साहसिक गतिविधि गन्तव्यका रूपमा स्थापित हुँदै गरेको कुश्मा घुमेपछि हामी अपरान्ह बागलुङको पञ्चकोटमा पुग्यौं। साँझ बास बस्न म्याग्दी सदरमुकाम बेनीबजार गयौं।
हामीलाई पुनहिल पुर्याएर फर्कने जिपका गुरूरुजीसँग बेनीमा पुगेकै साँझ भेट गर्यौं। गुरूजीसँग छलफल गरेपश्चात् पुनहिल जान काठमाडौबाट निस्किएका हामीले यात्राको रूट बदल्यौं र मुस्ताङ जाने निर्णय गर्यौं।
बिहान ५ बजे निस्किने कुरा भएअनुसार खाना खाएर होटलमा बस्यौं। हामी सुत्दा रातको ११ बजिसकेको थियो।
बिहान चार बजे नै उठेर तयार हुने सल्लाह गरेर सुतेको केही समय पछि त म सुतेको कोठाको ढोका जोडसँग ढकढ्क्याएको आवाज सुनेँ। आधा निन्द्रा पनि निदाउन नपाएको रातमा सुस्त हानिएको ढोकाको आवाज पनि निकै ठूलो सुनिँदो रहेछ। बिउँझिएँ, मन डरायो। को हो? भनेर ओछ्यानबाटै सोधेँ। ढोका ढकढ्क्याउने त माहिली बहिनी पो रहिछन्।
अघिल्लो दिन काठमाडौंदेखिको रात्री बसको अनिँदो अनि दिनभरको कुश्मा र पञ्चकोटको यात्रा र थकानले उठ्नै मन लागेन। सोचेँ बच्चाहरू भएको कारण चाँडै उठाएकी होलिन्, उठ्नु त पर्यो।
बहिनीले त निदको सुरमा रातको १:३० को समयलाई ४:३० बजेको देखिछन् र पो हामीलाई बिउँझाउन आएकी रैछन्।
मलाई बिउँझाएर उनी आफ्नो कोठामा पुगेर कान्छी बहिनीलाई झक्झ्याउन पुगिछन्। बहिनी बिउँझिएर घडी हेरिन् रातको १:३० बजेको रहेछ अनि, ‘किन यति छिट्टै उठाउनु भएको भर्खरै १:३० बजेको छ,’ भन्न मात्र के भ्याएकी थिइन् रे माहिली बहिनी त तुरून्तै पुल्टुङ्ग खाटमा पल्टिएर ‘ए हो र? बत्ति निभाउ, बत्ति निभाउ’ भन्दै सुतिछन्।
म भने बहिनीले उठाइसकेपछि बच्चाहरू ढिला गर्छन् भनेर यति छिटै उठाएको होला भन्ने सोचेर मन नलागी नलागी उठेँ। अनि उनको कोठामा के गर्दैछन्, तयारी हुँदैछन् कि नाइँ भनेर हेर्न गएको त कोठा अन्धकार थियो।
उनीहरू त मलाई उठाएर मस्त निदाएछन्!
अब भयो त? दिदीलाई उठाएको छु पनि सोच्न नभ्याई बत्ती निभाउ भन्दै सुतिछन्। यो सबै कुरा बिहान सुनेपछि म मरिमरि हाँसेँ।
उनीहरू मस्त सुतेको देखेपछि म केही नबोली आएर बेडमा पल्टिएँ, किन निन्द्रा पर्थ्यो र! कोल्टे फेर्दाफेर्दै बिहानको ३:३० बज्यो। मुक्तिनाथ दर्शन गर्न जाने भनेपछि ननुहाई के जानु भनेर नुहाएँ। आफ्नो नित्यकर्म सकेपछि सबैलाई उठाएँ।
गाडी समयमै आइपुग्यो। सबै तयारी भएर ५ बजे होटल छाड्यौं र मुस्ताङको हाम्रो यात्रा शुरू भयो।
बिहानको हल्का चिसोले छुँदा शरीर त्यसै रोमान्चित भएका बेला क्षितिज पारीबाट उज्यालो ब्युँतदै थियो। शहर ब्युँझन भ्याएकै थिएन। कुनाकुनातिर उज्यालोले पिरती लगाउन पाएकै थिएन। हामी भने बिहान ६ बजे बेनीबाट ३ किलोमिटर पर रहेको गलेश्वरधाम पुग्यौं। त्यहाँ गलेश्वर महादेवको दर्शन गर्यौं।
गलेश्वरको रूप देख्दा नजिकको तिर्थ हेला भने झैँ लाग्यो। ‘विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम’ भनेर मूल गेटमै लेखिएकोछ।
९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि मन्दिर बनाइएको रहेछ। साह्रै सुन्दर छ गलेश्वरधाम। वरपर पहाडैपहाड देखिँदा त झनै सुन्दर देखिँदो रहेछ।
हामी पुग्दा पूजारीहरू पूजाअर्चनामा व्यस्त थिए। हामी पनि दर्शन गरेर मुस्ताङको बाटो सोझियौं।
लगभग साढे दुई घण्टा जस्तो यात्रा गरे पछि तिप्ल्याङ गाउँ पुग्यौं। सबैलाई भोक लागेकाले त्यहाँ चिया खान रोकियौं।
खाजा पसलकी आमा चिया बनाई रहनुभएको रहेछ। मलाई गाउँघरको यात्रामा अर्गानिक स्वादको सम्झना आउँछ र खान मन लाग्छ। त्यसैले मैले चिया त जहाँ पनि खाइन्छ, त्यसैले अर्गानिक दूध नै पिउँ है भनेँ। केटाकेटी सबै सहमत भए।
मैले होटलकी आमालाई सोधेँ, ‘गाउँघरको पियोर दूध पाइन्छ कि आमा?’
आमाले ‘पाइन्छ नि नानी किन नपाउनू’ भन्दै दूध तताउन लाग्नुभयो। एक कपको पचास रूपैयाँ तिरेर हामी ८ जनाले खायौं। निकै मीठो भएकाले फर्कदा पनि मिनरल वाटरको बोतलमा २ बोतल दूध राखिदिनु है भनेर हामी गन्तव्य तर्फ लाग्यौं।
हामी मुक्तिनाथ दर्शनका लागि हिँडेका भएर बाटोमा अरु खानेकुरा खाएनौं। चिन्तक कार्ल मार्क्सले ‘धर्म अफिम हो’ भने झैं हामी पनि धर्मप्रतिको आस्थाले खाली पेट नै मुक्तिनाथ पुग्ने भयौं।
यात्रा सबै सजिलो कहाँ हुन्छ र? पहाडको फेदी कोरेर बनाएको र सुधार भैनसकेको सडक। साँघुरो र गण्डकीको तिरैतिर हिँड्दा डरलाग्दो दृष्य देखिने।
हिँडदाहिँड्दै वरपरका भीरहरूमा आँखा ठोक्किन पुग्दा आफैं शरीरमा काँडा उम्रिए झैँ सिरिङ हुने। कहिँकहिँ त साँघुरो अनि छेउको भीर निकै डर लाग्ने खालको भएकाले पनि मन डराइरह्यो। आँखा यसो उचालेर आकाश छेउ हेर्दा भने हिमशृंखला लहरै देखिँदा बच्चाहरू ऊ ~~हिमाल भनेर खुसीले चिच्याउन लाग्थे ।यसैगरी हाम्रो यात्रा अघि बढिरह्यो।
अचेलका बच्चाहरूलाई लिएर हिँड्दा कहीँ सजिलो, कहीँ अप्ठ्यारो त काहीँ रमाइलो पनि हुनेरहेछ।
बहिनीको छोरा शारांश थापा गितारप्रेमी हो। उसले यात्राको शून्यतालाई चिर्दै गितार बजाउन थाल्यो। केटाकेटी सबै मिलेर गीतारको धुनसँगै गाउन थाले।
एकछिनपछि जिपमा पनि गीत बज्न थाल्यो ‘आगो पिएर बाँच्ने ...’
मेरो यो पटकको मुस्ताङ यात्रा दोस्रोपटक थियो। चार पाँच वर्ष पहिले बहिनी सुनिता र म भएर बसको यात्रा गरेर मुस्ताङ पुगेका थियौं। त्यतिखेर रातीको यात्रा गरेका थियौं, बाटोको ख्याल नै गरेनौं। बस भित्र हामी छेउमा बसेका एक जना व्यक्ति पनि गाडी ड्राइभर रहेछन्। आफूले गाडी चलाउँदा छुट्टै विश्वास रहने तर अरूले चलाएकोमा धेरै डर लाग्ने भन्दै उननले रातभर एकपटक पनि आँखा झिमिक्क नगरी आफू बसेको सिटको अघिल्लो सिट समातेर तन्किदै बाटो हेरिरहेका थिए।
बेलाबेलामा ‘अहो, कति डर लाग्दो हो। म त ड्राइभर मान्छे तर अरूले चलाएको साह्रै डर लाग्यो,’ भनेको सम्झन्छु। ती व्यक्ति कहाँका बासिन्दा थिए हामीलाई थाहा थिएन तर यसपालिको यात्रामा पनि उनी डराएको सम्झिरहेँ।
बहिनी सुनिताले त ती डराएका ब्यक्तिलाई खूबै सम्झिइन्। धेरै पटक ती व्यक्तिको कुरा भयो। त्यो बेला रातिमा यात्रा गरेका थियौं, निदाएकोले खासै केही देखिएको थिएन। यो पटक भने दिउँसोमा यात्रा गरेकाले वरपर सबै देख्यौं।
एकातिर पहाडको पर्खाल, अर्कातिर गण्डकीको सुसाई। अहो ! घरीघरी त मन पनि डरले सुसाउँथ्यो।
जिपले ४/५ घण्टाको यात्रा सकेर हामीलाई रूप्से झरनामा पुर्यायो। झरनाको छङ्गछङ्ग धूनले त्यो बाटो यात्रा गर्दा आफ्नो सवारीसाधनमा यात्रा गरेको छ भने रोकिएर एकपटक झरनाको बाछिटाले आफूलाई अंगाल्न नलगाई अगाडि बढ्न मुस्किलै पर्छ। यति सुन्दर छ कि त्यहाँ रोकिएर झरनालाई मनको अंगालोमा बेरेर तस्बिर लिनेहरूको भिड नै लाग्छ।
हामीले पनि आफूलाई रोक्न सकेनौं। जिपबाट ओर्लिएर पालैपालो झरनाको मोहनी बाछिटाको स्पर्शमा रमायौं। र झरनालाई नजिक राखेर तस्बिरमा आफूलाई कैद गर्यौं।
त्यहाँबाट हामी काभ्रे पुग्यौं। केहिबेर रोकिएर यसो शरीर तन्काउन झर्यौं र एकएक कप चिया पिएर फेरि गन्तव्य तर्फ लाग्यौं।
हामीले मुस्ताङ जिल्लालाई छोइसकेका थियौं। मुस्ताङको घाँसा पुगेर वरपर हेर्दा सानो बजार देखियो। हामी खन्ती, कोबाङ, र टुकुचेहुँदै अघि बढ्यौं। कतै रोकिएनौं। टुकुचेमा कालीगण्डकी तर्ने पूल थियो। हाम्रो जीप आफ्नै रफ्तारमा बाटोमा भेटिएका खोलानाला पुल कसैलाई वास्ता नगरी कुदिरह्यो।
मुस्ताङ जिल्लाको बाटो टेकेदेखि बाटोको दायाँबायाँ मझौला खालका रूखहरू टन्नै देखिन थाले। स्याउका बोट पो रहेछन्। स्याउ फल्ने सिजन नभएकाले रूखहरू मात्र थिए, मैले लटरम्म फलेको कल्पना गरेँ र मनमनै रमाएँ । लहर मिलाएर रोपिएका रूखले बाटो कच्ची भए पनि सुन्दर देखिएको थियो।
हाम्रो यात्राले मार्फा छोयो। सुन्दर थकाली गाउँ मार्फामा त सामुदायिक स्याउ खेती कति कति! स्याउको सिजन नभएर जता पुगे पनि रित्तो बोट मात्र हेर्न पाइयो।
मार्फाबाट हामी जोमसोम पुग्यौं, मुस्ताङको सदरमुकाम। अनि जोमसोम बजारलाई बिदा गरेर कागबेनी सोझियौं। कागबेनी नजिक पुगेपछि त्यहाँको दृष्यले हामीलाई लोभ्यायो।
जताततै रित्तो देखिने पहाड तर ससाना थुम्का जस्ता हरिया बिरूवा छप्पछप्प राखिए जस्तो।
जता नजर पुर्याउँदा पनि गलैँचामा फूलबुट्टा भरेझैं रित्तो पहाडमा बुट्टा देखिने। कति सुन्दर! हामी रोकियौं र धीत मर्ने गरि तस्बिर खिच्यौं। त्यो पहाडैपहाडको बीचमा गण्डकी बगिरहेको भएर होला हावा बेतोडले लाग्ने। आफैंलाई उडाउला जस्तो तर कति रमणीय भने शब्दमा बयान गर्न कठिन छ।
हामी बिहान ५ बजे बेनीबाट हिँडेका थियौं। बाटोमा रोकिँदै रमाउँदै गरेर दिउँसो को २ बजे मुक्तिनाथ पुग्यौं। जिप रोकेर हाम्रो पहिलो खोजी घोडाको भयो। मुक्तिनाथ (३८०० मिटर) उकालो लाग्दा लेक लाग्ने भएकाले हामीले घोडामा उक्लिने निधो गर्यौं।
गाडीबाट झरेपछि करिब बीस मिनेट हिँडेर जाँदा मन्दिरसम्म पुग्न भर्याङ बनाइएको छ। उक्लिँदा दायाँबायाँ र बिचमा समात्न मिल्ने गरि स्टील पाइपको रेलिङ छ। घोडा हिड्ने बाटो भने अलिक पल्तिरबाट कच्ची नै छ ।
मन्दिर प्रवेशद्वारको नजिक दुबैतर्फ साधु बसेका थिए। एक जना त साधु भेषमा कालो चस्मा लगाएर बसेका थिए। तिर्थालुहरू पूजा सकेर फर्किएपछि मयुरको प्वाँखले शीरमा हान्दै आशिर्वचनका केही शब्द फलाक्दै हात थाप्दा रहेछन्!
हामी मूल गेटबाट प्रवेश गरे पछि केही हिँडेर माथि मन्दिरमा पुग्यौं।
मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल हो। मुल मन्दिरमा रहेको एउटै मूर्तिलाई हिन्दू र बौद्धमार्गीले फरकफरक रूपमा पूज्छन्। तिनलाई हिन्दूले विष्णु मान्छन् भने बौद्धमार्गीले नाग देवता। त्यसैले यहाँ हिन्दूका बाहुन र बौद्धमार्गीका झुमाले पूजाअर्चना गर्छन्।
मन्दिरको वरिपरि एक सय आठ वटा धाराबाट पानी बगिरहन्छ। यहाँ नुहाएर मनोकामना पूर्णताको कामना गरिन्छ। पानी झरिरहेको धारामा साँढेको मुखाकृति छ।
मन्दिरको ठिक अघिल्तिर साना २ वटा पोखरी छन, एउटा छेउबाट पसेर डुबुल्की मार्दै अर्को छेउ निस्किएपछि पाप कर्म जति पखालिन्छ भन्ने जन विश्वास छ।
मुस्ताङ उसै पनि चिसो ठाउँ पानी त बरफ जस्तै चिसो हुने भयो पानी चिसो भएको हुनाले पोखरीको अर्को छेउ निस्कन चिसोले हम्मेहम्मे पर्छ।
मन्दिरको दायाँ साइडमा कपडा फेर्ने घर छ तर विश्वकै चर्चामा रहेको तिर्थस्थलमा सरसफाइको कमि देखिन्छ। हामी यात्रा गरिरहेको बखत छिमेकी राष्ट्र भारतबाट पनि थुपै तिर्थालु आएका थिए। लेक लागेर कतिलाई त स्ट्रेचरमा राखेर स्थानीय स्वास्थ्य चौकीसम्म पुर्याउनु परेको दृश्य पनि देख्यौं।
मन्दिरदेखि अलिक पर बायाँ साइडमा ठूलो बुद्धको प्रतिमा छ। बहिनीहरूले पूजा सकिसकेका थिएनन्, म अलिक छिट्टै मन्दिरदेखि तल झरेँ। मूल गेट भित्र नै बौद्धमार्गी बहिनीहरूको पसल छ। त्यहाँ पूजा सामानसहित चाउचाउ, फ्रुटी, कोक, बिस्कुट राखिएको छ।
म त्यो पसलको बेन्चमा गएर म बसिरहेकी थिएँ। सानी छोरी आइपुगिन् र भनिन्, ‘भोक लाग्यो चाउचाउ खान्छु नि।’
पूजा गरिसकेकाले ‘हुन्छ खाउ’ भनेँ। उनले चाउचाउ र फ्रुटी एक सय रूपैयाँको किनेर खाँदै थिइन्। त्यहीबेला करिब ६५ वर्षका एक जना साधुले पसलेलाई सोधे, ‘एउटा फ्रुटीको कति पर्छ ?’
‘पचास रूपैयाँ’, पसले नानीले भनिन्।
उनको मनले महँगो ठान्यो होला, नकिनी फर्कन खोजे। त्यो सब म हेरिरहेकी थिएँ। त्यो चिसोमा एउटा ओढ्नेले आफूलाई बेरेका थिए, खुट्टामा रबरको चप्पल थियो त्यो पनि अलगअलग रंगको।
चप्पलको फित्ता चुँडिएर धागोले बाँधिएको। यस्तो पहिरन देखेपछि मनले मानेन र भनेँ, ‘बाबा तपाईँ फ्रुटी लिनुहोस् पैसा म दिन्छु।’
उनी यति खुसी भए कि मैले आशीवार्द पाएँ। अरू खानेकुरा पनि खानुहोस् भनेँ तर उनले ‘पुग्यो’ भने।
खासमा मलाई धर्म भनेको दुःखीहरूको सेवा गर्नु हो भने जस्तो लाग्छ ।
घुम्ने क्रममा पुगेका मन्दिरहरूमा दर्शन गर्छु, मनमा शान्ति छाउँछ। तर कुनै सजिब र दुःखीको सेवा गर्न सकियो भने त्यो सबैभन्दा खुसीको क्षण बन्छ।
मन्दिरबाट झर्दा चार बजिसकेको थियो, जिप रोकेको ठाउँ भन्दा अलिक परको लजमा हामीले खाना खायौं। खाना खाएर झर्दा पाँच बजिसकेको थियो। कान्छी बहिनी भोलिपल्ट बिहानै काठमाडौं फर्कनुपर्ने भएकाले हामी मुस्ताङमा नरोकिएर बेनी झर्ने कुरा भयो।
खाना खाएर जिपसम्म हिँडेर फर्कदा सानी छोरीलाई लेक लाग्यो। बाटोभरी वान्ता गर्न थालिन्। उनलाई जिपसम्म पुग्न पनि गाह्रो भयो।
हामी जिपमा रफ्तारका साथ बेनीको बाटो सोझियौं। मैले बाटोबाटै बेनीको होटल यतीमा फोन गरेर कोठा र खानाको व्यवस्था गरेँ।
बिहान जाँदा दूध पिएको ठाउँमा पुगेपछि रोकिएर मिनरल वाटर बोतलमा २०० रुपैयाँका दरले दुई बोतल दूध लियौं।
बेनीमा रातको एघार बजे पुग्यौं। पहिल्यै कुराकानी भएकाले हामीलाई पर्खेर बसेका थिए होटलका भाइबहिनीहरू।
हामी घरबाट पुनहिलसम्म हिँडेका थियौं तर हाम्रो मुस्ताङ यात्रा अप्रत्याशित तय भयो। पूनहिलको मौसम पनि त्यति बेला राम्रो नभएको र गुराँस फुल्ने समय पनि सकिएको भएर त्यसरी हाम्रो यात्राको रूट बदलियो तर मुस्ताङको रमणीय स्थान जति पटक पुगे पनि मन भरिदैन।
त्यति लामो यात्रा गर्यौं परिस्थितिले हामी एक रात बास बस्न समेत भ्याएनौं र फर्कन पर्यो । फर्कने बेला मुस्ताङलाई मनमनै भने, ‘तिमी आफ्नो सौन्दर्यता लिएर पर्खी बस्नु है मौका मिले म फेरि पनि भेट्न आउनेछु।’
भोलिपल्ट बिहान सात बजे सानी बहिनी काठमाडौंका लागि हिँडिन्। माहिली बहिनी, म र छोराछोरी गुरुङ गाउँ घान्द्रुकतिर लाग्यौं।