रूकुम पूर्वको पुपाल बुकी क्षेत्रलाई यार्सागुम्बाको राजधानी मानिन्छ।
बाग्लुङबाट ढोरपाटनहुँदै पुपाल छिचोलेर डोल्पा, दुनै-फोक्सुण्डो सम्मको यात्रा पनि गर्न मिल्ने रहेछ। प्रचार प्रसारमा आउन बाँकीनै रहेको सो क्षेत्र ट्रेकिङको लागि नयाँ गन्तव्य हुनसक्छ। कम पर्यटक पुग्ने प्राकृतिक सुन्दर पुपाल क्षेत्र मुख्यत: दुई विषयमा महत्वपूर्ण रहेछ।
पहिलो, उच्च दर्जाको यार्सागुम्वा पाईने स्थान, दोस्रो, भेडी चरणको लागि प्रमुख पाटन क्षेत्र।
सो सँगै यात्राका क्रममा बाटोमा कुरेर, फुलेर बस्ने भिन्न रङ, सुगन्धका फूलहरूको मनमोहकता बखान गरि सकिन्न।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वको रूकुमकोटबाट कांक्री, तकसेरा, मैकोटहुँदै करिब २ देखि ३ दिनको पैदल यात्राबाट पुपाल बुकी पुग्न सकिन्छ। तर यात्रा उकालो र साहसिक छ।
मुख्य प्रवेशद्वार रूकुमकोट (काँक्री) पुग्न भने तीन वटा सडक मार्गका विकल्प छन्।
पहिलो, पोखराबाट बाग्लुङ, वुर्तिवाङहुँदै मध्यपहाडी लोकमार्गको करिब २३० कि.मी. सडक यात्रा।
दोस्रो, दाङबाट सल्यान हुँदै करिब १८० कि.मी. राप्ती राजमार्गको यात्रा। र तेस्रो, नेपालगञ्ज, कोहलपुरहुँदै रत्न राजमार्गबाट जाजरकोट भएर मध्य पहाडी लोकमार्गमा गुड्दै पनि रूकुमकोट पुगिन्छ।
सडक र ट्रेक यात्रा हिँउदमा हिँउले र वर्षामा बाढी पहिरोले अवरोध गर्ने हुँदा यात्रा गर्ने समय छनोटमा विशेष सावधानी आवश्यक हुन्छ, पुपाल बुकी पुग्न।
भिन्न किसिमका खाम मगर समूदायको रहन सहन, बसोबास, संस्कृति प्रत्यक्ष महशुस गर्न सकिने लुकुम, कांक्री, तकसेरा, मैकोट लगायतका बस्तीहरू देख्दा आज पनि हामीलाई सोच्न बाध्य बनाउँछ- आज पनि यस्तो सद्भाव, मेलमिलाप सम्भव छ र?
पुथा उत्तरगंगा गाउँपालिकाको गर भन्ने स्थानसम्म मात्र यातायात पुगेको छ। त्यहाँबाट पैदल उकालो पछि पुगिने मैकोटमा मात्र बाक्लो बस्ती भेटिन्छ। त्यहाँबाट उकालो चढेपछि दुलेमा केही अस्थायी बस्ती भेटिन्छ। यसपछि निर्जन जङ्गल मात्र। केही उचाई उक्लिएपछिस (करिब ३५०० मिटर माथि) भिरालो चट्टान सहितको नाङ्गो पहाड मात्र देखिन्छ।
उक्त नाङ्गो पहाडमा हिँउदमा हिँउ अनि वसन्त र वर्षा समयमा हरियाली वनस्पति र फूलहरू प्रशस्तै पाईन्छन्।
विभिन्न जडिवुटी, वनस्पति र फूलले ढाक्ने पहाड, पहराको काखमा कोरिएका बाटाहरुमा भिन्न भिन्न फूलहरु हेर्दै यात्रा गर्नुको मज्जा आँटिला, जोशिला प्रकृतिप्रेमीले मात्र महसुस गर्न सक्छन्।
हेर्नुहोस् तस्बिरहरू
(फोटो- संजय मानन्धर, कुमार रोका मगर)