अलार्म जोडले बज्यो मोबाइलमा। म ब्युँझिएँ। बिहानको ४ः३० बजेको थियो। झट्टपट्ट सविनालाई उठाएँ। घडी हेरेँ, घडीमा त १ः३० बजेको रहेछ।
मैले तुरून्तै याद गरेँ, घडीको समय त क्यालिफोर्नियाको थियो। मैले घडीमा समय परिवर्तन गरेको थिइनँ। मोबाइलमा अटोमेटिक परिवर्तन हुन्छ। दीपकलाई कल गरेँ। दिपक तयार भइसकेका रहेछन्। मलाई पनि तयार हुन भने, दीपकले। म झन्डै तयार थिएँ पनि। सविना पनि तयार हुँदै थिइन्। बाबु उठेकै थिएन।
राति अबेरसम्म हिम्मत र सपना बहिनीका छोराहरूसँग रमाइलो गर्दै बसेका थिएँ। राति छुट्टिनै मानेका थिएनन्। भोलि फेरि खेल्ने भन्दै फकाएर सुताएकी थिइन्, सपना बहिनीले उनीहरूलाई। छोरोलाई उठाउन केही समय लाग्यो। सपना चियाको कप लिएर आउँदा नआउँदै हिम्मत काममा जाने तयारीमा रहेछ। एकैछिनमा बाबु पनि तयार भयो। झन्डै ६ः०० बजिसकेको थियो। यत्तिकैमा दीपकको फोन आयो। उनी हिम्मतको अपार्टमेन्ट तल आइसकेका रहेछन्।
चियाको अन्तिम चुस्की लिएँ। सपनासँग बिदा हुँदै हामी बाहिर निस्कियौं। हिम्मत पनि आफ्नो गन्तव्य ताक्यो। ब्याग गाडीमा राखिसकेपछि हामी पनि गन्तव्यमा अगाडि बढ्यौं।
एकजना शेर्पा भाइ पनि हामीसँगै जाने कुरा दीपकले जानकारी गराए। दीपकले शेर्पा भाइ बस्ने ठाउँतिर गाडी मोडे। शेर्पा भाइ बस्ने ठाउँ नजिकै रहेछ। पाँच मिनेटमै पुग्यौं। भाइ तयार भएरै बसेका रहेछन्। शेर्पा भाइलाई ‘पिक–अप’ गरेपछि, सुरू भयो हाम्रो नायग्रा फल्सको यात्रा।
यात्रासँगै भएकाले औपचारिक रूपमै हाम्रो परिचय भयो, शेर्पा भाइसँग। भाइले नायग्रा फल्सको जिपिएस लगाए। केहीपर पुगेका थियौं, मैले पेट्रोलको ‘जिकर’ गरेँ। भाइ र दीपक एकले अर्कालाई हेर्दै हाँसे। मैले बिर्सेछु ग्यास भन्न। नजिकैको पम्ममा ग्यास राख्यौं। पम्पवालाकै पसलमा केही इनर्जी ड्रिङ्स र चिप्स किनेँ। कोठाबाट निस्कनेबित्तिकै पिसाबले च्यापेको थियो।
मौकाको फाइदा उठाइहालेँ, त्यही पम्पमा। अब भने ‘ननस्टप’ सुरू भयो, नायग्रा फल्सको यात्रा।
जिपिएसले देखाउँदै थियो, चार सय अठार माइल अनि झन्डै सात घन्टाको ड्राइभिङ। बिस्तारै हामीले न्युयोर्क सहरको अग्ला घर र चौडा बाटाहरू छिचोल्दै गयौं। भेटिने हरेक सहरका दूरी नाप्दै गयौं। अमेरिका बसाइको मेरो अनि मेरो परिवारको यो पहिलो भ्रमण थियो। त्यसैले मन उत्साहित अनि चकमन्न थियो। त्यो चार सय माइलको दूरी पनि के दूरी बरू उड्दै गरेको बादलमाथि देखिने नीलो आकाश चुम्ने रहर मनभरि थियो। ती उडिरहेका बादलहरू भेट्न मेरो मन पनि उडिरहेको थियो। महसुस गर्दै थिएँ कि वशमा छैन, मेरो मन ... ।
लामो दूरीको यात्रा भएकाले विश्राम अनि नायाग्रासँगको दूरी छोट्याउने प्रयास चलिरह्यो। मलाई आज डबल खुसी, त्यै पनि एकैपल्ट मिलेको अनुभूति भइरहेको थियो। अमेरिका बसाइको पहिलो भ्रमण, न्युयोर्कको। त्यसैमाथि नायाग्रा फल्स।
अर्को खुसी भनेको स्कुल, कलेजका साथीसँग चौध वर्ष पछिको भेट। दीपक र म नौ कक्षादेखि सँगै पढेका हौं। चञ्चले बैंस हामीले सँगै हुर्काएका हौं। चौध वर्षपछिको यो भेटले त्यही चञ्चले बैंसको महसुस गराउँदै थियो। त्यसैले पनि नायाग्रा यात्राको मज्जा छुट्टै थियो।
अब सहरका अग्ला घरहरू होंचा हुँदै थिए। ती घरहरू ‘पुत्लुक–पुत्लुक’ क्षितिजमा हराउँदै थिए, जसरी आकाशमा बादल अनायसै हराउँछन्।
अब हाम्रो यात्राले सहरलाई पछाडि छोड्दै जङ्गलको यात्रा तय गर्दै थियो। त्यो जंगलको यात्राले बर्दिया र बाँके राष्ट्रिय निकुञ्जलाई छुँदै पूर्व–पश्चिम राजमार्ग यात्राको महसुस गराउँदै थियो।
जंगलभित्र बाटो अनि बाटोको दुवै साइडमा जंगल। ठाउँ–ठाउँमा जंगली जनावरका तस्वीर सहितका बोर्ड पनि। गति सीमित अंकित बोर्ड पनि लागेका।
सुदूरपश्चिम जाँदा चिसापानीको याद गराउँदै थियो। अमेरिकाको जंगल यात्राले मलाई एकछिन नेपाल पुर्यायो।
शेर्पा भाइ पनि हामीसँग खुल्दै गए। उनी नीलो आकाशजस्तै चङ्ग रहेछन्। नीलो आकाशमा जिस्किरहेका बादलजस्तै बेलाबखत हामीसँग ठट्टा पनि गर्थे, शेर्पा भाइले। उनी अमेरिकामा आमासँग बस्दा रहेछन्। श्रीमती नेपालमै रहिछन्। पोहोरमात्र बिहे गरेको रे। घरायसी कुरा र चिनापरिचयसँगै शेर्पा भाइ र हामी बादलका थुप्रा आपसमा मिलेजस्तै मिलेको यात्राले पत्तै भएन।
फेरि शेर्पा भाइ कुरा गर्न निकै सिपालु पनि रहेछन्। दीपक थाकेर होला, निन्याउरो अनुहार देखाउँदै हाँस्दै थिए। शेर्पा भाइले दीपकको हाँसो बुझे सायद, दीपकलाई आराम गर्न भने। दीपकले गाडी सडकको किनारा लगाए अनि शेर्पा भाइले गाडी हुइँक्याए। ड्राइभिङ गर्ने इच्छा हुँदा नहुँदै पनि मलाई त्यो अनुमति थिएन। न्युयोर्क सहरको नियम, लाइसेन्सधारीले मात्र ड्राइभिङ गर्ने रहेछ। त्यसैले शेर्पा भाइले नै गाडी कुदाए। भर्खरै लाइसेन्स लिएका रहेछन्, शेर्पा भाइले तर गाडी पूरै आत्मविश्वासका साथ चलाए।
दीपकले राहतको महसुस गर्यो। भाइले वैकल्पिक ड्राइभरको भूमिका निभाइदिए। हामी यात्री, नायाग्राको कौतुहलतामा गफिँदै गयौं।
झन्डै चार बजे नायाग्रा फल्सको होटल टेक्यौं। क्यालिफोर्नियाबाट फोनमै होटल बुक गरेको थिएँ, मैले। झोलाहरू होटलमा राख्यौं। होटलकी दिदीलाई बाटोमा खबर गर्दै आएका पनि थियौं। त्यसैले दिदीले नास्ता चाउमिन तयार बनाइदिएकी रहिछन्। भोक निकै लागेको थियो, चाउमिनले मेटायो। स्वाद विल्कुल फरक। धेरै समयपछि फरक स्वादको मज्जा लिन पायो हाम्रो जिभ्रोले पनि। अझ नेपाली स्वाद! भनौं क्यार। होटलको नामै पनि ‘टेस्ट अफ नेपाल’। नामअनुसार टेस्ट त हुनु परिहाल्यो नि होइन र! नेपाली स्वाद चखाइदियो दिदीको चाउमिनले। साँझ, नेपाली खाना खाने गरी नायाग्रा फल्स जाने निधो भयो हाम्रो।
होटलबाट सात मिनेटको पैदल दूरीमा रहेछ, नायाग्रा। हाम्रो सजिलोको लागि दिदीले आफ्नो बुढालाई (होटलवाला दाइ) बोलाइन् फोनबाट। दाइ नजिकै रहेछन्, टुप्लुक्क आइ पनि पुगे। नायाग्रा फल्सको टिकट काउन्टरसम्म पुर्याइदिए अनि दाइ फर्किए। टिकट लिएर हामी एलिभेटर गयौं, नायाग्रा फल्सको बोटिङको लागि। अझ भनौं नायाग्राको समिप यात्राका लागि।
ठूलो पुल, तल नीलो नदी। पारि क्यानडा, वारि अमेरिका। श्रृंगारले भरिपूर्ण अप्सराजस्तै देखिने नायाग्राको झरना। हर कोही आकर्षित हुन्छ, हर कोहीलाई मोहित बनाइदिने रूप नायाग्राको। म कसरी अपवाद हुन सक्थेँ र! मलाई पनि मोहित बनायो नायाग्राले आफ्नो सुन्दरता अनि प्राकृतिक श्रृंगारले। एकछिन डुबायो छालको गहिराइमा। मलाई उत्तेजित बनाउँदै थियो, उसको सुन्दरताले। कुनै कन्जुस्याइँ गरिनँ, उसको सुन्दरताको बयान गर्न मैले पनि। किनकि उ सुन्दर छ, अति सुन्दर छ, बहुत सुन्दर छ।
नायाग्राको श्रृंगारमा समागम भइरहँदा मेरो मन कर्णाली डुलिरहेको थियो। सुदूरपश्चिममा भुलिरहेको थियो। कर्णालीकै कालीकोटको पाँचल झरनासँग रमाइरहेको थियो। सुदूरको बाजुरामा बिरे झरनासँग जिस्किरहेको थियो। ती झरनाहरूको आफ्नै पन छ, सुन्दरता नायाग्राको भन्दा पृथक छ। जहाँ मैले मेरा सपनाको मुहार वर्षौवर्ष धोएको छु। तिनै झरनाका छिटाले सपनाबाट ब्युँझाएका त कति हो कति। तिनै झरनाका श्रृंगारले मेरा कविताका हरफ भरिएका छन्, कवितामा झरना लेखिएका छन्।
म अलि बहकिएँ कि? मलाई नायाग्राले अलि भावुक बनायो, सायद। कविको मन जगाइदियो। मैले गजल वाचनसम्म गर्न भ्याएँ। ‘बाबा ! फोटो खिच्न आइस्यो’, छोराको आवाजले म झसङ्ग भएँ। साँच्चै म डुबेको रहेछु, भावनामा। डुङ्गा खचाखच थियो। वर्षामा सबैले नीलो बर्सादी ओढेर रोपाइँ गर्न जान लागेको जस्तो। सबै मस्त थिए, दङ्ग थिए, फुरूङ्ग थिए ... ।
सबै आ–आफ्नो तालमा। कोही सामाजिक सञ्जालमा लाइभ थिए त कोही टिकटक बनाउँदै। फोटो खिच्ने प्रतिस्पर्धा जस्तो माहोल देखिन्थ्यो त्यहाँ।
हातमा मोबाइल लिएर केही नगर्ने, सायदै कोही थिए त्यहाँ। विस्तारै डुङ्गाले हामीलाई झरनाको नजिक पुर्यायो, पूरै बर्सात जस्तो हुँदोरहेछ। त्यसैले बर्सादी दिइँदो रहेछ, नायाग्राका यात्रीहरूलाई। बतास त्यस्तै अनि पानी उस्तै। बर्सादी बहाना मात्र, पूरै भिजिँदोरहेछ। पारिपट्टि क्यानडाको डुङ्गा रातो बर्सादीमा नायाग्राकै सुन्दरतामा रमाउँदै थिए।
मैले हाम्रो राष्ट्रिय झण्डा निकालेर दीपकलाई फोटो खिच्न अनुरोध गरेँ। नेपाली पोजिसन मात्र के दिएको थिएँ, नेपाली ! नेपाली !! भन्दै महिलाको आवाज आयो, त्यो भिडबाट। हामी पनि राष्ट्रिय झण्डा समातेर फोटो खिच्ने भन्दै आउनुभयो, एक जना दिदी र दाइ। मैले अनुमति दिएँ, ग्रुप फोटो खिच्यौं। दिदी र दाइले सिङ्गल फोटो पनि खिच्नुभयो। भिड थियो, हल्ला थियो। एकले अर्काको आवाज सुन्न मुस्किल–मुस्किल पथ्र्यो। उहाँहरूले आफू अष्ट्रेलियाबाट आएको जानकारी गराउनु भयो। हामी डुङ्गाबाट ओर्लिएपछि फोटो खिच्न लाग्यौं।
भोक लाग्यो भनेर जान खोज्दै हुनुहुन्थ्यो, उहाँहरू । मैले हामी बसेको होटलको फोन नम्बर र लोकेसन दिएँ, नेपाली होटलकै प्रोमोशन होस् भनेर। हामी त्यतै फोटो खिच्दै बस्यौं। केही समय नायाग्राकै समीपमा बरालियौं। नायाग्राले हामीलाई बराल्यो भनौं क्यार! रातिको नायाग्रा फल्सलाई फेरि हेर्ने वाचा गर्दै होटेल फर्कियौं।
हामी होटलमा जाँदा दाइ र दिदी खाएर निस्कनै लाग्नुभएको रहेछ। हामीले एकछिन् बस्न अनुरोध गर्यौं। सहजै स्वीकार्नुभयो, हाम्रो प्रस्ताव। २९ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएको रहेछ। कृषि क्याम्पस रामपुरको तेस्रो ब्याच हुनुहुँदोरहेछ, दाइ। मास्टर पढ्न अष्ट्रेलिया पुग्नुभएको रहेछ।
अष्ट्रेलियाको एक विश्वविद्यालयबाट पिएचडी गरेपछि यहीँ नै कर्म थलो बनाएर बस्नुभएको रहेछ। राति होटल बन्द गरेपछि होटलवाला दाइ र दिदीले हामी सबैलाई नायाग्रा फल्सको रात्रिकालीन दृश्यावलोकन गराउने निधो गर्नुभयो। राति दस बजे मात्र होटल बन्द भयो। त्यतिबेलासम्म शेर्पा भाइ, दीपक र दिदी हल्का मस्त भइसकेका थिए।
होटलवाला दाइ र दिदी पनि मस्त। सबै मस्त, मस्त। ढिलो हुन्छ, नायाग्रा हेर्न जानुपर्छ भनेपछि होटलवाला दाइले आफ्नो सातसिटे गाडी लग्ने कुरा गर्नुभयो। मान्छे आठ जना थियौं तर दाइको नेपाली पारा! गाडीमा सबैलाई कोच्नुभयो। रिमझिम पानी परेको थियो। रातको नायग्रा फल्स विल्कुल मज्जाको देखिँदोरहेछ।
पारि क्यानडाबाट इन्द्रेणी रंगहरूको फ्ल्यास लाइट, वारि अमेरिकाको झरनामा पारिँदोरहेछ। झरनाको चमक नै बदलिँदो रहेछ। मान्छेको भिड पनि त्यस्तै हुँदोरहेछ। झरनाको रिमझिम वर्षात त थियो नै, अब साँच्चिकै वर्षात ठूलो नै पर्न थाल्यो। त्यसैले फर्कने निधो गयौं। अष्ट्रेलियाबाट आउनुभएका दाइ र दिदीलाई उहाँहरू बस्ने होटलमा पुर्याउन गयौं। उहाँहरूसँग एक महिनापछि क्यालिफोर्नियामा भेट्ने वाचासँगै छुट्टियौं।
होटलवाला दाइले, सम्झना बिर्सना सलललल, झन–झन बढ्यो तिर्सना सलललल’, बोलको गीत ठूलो भोलुममा बजाउँदै गाडी गन्तव्यतर्फ हुइँक्याउनुभयो।