केही दिन अगाडि सामाजिक सञ्जालमा मैले एउटा फोटो पोस्ट गरेको थिएँ। उक्त फोटोमा एक जना ब्यक्तिले कमेन्टमा लेख्नुभएको थियो,‘पाँचपोखरी कहाँ रामेछापमा पर्नु नि, यो त सिन्धुपाल्चोकमा पो पर्छ।’
मैले पोस्ट गरेको फोटो पाँचपोखरी रामेछापकै थियो। जसको क्यापसनमा मैले नाम र ठाउँ उल्लेख गरेको थिएँ। रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा केही वर्ष अगाडि एउटा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
त्यस कार्यक्रममा रामेछापमा भएका धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीयस्थलको फोटो फ्लेक्स प्रिन्टमा ठूलो बनाएर देखाइएको थियो। जसमध्ये एउटा फोटो पाँचपोखरी रामेछापको भनेर राखिएको थियो तर उक्त फोटो पाँचपोखरी सिन्धुपाल्चोकको थियो।
माथिको एउटा कुराले के पुष्टि गर्छ भने पाँचपोखरी भनेको सिन्धुपाल्चोकमा पर्छ। रामेछापमा होइन। अर्कोले चाहिँ पाँचपोखरी रामेछापमा पनि पर्छ, तर त्यो कस्तो छ थाहा छैन। त्यो फोटो राख्नेहरुले रामेछापको पाँचपोखरी कस्तो आकारको छ, कुन रामेछापको हो कुन सिन्धुपाल्चोकको हो भनि अध्ययन गरेनन् ,छुट्याएनन्।
झन् भ्रम फैलाउने मात्र काम गरे। यी दुई वटा कुरा प्रतिनिधिमुलक घटना मात्र हुन्।
धेरैजना ब्यक्ति सहि सूचना/जानकारी र प्रचारप्रसारको अभावमा कुन सहि, कुन गलत भन्ने कुराको भ्रममा हुनुहुन्छ। यसको यथार्थता के हो बुझ्न आवश्यक हुन्छ।
हामी आफ्नो गाउँठाउँमा अवस्थित यस्ता प्राकृतिक सौन्दर्यमाथि कति अनविज्ञ छौं। यसलाई हामीले बाहिरी संसारमा देखाउन, चिनाउन नसक्नु हाम्रो कमजोरी हो।
धेरै चर्चामा आउने, मिडियातिर प्रशस्त मात्रामा देखिने र इन्टरनेटमा खोज्दा सहजै भेटिने पाँच वटा पोखरी एउटै ठाउँमा छुट्टाछुट्टै अवस्थित पोखरी रामेछापको होइन, त्यो सिन्धुपाल्चोकको पाँचपोखरी हो।
रामेछापको पाँचपोखरी गोकुलगंगा गाउँपालिका-१ चुचुरेमा अवस्थित छ। यो गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत पर्ने सिन्धुपाल्चोक, दोलखा, रामेछाप भित्रको संरक्षित क्षेत्र हो। नुम्बुर चिज सर्किट पदमार्ग अन्तर्गत यो ठाउँमा यात्रा गर्न सकिन्छ।
समुद्री सतहबाट ४५१४ मिटर उचाइमा अवस्थित यो पोखरी प्राकृतिक सौन्दर्यताको अनुपम उदाहरण हो भने धार्मिक दृष्टिकोणमा प्रसिद्ध धार्मिक तिर्थस्थल हो। यहाँ हरेक वर्ष जनैपुर्णिमाको दिन तिर्थयात्रा गर्न विभिन्न जिल्लाबाट तिर्थयात्री आउने गर्छन् भने घुम्न आउने पर्यटकको लागि बाह्रै महिना उपयुक्त समय हो।
पाँचपोखरी पाँच वटा छुट्टाछुट्टै पोखरी नभएर एउटा ठूलो पोखरी स-साना थुम्काबाट विभाजित भएर पाँच वटा जस्तो देखिने मात्र हो। पाँचपोखरीको माथितिर अग्लो ठाउँबाट हेर्दा ठूलो/लाम्चो आकारको पोखरी देख्न सकिन्छ। पाँचवटा पोखरी छुट्याउन सकिदैन।
रामेछापको पाँचपोखरी र सिन्धुपाल्चोकको पाँचपोखरीको आकार त्यहाँको अवस्थिती पुरै भिन्न छ। दुबै पोखरीको भ्रमण गर्नेले दुई वटा पोखरीको नाम एउटै भए पनि ठाउँ र पोखरीको प्राकृतिक संरचनामा स्पष्ट रूपमा भिन्नता छ भन्ने आम जनमानसमा सूचना पुर्याउन जरूरी देखिन्छ ।
नेपालका हरेक ठाउँहरू प्राकृतिक दृष्टिकोणले सुन्दर छन्। पहाडी क्षेत्रका अधिकांश प्रसिद्ध धार्मिक तिर्थस्थलहरू पोखरी वा थुम्कामा अवस्थित रहेको पाइन्छ। पूर्वको पाथीभरा होस् या पश्चिमको बडिमालिका ती थुम्कामा नै अवस्थित छन्।
रसुवाको गोसाइँकुण्ड होस् या रामेछापको पाँचपोखरी धार्मिक तिर्थस्थलको रूपमा छन्। पहिले/पहिले वा केही वर्ष अगाडिसम्म पनि मानिसहरु ती ठाउँमा धार्मिक महत्त्वका हिसाबले कुनै चाडपर्व/तिथि विशेष जाने गर्दथे। अहिले यस्ता तिर्थस्थलहरु आन्तरिक पर्यटनको आकर्षणको केन्द्र बनेका छन्। जो कोही ब्यक्ति जुनसुकै समयमा पनि धार्मिकभन्दा बढी प्राकृतिक वातावरणमा रमाउनकै निम्ति जाने चलन बढ्दो छ।
मानिस किन कुनै ठाउँमा घुम्न जान्छन् त? त्यो ठाउँको के कुराले आकर्षण गर्छ? त्यहाँ जान के कस्तो मार्ग- साधनको प्रयोग गर्न सकिन्छ? जाने क्रममा बाटोमा बस्ने-खाने सुविधाहरू उपलब्ध छन् कि छैनन्? त्यो ठाउँको अतिरिक्त त्यस ठाउँ जाने क्रममा/ नजिकै अन्य कुनै हेर्न/ घुम्न सकिने कुराहरु पनि छन्? घुम्न जाने ठाउँको बारेमा पर्याप्त/वास्तविक सूचना ईन्टरनेट वा अन्य कुनै माध्यमबाट सजिलोसँग प्राप्त गर्न सकिन्छ /सकिँदैन?... यी र यस्तै यात्रासँग सम्बन्धित प्रश्नको जानकारी हामीले रेडियो/टेलिभिजन/पत्रपत्रिका/वेबसाइट वा अन्य सञ्चारका माध्यमबाट स्पष्ट रुपमा दिन सकियो भने पर्यटकहरु घुम्न जान्छन्।
रामेछापको पाँचपोखरी पनि पर्यटनको लागि धेरै सम्भावना बोकेको ठाउँ भए पनि अन्य नेपालका ताल/पोखरी जस्तो पर्यटकको लागि आकर्षणको केन्द्र बन्न सकेको छैन।
हेर्नुहोस् तस्बिरहरू