स्वीट्जरल्यान्ड पुग्दा, मभित्र अनौठो किसिमको ऊर्जा थियो। घुम्न, खान, फोटो खिच्न असाध्यै रुचाउने मान्छे हुँ म।
यूरोपको त्यो सुन्दर देशमा यात्राको सौखिन मान्छेले अनगिन्ती सम्भावना देखेँ। एक्लै भएको भए सायद कहाँ जाऊँ के गरौं अलमल्लमा पर्थें होला। नौलो मेलामा थरीथरीका खेलौना देखेर मख्ख परेको सानो बच्चाझैं म जुरिचका चम्किला दृश्यहरूले मन्त्रमुग्ध थिएँ।
अलिशा दिदी सधैं मलाई सोध्थिन्, 'तिमी के खान्छौ आज?’ म पनि हरेकचोटि नयाँ नयाँ कुराको माग राख्थें। जुरिच पुगेको पहिलो रात अलिशा दिदीले पकाएको स्पागेटी र ससेजको स्वाद आजसम्म पनि मुखमा झुन्डिरहेको छ। अलिशा दिदी असाध्यै जाँगरिली र सिपालु मान्छे, जे भने पनि घरमै झट्ट बनाइदिने। सरसामग्री जुटाउने सकस मात्र, नत्र गोरडन रामजे जसरी नेपाली, भारतीय, इटालियन आदि सबै थरीका पक्वान बनाइदिन्थिन्।
जर्मनीजस्तै स्वीट्जरल्यान्डमा पनि ट्रेन चल्थे। यूरोपको विशेषता नै हो। सुन्दर, सफा लामो ट्रेन चढ्नुको मज्जा नै बेग्लै थियो। मसँग भिनाजुले बनाइदिएको ट्रेन कार्ड थियो। जतिचोटि यात्रा गर्न पनि असीमित सुविधा। कहिलेकाहीँ त कतै जानु नपरे पनि ट्रेनमा डुलेर आइदिन्थें। मैले जुरिच मज्जाले घुमें। एक महिना म जुरिचकै वरपर डुलें। अलिशा दिदी र भिनाजु व्यस्त भएको बेला घरमै नेट फ्लिक्स हेर्दै बस्थें, मानौं म जुरिचमा पर्यटक होइन, त्यहीँकै बासिन्दा हुँ।
म बस्ने ठाउँ नजिकै रप्पेर्स्विल भन्ने रमणीय ठाउँ थियो। अग्लो पहाडजस्तो ठाउँबाट पर जुरिच तालको दृश्य,आहा! आँखामै सजाइरहनुजस्तो सुन्दर। पहिलोपल्ट म रप्पेर्स्विल साँझपख पुगेको थिएँ। क्रिसमसको माहोलले होला, हामीकहाँ तिहारमा जस्तै त्यहाँ झिलिमिली बत्तीले सिंगारिएको थियो।
अग्लो पहाडजस्तो ठाउँमा पुग्दा बाटातिर पुराना चर्चजस्ता देखिने भवनहरू थिए। ठ्याक्कै कुनै फिल्मको भिन्टेज सेट जस्तो। रप्पेर्स्विलबाट मैले देखेको त्यो साँझको नजारा म शब्दमा बयान गर्न सक्दिनँ। इन्द्रको अमरावती सायद यही ठाउँको परिकल्पना थियो। अलिशा दिदीलाई ठाउँ-ठाउँमा एंगल मिलाइ-मिलाइ फोटो खिच्न लगाएर पनि म सन्तुष्ट भइनँ।
‘दिदी उज्यालोमा पनि आऊँ है, कति राम्रो फोटो आउला दिउँसो!' निकै ढिलो हुँदा पनि म फर्कन मानिरहेको थिइनँ। तानीतानी घर लग्नुपरेको थियो।
त्यो रात रप्पेर्स्विल दिउँसोको उज्यालोमा कस्तो देखिएला भनेर मनुवाउँदै म निदाएँ। त्यसपछि पनि धेरै पटक त्यहाँ पुगेँ। प्रकृतिको मनोरम दृश्यावलोकन, हातमा कफी पिउँदै लिनुको जस्तो आनन्द के होला र?
अर्कोपल्ट दिदी, भिनाजु र भिनाजुका मित्र हेमन्त अंकल सँगै म पनि राइनफल्स पुगें। काठमाडौंबाहिर घुम्न जाँदा ससाना झरना देख्दा त मेरो सास रोकिन्थ्यो, राइनफलमा पुग्दा गोचर गरेको दृश्य मेरो कल्पना भन्दा परको थियो। अलौकिक! मैले देखेको सबभन्दा ठूलो झरना।
राइनफल विशाल वाटर फल अर्थात् झरना थियो। सफा, निश्चल सेतो पानीको फोहोरा अग्लो ठाउँबाट झर्दा परसम्म पनि त्यसैको आवाजमात्र सुनिन्थ्यो।
सुनामीको ठूलो छालजस्तै विशाल झरना तह-तहबाट हेर्न मिल्थ्यो। हामी त्यो झरना सबभन्दा नजिकबाट हेर्ने ठाउँसम्म पुग्यौं। छेउमा पुगेर यसो तल चिहाउँदा त आङ नै सिताङ्ग भएर आउँथ्यो।
मलाई मनपर्ने फिल्म 'इन्टरस्टेलर' मा एउटा पानी नै पानी भएको ग्रह देखाउँछ। राइनफल पनि त्यस्तै ग्रहझैं थियो। वरिपरि जताततै पानी। माथिबाट झरेको झरना तल बसेर हेर्दा, मुखभरि पानीका छिटा पर्थे। राइनफल यूरोपकै सबभन्दा शक्तिशाली झरना रहेछ। त्यो अद्भूत दृश्य मेरो कल्पना बाहिरको थियो। एक्लै हेर्न मेरो मनले मान्दै मानेन।
हतार-हतार घरमा फोन लगाएँ। बाआमालाई राइनफल नदेखाई भएन। झन् बाआमाले हेरून् भनेर डराइडराई झरनाको दृश्य देखाइराख्याथेँ, उताबाट प्रवचन चलिरह्यो,
'बाबु ,फोन खसाउलिस् , चिप्लिएर लड्यो भने मरिन्छ।’
बाआमासँग एउटा दैविक गुण हुन्छ। साधारणभन्दा साधारण छोराछोरीसँगको वार्तालापलाई सत्संगमा रूपान्तरण गर्ने।
'लु, लु' भन्दै फोन काटें।
स्वीट्जरल्यान्डमा रमाइलो गर्नका लागि कैयौं ठाउँ थिए। हिमाल मन पराउनेहरू स्वीस अल्प्स नबिराइ घुम्न जान्छन्। व्यावसायिक सहर भए पनि जुरिच वरिपरि प्रकृतिको आनन्द लिने कैयौं ठाउँ थिए। हामी एकदिन जुरिच टावर पनि चढ्यौं। ३०-४० मिनेटको हाइकपछि पुगिने त्यो टावरबाट जम्मै जुरिच सहर देखिन्थ्यो। निलो जुरिच ताल, स-साना देखिने भवन, त्यो दृश्य पनि आफैंमा निकै रोमाञ्चक थियो। जुरिचको मुख्य बजारको आफ्नै छुट्टै विशेषता थियो।
व्यावसायिक भवनहरू, स्वीस बैंक, मलहरूले जुरिचको चोक-चोकमा भव्यता थपेको थियो। संसारकै महँगा ब्रान्डहरूका पसल जुरिचमा थिए। विन्डो सपिङ गर्दागर्दै मेरा आँखा कहिल्यै थाकेनन्।
एकदिन बाबाले फोन गरिस्यो, म बाटोमा हिँड्दै गर्दा, म पनि जिस्क्याउँदै थिएँ, ‘बाबी के ल्याइदिऊँ त स्वीट्जरल्यान्डबाट ?’
बाबा तम्सिँदै भन्न थालिस्यो, ‘यसो घडी पाइन्छ कि बेटा हेर त’।
मेरो पालो साइडमै एउटा घडी पसल रहेछ। सिसामा सजाइराखेको घडीहरू लगेर देखाएँ। 'कुन ल्याइदिऊँ त बाबी?’
'कति पर्दोरहेछ हेर् हेर्,ऊ त्यो राम्रो रहेछ' ।
'४-५ लाख।'
एकछिन बाबा केही बोलिसेन। अनि अमिलो मुख लाउँदै,'छाड्दे भैगो' भनिसो।
म गललल्ल हाँसे। स्वीस वाच किन्ने ल्याकत मेरो थिएन। विश्व प्रख्यात स्वीस घडीका पसल जुरिचमा जताततै थिए। विद्यार्थी जीवनमा गोजी छाम्दै हिँडेको मेरा लागि जुरिचका धेरै पसलहरू आकाशको फल आँखातरी मर् नै थिए।
अलिशा दिदीसँग जुरिचमा सपिङ गर्न पनि गएँ। धेरैजसो खाद्यान्न सामग्री किन्न। डिपार्टमेन्टल स्टोर, मार्टमा सबैकुरा सजिलै पाइन्थ्यो तर नेपाली खाना पकाउन चाहिने मरमसला खोज्न पर भारतीय या तमिलियन पसल पुग्न पर्थ्यो। मार्टमा राखेका भन्दा यस्ता पसलमा अझ सस्तो मूल्यमा मसला, कन्दमूल, तरकारी इत्यादि पाइन्थ्यो।
जुरिच बसाइको सबभन्दा अविस्मरणीय याद नयाँ वर्ष २०२० को रहेको छ। म जुरिच २०१९ को डिसेम्बरतिर पुगेको थिएँ। नयाँ वर्ष इभको दिन सबैजना मिलेर जुरिच तालमा फायर वोर्क्स अर्थात् पटाका पड्काएको हेर्न जाने निधो भयो।
बेलुकीसम्म ट्रेन चल्ने भएकोले हामीलाई खासै चिन्ता थिएन। घरैबाट पार्टी सुरू भयो। मैले भनेर अलिशा दिदीले गारलिक ब्रेड बनाउनुभएको थियो। साथमा थियो प्रोसेको स्याम्पेन। सबैले हातहातमा प्रोसेको खाइराखेका थिए। म पनि त १९ वर्षको थिएँ। यूरोपमा मदिरा सेवन गर्न पाउने आधिकारिक उमेर १६ हो।
मैले आफ्नो ग्लासको प्रोसेको सकेर अलिशा दिदीसहित २-३ ग्लास अरूको पनि बजाएछु। उसै त हाँसिरहने मान्छे, प्रोसेकोको साथमा त सिध्दु पाजी जसरी हाँसेको हाँसै!
अलिशा दिदीको घरमा निकैबेर नाचगान गरियो। त्यो भिडिओपछि हेर्दा लाजले कान राताराता भएका थिए।
भिनाजु र दिदी आजसम्म पनि मलाई त्यसदिनको स्मरण गराई जिस्क्याइरहनु हुन्छ।
घरमा रमाइलो गरेपछि हामी जुरिच तालसम्म पुगेका थियौं। बाटोमा नाच्दै, हल्लिँदै, गीत गाउँदै।
‘ग्लुवाइन खाने?’ भनेर हेमन्त अंकलले सोध्दा 'खाने नि हिहिहाहाहा' भन्दै ग्लुवाइन पनि दन्काएछु।
चिसो-चिसो मौसममा तातो ग्लुवाइनले झनै ऊर्जा दियो। नयाँ वर्ष मनाउन यूरोपका हरेक मुख्य सहरमा निकैबेर पटाका पड्काइन्छ। विशेषगरी नदीनाला, ताल वरिपरि त्यो हुन्छ। जुरिच तालमा नयाँ वर्ष २०२० मनाउन कयौं मान्छे भेला भएका थिए। त्यतिखेर कोरोना महामारी कताकता ओढ्ने ओढेर लुक्या थियो।
निर्धक्क हुँदै हामी घण्टौंसम्म पटाका हेरेर रमायौं। खुला आकाशमा त्यसरी पटाका पड्काउनु वातावरणको लागि निकै घातक हुन्छ भनेर थाहा पाउँदापाउँदै आँखाको मजा लुटिरहें। त्यो रात म जिन्दगीमा कहिल्यै बिर्सन्नँ।
संसारका कयौं दु:ख, सांसारिक मायाजालभन्दा पर १९ वर्षको एउटा व्यक्ति खुला आकाशमा एउटा सपनामा बाँचिरहेको थिएँ। मेरो धरातल, मेरो यथार्थ सबै आफ्नै ठाउँमा थिए तर जुरिच ताल तल हातमा ग्लुवाइन लिँदै म अर्कै दुनियाँमा थिएँ।
एकपल्ट दिदी र भिनाजुसँग जुरिच चिडियाखाना पनि गएँ । बच्चाबेला जावलाखेलको जू गएदेखि कहिल्यै चिडियाखाना गएको थिइनँ। जुरिचको चिडियाखाना व्यापक ठूलो थियो। थरीथरीका जीवजन्तु, चरा अनि सर्पका प्रजाति थिए। कति जनावरको नाम सुनेको तर नदेखेका थिए भने कति त पहिलोपल्ट देख्दै थिएँ। त्यहाँ एक ठाउँमा त 'इन्डोर इकोसिस्टम' नै थियो।
अर्थात् ढोकाभित्र कृत्रिम जंगल नै। जंगल सफारी गएझैं अनुभव हुनेगरी सबैभित्र बनाइएको। १० कक्षामा पढ्नुपर्थ्यो। इनसिटु र एक्ससिटु कन्जर्भेसन जुरिच चिडियाखानाभित्र अदभूत किसिमले यो अपनाइएको थियो।
जुरिच सहरमा एक महिना बिताउँदा मैले त्यहाँको सबैथोक थाहा पाएँजस्तो महसुस भैसकेको थियो। स्वीट्जरल्यान्ड बैंक र प्रकृतिका लागि मात्र होइन चकलेटको लागि पनि प्रख्यात छ। संसारकै नामी लिन्ट चकलेट फ्याक्ट्री नै जुरिचमा रहेछ।
स्प्रुङ्गलीका चकलेट र केक खाएर पनि जुरिच बसाइ निकै मीठो रह्यो।
जुरिच बस्नका लागि स्वर्गझैं थियो। बिहानबिहान उठेर मर्निङवाक जाँदा बाटामै फिल्मका लोकेसन जस्ता डाँडाकाँडा भेटिन्थे।कहिलेकाहीँ आमालाई जिस्क्याउन, 'उ हेरिस्यो त फलानो फिल्म यहीँ सुटिङ गरेको रे' भनिदिन्थें।
आमा पनि 'ए हो त काजल यहीँ नाचेकी थिई' भन्दै दंग पर्थिन्।
अलिशा दिदी र प्रकाश भिनाजुले मलाई निकै माया र स्नेहले जुरिचमा एक महिना राख्नुभयो। समय सकिन लाग्दा त जुरिच छाडेर जर्मनी फर्कनै मन थिएन। स्वीट्जरल्यान्ड त दसैं मनाउन घर आएको झैं लाग्यो। एक महिनाभरि मैले घुमेँ, खाएँ, टन्नै फोटो खिचेँ।
अविरल बग्ने जिन्दगीमा नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ व्यक्तिहरू सँगै घुलमिल गर्दा जीवनमा नौलो मिठास आउँछ।
नेपाललाई स्वीट्जरल्यान्ड बनाउँला भन्ने नारा लिएर हाम्रो देशमा थुप्रै नेता बसेका छन्। अलिशा दिदी र प्रकाश भिनाजु भने स्वीट्जरल्यान्डमा सानो नेपाल बनाएर बस्नुभएको छ। अहिले जुरिचमा बिताएका दिन सम्झँदा आँखा रसाएर आउँछन्। जीवन धेरै सजिलो थियो। महामारीले निसासिनुअघि स्वीट्जरल्यान्डको खुला, स्वच्छ वातावरणमा मैले सास फेरें।
ब्रेमेन फर्कन ट्रेन चढ्दा म निकै भावुक भएँ। विदेशमा ऐश्वर्य छ, पैसा छ, सुविधा छ, सबथोक छ तर आत्मीयता र प्रेमको कमी छ। विदेशी भूमिमा अलिशा दिदी र भिनाजुले देखाएको आत्मीयताले मलाई नतमस्तक पार्यो। जुरिच बसाइले गोजी रित्तो भए पनि अमीट यादहरूको भरिपूर्ण बाकस लिएर म ब्रेमेन फर्किएँ।
यो पनि:
जब ट्रेनमा पासपोर्ट देखाउँदा पुलिसले खासखुस गर्न थाले…