‘घुम्न जाने होइन दाइ? भनेर धरानबाट निरज भाइले फोन गर्यो।
‘किन नजानू? जाने हो नि’, मैले जवाफ दिएँ।
काठमाडौंमा भएको म यात्रामा जान भनेपछि भोलिपल्टै हायस चढेर धरानतर्फ लागेँ।
‘कहाँ यस्तो बर्खा, जुका, झरी, बाढी, पहिरो जानेबेलामा हिँड्न लागेको? अहिले हिँड्ने समय हैन,’ पदयात्रा गर्नुभन्दा पहिला हामीमाथि प्रश्न नउठेका होइनन् तर पनि हाम्रो यात्रा रोकिएन।
हिँड्ने मान्छेलाई केही कुराले पनि रोक्दोरहेनछ। इच्छा र प्रतिबद्ध भएपछि जानको लागि अन्य कुरा गौण हुन्। पहिलोपटक २ जनाले यति लामो पदयात्रा गर्नु थियो। मकालु बेसक्याम्प।
मकालु बेसक्याम्प जाने रूट, बस्ने ठाउँ, देखिने कुराहरू, गर्नुपर्ने पास, बाटोको अवस्था ... धेरै कुराहरू हामी आफैंले बुझेर जानुपर्ने थियो।
पर्यटकको लागि मनसुन अफसिजन जस्तै हो। एकदमै थोरै कोही-कोहीले मात्र यो सिजनमा पदयात्रा गर्छन्। हामीसँग गाइड, पोर्टर केही थिएन। जे थियौ सबै आफैँ थियौं।
त्यो ठाउँमा गएका चिनेका साथीलाई फोन गरियो, इन्टरनेटमा त्यसका बारेमा हेरियो त्यसपछि हामीले १२ दिनको आइटिनेररी तयार पार्यौं।
मलाई आफैँ अचम्म लागिरहेको थियो। १२ दिनसम्म हिँडेको हिड्यै कति ठाउँ पार गरिएला त? कति टाढा होला त्यो ठाउँ। धरानमा एक दिनको समय पदयात्राको सामान किन्नलाई नै बितायौँ।
गाँस, बास, कपासलाई आवश्यक पर्ने सबै कुराहरु किन्यौँ। कतै खान पाइएन, बस्न पाइएन, सुत्न ओछ्यान पाइएन भन्नू परेन ती सबै सामानको जोहो गरेका थियौँ। लाइटरदेखि डोरी, टेन्ट, प्लास्टिक, कप, कचौरा, स्लिपिङ ब्याग, खाने कुराहरु (चक्लेट, चाउचाउ, बिस्कुट, स्याउ, सातु), चप्पल क्यामेरा, कपडा, औषधि, ब्याट्री ब्याकअप... सामानले हाम्रो ब्यागप्याक भरिएको थियो।
यति धेरै तौल भएको ब्याग बोकेर ट्रेकिङ गर्न धेरै गाह्रो हुन्थ्यो। मनसुनमा सबैभन्दा मुख्य कुरा पानीबाट आफू र आफ्नो ब्याग जोगाउनु थियो। यसको लागि छाता, प्लास्टिक, रेनकोट तिनैथरी कुरा हामीले बोकेका थियौँ। भोलिपल्ट धरानबाट संखुवासभा खाँदवारी जाने जिपमा चढ्यौं।
यात्राको पहिलो दिन, बिहानै जिपमा धरानबाट धनकुटा-हिले-पाख्रीबास, अरूण नदिको तिरैतिर भएर खाँदवारी पुग्यौं। यसको बिकल्पमा हिलेबाट तेह्रथुमको बसन्तपुर, मुडे- चैनपुर हुँदै पनि खाँदबारी जान सकिन्छ।
यात्राको क्रममा प्राकृतिक मनोरम दृश्यहरु नियाल्दै हामी अगाडि बढ्यौं। करिब ६ घण्टापछि संखुवासभा सदरमुकाम खाँदबारी पुग्यौं। हवाई यात्रीका लागि तुङ्लिङ्टार हुँदै आउन सक्छन्।
आइटिनेररी अनुसार पहिलो दिनको गन्तब्य नुम थियो। तर त्यहाँ जान सहज थिएन। खाँदबारीबाट करिब ३-४ घण्टा कच्ची बाटोमा गाडीको यात्रापछि पुग्न सकिन्थ्यो। तर भनेका बेला गाडी पाइदैन थियो। निजी बोलेरो र जिप कहिलेकाहीँ जाँदा रहेछन्। हामी पनि २-३ घण्टा आराम गरेपछि बल्ल गाडी पायौं र नुमतर्फ गयौं। राति ७-८ बजेतिर नुम बजार पुगियो। त्यो नै गाडीबाट पुगिने अन्तिम ठाउँ हो।
दोस्रो दिन, सोझै ओरालो अरूण नदिको खोँचहुँदै हाम्रो पदयात्रा सुरू हुन्छ। करिब १ घण्टा हिँडेपछि अरूण नदि पुग्यौं। नदि तरेपछि मकालु गाउँपालिका प्रवेश गरिन्छ। यात्रा अवधिभर त्यहीँ पालिका भित्रका विभिन्न ठाउँहरु हिँड्नुपर्ने हुन्छ।
दुई घण्टाको उकालो हिँडेपछि सेदुवा बजार पुगिन्छ, जहाँ मकालु बरूण राष्ट्रिय निकुञ्जको कार्यालय छ। हामीलाई २ घण्टाको बाटो ४ घण्टा लाग्यो। गह्रौं झोलाका अधिकांश सामानहरू त्यहीँ छाड्यौँ। खाना खाएर हाम्रो यात्रा टासी गाउँतर्फ अगाडि बढ्छ। वरिपरि जङ्गलले घेरिएको शेर्पा समुदाय बसोबास गर्ने यो ठाउँका सबै मानिस ट्रेकिङ, माउन्टेनरिङ पेशामा आबद्ध छन् । यो गाउँ मकालु बरूण पदमार्गको अन्तिम गाउँ हो।
तेस्रो दिन, सबैभन्दा कठिन तथा लामो यात्रा थियो। टासिगाउँ (२१५० मि.) बाट सिप्टोन ला ( ४२३० मि.) मा पुग्दा धेरै कठिनाई बाधा ब्यवधान खेप्नुपर्यो।
आगामी दिनमा गरिने ट्रेकिङको लागि धेरै अनुभव सिकेको दिन थियो हाम्रो लागि यो। उकालो बाटो, ढुङ्गाको सिँढी, जुका, झरी, कुहिरो यी सबै हाम्रो लागि चुनौती थिए। करिब ५/६ घण्टा हिँडेपछि खोङमा (३६०० मि.) मा पुगेर खाना खायौं।
पदयात्रा गर्नेहरूले यो ठाउँमा एक दिनको बास बस्नु नै उपयुक्त हुनेरहेछ। दुई तीन वटा होटेलहरु रहेको यो ठाउँ अल्टिचुड अक्लमटाइजेसन को लागि उचित हुन्छ, तर हामीले त्यसो गरेनौँ।
खोङमाबाट करिब ४/५ घण्टाको समयमा सिप्टोन ला पुग्न सकिन्छ, त्यहाँ एउटा मात्र टि हाउस थियो, हामीले त्यही ठाउँमा बास बस्ने गरि उकालो बाटोको यात्रालाई निरन्तरता दियौं।
बाटोमा घुङ्ग्रु ला (४०५० मि.) पार गर्नु पर्दथ्यो, जुन ठाँउबाट वरिपरिका मकालु लगायत अन्य हिमशृङ्खला देख्न सकिन्छ।
लगातारको वर्षा र बाक्लो कुहिरोको कारण केही देख्न पाएनौँ। केही घण्टाको तेर्सो हिँडाईपछि सानो पोखरी ( ४१०० मि.) पुग्यौं।
कुहिरो हटेकाले पोखरीको फोटो खिच्न सुरू गर्यौं। पानी भने परिरहेको थियो। बाक्लो कुहिरोसँगै ठूलो वर्षा भयो।
हामीले छाता सेदुवामा नै छोडेका थियौँ, रेनकोटले पानी छेकेन। यति धेरै भिजियो कि जुन ठाउँमा ट्रेकिङ गर्दा पनि त्यहीँको सम्झना आउँछ। देख्दा थोरै हिँड्दा धेरै समय लाग्ने आजको अन्तिम उकालो हिँडेसँगै सिप्टोन ला पुग्यौं।
अघिल्लो दिनको थकानलाई बिहानै खुलेको आकाश, चाँदी जस्तो टल्केको हिमाल, वरिपरि हरियाली बिचमा ठूलो कालो पोखरी (४१०० मि.) ले बिर्स्याइदियो। आजको हाम्रो यात्रा सजिलो थियो।
बिहानीको धेरै समय प्रकृतिसँग रमाएर फोटो खिचेर बित्यो। केके ला (४२०० मि.) पास गरेर ओरालो बाटो दोबाटे (३९०० मि.) हुँदै बरुण नदि (३३०० मि.) तर्फ लाग्यौं। हाई अल्टिच्युड बाट लो अल्टिच्युड तिर जानुपर्ने भएकाले यात्रा स्वत: सजिलो भएको थियो।
मकालु बेस क्याम्प बरूण नदिको मुहानसँगै रहेको छ। अब यात्रा गर्ने धेरै समय बरूण नदिको किनारै किनार हुन्छ। २-३ घण्टाको तेर्सो हिँडाईपछि याङ्ले खर्क (३६५० मि.) पुगिन्छ। बाटोमा ठूला- ठूला पहिरोहरु पार गर्नुपर्ने हुन्छ। वर्षाको समयमा बरूण नदिको किनारको बाटो भने जोखिम नै छ।
पाँचौ दिन, याङ्लेखर्कमा ट्रेकिङ ब्यवसायमा संलग्न हिमाल राईसँग भेट भयो। उहाँ पनि बेसक्याम्प जाने भएकोले त्यहाँबाट हामी तीन जना भयौ। जति अगाडि बढ्दै गयो त्यति नै राम्रो ल्याण्डस्केप दृश्य बाटोमा देखिएकाले हाम्रो यात्रा रोमान्चित बनेको थियो।
बाटोमा साथी भेटिएकाले हाम्रो लागि र उहाँको लागि दुबैलाई फाइदा /बेफाइदा दुबै भयो।
पथप्रदर्शकको रूपमा हामीलाई सजिलो भएको थियो भने उहाँले एक्लै यात्रा गर्नुपरेन। उहाँको कारण हामीले दुई दिनको यात्रा एकै दिनमा सकेको थियौँ। जसको कारण बेसक्याम्पमा छुट्याइएको समय त्यो ठाउँमा घुम्न, फोटो खिच्न, रमाउन पाएनौँ।
हामीले धेरै समय फोटो खिचेर अल्मलाएर उहाँलाई ढिला गरेर असर पुर्याएका थियौँ। हामी हिँड्ने बाटो बरूण नदिको वारिपट्टि थियो भने पारिपट्टि ङ्हे खर्क (३७५० मि.) रहेछ।
त्यो खर्क बरूण भ्यालीको नाममा प्रसिद्ध छ। त्यहाँको ल्याण्डस्केप उत्कृष्ट छ। माथि हिमाल, हिमालबाट बग्दै गरेका पानीका झरना, तल जङ्गल, चौँरीखर्क (गोठ), भुइँ फूलहरुले जो कोहीको मन लोभ्याउने गर्छ।
धार्मिक रुपमा प्रसिद्ध शिवधारा ( ४३०० मि.) पनि त्यहीँ नजिकै छ। ठूला ठूला ढुङ्गाको पहाड आमाभुजुङ ट्रेकर्सको आकर्षणको अर्को केन्द्र हो ।
मेरेक (४००० मि.) हुँदै लाङमाले (४४५० मि.) मा पुगिन्छ। जहाँ एउटा होटेल, २/३ वटा चौँरीगोठ छन्। ल्याण्डस्केप, माउन्टेन भ्यू, हिमताल, पोखरी अबलोकन गर्न सकिन्छ।
यो ठाउँमा ट्रेकको अन्तिम होटेलको रूपमा सबै सिजनमा खुल्ने होटेल छ। यसभन्दा माथि बेसक्याम्पमा टि हाउस भए पनि अफसिजनमा खुल्दैन। लाङमालेबाट ३/४ घण्टाको यात्रा पछि मकालु बेसक्याम्प (४८०० मि.) पुगिन्छ।
हल्का उकालो /तेर्सो बाटो पार गर्दै ढकमक्क फूल फूलेका फाँटहरु, ग्ल्यासियर हेर्दै बरूण नदि पार गरेपछि बेस क्याम्प पुगिन्छ।
दुधपोखरी बरूण नदिको उद्गमस्थल सँगै रहेको यो बेसक्याम्प मकालु हिमाल अवलोकन गर्न आउने पर्यटक, आरोहीको लागि गन्तव्यस्थल हो। यसका साथै यो ठाउँबाट सोलुखुम्बु ६१५० मिटर को पास गरेर जान पनि सकिन्छ।