यात्रा भने पछि म हुरुक्क हुन्छु। उमेर बिस्तारै उक्लिँदै गर्दा मन भने झन झन तरूनो झैं ठाँउ ठाँउ पुगेर प्रकृतिसँग प्रेम गर्न मन लाग्छ।
साना साना ढुंगा देखि ठूला ठूला पहाड, रुख, बिरुवामा चित्रित अनेक आकृतिले अनेक भाषा बोलेर आफूलाई प्रष्ट्याएझैँ लाग्छ।
यस्तै यात्राको आनन्दमा यात्रारत छौँ यो पटक पनि।
२०७९/१/२३ गतेको साँझ ७.२५ मा काठमाडौं बसपार्कबाट बेनीको लागि बस छुट्यो।
हामीले कुश्मासम्मको टिकट लिएर आफ्नो सिटमा बस्यौं। हाम्रो सिट बसको अन्तिममा परेकोले केही तनाव भयो रात्री यात्रा लामो थियो। अन्तिम सिटमा बसेर कसरी पुग्ने होला? कति उफार्ने होला? बसमै थाकिन्छ क्या हो? भन्दै गुनासो गर्दै बसेका थियौं।
बसमा एक एक गरि बिस्तारै यात्रीहरू थपिँदै थिए। बसका यात्रीको पहिरन हेर्दै छोरीले भनिन् हलुका फ्रक टाइपको वान पिस लगाएपछि हिंड्न सजिलो हुन्छ भन्दै गर्दा बहिनीको छोरोले कुरै नबुझी ‘म पनि लगाउँछु नि के हो’ भन्यो बस नै थर्कने गरि छोराछोरीको हाँसोको फोहोरा छुट्यो।
रातभर बस आफ्नै रफ्तारमा गुडीरह्यो। कहिले बसले उफारेको शरीर तह लाउँदै कहिले निदाउँदै बिहान ५:३० मा कुश्मा पुग्यौं। कुश्मामा ओर्लिएर गेष्ट हाउसमा एउटा एटेंच रूम लिएर त्यहीँ सबैजना फ्रेश भएर सामान त्यही कोठामा थन्क्यायौं। तल चिया खाजा खान झर्यौं।
कहिले न आएको ठाउँ अब कता जाने कसरी घुम्ने भनेर हामी दिदी बहिनी सल्लाह गर्दै गर्दा त्यहीँ नजिक चिया पिउँदै बसेका एक जना दाईले हाम्रो कुरा सुनेर बोलेरोको ब्यवस्थापन गरिदिए।
यात्रामा भेटिने मानिसहरू अपरिचित भए पनि कोहि कोही आफ्नै जस्ता भेटिन्छन्।
हामी सातजना थियौं बोलेरो लिएर हामीलाई निक्कै सजिलो भयो। दिनभरी कुश्मा बाग्लुङको पञ्चकोट घुमाएर सांँझ बेनिसम्म पुर्याउन ५५०० मा फिक्स गर्यौं र हामी घुम्न निस्कियौं।
कुश्मामा रहेको तीन वटा गाउँ जोड्ने त्रिकोण आकारको तीनवटा झोलुङ्गे पूल पहिलो गन्तव्य बन्यो हाम्रो।
सो पूलमा श्री ‘नरसिंहधाम प्रवेश द्वार’ भनेर लेखिएको गेटबाट झोलुङ्गे पूल प्रवेश गर्यौं पूल बिचबाट वारिपारी हेर्दा सलक्क परेका सल्लाको रूखहरूको जंगल जस्तो मात्र देखिन्थ्यो। हामीले पूलमा केही तस्बिर लियौ र पारी पुग्यौं।
पारीपट्टि ‘फलेवास नगरपालिकाको प्रवेशद्वार मुडीकुवामा यहाँहरूलाई स्वागत छ’ लेखिएको देखेपछि वरपर नजर डुलाएंँ नजिकमा एउटा मात्र सानो किराना पसल र एकदुई घर मात्र देखेँ। केही क्षण त्यहाँबाट हिंडेपश्चात् दोस्रो पूल पुग्यौं।
पूल छेउ ठूलो पहरा, भीर र बिचमा गण्डकी बगिरहेको आकाशमा बुट्टेदार बादल आहा अति सुन्दर दृष्य थियो। दोस्रो पूलको दृष्यले धेरै बेर हामीलाई अल्झायो। भीर र तल बगेको गण्डकीलाई समेटेर धेरै तस्बिरहरूमा आफूलाई बाध्यौंं र तेस्रो पूल तर्फ लाग्यौं।
त्रिकोण आकारको तेस्रो पूलमा पुग्दा अझ अचम्म। पूलको दुबै छेउँ अति सुन्दर दुई वटा कटेज बनाइएको रहेछ। कटेजको सजावट आँगन बिचमा एउटा रूख त्यो रूखमा दुइ वटा पान्डा रूख चढ्दै गरेको र त्यही छेउमा परसम्म हेर्नको लागि सानो भ्युटावर जस्तो बनाइएको देख्दा अति सुन्दर लाग्ने। सो दुई कटेज बाहेक नजिक कुनै घर बस्ती थिएन। तेस्रो पूलमा पनि हामीले आफूलाई तस्बिरमा सजायौं र निस्कियौं त्यहाँबाट।
बिहानको खाना खाएर हामी बन्जीजम्प र सिसा पूल तर्फ लाग्यौं। सिसापूलमा प्रति ब्यक्ति ३०० का दरले टिकट लाग्ने रहेछ धेरै जना भए पछि २५० का दरले टिकट लियौं। धेरै जना भएकाले हामीले छुट पायौं।
सिसा पूल छोटो कौसी आकारको छ पूलको बिच भागमा रेलिङमा पुतलीको पखेटा आकारको तस्बिर लिने ठाउँ सजाइएको छ।
पूल भित्र जाँदा सिसा नकोरियोस् भनेर खुट्टामा प्लास्टिकको जुत्ता लगाउन दिने रहेछ र कुनै ब्याग सामान सिसामा नराख्न सुचित गरिनेरहेछ। हामी भित्र गयौं सिसामा टेकेर तल हेर्दा छंगाछुर भीर र निक्कै तल गण्डकी बगिरहेको देख्दा कतै सिसा फुटेर तल पो पुगिने हो कि भन्ने डरले सिसामा टेक्दा पनि सुस्तरी टेकिन पुग्ने रहेछ।
केहीबेर त्यस सिसा पूलमा रमाएर हामी गाडीबाट ५ मिनेट परको गुप्तेश्वर गुफा तर्फ लाग्यौं।
गुप्तेश्वर गुफा पुग्न पहाडमा ढुंगा बिच्छ्याएर भर्याङ बनाइएको थियो।
ओर्लदै गर्दा नानीहरूले जिज्ञासा राखे।
‘यो गुफा भन्ने बितिकै किन होला तल तल भर्याङ नै ओर्लिएर जानूपर्ने? पोखराको चमेरे गुफा, महेन्द्र गुफा सबै त्यस्तै छन् किन होला ओह्रालै झर्नुपर्ने? अनि बल्ल पहाडको काप भित्र भित्रै गुफा हुने? कतै कतै त पहाड माथि चढेर गुफा छिर्न पाए पनि हुन्थ्यो नि,’ भनिन्। उनको बाल मनोबिज्ञान, उत्सुकता पनि ठिकै हो।
हामी गुप्तेश्वर गुफा घुमेर निस्कियौं र सोझै पर्वत-बाग्लुङको एसियाकै लामो पूल तर्फ हुइकियौं।
हामीले गाडी रिजर्भ गरेको भएर निक्कै सजिलो भयो। समयको पनि वचत।
त्यो दिन निक्कै चर्को घाम थियो नानीहरू हिँड्न पाएको हुन्थेन कि तिर्खा लाग्यो भोक लाग्यो भन्न थालि हाल्थे।
गाडीबाट ओर्लिएर एसियाकै ५६७ मिटर लामो पूल हिँड्न लागेको त केही बिचमा पुग्दा नपुग्दै पूल यसरी मच्चियो कि पिङ खेलेझैँ नै भयो। पूल त फर्लक्कै फर्किएर हामीलाई गण्डकी मै फ्यांक्छ कि झैँ भयो। पूलको जाली बारलाई च्याप्प समातेर उभिइरह्यौं न वारि आउन सकिन्छ न त पारी जान नै।
पूलमा धेरै जनाको आवतजावत भए पछि पूलले ओभरलोड थाम्न नसक्दा त्यसरी पूल मच्चिन्छ भनेर त्यही हिँड्दै गरेको एकजनाले भनेको सुनेँ। छेउछाउका सबै निस्किए अनि केहिबेरमा पूल मच्चिन छोड्यो र हामी पारि पुग्यौ। पूल यसरी मच्चिएको पहिलो अनुभव भयो।
पूलमा पिङ खेलेझैँ नौलो अनुभव र डरसँगै नानीहरू निक्कै रमाए केही तस्बिरहरू लियौं र हामी पञ्चचकोट तर्फ लाग्यौं।
पञ्चकोट उकालो उकालो हुँदै माथि नै रहेछ बाटो कतै कतै मात्र बनेको कतै अप्ठ्यारो कतै ग्र्याबिल मात्र गरेको रहेछ।
शालिग्राम ढुंगा पाइने विश्वकै एक मात्र ठाउँ पञ्चकोटमा अवस्थित ठूलो हनुमानको मूर्ती, ठूलो कलश र गरुडको मुर्तिले सजिएको मन्दिर रहेछ। पञ्चकोट माथि पुग्दा निक्कै चिसो हावा सररर चल्ने मन आफैं आनन्दित हुन पुग्ने।
पहाडको टुप्पोमा रहेको यस मन्दिरको छेउ स्टिलको रेलिङले बारिएको छ। रेलिङ छेउमा उभिएर हेर्दा अति सुन्दर प्राकृतिक दृष्य देखिने मन त्यसै आनन्दमय बन्ने। त्यहीँ छेउमा राधाकृष्णको सिस महल समेत रहेछ। सिस महलको प्रवेशदर रू ५० रहेछ हामी पनि पस्यौं।
माथि हनुमानको मूर्ति भएको ठाउँमा भीरलाई नाघ्ने गरि ठूलो डोरीले बाटेको पिङ रहेछ। अरु मानिसहरू पिङ खेलिरहेका थिए।
हामीलाई पनि खेल्ने रहर भयो। कति पैसा पर्छ भनेर सोधेँ १ जनाको १०० का दरले लिने रहेछ। हामी सबै पिङ खेल्यौ तर माहिली बहिनी पिङ खेल्न अति डराउने भए पछि उनी खेलिनन्। तर पिङमा बसेर फोटो खिच्ने रहर गरिन्।
फोटो खिच्न बस्दा पनि कसैले पिङ मच्चाइदिन्छ कि भनेर मलाई ‘दिदी हजुरले पिङ पछाडिबाट समात्नुस् है भनेको भन्यै गरिन्’
र बल्लतल्ल फोटो खिचिन्। रहर पनि कति कति।
आकाशमा बादल कालो हुँदै थियो कतिखेर पानी पर्छ जस्तो थियो गाडीका गुरुजीले पानी पर्यो भने बाटो चिप्लो हुन्छ पानी नपर्दै ओर्लनुस् है भनेकाले हल्का पानी छिट्ट्याउने बितिकै हामी ओर्लिहाल्यौं र बेनीतर्फ लाग्यौं।
पञ्चकोटमा एउटा कथन सुनेँ। पंचकोटमा मुक्तिनाथ बाबाले आश्रम लिएको भएर पञ्चकोट पुगे पछि मुक्तिनाथ पुग्नुपर्ने या मुक्तिनाथ पुगेपछि पंचकोट पुग्नु पर्ने शक्ति रहेको कुरा।
हुन पनि हामी काठमाडौंबाट कुश्माहुँदै पूनहिल बेसक्याम्पको लागि योजना बनाएर हिँडेका थियौ।
साँझको ६ बजे एक जना साथीको सहयोगमा पहिल्यै बेनी होटल र पूनहिलको लागि स्कोर्पियो बुक गरिराखेका थियौं।
बेनीको होटलमा पुगेपछि पूनहिलको लागि बुक गरेको स्कोर्पियोको गुरूलाई सल्लाहको लागि बोलाएंँ। भोलिपल्ट बिहानै हिँड्नुपर्ने थियो। हामी जब गुरूसँग सल्लाह गर्दै गर्दा गुरुजीली पूनहिलमा अहिले गुराँस पनि सकिसकेको र मौसमको कारण हिमाल पनि देखिदैन भनेपछि अचानक पूनहिलको तयारी गरेको हामी त मुस्ताङ जाने पो तय भयो।
पञ्चकोटमा सुनेको शक्तिको कुरा कतै सत्य त होइन भन्ने लाग्यो।
क्रमशः