भर्खरैमात्र देखिएको त्यो शिखर एकैछिनमा हरायो। धुम्म हुस्सुले शिखर छेकी गइहाल्यो। केहीबेरअघि देखापरेको शिखर अहिले नदेखिनु भनेको शिखर नै नहुनु होइन। त्यसैगरी जीवनमा एक पटक लड्नु भनेको उठ्न नसक्नु पनि होइन।
जीवन जिउन निरन्तर धैर्यको आवश्यकता पर्छ, त्यसैले धैर्य हुन सिक्नुपर्छ। कुरानमा त्यसैले लेखिएको होला ‘हर्कत करोगे त बर्कत अवश्य मिलेगा।’
सायद यही कुनै बेला देखिनु र हराउनु नै हिमाल र जीवनका विशेषता होला।
हिमालको यात्रामा भर्खरैमात्र देखिएका शिखर पनि क्षणभरमा नै हराउँछन्। मानिसको जीवनमा पनि जीवनरूपी शिखरहरू छिनभरमै देखिने र भत्किने भइरहन्छ।
ड्राइभर दाइ स्टेरिङ मोड्दै ठाडो उकालोमा सुमोलाई उकाल्दै थिए। उनको दिमागमा गाडीको चक्का नाचिरहेको थियो होला तर म हिमालमा देखिएको हुस्सु र शिखरको लुकामारी हेर्न नै मस्त थिएँ।
सुमोमा ड्राइभर दाइको मुहार हेर्दा मनमा डर लागिरहेको थियो किनकि जति सुमोका चक्काले अप्ठ्यारा बाटो पार गर्दै थियो, त्यति नै कठिन बाटो थपिँदै थियो। यो कुरा यात्रामा मात्र नभई दैनिक जीवनमा पनि लागू हुन्छ।
यात्राको क्रममा जति कष्ट गरी एउटा पहाडलाई जितिन्छ। त्यो नसकिँदै अर्को पहाड आँखै अगाडि देखापर्छ।
यी र यस्तै यात्राका मोड र जीवनका मोडलाई समान नै देखेर होला सरूभक्तले आफ्नो कृति चुलीमा हरेक हिमाली घटना र जीवनका घटनालाई दाँजेर उपन्यासको रूप दिएका छन्।
हामी रामेछापको गाल्पा बजारबाट करिब १० किलोमिटर लम्किसकेका थियौं। त्यसपछि पहाडै पहाडको बीचमा एउटा सुन्दर बस्ती देखा पर्यो।
‘आहा! साह्रै राम्रो गाउँ’ एक जनाले रोक्न नसकेर फुत्त भनिहाल्यो। सायद गाउँको दृश्य देखेर उनको मुखबाट फुस्कियो होला।
अनि अनायसमै मेरो आँखा त्यतैतिर गयो।
त्यो गाउँमा ३५-४० घरधुरी थिए होला। सबै घर नजिक-नजिकै थिए। हरेक घर अर्को घरसँग प्रेममा परेको जसरी रहेका युगल जोडी भई उभिएका थिए। झट्ट हर्दा गाउँ र घरको बनावटमा मौलिक स्वरूप पाइन्थ्यो।
गाडी सो बस्तीभित्र छिर्नै लाग्दा बाटोमा ‘वेलकम टू दोरम्बा गाउँ’ लेखिएको स्वागत गेट थियो। गेटबाट करिब २ सय मिटर उचाइमा हिमालय होमस्टे दोरम्बा थियो। गाडी होमस्टेमा अगाडि रोकियो।
दोरम्बा गाउँ चिसो रहेछ। गाडीबाट झर्नासाथ हिमाली चिसो महसुस भयो। वरपर ढपक्क हुस्सुले ढाकिएको थियो। नजिकै साथीको धमिलो आकृतिमात्र देखा पर्थ्यो। तर नजिकैको साथी सरोजलाई उसको उचाइबाट ठम्याउन सकेँ। केही पर भएका साथीहरूको आवाजमात्रै सुनिन्थो।
हामी आ-आफ्नो ब्याग लिएर तामाङनी दिदीको पछि लाग्यौं। ती दिदीको दुई तले घर रहेछ। हामीलाई पहिलो तलामा बस्ने व्यवस्था मिलाइएको थियो।
दिउँसोभरि गाडीको यात्राले थकाइ लागिरहेको थियो। कोठामा पुग्नेबित्तिकै नजिकैको टेबुलमा ब्याग राखेँ।
ब्याग राख्दा मेरो ध्यान कोठाको झ्यालतिर गइहाल्यो। झ्याल सानो थियो तर कलात्मक थियो। क्यामराको लेन्स झ्यालमा राखी बाहिर हेर्न थाले। अरू साथी भने आ-आफ्नो सुरमा व्यस्त थिए।
कुँदिएको कला हेर्न झ्याल नजिकै गएको थिएँ। जब झ्यालबाट हिमालको दृश्य देखेँ तब छक्क परें। जीवनमा पहिलो पटक नजिकबाट हिमाल देखेको थिएँ। हिमाल मेरै अगाडि भएजस्तो अनुभूति हुन्थ्यो। झ्यालबाट हात निकाल्यो भने हिमाललाई नै छुन सक्छु भन्ने पनि लाग्थ्यो।
हिमालको दृश्य देख्दा त सपना हो कि विपना पनि भइरहेको थियो। भ्रम हो कि भनी आँखा पुछेँ तर होइन रहेछ।
सेतो हिउँ बोकेर हिमाल मुसुक्क मुस्कुराइरहेको थियो। यस्तरी मुस्कुराइरहेको थियो जसरी वैंशले भरिभराउ युवायुवती मुस्कुराउँछन्। अलिकति लाज, सिल्प अनि अपार सुन्दरता लिएर।
मान्छेलाई खुसी हुन धेरै कुरा चाहिन्न रहेछ। हजारौं कुरा आँखै अगाडि थिए। तर म हिमाल र तिनै हिमालबाट आएका चिसो सिरेटोलाई हेर्न र महसुस गर्न व्यस्त थिएँ। त्यसबखत मेरा आँखाले ती दृश्यको भरपुर मजा लिइरहेका थिए। मलाई फोटो खिच्न समेत मन लागेको थिएन। आखाँले नै तिनलाई महसुस गरेँ।
मलाई पछाडिबाट सरोजले एक मुक्का हिर्कायो। उसले केही समय अघिदेखि नै बोलाएको रहेछ, मैले सुनिनँ। म हिमालसँग रम्दै थिएँ, त्यसैमा हराएछु। उसको आवाज मेरो कानसम्म त परेका थिए होला, तर सायद मस्तिष्कसम्म पुगेनछ।
उसलाई एकैछिन है भनी प्रतिक्रिया दिई पुनः झ्याल बाहिर नियाल्न थालेँ।
हिमाल हेर्न के आँटेको थिएँ, देखिनँ। मन अत्तालियो। हिमाल हुस्सुले ढपक्क ढाकिएको थियो।
हिमाललाई हुस्सुले खाइदिएकोमा म दुःखी भएँ। थचक्क त्यहीँ बसेँ। सोचेँ सरोजले गर्दा मेरो हिमाल नै हरायो!
यत्तिकैमा मनमा एउटा विचार आयो, ‘बुझिस्....समय के हो? अघिको त्यो हिमाल जसरी समयको एक पलमै हरायो नि! त्यसैगरी तेरो जीवन पनि यसै गरी सकिने छ। त्यसैले, जे गर्नु छ आज गर। वर्तमानमा बाँच्न सिक्। बितेका दिनको गुनासो र भविष्यको चिन्ता गर्न छोडिदे!’