स्वीट्जरल्याण्ड डायरी:
यो कथा २०१९ तिरको हो। म जर्मनीको ब्रेमेन भन्ने सहरमा थिएँ। पहिलो सेमेष्टरको जाँच सकेर होस्टेलको कोठामा एक्लै टुलुटुलु छत हेरेर बस्दैथिएँ। डिसेम्बरको महिना निकै चहलपहल थियो। वरिपरिका सबै साथी युरोपियन थिए। क्रिसमसको माहोलमा सहरहरू नयाँ बेहुलीझैं सिँगारिसकेका थिए। नजिकै घर भएका विद्यार्थीहरू एक पछि अर्को गर्दै छुट्टी मनाउन निस्किए। युनिभर्सिटी नै रित्तोझैं भएको आभास भयो।
सात समुन्द्र पारि घर भएका, मजस्ता अन्तर्राष्ट्रिय विद्यार्थीहरू मात्र बाँकी थिए। त्यसरी शरद ॠतुमा सबैलाई चाडपर्व लागेर एकपछि एक गर्दै झुल्कदै थिए, कोठामा ल्यापटपकै सहारामा म बसिरहेकी थिएँ।
एक साँझ अचानक अलिशा दिदीको फोन आयो।
मलाई दिदीले फोनमै झपारिन्-
‘हैन, म यहीँ स्वीट्जरल्याण्डमा छु, तिमी एक्लै त्यहाँ किन बसेको? खुरूक्क टिकेट काटिहाल।’
म एकछिन ट्वाल्ल परेँ। अलिशा दिदीसँग मेरो रगतको केही नाता छैन। अलिशा दिदीलाई काठमाडौंमा जर्मन भाषा पढ्न जाँदा ‘गोथे’ मा भेटेको थिएँ। दिदी मभन्दा लगभग ५-६ वर्षमात्र ठूली छिन्। तर हामीबीच छोटो समयमा नै घनिष्टता कायम भयो।
मजस्तै अलिशा दिदीलाई पनि हाँसोमजाक मनपर्थ्यो। साह्रै रमाइलो मान्छे। भाषाको कक्षापछि म जर्मनी लागेँ, दिदी स्वीट्जरल्याण्ड। जीवनमा फेरि भेट होला जस्तो कतै लागेको थिएन। त्यो साँझ स्वीट्जरल्याण्ड आऊ भनेर दिदीले फोन गर्दा डिसेम्बरको कठ्याङ्ग्रिँदो जाडोमा मेरो कोठामा अचानक न्यानो घाम उदाएको महसुस भयो। त्यसैत्यसै मन फुरुङ्ग भएर आयो।
जर्मनीमा ट्रेन, ट्रामको समयतालिका हेर्न ‘डी.वी एप’ प्रयोग गर्थें। त्यही एप प्रयोग गरेर स्वीट्जरल्याण्ड जाने ट्रेनहरू हेर्न थालेँ।
ठ्याक्कै दुई दिनमा जुरिच पुग्ने ट्रेन फेला पारेँ। टिकट पनि सस्तो ४०-५० युरोमा ब्रेमेनदेखि जुरिचसम्मको ७-८ घन्टाको यात्रा मैले तय गर्ने भएँ। त्यो राति म निदाएँ कि निदाइनँ, जे होस् भुइँमा खुट्टो थिएन।
बिहानै आमालाई फोन गरेँ ।
‘मामु, म त स्वीट्जरल्याड जाँदै छु। अलिशा दिदीले बोलाइस्यो, टिकट काटेँ मैले, याहू !!!!’
आमा भनेको सधैं चिन्ता गर्ने प्राणी न हो। म नेपालदेखि बोरियाबिस्तर कसेर जर्मनी पुगिसकेको थिएँ।
अतालिँदै भनिन्-
‘बाबु, तँ कसरी जान्छेस् एक्लै? त्यसै त अलबेस्री छेस्। सामान एकातिर, पासपोर्ट एकातिर। हराइस् भने ?’
म गलल्ल हाँसें।
‘लौन, म जर्मनीसम्म त आइपुगेँ। त्यहीँसम्म ट्रेन चढेर जान सक्दिनँ त? अम्मी जान, डन्ट वरी!’
स्वीट्जरल्याण्ड जाँदैछ छोरी भनेर मेरी आमाले सारा संसारलाई सुनाउन भ्याइन्। मभन्दा पनि बढी उत्साहित मेरी आमा थिइन्। यश चोपडाको फिल्म दसौंचोटि हेर्छिन्, ती फिल्ममा स्वीट्जरल्याण्डका रमणीय ठाउँ हेर्दै मख्ख पर्छिन्। त्यसैले आफ्नी छोरी स्वीट्जरल्याण्ड जाँदैछ भन्दा मेरो आँखाबाट स्वीट्जरल्याण्ड हेर्न लालायित थिए आमाका आँखाहरू।
स्वीट्जरल्याण्ड जाने साँझ म एउटा सुटकेस बोकेर ब्रेमेन स्टेसन पुगेँ। मुटु ढुकढुक भएको थियो। म सधैं भन्छु मलाई ट्राभल एङ्जाइटी छ। कतै घुमफिर गर्नुअघि डरले मुटु कलेजो थरथर काँप्थ्यो। झलझल घर सम्झिएँ।
घरदेखि चोकसम्म २-३ मिनेटको बाटो हुँदा त,‘मलाई पुर्याइदिस्यो न …’ भन्दै आमाको पछि लाग्थेँ। आज घरबाट यति टाढा म युरोपको एउटा देशबाट अर्को देश हिँड्दै थिएँ। आफू ठूलो भएछु भनेर गमक्क परेँ।
‘क्वीन’ फिल्म याद आयो। रानी जसरी म पनि आफ्नो जीवनको बागडोर आफ्नै हातमा लिँदै थिएँ।
ट्रेन चढेपछि एकछिन अलमल्ल परेँ। लोकल ट्रेन जस्तो थिएन। अन्तर्राष्ट्रिय ट्रेन फरक हुँदो रहेछ। त्यसैले एकछिन कता बसौं भयो। कुनै सिट तोकेर रिजर्भ गरेको थिइनँ। एउटा ट्रेनको बाकसभित्र चिहाएँ। एउटा केटो रहेछ। पक्कै जर्मन नै थियो। धेरै जर्मनजस्तै कैलो कपाल, निला आँखा थिए। झट्ट सोचें, ‘जर्मन बोलुँ योसँग?’
फेरि आफ्नै मनले भन्यो, ‘कत्ति न सक्ने जस्तो।’
बाकसको ढोकैबाट चिहाउँदै अंग्रेजीमा सोधेँ -
‘म यहाँ बस्दा हुन्छ ?’ कानको इयरफोन निकाल्दै उसले सोध्यो ,‘हजुर?’
पुनः सोधेँ, ‘मैले सिट रिजर्भ गरेको छैन, म यहाँ बस्दा हुन्छ?’ उसले हाँस्दै भन्यो- ‘मैले पनि गरेको छैन। आऊ बस।’
तपाईं मजस्तै होपलेस रोम्यान्टिक हुनुहुन्छ र अङ्ग्रेजी फिल्म ‘बिफोर सनराइज’ हेर्नु भएको छ भने पक्कै थाहा हुन्छ। ट्रेनमा अविस्मरणीय यादहरू बन्ने गर्छन्। त्यहाँ भेटेको मान्छेले यात्रालाई निकै रोमाञ्चक बनाउँछन्। म यसै आस लिएर बाकसभित्र छिरेँ। अनि सुरू भयो मेरो जुरिच यात्रा।
साँझ ट्रेन चढेकोले, झ्याल बाहिर केही हेर्न सकिएन। ट्रेनभित्र वाइफाइ पनि थिएन। म वाक्कदिक्क भएर बसेँ। बेलाबेला मसँगै भएको केटालाई हेर्थें। आफ्नै धुनमा मस्त थियो। गीत सुन्दै रमाइरहेको थियो। भोल्युम ठूलो भएकाले मैले बाहिरैबाट गीत सुनिरहेको थिएँ, मलाई मन पर्ने कोल्डप्लेको गीत सुनिरहेको थियो। मैले गुनगुनाएको सुनेछ क्यार – ‘यू लाइक ?’ गर्यो।
त्यसपछि हाम्रो गफ सुरू भयो।
‘मेरो नाम ओले हो। म आफ्नो बाआमाको घर कार्ल्सरुह जाँदै छु। इन्भारमेन्टल साइन्स पढेँ तर मलाई कारपेन्ट्रीको ठूलो शोक छ। त्यसैले ३-४ वर्ष ब्राजिलमा बसेर घरहरू बनाएँ, छुट्टीमा घर जाँदै छु।’ उसले आफ्नो कथा सुनायो।
मैले धेरै जर्मनहरूको सङ्गत गरेको थिइनँ। मेरी होस्ट हजुरआमा मारलिन र १-२ साथीमात्र थिए। झट्ट हेर्दा जर्मनहरू कडा स्वभावका देखिन्छन्। हत्तपत्त घुलमिल भइहाल्दैनन् कि जस्ता। म ट्रेन चढ्नुअघि निकै डराएको थिएँ।
ओलेसँग गफ गर्दै जाँदा डर कम भयो, निकै मिजासिलो मान्छे रहेछ। जर्मनहरू आफ्नो व्यक्तिगत कुरा कसैसँग गर्दैनन्। उनीहरूलाई प्राइभेसी निकै प्यारो हुन्छ। कोही कोही त हेलो भनेर मुस्कुराउँदा पनि केही प्रतिक्रिया नदिई हिँड्थे। अनि मैले ओलेजस्तो जर्मन भेटेँ। केही काम नभएर वाक्क पर्या देखेर उसले आफैं भन्यो-
‘मेरो ल्यापटप लेऊ, फिल्म हेरेर बस।’
म त खुसीले आँसु झार्न तयार भइसकेको थिएँ। मेरो बाको भाषामा भन्ने हो भने, ‘कति भलाद्मी रहेछ।’
यात्रा यसरी अघि बढिरह्यो। बेलाबेला स्टेसनमा एकैछिनलाई वाइफाइ आउँथ्यो। अनि अलिशा दिदी र आमा सबैलाई अपडेट दिन्थें। यहाँ आइपुगेँ भनेर। सबै जना चिन्तित थिए कसरी पुग्ली, के गर्ली। हुन पनि म ‘गोज्याङ्ग्री’ मान्छे नै थिएँ।
हिँड्दा हिँड्दै गर्ल्यामगुर्लुम लड्ने, सामान एकातिर राखेर हरायो, हरायो भन्दै आत्तिने, यस्ता उपद्रा काम म गरिरहन्छु। तर पनि जिम्मेवार व्यक्ति जसरी म स्वीट्जरल्याण्ड एक्लै जाँदै थिएँ। ट्रेनको गतिसँगै मेरो जीवनले नयाँ गति लिइरहेको थियो। संसार घुम्छु एकदिन भनेर विश्व मानचित्र अगाडि लिएको अठोटको त्यो सुरूआती कदम थियो।
राति त्यो ट्रेनमा सुत्न साह्रै असजिलो भयो। गोजीमा टन्न पैसा भएको भए त हवाईजहाजमै सरर जाँदो हुँ। तर पनि आफूलाई भाग्यमानी सम्झेर ट्रेनकै अप्ठ्यारो सिटमा गरिब विद्यार्थीको निन्द्रा काटेँ।
बिहान ४-५ बजेको थियो खत्र्याङ्खुत्रुङ् आवाज आयो। जुरूक्क उठेँ। ओले त झर्न तयार भएछ। जर्मनीको दक्षिण भाग कार्ल्सरुह हामी आइपुगी सकेछौं।
‘तिमीलाई ब्युँझाइदिएँ, माफी चाहन्छु। म हिँडेको है। तिम्रो यात्रा शुभ रहोस्।’
हाँस्दैहाँस्दै कुनै हलिउड हिरोजस्तो अग्लो ओले ओझेल पर्यो।
बिहानीको मिर्मिरेसँगै झ्यालबाट नजारा देखिन थाले। जर्मनीको उत्तरी भागमा बस्थेँ म, त्यतिखेर ट्रेन दक्षिणतर्फ थियो। हरियाली, स-साना पहाड परपर देखिन्थे। जबजब च्वास्स वाइफाइ आउँथ्यो, म आमालाई भिडिओ कल गरिहाल्थेंँ। मेरी आमालाई मसँगै स्वीट्जरल्याण्ड लग्दै थिएँ। प्रत्येक पलमा मेरी आमा अहिले यहाँ भएकी भए, कति खुसी हुन्थिन् सोच्थें। घुम्न डुल्न मेरी आमालाई खुबै रहर छ। राजेन्द्र विमल सरले हात हेरेर सातचोटि समुन्द्र पारीको यात्रा हुन्छ भनिदिनुभएको छ रे, त्यही आशाको त्यान्द्रोमा मेरी आमाले स्वप्न जहाज बनाएकी छिन्।
मैले फोनबाट सरर स्वीट्जरल्याण्ड जाँदै गरेको भिडिओ हेर्दा मभन्दा बढी प्रफुल्ल मेरी आमा थिइन्।
म झ्यालबाहिर यसरी सम्झनामा भावविभोर हुँदै बसेको थिएँ अचानक ढ्याङ्ढ्याङ् आवाज आयो। म झसङ्ग भएँ। ढोकातिर हेर्दै थिएँ एकैछिनमा दुई जना पुलिस भित्र छिरे। यामानको डरलाग्दो बन्दुक बोकेका थिए। मेरो सात्तोपुत्लो उड्यो। जर्मनमा केही सोधे मलाई, मेरो सास रोक्कियो, केही बोल्नै सकिनँ। अकमक्क परेको देखेर- ‘टिकेट देखाऊ’, भनेर अङ्ग्रेजीमा बोले। तर्सिएर बिजोग थियो, टिकट खोज्नै ४-५ मिनेट लगाएँ। टिकट हेरेपछि मेरो सुट, ब्याग सब खोल भने।
‘अलकोहल छ? विड छ?’ भन्दै कुछ तोह गडबड है दया वाला नजरले मलाई सोधे।
‘तोबा, तोबा! केही छैन हजुर।’ भन्दै सबै झोला देखाइदिएँ। त्यतिले नि पुगेन। पासपोर्ट देखाऊ भने। मैले हरियो रङको मेरो नेपाली राहदानी हातमा राखिदिएँ।
अरे, बम नै दिएजसरी ती दुई एकअर्कालाई हेर्न थाले। हरियो पासपोर्ट देखेर शंका लागेछ कि कुन्नि खासखुस गर्न थाले।
मलाई आतंककारीझैं महसुस भइरहेको थियो। डरले त्यसै त सल्याकसुलुक परिसकेको थिएँ, अझ मेरो पासपोर्टको शल्यक्रिया नै गर्न थाले।
अचम्मको कुरो त जाली पासपोर्ट लिएर हिँड्या जसरी हरेक पाना मुनिबाट टर्च बालेर जाँच गरे। मेरो आँखा हेरेको हेर्यै भए।
बल्ल थाहा पाएँ स्वीट्जरल्याण्डको बोर्डर छिर्न लागेको रहेछ ट्रेन। त्यहाँको सुरक्षा व्यवस्था निकै कडा रहेछ। वरिपरि अरू देश पनि पछि गएँ तर त्यहाँजस्तो ‘इन्टरोगेशन’ मलाई कहीँ भएन। आमाले धारा तोरीको तेल खुवाएकी रहिछन्, मुटु चाहिन्छ मुटु भनेर म बचेँ।
मैले स्वीट्जरल्याण्डको जुरिच पुग्नु अघि बासेल भन्ने ठाउँ झरेर अर्को ट्रेन समात्नु पर्ने थियो। ठाउँ आयो कि आएन थाहा पाउन, समय हेर्थें टिकटमा। यो समयमा ट्याक्क यो ठाउँमा ट्रेन आउँछ भनेर टिकटमा समय तोकिएको थियो।
ट्रेन बासेल आइपुगेपछि, म स्वीट्जरल्याण्ड झरेँ। अर्को ट्रेन समातेर जुरिचतर्फ लागेँ।
मलाई जुरिच स्टेसनमा अलिशा दिदीका श्रीमान प्रकाश भिनाजुले लिन आउने भन्नुभएको थियो। स्टेसनमा एउटा ठूलो घडी छ, त्यहीँ तल कुर्नु भनिसेको थियो। जब म जुरिच स्टेसन झरेँ, आँखा तिरिमिरी झ्याइँ भयो। जताततै घडी नै घडी थिए। लौ न आपत् अब कता कुरौँ भनेर एकछिन फेरि डराउन थालें।
जुरिचको भव्यताको आनन्द लिने कोसिस गरेँ। स्वीस मान्छेहरूलाई पेङ्गुइन भनिन्छ भनेर सुनेको थिएँ, पुगेर प्रत्यक्ष थाहा पनि पाएँ। जताततै मान्छे सुटबुटमा टक्क कालासेता पेङ्गुइन जसरी हिँडिरहेका थिए। सबका हातहातमा कफी, हातहातमा घडी, जताततै घडी, जर्मनी जस्तै यो पनि समयको पक्का देश थियो।
म यसरी जुरिच स्टेसनको रमिता हेर्दै थिएँ।
‘साली नानी’, भनेर भिनाजुको आवाज सुनेँ। भिनाजु र मेरो भेट भएको थिएन। अलिशा दिदीसँग गफ गर्दा फोनमा नमस्कार भनेको थिएँ। एकैछिनमा भिनाजुसँग पनि साथी भएँ।
सम्बन्ध भन्ने कुरो कस्तो रमाइलो हुन्छ। रगतको नाताभन्दा माथि सम्पर्क र सामिप्यताले सिर्जेको नाता अटुट हुन्छ।
म एक्लो व्यक्तिलाई विदेशी भूमिमा त्यसरी स्वागत गर्नु अलिशा दिदी र प्रकाश भिनाजुको बढ्प्पन थियो। नेपाली हुनुको मिठास नै त्यसैमा छ। सायद नेपाली बाहेक संसारमै कसैले यस्तो व्यवहार गर्छ होला! म खुसीले फुर्किएर सानो बच्चाझैं भइसकेको थिएँ।
भिनाजुले सुरूमै मलाई लगेर कफी खुवाउनु भयो। ट्रेन चढ्न लोकल टिकट जस्तै ट्रेन कार्ड बनाउन हामी तुरून्त लाइन बस्यौं। डलरभन्दा महंगो युरो, युरोभन्दा महंगो स्वीस फ्र्यान्क। भिनाजुले मेरो ट्रेन कार्डमा १०० फ्रान्क बढी हालिदिनुभयो।
त्यसैबेलै थाहा पाएँ स्वीट्जरल्याण्ड आँखा रमाउने, गोजी रित्याउने देश रहेछ।
हुन पनि संसारकै महंगो देशहरूको अग्र श्रेणीमा पर्ने स्वीट्जरल्याण्डकै महंगो व्यवसायिक सहर जुरिचमा म थिएँ। हामी लोकल ट्रेन चढेर अलिशा दिदीको घर पुग्यौं।
अलिशा दिदीलाई देख्नेबित्तिकै यात्राको सबै थकान, डर फुस्स उडेर कता भाग्यो कता। मेरी अलिशा दिदीलाई अँगालो मारेर बसेँ एकछिन।
‘मिमी, आइपुग्यौ?’ हजार वाटको मुस्कानले अलिशा दिदीले स्वागत गरिन्। यसरी मेरो एक महिना लामो स्वीट्जरल्याण्ड बसाइको श्री गणेश भयो।
क्रमश: