मलाई यकिन छैन तर स्कुलको प्राथमिक तहमा पढ्दै गर्दा कसैले सुनाइदियो- 'मृतसागर अर्थात् 'डेड सी'मा डुबिँदैन रे।'
स्कुल जीवनमा खोल्सातिर बनेका साना-साना पोखरीमा पौडी खेल्दातिरदेखि नै यो मृत सागरले मेरो मनमा डेरा जमायो। जति उत्रिन खोज्दा पनि पौडिन नजानेर चुर्लुम्म डुब्दै पानी खाने मलाई पानीमा नडुब्ने कुराको विश्वास नै थिएन।
सोच्थें, नडुब्ने पनि पोखरी हुन्छ त? मलाई किन यस्तो गलत सुनाइदियो भन्ने लागिरहन्थ्यो। तर जब म माध्यामिक तहको अध्ययन गर्न बेसी अर्थात् ग्याल्थुम झरेँ, मेलम्ची खोलामा पौडी खेल्दा पनि यो कुरा म सम्झिरहन्थेँ। अझ खोला वारिपारि गर्न पौडिँदा पौडिँदै हातखुट्टा गलेर डुब्थें।
फेरि त्यही कुरा सम्झिन्थें- त्यो ठाउँ जहाँ मज्जाले पौडी खेल्न पाइयोस्, गज्जबले उत्रिन पाए कस्तो हुन्थ्यो होला! कल्पना त गर्थें तर अझ मनमा विश्वास थिएन कि त्यस्तो नडुब्ने पोखरी पनि होला र भन्नेमा।
मेरो त्यो बाल्यकालदेखिको कल्पना र सपना पूरा गर्न असारको दोस्रो साता इजरायल जाने अवसर जुर्यो। हामी ४ जना साथी गत असार १७ अर्थात् जुलाई १ का दिन मृत सागर जान बिहानै तेल अभिभ र हर्जेलियाबाट हिँड्यौं। मनमा यसबारे बाल्यकालदेखिको अनेक सोच त थियो नै अझ यात्रामा साथी प्रदिपसागर गिरीको व्याख्याले मन उत्साहित थियो। अझ भनौं मन फुरूङ्ग चंगाजस्तै उडिरहेको, नाचिरहेको थियो।
जुलाईको महिना त्यसै त गर्मी अझ मृत सागर जाने बाटो मरूभूमि रहेछ, गर्मी त बढ्ने नै भयो। एक सय प्रतिघण्टा भन्दा बढीको गतिमा गाडी हुँइकाइरहेका थिए सोवित थापाले। करिब साढे दुई घण्टाको यात्रामा इजरायले अपनाएको कृषि प्रविधि, आधुनिक भवन, रेल, मोनोरेल, सुरूङ अनि कृषि फर्महरू नजिकबाट नियाल्ने मौका मिल्यो।
अझ यात्रामा मिजासिलो स्वभावका प्रदिप, सविन अनि सोवितको गफ तथा अनेक किस्सासँगै विभिन्न नेपाली गीतमा हाँसीमजाक गर्दै यात्रा गर्यौं। समुद्र सतहबाट तल झर्न थालेपछि थुप्रै घुम्ती र घुमौरा सडक पार गर्दै मृत सागर देखिने डाँडामा पुग्यौं। गाडीबाट ओर्लियौं। डेड सी नियाल्दै हामी रमायौं, गह्रा-गह्रा बनेको हेर्यौं, मज्जाले उफ्रियौं, फोटो खिच्यौं। तर बिहानको नौ बजे नै ३५ डिग्रीभन्दा बढी तापक्रम भएकोले धेरै बेर बस्न सकिएन।
गाडी चढेर लाग्यौं, सपनाको सागर उही डेड सी तिर।
जब हामी मृत सागर किनारामा पुग्यौं, आधुनिक स्तरका सडक, व्यवस्थित पार्किङ, जरामा पाइपमार्फत पानी हालेर हुर्काइएको रूखहरू तथा सुविधा सम्पन्न होटेलले थप उत्साह थप्यो। तापक्रम ३८/४० डिग्री भएकोले एकदमै गर्मी भयो। पानीभन्दा वियर सस्तो पर्ने भएकोले जुस तथा वियर पिउँदै समुन्द्रको किनारातर्फ लाग्यौं। हामी पुग्दा डेड सी किनारामा सयौं जना कोही नुहाउँदै, कोही फोटो खिच्दै, कोही हग गर्दै त कोही मज्जाले समुन्द्रमा उत्रिरहेका थिए।
किनारामा नुन नै नुन थियो। पानी छुँदा पूरै चिप्लो अनि एकदमै नुनिलो। प्रदिपले आँखा, मुख अनि टाउको पानी पार्न नहुने बताउनु भयो। किनकि नुनको मात्रा धेरै भएकोले आँखा, मुख, कान र कपालमा असर गर्ने रहेछ।
जब डुबुल्की मार्न खोज्दा उत्रिर्यौं
हाम्रो टिममा ४ जना थियौं। प्रदिप सँगै म पनि डुब्न खोजेँ तर जति डुब्न खोजे पनि उतार्दो रहेछ। उत्तानो परेर हात र खुट्टा दुवैले नमस्कार गर्दै मज्जाले तैरिदाँ मैलें फेरि त्यहीँ बाल्यकाल सम्झिएँ। आहा! म कति भाग्यमानी, मनमनै खुसीले रमाएँ।
झन्डै दुइ मिनेट जति उत्तानो परेर यताउता गर्दा पनि नडुब्ने। घरी नमस्कार गर्छु, घरी दुवै हात फैलाउँछु, घरी दुवै खुट्टा हातले समाएर नमस्कार शैली अपनाएँ, जे गर्दा पनि उतार्ने। कस्तो मज्जा! कस्तो आनन्द!
प्रदिपले कराउँदै धेरैबेर 'सी मड नलगाई पानीमा बस्न नहुने' भन्दै किनारामा आउन आग्रह गर्नुभयो।
अब उठ्न र उत्रन खोजें, सकिनँ। सोवितले आएर उठाइदिनु भयो। हामी हतारिएर 'सी मड' अर्थात् 'कालो माटो' जसले शरीरलाई नुनबाट जोगाओस् र छाला बिग्रन नदियोस् भनेर लगाउने गरिने रहेछ। ४ जनाले २ प्याकेट सी मड लगाएर फेरि मृत सागरमा पस्यौं। डुबुल्की मार्न खोज्दा उत्रियौं। म अझ परसम्म जाने खोजें। जति पर उती गहिरो रहेछ। म फेरि उत्तानो परेर सुतें, मृत सागरले उतार्यो। यो क्रम हाम्रो आधा घण्टाजस्तो निरन्तर चलिरह्यो।
पानी एकदमै नुनिलो र शरीर चिप्लो भएकाले किनाराको छेउमै नुहाउने व्यवस्थित धाराहरू थिए। त्यहाँ आएका विश्वभरकै मानिसहरूले एउटै धारामा पालपालो नुहायौं।
विश्वमै अग्लो स्थान नेपालमा र होचो इजरायलमा
विश्वकै अग्लो शिखर सगरमाथा भएको देश नेपालका धनी हामी, विश्वकै होचो स्थान इजरायलको मृत सागर। अरू देशका नागरिक मृत सागरमा पुग्दा के सोच्छन् थाहा छैन तर हामी संसारकै अग्लो स्थानको मानिस सबैभन्दा होचो स्थान पुग्दा छुट्टै गर्व अनि खुसी मिल्ने रहेछ। इजरायली नेपाल आउँदा पनि यस्तै खुसी मिल्ने गरेको इजरायली साथीहरूले बताउँथे।
प्राकृतिक रूपमा दुई देशलाई विश्वकै अग्लो र होचो स्थान भएकोले अनुपम वरदान दिएको छ। मृत सागरमा नेपाल-इजरायल दौत्य सम्बन्ध कायम ५० वर्षको अवसरमा राखिएको सगरमाथाको ढुङ्गा छुँदा र हेर्दा नेपाली भएकोमा गर्वले छाति जो कोहीको फुल्ने छ जसरी मेरो फुल्यो। गर्वले फुलेको छातीबाट अनायासै जय नेपाल भन्न मन लाग्ने रहेछ। त्यो पनि एक पटक होइन, पटक पटक जय नेपाल भनें। नेपाली भएको गर्व त्यहाँ थप उजागर भएर आउने रहेछ।
के हो 'डेड सी'?
इजरायलमा रहेको डेड सी (मृत सागर) संसारकै सबैभन्दा होचो अर्थात् समुन्द्र सतहबाट ४२२ मिटर तल रहेको छ। सामान्तया अन्य समुन्द्रमा ३ दशमलव ५ प्रतिशत नुन हुने भए पनि मृत सागरमा ३४ प्रतिशत नुन मिसिएको छ। जहाँ कुनै पनि जीव, माछा तथा किटाणु समेत बाँच्न नसक्ने भएकोले मृत्तसागर समेत भनिन्छ। पूर्वमा जोर्डन पर्ने मृत सागरमा अरू भाग इजरायलमा पर्दछ।
५० किलोमिटर लम्बाइ र १५ किलोमिटर चौडाइमा फैलिएको यो ताल झन्डै ३ सय मिटर गहिरो र तालको औसत गहिराइ १९९ मिटर छ। संसारकै सबैभन्दा नुनिलो पानी यही ठाउँमा पाइने भएकोले छाला सम्बन्धी रोगहरू मृत सागरमा डुबुल्की मार्दा ठिक हुने वैज्ञानिक रूपमा तथा धार्मिक रूपमा समेत विश्वास गरिन्छ।
यी सबै कुरा नुहाएर शरीरमा क्रिम लगाउँदै जुस खाँदै गफियौं। यसमा डुबुल्की मारेर फर्किँदा तापक्रम ४२ डिग्री नाघिसकेको थियो। भतभति पोल्ने घाम भए पनि जीवनको एक सपना पूरा भएकोमा मनमा शीतलताको अनुभूति गर्दै खुसी हुँदै गन्तव्यतिर फर्कियौं।