अमेरिका डायरी- ८
वासिङ्टन डिसी आसपास हिउँ नपरे पनि त्यसको तयारी भइरहेकै थियो। आकाशमा कालो बादल मडारिएको थियो। चिसो झनै बढ्दै थियो। झिसमिसे साँझमा हामी डिसीबाट निस्केर पोटोम्याक रिभर तर्यौं। पेन्टागन भवन हुँदै अघि बढेर अर्लिङ्टनस्थित कोस्टको होलसेल छिर्यौं।
त्यतिन्जेलसम्म हामीलाई जाडो, तिर्खा र भोक सबै लागेको थियो। अनिताले घरको लागि केही सामान किनिन्। मलाई एउटा ज्याकेट किन्नु थियो। सामानले भरिभराउ सुपरस्टोरमा भिड भए पनि व्यवस्थित थियो। कोही सामान छान्दै थिए। कोही बिल काट्न लाइनमा थिए। कोही कार्टमा सामान बोकेर गाडी भएसम्म जाँदै थिए।
त्यहाँ भएका सामान मध्ये धेरैजसो कृषिजन्य वस्तु अमेरिकी उत्पादन थिए। कपडा चीन र बंगलादेशका बढी। नगन्य मात्रामा अरू देशका। त्यही कोस्टको होलसेललाई स्याम्पल मान्ने हो भने अमेरिकी व्यापारमा चीन हाबी भएको सजिलै देख्न सकिन्थ्यो। त्यसै मेसोमा मैले एक ज्याकेट किनेँ जसमा लोखिएको थियो- मेड इन चाइना।
सोचेँ- नेपालमा हामीले कुराकानी गरेजस्तो अमेरिका र चीनबीच त्यति ठूलो दुस्मनी पक्कै छैन।
हामीले त्यहाँ एउटा ठूलो पिज्जा अर्डर गर्यौं र घर फर्किँदा गाडीमा गफ गर्दै खायौं। मलाई सुवासजीले त्यस वरपरका बाटा र तिनका केही नियम सुनाउनुभयो। इन्ट्री र एक्जिट, ट्राफिक र टोल, पार्किङ र फाइन आदिबारे सुन्दा लाग्यो अमेरिकामा हरेक कुराको नियम छ र त्यो पालनयोग्य छ। त्यसैले त्यहाँ रूल अफ ल छ। आदर र अनुशासन छ।
मोबाइलमा गुगल म्यापले अह्राएअनुसार घरी दायाँ, घरी बायाँ र घरी सिधा अगाडि हुँदै हामी '६२८० राथलिन ड्राइभ, स्प्रीङफिल्ड, भिए २२१५२' पुग्यौँ। क्रिसमस पर्वलाई स्वागत गर्न सबैतिर झिलिमिली पारिएकै थियो। मायालु मनहरूसँग भेटेर म पनि त्यसै उज्यालो भएको थिएँ।
भोलिपल्ट बिहानै धिरज भाइ मलाई लिन म भएकै ठाउँ आइपुगे। हामी दुई भाइ दुःखसुखका गफ गर्दै गाडीमा बाल्टिमोरको बाटो लाग्यौं। बाटोमा जे आउँछ त्यो हेर्दै हामी हुइँकिरह्यौं।
मेरिल्याण्ड विश्वविद्यालयको कलेज पार्क परिसरबाट अलि अघि लागेपछि धिरजसँग मैले एउटा जिज्ञासा राखेँ। अघिदेखि नोटिस गरेको कुरा के भने नि त्यहाँ एउटै प्रदेशको उस्तै प्रकारका गाडीमा रहेको नम्बर प्लेटहरू भिन्न-भिन्न र आकर्षक थिए।
कसैकसैमा चराको चित्र थियो। कसैमा देशको झण्डा। कुनैमा विश्वविद्यालयको पहिचान। कुनैमा वातावरण संरक्षणको आह्वान। एउटै राज्यको गाडीका नम्बर प्लेटमा यो विधि विविधता किन?
उनले उत्तर दिए- 'यो कर प्रयोजनका लागि हो दाजु। जब हामी गाडी किन्न जान्छौं त्यति बेलै हामीलाई सोधिन्छ कि तपाईंले तिरेको कर कहाँ जाओस् भन्ने चाहनुहुन्छ? हामीले दिने उत्तरको आधारमा नम्बर प्लेट दिइन्छ। जस्तो कि कसैले आफूले तिरेको कर सोझै वाइल्डलाइफमा जाओस् भन्ने चाह्यो भने उसलाई चरा भएको नम्बर प्लेट दिइन्छ।'
उनले प्रतिपश्न गरे- 'कसैकसैलाई यस्तो गर्न रमाइलो लाग्छ नि, हैन र दाइ?'
आधा दशकभन्दा बढी अमेरिका बसेको धिरजले भनेका सबै कुराको सत्यपन जाँच्न मलाई समय थिएन। यद्यपि मैले स-सानो कुरामा पनि कसरी विविधता कायम गर्न सकिँदो रहेछ भन्ने कुरा मनमा खेलाएँ। मान्छेलाई कर तिर्ने कुरामा पनि कसरी खुसी पार्न खोजिएको रहेछ जस्तो लाग्यो।
हरेक कुरामा एकरूपता खोज्ने हाम्रो परिपाटीले कतै विविधता स्वीकार गर्न नसकेको त हैन? जस्तो लाग्यो। आफ्नै मनस्थितिमा मैले सानो प्रश्न चिह्न लगाएँ।
यत्तिकैमा एउटा स्पोर्ट्स कार हामीलाई उछिनेर फुत्त अघि गयो। जसको नम्बर प्लेटमा कुनै नम्बर थिएन। थियो त केवल कसैको नाम, साया। ६० माइल प्रतिघण्टाको गतिमा गाडी हाँकिरहेको धिरजको ध्यान खिच्दै सोधेँ, 'यो के अचम्म हो?'
उनले भने, 'यहाँ यस्तो पनि गर्न पाइन्छ दाइ। गाडी दर्ता गर्ने बेला पैसा अलि बढी तिर्नुपर्छ। त्यत्ति हो।'
मेरो मुखबाट फुत्त निस्क्यो- 'वाह अमेरिका!'
उनले भन्दै थिए- 'गाडीको डिजिटल पहिचान हुन्छ। त्यसको रेकर्ड सबैतिर पुग्छ। कभर नाम जे भए पनि गल्ती गरेपछि मान्छे उम्कन पाउँदैन। मुख्य कुरा यही न हो। तर आफू चढ्ने कारमा आफूलाई मन पर्ने मान्छेको नाम राख्न पाउनु पनि त गजबको कुरा हो नि है दाइ?'
उनले मतिर पुलुक्क हेरे।
मैले जिस्किँदै भनेँ- 'भाइको मनमा पनि कसैको नाम छ कि क्या हो?'
यताउता हेर्दै एक घण्टा नन-स्टप यात्रा गरेपछि हामी बाल्टिमोर पुग्यौं। खाना बनाएर घरमै नम्रताले हामीलाई पर्खिबसेकी थिइन्। अमेरिका पुगेर भाइ, बुहारी र भतिजोसँग सँगै खाना खाँदा अर्कै आनन्द आयो।
खाना खाएपछि धिरज र म डेलावेर राज्यको नेवार्कतर्फ लाग्यौं। नेवार्कस्थित डेलावेर विश्वविद्यालयमा सौरभ भाइले भर्खरै विद्यावारिधि अध्ययन सुरू गरेको थियो। मलाई अमेरिकाका सहर घुम्ने रहर। भाइहरूलाई दाइसँग भेट हुने अवसर। यो गजबको संयोग थियो।
बाटोमा पर्ने सस्कुहाना रिभरमाथिको लामो पुल तरेपछि मैले खुइयऽ गरेँ। धिरजले भने-'के भयो दाइ?'
अमेरिकाको यतिविघ्न विकास देखेर म भित्रभित्रै मुर्मुरिएको थिएँ। कहिले र कसरी बन्यो यहाँको विकासको योजना? भनेँ- 'नेपालमा कहिले हुन्छ होला विकास?'
सहर मात्रै होइन गाउँ पनि उस्तै व्यवस्थित। मकैखेतीका लागि तयार पारिएका ठूल्ठूला फाँट, ह्वाइट इगल पाइने जंगल र घोडा चर्ने चउर हेर्दै हामी अघि बढ्यौं। बाल्टिमोरबाट ६३ माइल पर रहेको नेवार्क पुग्न हामीलाई एक घण्टा आसपास समय लाग्यो।
ठ्याक्कै ठाउँमा पुर्याउने अमेरिकाको ठेगानाबारे म पहिल्यै जानकार थिएँ। सौरभले म्यासेन्जरमा पठाइदिएको ठेगानाले हामीलाई अपार्टमेन्टभित्रै पुर्यायो। सौरभको साथी शशि पनि सँगै विद्यावारिधि गर्दै रहेछन्। हामीले त्यहाँ मिठो कफी खायौं।
विश्वविद्यालयमा जाडो बिदा सुरू भइसकेको थियो। धिरजले सौरभलाई समेत लिएर बाल्टिमोर बास बस्न जाने प्रस्ताव गरे। हामीले हुन्छ भन्यौं। अनि अघिकै कारमा अघिकै बाटो बाल्टिमोरतर्फ सोझियौं।
दूरी लामो भए पनि गति छिटो भएपछि यात्रा छोटो हुँदो रहेछ। झिसमिसे साँझमै हामी तीन भाइ पट्याप्स्को रिभरको इनर हार्वर छेवैमा रहेको फेडेरल हिल पार्कमा पुगेर फोटो खिच्यौं। त्यहाँबाट देखिने झिलिमिली बाल्टिमोर सहरले हाम्रो मन खिच्यो।
हुन पनि अमेरिकाको बाल्टिमोरले धेरै नेपालीको ध्यान खिचेको छ। त्यहाँको मुख्य बजारमा कलाकार प्रेमराजा महतको रेस्टुरेन्ट छ- नेपाल हाउस। पर्वत जिल्लामा जन्मेका ह्यारी भण्डारी बाल्टिमोरबाटै मेरिल्याण्ड हाउस अफ डेलेगेट निर्वाचित भएका छन्। धेरै नेपालीको भावना समेट्दै उनले अक्टोवर ५ लाई मेरिल्याण्डमा 'दसैं डे' घोषणा गर्न लागिपरेका छन्। बाल्टिमोरमा मैले पनि वालिङदेखि बझाङसम्मका मान्छे भेटेँ। अनि उनीहरूसँग 'कर्नालीका कुडा' गरेँ।
बेलुकी बहिनी सुरक्षा र ज्वाइँ सुदिपसँग पनि त्यहीँ भेट भयो। एकै घरका हामी सात जना सात समुन्द्रपारि पनि साथै हुन पाउनु सानो संयोग कहाँ हो र? त्यस जमघटमा हामीले नेपाली ममःसँग अमेरिकी कोक खायौँ।
भोलिपल्ट बिहानै सुरक्षाले पकाएको रोटी तरकारी खाइवरी हामी फेरि डेलावेर जाने भयौँ। सौरभ र मलाई पुर्याउन सुरक्षा र सुदिप दुबैको दस्ता हिँड्यो। जसै हामी चार अटाएको कार 'आइ नाइन्टी फाइभ' हुँदै हुइँकियो बाल्टिमोरका बग्रेल्ती सम्झना मेरा आँखामा अटाए।
खाना खाएपछि त्यस दिन दिनभर सौरभ र शशीसँग म डेलावेर विश्वविद्यालय र नेवार्क जलाशय परिसर घुमेँ। अमेरिकाका घर, बाटा, वातावरण र विकासका कुरा गरेर कहिल्यै थाकिँदैन होला सायद। सर्वांगीण विकासको 'ब्याकबोन'का रूपमा रहेका अमेरिकी विश्वविद्यालयको महिमा त जति गाए पनि कमै हुन्छ।
हिँड्दै जाँदा बाटोमा खोला थियो। हामी पुल तरेर पारि गयौं। यत्तिकैमा सौरभ र शशी रोकिए। अचम्म मान्दै उनीहरू दुबैले भने- 'अरे यार, चार हप्ताअघि आउँदा यो अर्को पुल थिएन त यहाँ?' अहिले सँगै जोडिएजस्ता दुइटा पुल त्यहाँ थिए।
चार वर्षअघि मुगु जाँदा मैले बाटोमा देखेको थिएँ खहरे खोलाको बीचमा एउटा पिलर। स्थानीयले सुनाएका थिए- पिलर बनाएर ठेकेदार भागेको चार वर्ष भयो रे। खोलामा चार घण्टासम्म रोकिएपछि बल्ल हाम्रो चार पाङ्ग्रे अघि बढेको थियो।
मैले तुरुन्त त्यही सम्झेँ। उनीहरू के सम्झे कुन्नी? केही सोधिनँ। केहीबेरमै हामी हरियो चउर छेउको साइकल लेन हुँदै अघि बढ्यौं।
निकै रमणीय नेवार्क रिजर्भोएर वरपर घुम्दा त्यहीँ कतै 'आफ्नो घर भएको भए' भनि सोच्न भ्याएँ। अग्लो स्थानमा भएकाले त्यहाँबाट हेर्दा नेवार्क सहर रहरलाग्दो देखिन्थ्यो। निलो आकाश हेर्न टाउको उठाउनु पर्थेन। तालमै आकाश आउँथ्यो।
त्यहाँ तालका पनि आफ्नै नियम थिए। तालमा र ताल परिसरमा 'के के गर्न हुँदैन' भन्ने कुरा भनेजसरी नै पालना भएको देखिएको थियो।
मैले रारा तालमा हुने बेतालका गतिविधि सम्झेँ। कुनै दिन किनारमा टोलाउँदा मैले रारा तालभित्र बियरको बोत्तल देखेको थिएँ। त्यही बोत्तलमा माछाका भुराहरू भित्र बाहिर गर्दै थिए। विचरा भुराले वियरको स्वाद पाए कि पाएनन् थाहा भएन तर मलाई भने त्यो अनुभूति बेस्वादको भयो।
नेवार्क जलाशय घुमेपछि मेरो मन चंगा भएको थियो। फर्कंदा हामी विश्वविद्यालयले सञ्चालन गरेको सार्वजनिक बस चढ्यौँ। दिउँसोको हिँडाइले हामी तीनैजनाको जीउ दुखेको थियो। घर पुगेपछि हामी 'स्टेला'ले थकै मेट्यौं। अनि घिउ भात खाएर सुत्यौं।
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
भाग २- आकाशमा उड्दै बिहानको ३ बजे 'डिनर'
भाग ३- 'ड्रेडलक' भएकी उनलाई मैले भनेँ– म पनि बब मार्लीको फ्यान हुँ नि!
भाग ४- अमेरिका जाँदा दुइटा जहाज छुटेपछि...
भाग ५- मायामीमा बितेका रंगीन ६ घन्टा!
भाग ६- शानदार अमेरिका!
भाग ७- अमेरिकामा आफ्नै देश सम्झिँदा
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush