युरोप र एसियाको बिचमा पर्ने क्यास्पिएन सी ताल पछिको विश्वको दोस्रो ठूलो ताल उत्तर अमेरिकाको लेक सुपेरियर हो । यस तालको पूर्वी र उत्तरी भागतर्फ क्यानडाको ओन्टारियो नामक राज्य पर्छ भने बाँकी भागमा अमेरिकाको मिनेसोटा, विस्कन्सिन र मिचिगन राज्य पर्छन्।
उपलब्ध तथ्याङ्कअनुसार यो ताल ३१,७०० वर्गमाइल अर्थात ८२,१०३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको गहिराई १,३३२ फिट (४०६ मिटर) सम्म मापन गरिएको छ। यो तालको सबैभन्दा ठूलो चौडाई भएको ठाँउको लम्बाई २६३ किलोमिटर (१६० माईल) छ। यो ताल उत्तर–दक्षिण दिशा भएर १६० माईल (२५८ किलोमिटर) फैलिएको छ। पाँच जुलाई २०२२, मा हामी मिनेसोटाबाट यो ताल हेर्न एकाविहानै दुलुथ नामक अमेरिकाको एक प्रख्यात पर्यटकीयस्थलतर्फ सपरिवार गयौं।
विहान करिब आठ बजेतिर मिनेसोटास्थित घरबाट हिँडेका हामी दिउँसोको ११ बजे दुलुथ टाउन पुग्यौं। यहीँबाट लेक सुपेरियर सुरू हुँदोरहेछ। हाम्रा अघिल्तिर यो ताल हामीलाई नै स्वागत गर्ने आभास् दिँदै लम्पसार परेर सुतिरहेको थियो। कहिलेकाँही सरर गर्दै हामीलाई छेवैमा भेट्न छालहरू आउँथे अनि फर्केर जान्थे। मलाई भने यस तालले मलाई हेर्न आउन कति ढिला गरेको भनेर पटक पटक सोधेको जस्तो लाग्दै थियो।
हामी सबै हौँसिदै, रमाइलो गर्दै आ-आफ्नो किसिमले तालको नजिकै पुग्यौं। म पहिलो पटक जिन्दगीमा यति ठूलो ताललाई देख्दै थिएँ, छुँदै थिएँ र यसको सौन्दर्यलाई एकएक गर्दै मनमा पढ्दै थिएँ र आनन्दको अनुभूति गर्दै थिएँ। पानीको छेउ जहाँ पुगे पनि एकपटक यस्सो पानी छोइहाल्ने मेरो पहिले देखिकै बानी, यस पटक पनि आफूलाई रोक्न सकिनँ। दौडेर छालमा आएको लहरलाई छोप्न पुगिहालेँ। एकपटक धेरै पहिले अष्ट्रेलियामा हुँदा यहीँ रहरले लगाएको छालाको जुत्ता सर्लक्कै पानीमा डुबेका थिए। ती जुत्ता पछि ढाडिएर काम नलाग्ने भएका थिए।
यसपटक म अलि सतर्क नै थिएँ। तालको बारेमा भन्नुपर्दा म भन्दा अगाडि आएका विभिन्न पर्यटकले गरेको टिप्पणीभन्दा कैयौं गुणा राम्रो र सुन्दर लाग्दै थियो। यसको छेउ टुप्पो कता छ कता, आँखाले देख्ने ठाउँभरि सबै पानी नै पानी देखिन्थ्यो। पर्यटकलाई सहज बनाईदिन बिच बिचमा पुलजस्तो आकार बनाईएका थिए, जसबाट अलि परसम्म जान सकिन्थ्यो। सायद् यसलाई अङ्ग्रेजी भाषामा जेट्टी भन्छन् क्यारे। बिच बिचमा कतै कतै साना डुँगाहरु देखिन्थे, हराउँथे। यी डुँगाहरु कतै माछा छोप्न र कतै पर्यटकीय उद्देश्यले सञ्चालनमा थिए।
आकास भन्दा पनि निलो पानीले आकाससँगै प्रतिस्पर्धा गर्ने ठाउँ सायद् दुलुथ नै हो। कतिखेर यो शान्त देखिन्थ्यो त कतिखेर पुरै लहरले किनारतर्फ आउनका एकआपसमा तँछाड्, मछाड् गरिरहेका हुन्थे। यति धेरै पानी त मैले समुन्द्रमा मात्र देखेकी थिएँ तर तालमा आज पहिलो पटक देख्दै थिएँ। मैले मेरो अञ्चलको सुन्दर रारा ताल जसलाई कैयौं कवीहरुले स्वर्गकी अप्सराका रुपमा वर्णन गरेको पढेकी छु। म आफैं पनि यो स्वर्गकी अप्सरा नजिकैबाट नियाल्ने विचारले वि.सं. २०३६ सालमा मेरो घर जुम्लाबाट दुई दिन पैदल हिँडेर पुगेकी थिएँ।
हामीलाई रारा ताल देखाउन लिने मुगु जिल्लाका हाम्रा आफन्तले कति ठूलो ताल भनेर मैले आश्चर्य प्रकट गर्दा ‘यो भगवानको दाल खाने बटुको (कचौरा) हो, थाल त चाईनामा छ, त्यसको नाम मानसरोवर हो’ भन्नुभएको थियो। ती दाइले भनेको थाल अर्थात मानसरोवर पुग्न सकिएको छैन। राराको अतुलनीय सौन्दर्य हाम्रै कारणले छिट्टै बिग्रन्छ कि भन्ने चिन्ता छ भने यो ताल एक दिनमा हजारौँ पर्यटकहरु घुम्न आउँदा पनि सयौं वर्षबाट आफ्नो सौन्दर्यलाई यथावत राख्न सफल छ। जे होस्, संसारको यत्रो ठूलो ताल मानव वस्तीको छेवैमा यसरी सफा र अत्यन्त व्यवस्थित रुपले सजिएर बसेको हाम्रा अगाडि पहिलो पल्ट देख्न पाएर म एकदमै आश्चर्यचकित भएँ।
हाम्रो नजिकै रहेको एरियल लिफ्ट ब्रिजको बिच भागमा भएको सञ्चालक वस्ने सानो घरजस्तो आकारलाई हातमा राखेको जस्तो गर्ने प्रयास गरेर फोटोमा कैद गर्यौं। एकै छिनमा मानिस र गाडी हिँड्ने भाग उठेर विस्तारै माथि गयो त्यसपछि बडेमानको पानी जहाजले पुरै राजर्षि तरिकाले विस्तारै विस्तारै गरेर पुलमून्तिको बाटो काट्यो अनि फेरि विस्तारै अगाडि माथि सरेको पुलको भाग आफ्नो पुरानै स्थानमा आएर टक्क अडियो। मैले यस्तो किसिमको लिफ्ट ब्रिज पहिलो पटक लण्डनमा देखेकी थिएँ र कता कता ‘लण्डन ब्रिज ईज फलिङ डाउन’ भन्ने गीत पनि सुनेकी थिएँ।
पहिलो पटक आफ्नै अगाडि त्यस्तो दृष्य देख्दा जति उत्साहित भएकी थिएँ, अहिले पनि त्यत्तिकै रमाईलो लागिरहेको थियो। त्यसपछि त्यहाँ भएको फलाम खानी, केही अगाडि भएको बन्दरगाह सँगसँगै बनेको मासिहरुलाई हेर्नका लागि बनाइएको बाटोबाट हिँडेर यस भिमकाय ताललाई दाहिनेतर्फ पारेर अगाडि बढ्यौं। यो दुलुथ सहर उत्तर अमेरिकाको ऐतिहासिक र प्रकृतिको बरदान स्वरुप मानव जातिले प्राप्त गरेको सुन्दर उपहार रहेछ। यस ठाउँलाई फलाम खानी, पुरानो रेलको बाटो, बन्दरगाह भएको शहर आदि नामले पनि चिनिदो रहेछ। यहाँका मानिसहरु बब् डाइलन नामका प्रख्यात गायक यही स्थानमा जन्मेकोमा अत्यन्त धेरै गर्व गर्दारहेछन्, जुन हामी कहाँ यस्तो संस्कार बिरलै देखिने गर्छ भन्दा पनि अत्युक्ति हुँदैन।
हामी त्यहीँ वरिपरि घुम्दा घुम्दै दिनको एक बजिसकेको थियो। खाना खाने ठाँउको खोजीमा अगाडि बढ्यौं। बाँयातर्फ अत्यन्तै घना जङ्गल र दायाँतर्फ पानीको बाटो हुँदै करिव करिव पचास साठी माईल अगाडि बढेपछि गाडि एकछेउमा रोकेर हामीले खाना खाने भोजनालय पनि खुल्ला र तालसँगैको ठाउँ रोज्यौं।
हामीसँग छोराबुहारीले पालेको रोडेसिएन रिजब्याक् जातको बडेमानको एउटा कुकुर पनि सँगै थियो। जुनसुकै कफी पसल होस् वा भोजनालय, कुकुरलाई हामीसँगै राख्न दिने वा नदिने हाम्रो पहिलो प्रश्न हुन्थ्यो, किनभने अमेरिकामा कुनै कुकुरमैत्री र कुनै कुकुर अमैत्री हुनेगर्दा रहेछन्।
राम्रो घमाइलो वातावरणमा ताललाई एकदम नजिकैबाट स्पर्स गर्दै दिउँसोको खानाको माग आआफ्नो रूचि अनुसारले गर्यौं। ताललाई स्पर्स गर्दै, त्यसबाट आएको चिसो र ताजा हावासँगै समुद्री खानाको स्वाद लियौं। अहिले हामी मध्य दिनको लेकसुपरियरलाई हेर्दै थियौं। निलो आकास अनि निलै धर्ती, यी दुई बिच लम्पसार परेर सुतेको अजङ्गको जनावरजस्तो देखिएको थियो लेक सुपेरियर यतिखेर। अति सुन्दर यस तालको सुनमा सुगन्ध थप्न हामी हिँड्ने किनारातिर विभिन्न थरीका फूलको बगैचाहरु प्रशस्त थिए। बसन्त ऋतु भएकाले पनि भर्खर भर्खर फुल्दै गरेका विभिन्न जातका फूल र फूलमाथि भुन्भुनाईरहेका माहुरीहरु, आहा यो सौन्दर्य हेर्दाहेर्दै दिन बित्न लागिसकेको थियो।
त्यहाँबाट वास बस्ने गन्तब्यतिर लाग्यौं, जुन पहिले नै निर्धारण गरिसकिएको थियो। सडकमा विभिन्न कम्पनीका गाडीहरु एक तमासले दोहोरै दौडिरहेका थिए। त्यसै लहरमा लामवद्ध हामी सबै मौन थियौं तर गाडी मौन थिएन, भमराको जस्तो ध्वनी निकाल्दै त्यसले सडकसँग निरन्तर सम्वाद गरिरहेको थियो। म त्यहीँ संवाद् सुन्दै सडकको दायाँबायाँ हेरिरहेकी थिएँ। कहिले रुखहरुले त्यो विशाल ताललाई छेकीदिन्थे त कहिले मनभरि हेर्नका लागि खोलीदिन्थे। म आनन्दसँग यही झल्याकझुलुक परिवारका अन्य सदस्यसँग एकोहोरो हेरिरहन्थेँ।
सधैँ आईरहने साँझ आज पनि विस्तारै आउँदै थियो र यताउता भएका डाँडाकाँडा र हामी हिँड्ने बाटोभरि पोखिँदै थियो। पहेँला घामका टुक्राहरु कतै पश्चिमतिर हराउँदै गएका थिए। गाडीहरु आफ्नै प्रतिस्पर्धामा थिए। म आकाशतिर हेर्छु एक हुल चरा पूर्वबाट पश्चिमतर्फ उडीरहेका थिए, सायद् वासस्थानतर्फ लागेका होलान् एकोहोरो चलिरहेको बतासलाई चिर्दै। दुलुथमा हामी वास बस्ने ठाउँ आईपुग्दा साँझ पर्नै लागेको थियो।
गाडी बाहिरको वातावरण हामीले सोचेको भन्दा थोरै चिसो नै थियो। बाहिर चउरमा आगो बालेर रमाईलो गर्ने चुल्हो, बस्ने मेच र टेबलको व्यवस्था गरिएको भए पनि आवश्यक दाउराको व्यवस्था गर्न नभ्याइएका कारण त्यस साँझ त्यसको आनन्द लिन सकिएन। बरू अलि ढिला भएको अवस्थामा साँझको खानाको व्यवस्थापनमा असुविधा हुनसक्ने भएकाले छोराछोरी हतार हतार त्यसकै चटारोमा लागेका थिए, अर्थात नजिकै भएको भोजनालयमा फोन गर्ने, हाम्रो आवश्यकताको खाना तयार पार्न अर्डर दिनेमा ब्यस्त थिए।
अहिले फेरि बादल लागेर आकाश धमिलो भएको थियो सिमसिमे पानी पर्छ कि जस्तो गरेर। हामी बस्ने घर हरियो दुबै दुबो भएको ठूलो चौरको बीचमा थियो। सुत्नका लागि तीन वटा बेडरुम, भान्सा र बैठक समेतको दुईतले घर रहेछ। चौरमा बुरुक्क बुरुक्क गर्दै खरायो उफ्रिदै थिए। त्यो घरको एकातर्फ ताल सुसाइरहेको थियो भने अरु तीनतिरै घना जङ्गल छपक्कै थियो। हामीहरु भर्खर आआफ्ना झोला राखेर चिटिक्क पारेर सजाईएका सोफाहरुमा बसेका मात्र के थियौँ, हाम्रै झ्यालनिरबाट हुँदै एउटा ठूलो मृग बीना कुनै डर, बीना कुनै त्रास फर्कदै हामीतिर हेर्दै आफ्नो वासस्थानतर्फ लाग्यो।
त्यस्तो दृष्यको कल्पना पनि नगरेका हामी नेपालीलाई खल्तीबाट मोबाईल निकालेर फोटो लिइहाल्न समेत समय पुगेन। हाम्रोमा भए कसको घरको तरकारी भईसक्थ्यो भन्ने सोचाई कता कता नमिठो पाराले मनमा आयो तर अर्को क्षण यतिखेरको रमाईलो वातावरणसँगै हरायो।
हामी सबै एकैछिनमा आआफ्नो कोठामा गएर ताजा हुँदै एक एक गरेर सबै बैठक कोठामा जम्मा भयौं। सबैको सुत्ने कोठाबाट पनि प्रष्टसँग ताल हेर्न मिल्ने रहेछ। यस घरको बैठक कोठा सबै सजावटले भरिपूर्ण थियो। त्यहाँ कुनै चिजको कमी थिएन। आएका पाहुनाहरुलाई पढ्नका लागि दराजमा त्यस ठाउँको परिचयसँगै विभिन्न विषयका पुस्तकहरु राम्रोसँग सजाइएका थिए। तालमा कस्ता र कुन जातका माछा छन्, सो सम्मको जानकारी सहितका पुस्तकहरु पनि काठको एउटा दराजमा सजिएका थिए।
दुईटा कुनामा एक जना मात्र बस्ने र आवश्यकताअनुसार यताउती पनि सार्न मिल्ने किसिमका दुइटा आरामदायी सोफा थिए। म त्यसमा बसेर कोक्रोमा राखेको बच्चालाई हल्लाए झैं हल्लिदै लेकसुपरियरलाई हेरिरहेँ। लेकसुपरियर अघिको भन्दा कालो हुँदै थियो। आकास साँझको बादलले छोपिरहेको थियो। उमेरका बिसौं वर्ष पछाडि पुगेर आनन्दित भएझैं मलाई लागिरहेको थियो। म प्रकृतिकासामू आफ्नो बालापन प्रस्तुत गर्दै थिएँ। म आफैंलाई मनमनै केही भनिरहेकी थिएँ र मनमनै केही सुनीरहेकी पनि थिएँ। मलाई यो क्षण धेरै नै रमाईलो लागेको थियो। म मेरो मनलाई थाम्न नसकेर घरबाट बाहिर एक्लै निस्कीएँ। लेकसुपरियरलाई एकपटक फेरि हातभरि पानी लिएर म स्पर्स गरेँ। फिस्स हाँस्छु आफैंसँग बोलेझैं गरी।
चिसो कुहिरोले हामी वरीपरीको वातावरणलाई छोपिरहेको थियो। यो सँगै साँझको रङ छिप्पिदै पनि थियो। तालले आफ्नो आवाजलाई छालको माध्यमबाट बिस्तारै बढाउँदै गईरहेको थियो। मनमनै भोलि बिहान फेरि भेट्न आउने वाचा गरेर आजलाई लेकसुपरियरसँग बिदा मागेँ। रातको दस बजिसकेको थियो। हामी यताउताका रूखहरु चुपचाप वसेका थिए। रातको मौनतामा तालको छाल कुनै आमाले आफ्नो बच्चा सुताउन गुन्गुनाईरहेको कुनै मिठो धुनको आवाज जस्तो लाग्दथ्यो। दिनभरिको थकाईले होला, यत्तिकैमा कतिखेर निद्रा परेछ पत्तै पाईनँ।
भोलिपल्ट बिहानै तालको छालमा उभिएर केही फोटो खिचेर बेलुका फेरि यही भेट्ने बाचागर्दै गुज्बेरी फल्स स्टेटपार्क पुग्यौं। यो प्राकृतिक झरना राम्रो त थियो तर पानी अलि धमिलो रहेछ। हामीजस्तै पर्यटकको सङ्ख्या टन्न थियो। लेकसुपेरियरकै एक छेउमा रहेको स्प्लिट रक लाईटहाउस र मध्ये दिनको निलो तालमा केही समय बिताई त्यहाँबाट अगाडि बढ्यौ।
मौसम असाध्यै राम्रो भएकाले आजको यात्रा थप सम्झन लायकको रह्यो। गाडीको झ्यालबाट निलो पानीलाई झल्याकझुलुक रूखका बिचबाट नियाल्दै क्यानडाको सीमा भन्दा केही वर अध्यागमनको कार्यालयसम्म पुगेर साँझमा चराहरु हुल बाँधेर गुँडतिर गएझैं हामी पनि आफ्नो वासस्थानतिर लाग्यौं। बाटो बाटोमा चिरेका दाउराहरु बेच्न राखिएका थिए, तर सबभन्दा रमाईलो त त्यहाँ दाउरा बेच्ने कुनै मान्छे थिएनन्। दाउराको मूल्य सँगै रहेको भाँडामा खसाली दिनका लागि एउटा सूचना टाँस गरिएको थियो। हामीले पनि सोही सूचना अनुसार बेलुकाको लागि चार मुठा दाउरा किन्यौं र बीस डलर त्यहीँ भाँडामा राखिदियौं।
बेलुका तिनै दाउरा बालेर हामी बसेको घर बाहिर घरधनीले पहिले नै तयार पारेर राखेको चुल्होमा आगो बाल्दै कुर्चीमा बसेर बेलुकाको समयको पनि भरपुर अनुभव सँगाल्यौं। विकसित देशको घुमाईबाट सिक्नुपर्ने धेरै धेरै विषयहरु भए पनि ठूला ठूला तालहरुलाई नजिकैको समुद्रसँग जोडेर ठूला ठूला पानी जहाजहरु पनि ताल भित्र ल्याउन सम्भव बनाएको हुन्छन् भन्ने सुन्दा साँच्चै नै अनौठो अनुभूति भयो। यसले गर्दा भित्र भित्रका वस्तीहरु समेतसम्ममा सामान ढुवानी धेरै सस्तो र सजिलो पर्न जाँदोरहेछ।
सपरिवार दुलुथ घुम्न आएको आज हाम्रो तेस्रो दिन लेकसुपरियरको आकर्षण अझैं बाँकी छ, तर, त्यहीँ वसिरहन हामीसँग पर्याप्त समय छैन। हामी त्यहाँबाट त्यो सुन्दर घरलाई अस्ति आईपुग्दा जस्तो थियो उस्तै किसिमले सफासुग्घर बनाएर हिँड्यौं। यो यताको चलन नै हो। अन्यथा, घरधनीले सो बाफतको राम्रै रकम असुल गर्दोरहेछन्।
आज पनि हाम्रो बायाँपट्टि एकनासले बगिरहेको लेकसुपरियरको सुसाहट नेपथ्यमा कतै नजिकै बजिरहेको बाजाको मधुरो स्वरजस्तो सुनिन्थ्यो। दुई तीन सय किलोमिटर अगाडि पुगेपछि गाडी एकछेउमा रोकेर फेरि एकपटक त्यहीँबाट समग्र ताललाई अन्तिम पल्ट अघाउञ्जेलसम्म हेरेपछि आ-आफ्नो माबाईलमा यो क्षणको तस्विरहरु कैद गरी यहाँको सौन्दर्यता एकापसमा साट्दै आफ्नो गन्तब्यस्थलतर्फ लाग्यौं।
वायु बेगमा दौडिरहेको गाडीको झ्यालबाट मैले देब्रेतिर हेरेँ, ताल पछि पर्दै थियो हामी अघि बढ्दै थियौं। प्रकृतिको यो विशिष्ट उपहार आज पनि हिजो जत्तिकै आकर्षक लागिरहेको छ। यसलाई पुरै एक फन्को मार्न गाडीमा चढेर कम्तिमा तीनदेखि चार दिन लाग्छ रे भन्ने सुनियो। पैदल हिँडेर त हाम्रो उमेरका प्रौढहरुलाई असम्भव जस्तै थियो।