रा पश्चात स्टकहोम पुग्यौं।
दिनभरि स्टकहोम शहर घुम्यौं। यहाँको प्रमुख स्थलहरू हेर्दै हामी फिनल्याण्डको राजधानी जान क्रुज स्टेसनतर्फ लाग्यौं।
स्टकहोमदेखि हेलसिस्की पुग्न करिब चार सय किमी समुद्री यात्रा गर्नुपर्दोरहेछ। यो मेरो पहिलो पानीजहाजको यात्रा थियो। यति ठूलो पानीजहाज यो भन्दा अगाडि मैले देख्ने मौका पनि पाएको थिइनँ, चढ्ने त कुरै भएन।
पानीजहाजभित्र छुट्टै एउटा सहर जस्तो थियो। करिब ३ हजार यात्रुलाई बस्ने-खाने - सुत्ने सबै सुविधा थियो। यति मात्र होइन, किनमेल गर्नको लागि र खानको लागि रेष्टुरेण्ट, होटल, क्यासिनो लगायतका विभिन्न सुविधासमेत थिए।
पहिलो र दोस्रो तलामा हात्ती र गाईवस्तु राख्नको लागि छुट्टै ठाउँ रहेछ। करिब ३५-४० वटा गाडीसमेत त्यहीँ जहाजमा थिए।
मेरो कोठामा जान लिफ्ट चढेर एघारौं तलामा पुग्नुपर्थ्यो। आफ्नो कोठामा सम्पूर्ण सामान राखेर चौधौं तलामा पुगेँ। त्यहाँबाट समग्र शहरको मनोरम दृष्य हेर्दै साथीहरूसँग रमाउँदै विभिन्न अनुभवहरु साट्दै बाल्टीक समुन्द्र यात्रामा अगाडि बढ्यौं।
करिब चौध घण्टाको यात्रामा आठ घण्टा त फेरिको तल र माथि विभिन्न स्थानबाट त्यहाँको अनुभव लिनमै व्यस्त रह्यौं। हाम्रा केही साथीहरू म्यारिज खेल्नमै व्यस्त हुनुभयो। केही साथीहरू म्यूजिक र डान्स त कोही साथीहरु छतमा गएर मनोरम दृश्यमा भुल्नुभयो। मैले पनि यी सबै अनुभव लिएँ।
जहाजको औसत गति ३८-४० किलोमिटर प्रतिघन्टा हुँदोा रहेछ। रातको १२-१ बजेतिर हामी पुनः छतमा गयौं। त्यतिबेला अत्यधिक चिसो सिरेटो चल्दोरहेछ। त्यो चिसो हावाले मुटुनै छेड्ला झै भयो। हामी करिब १५-२० मिनेटमा फर्कियौं। सातौं तलाको लाइभ म्यूजिक र डान्समा रमाउँदै हामी आ-आफ्नो कोठातर्फ लाग्यौं।
हाम्रो कोठामा चार-जना सुत्ने ठाउँ थियो। हामी ३ जना माथिल्लो तलामा सुत्यौं। सुतेको बेलामा करिब ६ रेक्टरको भूकम्प गएजस्तो अनुभव हुँदोरहेछ। तर म मस्त निदाएँ। बिहान उड्दाखेरि हामी गन्तव्यमा पुग्न लागेका रहेछौं।
हतारहतार गर्दै हामी बाहिर निस्क्यौं र हेलसिन्की सेन्ट्रल स्टेसन पुग्यौं। त्यहाँ हामीले ३ दिनको यात्रायात कार्ड लियौं। त्यसपछि होटलतर्फ गयौं। केही बेर होटलमा रेस्ट गरेर हामी फेरि हेलसिन्की घुम्न निस्कियौं।
फिनल्याण्डको बारेमा धेरै कुराहरू सुनेको थिएँ। त्यहाँको विकास, उत्कृष्ट शैक्षिक गन्तव्य,युवा महिला प्रधानमन्त्री, विश्वकै सुन्दर, सुरक्षित र संसारका एकदमै खुसी, सुखी मान्छेहरू बस्ने ठाउँ यावत्।
स्थलगत भ्रमण गर्दा त्यहाँका मानिसको स्वभाव र शान्तपन देख्दा हामीले बोलेको नेपाली स्वभावले कतै अरूलाई डिस्टर्ब पो हुन्छ कि जस्तो लाग्यो।
बेलुकाको समयमा दिपक बास्तोला, थकिन गुरूङ र म एक नेपाली व्यवसायी श्रवण खनालको गाडीमा चढेर घुम्न निस्कियौं। उहाँ विगत १८ वर्षअघि पढाइको सिलसिलामा यहाँ आउनुभएको उहाँ अहिले व्यवसायी हुनुहुँदो रहेछ।
उहाँले आफ्नो सामाजिक, राजनीतिक, व्यवसायिक, शैक्षिक तथा अन्य अनुभव सुनाउँदै हामीलाई त्यहाँको सहर घुमाउनुभयो। फिनल्याण्ड सुशासन र सुरक्षाको हिसाबले एकदमै राम्रो मानिँदोरहेछ। यहाँको विकास र समृद्धिको त कुरै नगरौं।
नोकिया फोनको उत्पादनले फिनल्यान्डको विकासमा ठूलो टेवा पुर्याएको रहेछ, त्यस्तै पानीजहाज बनाउने उच्च गुणस्तरीय प्रविधि उत्पादन गर्ने र पेपरका ठूला उद्योगले यो देश हालको अवस्थामा आइपुगेको उहाँले जानकारी दिनुभयो।
भोलि बिहानै साथी दिपकको अमेरिका फ्लाइट थियो। उहाँलाई एयरपोर्ट छोड्न गयौं। यहाँको विमानस्थल अत्याधुनिक लाग्यो। सुविधा सम्पन्न, प्रविधियुक्त, सम्पूर्ण कामहरू विद्युतीय मेसिनबाटै हुँदोरहेछ।
मैले पनि बोर्डिङ पास लिने र लगेज बुझाउने तरिका जाने। साथी दिपकलाई विदाइ गरेर दलबहादुर थापा र म ट्रेन र बसको यात्रा गर्दै होटल फर्कियौं।
होटल पुगेपछि थाहा भयो- मेरो पर्स कतै बाटोमा झरेछ, पर्समा मेरो सम्पूर्ण नेपालको परिचय पत्र, बाटोखर्च, महत्वपूर्ण कार्डहरू थिए। हराएपछि निकै दुःखी भएँ।
कहाँ खस्यो, कहाँ खस्यो थाहै भएन। मैले होटलमा आफ्नो समस्या बताएँ। त्यसपछि एक जना साथीले लस्ट एण्ड पाउण्डेसन डिपार्टमेन्टमा सम्पर्क गर्नु सुझाउनुभयो। तर पनि मलाई भेटिने आस थिएन।
केहीबेरमा हाम्रो हेलसिन्की विश्वविद्यालय मा प्रोफेसर तथा म्याट्रीकुलेशन एक्जामिनेशन बोर्डको सदस्यसँग छलफल र अन्तर्क्रिया थियो। हामी त्यतै तर्फ लाग्यौं। हामीले त्यहाँ फिनल्याण्डको स्कुललेभलदेखि युनिभर्सिटी सम्मका विभिन्न विषयमा छलफल गर्यौं।
नेपाल र त्यहाँको शैक्षिक भिन्नता, तरिका, पद्धतिका बारेमा प्रोफेसर अन्ना र लाहुरेसँग ६ घन्टासम्म जिज्ञासा मेटाउने कोसिस गर्यौं।
त्यसपछि हाम्रो केही साथीहरू सपिङ सेन्टर जाने कुरा गर्नुभयो। म भने दाइको छोरी बिनीता दाहाल र ज्वाई नारायण पन्थीको जाने निधो गरेँ। सोही अनुसार साथीबाट छुटिएर छोरीलाई उनको लोकेशन सोधेँ। उनको घर पुग्न मलाई बस र ट्रेनबाट ६ घन्टा लाग्दो रहेछ।
आठ वर्षपछि छोरीसँग भएको भेटमा धेरैबेरसम्म हामीले घरदेशदेखि परदेशसम्मका सुख दुःख साट्यौं। उनी अहिले त्यहीँको नागरिक भइसकिछिन्। ज्वाई पनि यहाँको पढाई सकेर काम गर्न थाल्नुभएको रहेछ। उहाँबाट मैले यहाँको बारेमा धेरै कुराहरू जान्ने मौका पाएँ।
१५ वर्षभन्दा बढीको बसोबास, अनुभव र शैक्षिकस्तरले मलाई उहाँले धेरै कुराहरू बुझाउनुभयो। उहाँलाई मैले नेपाल फर्किनु हुन्न? भनेर प्रश्न गरेँ। उहाँ फिस्स हाँस्दै जवाफ दिनुभयो- नेपाल गएर के गर्ने? त्यहाँ कुनै अवसर नै छैन, आफ्नो भविष्यको कुनै सुरक्षा नै छ, देश त्यहीँ हो राजनीति त्यहीँ त हो अवस्था।
मौन भएर मैले मनमनै प्रश्न गरेँ। उत्तर पनि खोजिरहेँ। के म चाहिँ नेपालमै बस्नुपर्ने? के मेरो चै भविष्य सुरक्षित छ? किन बस्ने कसका लागि बस्ने? के कारणले बस्ने?
हामीले प्रसङ्ग बदल्यौ। अरू विविध गफगाफ गर्दै आधारात भइसकेको थियो। बिहान सबेरै उठ्नु थियो केही कोसेली किनमेल गरेर नेपाल फर्किन एयरपोर्ट जानुथियो।
हतारहतार गर्दै सपिङ मलमा केही किनमेल गरेर एयरपोर्ट तिर लागेँ। समय छोटो भएकाले म होटलमा आफ्नो लगेज लिन जान पाइनँ। साथीहरूलाई ल्याउन अनुरोध गरेँ। सिधै एयरपोर्ट गएँ। त्यहाँको लस्ट एण्ड फाउण्ड डिपार्टमेन्टमा गएर आफ्नो पर्स हराएको कुरा सुनाएँ। त्यहाँ नभेटिए भन्दै त्यहाँका कर्मचारीले मलाई नजिकैको प्रहरीमा गएर निवेदन दिन सुझाए।
मैले त्यहाँ गएर आफ्नो समस्या राखेँ। तर त्यहाँ केश फाइल गर्न फिनल्याण्डकै बैंकमा खाता भएको हुनुपर्ने रहेछ। मसँग बैंक खाता हुने कुरै भएन। मैले आफू आजै नेपाल फर्कन लागेको भन्दै कसैले मेरो सामान पाएमा यो ठेगनामा सम्पर्क गरिदिनुहोला भनेर अनुरोध गरेपछि त्यहाँ मेरो निवेदन दर्ता भयो। तर मलाई भेटिनेमा आस थिएन।
म एयरपोर्ट पुग्दा साथीहरू आइसक्नु भएको रहेछ। केही बेरमा चेक इन गरेर नेपाल फर्कन तयार भयौं।
हामी कतार एयरवेजको विमानबाट नेपाल जाँदै थियौं। सबै साथीहरूको जोन १ मा सिट रहेछ। मेरो मात्र जोन २ मा परेछ। करिब आठ घण्टाको यात्रा एक्लै हुँदा नरमाइलो होला जस्तो लागेको थियो। छेउमा दुई जना वृद्ध बाबुआमा हुनुहुन्थ्यो।
मलाई चुपचाप बस्नु भनेको यातना सहनुभन्दा एकदमै गाह्रो हुन्थ्यो र प्लेनमा म निदाउन पनि सक्दिनथेँ १ घण्टा जसोतसो बिताएँ। त्यसपछि छेउमै रहनुभएको वृद्ध आमालाई सोधेँ,‘हजुर कहाँबाट हो? उहाँले आफू फिनल्याण्डबाट भएको जानकारी दिनुभयो।
त्यसपछि उहाँसँग धेरै लामो गफगाफ भयो। उहाँ पनि सन् २०१८ मा नेपाल आउनुभएको रहेछ। म नेपाली भन्नेबित्तिकै औधी खुसी हुनुभयो। भर्खरै फिनल्याण्डको मावि शिक्षकबाट अवकास लिनुभएको रहेछ। उहाँको श्रीमान पनि इन्जिनियर हुनुहुँदो रहेछ। छुट्टि मनाउन दक्षिण अफ्रिका हिँडेका रहेछन्। यावत कुरा गर्दागर्दै हाम्रो गन्तव्यमा पुगेको पत्तै भएन।
त्यसपछि कतारमा हामी छुट्टिनुपर्यो। छोटो भेट भए पनि धेरै कुराहरू आदान प्रदान भयो। रमाइलो गफगाफ र सम्बन्ध सम्झनलायक रह्यो। फेरि-फेरि पनि सम्पर्कमा रहने बाचासहित म काठमाडौं तिर लागेँ, उहाँहरू अफ्रिकातिर।
करिब ४ घण्टाको यात्रा पछि काठमाडौं उत्रिएँ। सामान लिएर साथीहरू माझ बिदा मागी हामी आफ्नै घरतिर लागियो। बेलुका मैले ईमेल हेर्दै थिएँ। त्यहीँ क्रममा मलाई एउटा इमेल आयो जसमा लेखिएको थियो-तपाईँको सामान भेटिएको छ। यो ठेगनामा सम्पर्क गर्नुहोला। खुसीको सीमै रहेन। मैले समान पाउनका लागि मेरो विस्तृत ठेगना पठाएँ। र भनेँ- वाऽऽ देश त त्यस्तो पो हुनुपर्छ।