बि. स. २०२७: चिमचिमा, खोटाङ, नेपाल
त्यस्तै ७ वर्षको हुँदो हुँ, हजुरबाको दौराको फेर समातेर म पनि दिक्तेल बजार, नजिकैको बुद्धेश्वर गुफा र कालिका भगवतीको मन्दिर जान तम्तयार भएँ। जिन्दगीको पहिलो यात्रा थियो त्यो मेरो लागि।
मैले जान्छु भनेर जिद्दी गरेपछि हजुरबाले आनाकानी गर्दै ‘ल हिँड न त’ भन्नुभएको थियो। नाई भन्नुभएको भए एकपल्ट रूनु पर्थ्यो होला त्यस पछि त नमान्ने कुरै थिएन। आफ्नो ज्यानभन्दा प्यारो नातिको आँखामा उहाँ आँसुको थोपा पनि देख्न चाहनुहुन्न थियो।
हजुरबाले गर्ने मायाको भरपुर फाइदा लिन मैले जानिसकेको रहेछु।
उतै खेतीपाती गर्ने भनेर मेरो बुवा तराई झरिसक्नुभएको थियो। कान्छी आमासँग बिहे पनि भईसकेको रहेछ। मेरो आमा घर गृहस्तिमै व्यस्त हुनुहुन्थ्यो। सानैदेखि हजुरबालेनै पुलपुल्याउनुभयो अनि मेरो हिरो पनि उहाँनै हुनुहुन्थ्यो।
एक कान्ला तल बडाबाको घर, अलि माथि साइँली फुपुको घर, पर कोल डाँडा स्कुल अनि बेशीमा धानखेतका फाँटहरु बाहेक अन्त कतै गएको थिईँन ।लेकमा हाम्रो आवधिक गोठ थियो तर त्यहाँ जाने मौका जुरेको थिएन। पहिलो चोटि यो एकदिने यात्रामा निस्कन पाएकोमा निकै उत्साहित थिएँ।
हरेक मान्छे यात्रा गर्न चाहन्छ, म पनि चाहन्थेँ। यो यात्राले मलाई त्यो दुर्गम गाउँको सेरोफेरोबाट बाहिर लाँदै थियो। नयाँ ठाउँ हेर्ने र बुझ्ने मौका दिँदै थियो। प्रख्यात दार्शनिक सेन्ट अगस्टिनले भनेका रहेछन्, ‘संसार एउटा खुला किताब हो, जसले यात्रा गर्दैन उसले एउटा पाना मात्र पढ्छ।’ म पनि एउटा हैन धेरै पाना पढ्न चाहन्थेँ।
हजुरबा कहिले कहीँ आफन्त भेट्न नजिकैका गाउँहरु दिल्पा, बाक्शिला, आदि जानुहुन्थ्यो। जाडो छल्न र किनमेल गर्न धरान, मोरङ र झापा जानुहुन्थ्यो। एकपल्ट हाम्रा आफन्त डिठ्ठा गौरी नारायण गिरीलाई भेट्न जनकपुर पनि पुग्नुभएको थियो।
पहिले पहिले हाम्रो गाउँलेहरू किनमेल गर्न तिब्बतको राजधानी ल्हासा जान्थे रे। अलि तल राई गाउँका जवान ठिटाहरु ब्रिटिश र भारतीय फौजमा भर्ति भएर ब्रिटेन र भारत गएका छन् भन्ने सुनेको थिएँ। पशुपतिनाथको दर्शन गर्न जो कोही जान सक्दैन थियो, कमजोर आर्थिक अवस्थाले गर्दा। नयाँ ठाउँ टुरिस्ट भएर घुम्ने चलन पटक्कै थिएन।
पशुपतिको जात्रा सिद्राको व्यापार गर्ने योजना रहेछ हजुरबाको यसपालि। मन्दिर गएर आफूले चाहेको कुरा भगवानसँग माग्ने र दिक्तेल बजारमा अलि अलि किनमेल पनि गर्ने।
हाम्रो गाउँमा मन्दिर थिएन। साँझ बिहान पूजा पाठ हुन्थ्यो, आफ्नै घरमा। नजिकैको तिर्थ भनेकै, खोटाङ जिल्लाका दुई धार्मिक स्थलहरु, दिक्तेलको कालिका भगवती र हलेसीको महादेवस्थान थिए। मन्दिरहरू कलियुगमा मात्र बन्न थालेका हुन् रे। मन्दिरमा भएका भगवानसँग साक्षात्कर रुपमा भेटेर बरदान माग्ने ध्यय थियो हजुरबाको।
मिर्मिरे उज्यालो हुनासाथै घरबाट निस्क्यौं, हामी दुई एकाबिहानकै पैदल यात्रा थियो, त्यो ठाउँ।
हाम्रो गाउँ चिमचिमाबाट दुरीको हिसाबले त्यस्तै १५-२० किलोमिटर हुनुपर्छ। घर माथिको सिरूबासको उकालो पार गरेर अलिकति ओरालो झरेपछि तेर्सैतेर्सो रहेछ बाटो। म हजुरबाको पछिपछि निकै जोश र जाँगरसहित हिँडीरहेको थिएँ। एक-एक छिनमा हजुरबा पछाडि फर्केर हेर्नुहुन्थ्यो, सायद म पछिपछि आउँदैछु कि छैन भनेर एकिन गर्न चाहनु हुन्थ्यो होला।
ठाउँठाउँमा खोलाहरु तर्नुपर्ने। सुरूवाल माथि सारेर हजुरबाको हात समातेर तरेँ। हात नसमाते खोलाको चिप्लो ढुंगामा लड्ने र खोलाले बगाउनसक्ने समेत सम्भावना थियो। जुत्ता, र मोजा खोल्ने समस्यानै थिएन किनकि हामी दुवै खाली खुट्टा हिँडिरहेका थियौं। सुरूवाल दुवै खुट्टामा कस्सिएको हुनाले माथि सार्दा सार्दै अलि अलि भिजेछ। खैर, हिँडदा हिँडदै सुकिहाल्यो।
बीच बाटोमा पुगेपछि म अलि थाकेछु। खोला नजिकै एउटा ढुङ्गामा बिश्राम लियौं। हजुरबाले इस्टकोटको भित्री खल्तीबाट मिसिरीको टुक्रा निकालेर सानो टुक्रा मलाई दिनुभयो। आहा कस्तो मिठो! मिसिरी खाई सकेपछि तिर्खा लाग्यो अनि छेवैको खोलामा गएर अञ्जुलीले उगाएर पानी पिएँ। पानी बोकेर हिँड्ने चलन थिएन। तिर्खा लागे खोलानाला र धाराहरु छँदै थिए।
बगरे भन्ज्याङ कटेर तालखर्क आई सकेका थियौं हामी। सानो खोल्सो तरेपछि सोल्मा गाउँ आउँदो रहेछ। ‘तिम्री आमाको माइती त्यहीँ गाउँ हो’ भनेर देखाउनुभयो हजुरबाले। सोल्मा तिर निस्किने समय थिएन। मावलका हजुरबालाई भेट्न पाएको भए पनि हुन्थ्यो लाग्यो मनमनै। छोटो कदका ती हजुरबा बिन्दास खालको हुनुहुन्थ्यो। गफ गरेर खुब हसाउँनु हुन्थ्यो। यस अघि एकाध पटक भेटेको थिएँ मैले।
थाहै नपाई दिक्तेल बजार आइसकेछ। बजार पहिलो पल्ट देखेँ। अहो! दिक्तेल बजारमा त कति धेरै पसलहरू। बीचमा सानो कच्ची बाटो छ, बाटोको दुवै तिर पंतिबद्द रूपमा बनाईएका घरहरू। मान्छेहरुको ओहोर दोहोर पनि के सारो? भरियाहरू पनि स्याँ स्याँ गर्दै हिँडीरहेका छन्। भुस्याहा कुकुरहरू पनि भौंतारी रहेको देख्छु।
‘ऊ त्यो स्कुल हो’ भनेर हजुरबाले देखाउनुभयो। ‘ओ हो कति ठूलो स्कुल’ मैले भनेँ। छुट्टिको दिन परेकोले केटाकेटीको खैलाबैला केही थिएन।
हामी बजार कटेर बुद्धेश्वर गुफामा पस्यौं। गुफामा त बोट-बिरुवा र जन्तुहरू पनि हुँदारहेछन्। हामी बल्ल-तल्ल गुफा भित्र गईरहेका थियौं। त्यस्तो अँध्यारो ठाउँमा हिंड्नु सहज थिएन। कहिले माथि चढ्नुपर्छ त् कहिले तल। कुनै ठाउँ चिप्लो छ भने कुनै ठाउँ साँघुरो। चार पाउ गर्दै भए पनि हामी अघि बढिरहेका थियौं। बेला बेलामा चिसो पानीको थोपा जिउमा झर्दथ्यो। गुफा भित्र निकै चिसो थियो। भित्ताहरूमा केही लेखे जस्तो धर्काहरू र भगवानका स्वरूप जस्ता आकृतिहरु पनि रहेछन्। पहिले पहिले मानिसहरू गुफामा बस्थे भनेर पढेको याद आयो।
मनमा डर पनि औधी लागिरहेको थियो। अँध्यारो, र चिप्लोबाहेक हामी माथिको ढुंगा खसेर क्याच्याक्कै पार्ला कि भन्ने डर थियो मेरो मनमा। फेरि हिँड्दा हिँड्दै कतै पातालमानै पो पुगिने हो कि भन्ने डर पनि थियो। यी दुवै डरहरु मनगढन्ते थिए होलान्।
अब हामी गुफाबाट निस्केर डाँडामाथि भएको कालिका भगवतिको दर्शन गर्न तिर लाग्यौं। ठाडै उकालो बाटो रहेछ यो त। सानो मन्दिर तर कति शक्तिशाली, जे बरदान माग्यो त्यहीँ पाईने।
मन्दिरको अगाडि ‘भगवानलाई बरदान माग’ भन्नुभयो हजुरबाले। के माँगु के माँगु भयो। दुई हातले नमस्कार गरेर अनि आँखा चिम्लेर ‘भगवान मलाई पढ्न लेख्न आवोस्’ भनेँ मनमनै। हजुरबाले पढ्नुपर्छ, धेरै पढ्नुपर्छ भनेर मलाई प्रेरित गरि सक्नुभएको रहेछ।
मन्दिर घुमिसकेर नजिकैको डाँडामा बसेर हजुरबाले बोकेर ल्याउनु भएको सातु पानीमा मिसाएर खायौं। त्यहाँबाट दिक्तेल बजार र वरिपरिका गाउँहरुको मनोरम दृस्य देखेर म मक्ख भएँ। बेला बेलामा बादलुले घुम्टो हालेर भुटीभाँङ केही नदेखिने। एकैछिनमा खुली पनि हाल्थ्यो।
खाजा खाएर हामी दिक्तेल बजार तर्फ फर्कियौं। एउटा कपडा पसलेकोमा छिर्नुभयो हजुरबा। म पनि लुरूलुरू पछि लागिरहेको थिएँ। थानका थान रङ्गी बिरङ्गि कपडाहरु थिए पसलमा। मूढामा बस्यौँ हामी। साहुजीले चिया मगाए। केटाकेटीले चिया खानु हुँदैन भनेर मेरो गन्तिनै गरेनन्। हाम्रो घरमा चिया पाक्दैन थियो। मलाई चाख्न चाहीं मन थियो, तर केही बोलिनँ।
अलि अलि लुगा किनेर हामी घर तिर लाग्यौं।
यो मेरो पहिलो र छोटो यात्राले मलाई धेरै पाठ पढाएछ। घुमेर आएको हुनाले मेरो मनोबल बढ्यो। मनमनै खासगरी अरू मेरा उमेरका केटाकेटी माझ अलि जान्ने बुझ्ने हुँ जस्तो लाग्यो। गुफा, मन्दिर र बजारको बारेमा पढे सुनेको भए पनि स्वयम् आफू गएर अवलोकन गर्दा नबिर्सने गरि थप जानकारी प्राप्त भयो।
नयाँ ठाउँमा गएर फर्किँदा ताजा अनुभूति पनि भयो। नयाँ मानिसहरु पनि देख्न भेट्न पाएँ। जीवनमा अलिकती भए पनि कुशलता र सार्थकता थपिए जस्तो लाग्यो।
झिमिक्क साँझ पर्नुअगावै हामी घर फर्किसकेका थियौं। अब फेरि कहिले यात्रा गर्ने? भनेर हजुरबालाई सोधेँ। ‘छिट्टै हामी हलेसी महादेवको दर्शन गर्न जाउँला है’ भन्नुभयो हजुरबाले।
असार, २०७९
नर्थ क्यारोलाईना, अमेरिका