अमेरिका डायरी- ७
बिहान सबेरै उठेर केहीबेर बिस्तरामै सोची बसेँ। हिजो रातीदेखि नै सुरू भएको हो अमेरिकाको ग्रामीण क्षेत्र अनुभव गर्ने मेरो समय। बेलुकाको खाना खाँदै दाइभाउजूसँग मैले धेरै जिज्ञासा राखेको थिएँ। त्यहाँको घर, घडेरी, बत्ती, पानी, ग्यास, यातायात, शिक्षा, स्वास्थ्य आदिबारे।
उहाँहरूले बुझेको कुरा मात्रै सुन्दा पनि कुनै कुरा थिएन खोट लाउनु पर्ने। एघार वर्षसम्म त्यहाँ बस्दा एक सेकेन्ड पनि बत्ती गएको छैन रे। धारामा पानी नआएको कुनै दिन छैन। अनि चुल्होमा कहिल्यै ग्यास सकिएको छैन। यति आधारभूत कुराको व्यवस्था सजिलैसँग भएपछि धेरै तनाव हुने कुरा पनि भएन।
खानाका लागि जोहो गर्न गच्छे अनुसारको रोजगारी छँदैछ। काम गर्न कार्यस्थलसम्म जान कार छँदैछ। नत्र स्थान विशेष सार्जजनिक यातायात सुविधा पनि छ।
बेरोजगार कोही नभएपछि सबै सडक र चोक सुनसान हुने नै भयो। बाटामा निस्केर गफ मात्रै गर्ने कोही छैन। चिया पसलमा चिया खाँदा पनि मान्छे काममै व्यस्त छ। कामै छोडेर कसैले अनावश्यक हल्ला गर्ने कुरा पनि त भएन।
देशले मान्छेलाई काम दिएको छ। मान्छेले काम गरेर माम पाएको छ। नाम कमाएको छ। कामबाट पाएको केही रकम राज्यलाई दिएको छ। यही सामान्य व्यवस्थाले देश र जनता दुबै सम्पन्न छन्। समृद्ध छन्। वाह! कस्तो गजबको पारस्परिकता हो यो?
उठेर वासरूम गएँ। तातोपानीले नुहाउन पाएपछि बाहिरको तापक्रम माइनसमा भए पनि के भयो त? एउटा शौचालय मात्रैको व्यवस्थापन देखेर एकछिन गम खाएँ।
सोचेँ–आखिर ठेकेदारले न बनाएको हो यो घर। तर उसले ‘ह्या जेसुकै होस्’ भनेर बनाएको थिएन। घर निर्माणमा सामानको गुणस्तरता, व्यवस्थापकीय सहजता र जिम्मेवारीपूर्ण इमानदारी सबै मिसिएको थियो। घर हेर्दा यस्तो लाग्थ्यो मानौं कसैले कसैलाई ठगेकै छैन।
दाइले आफ्नो ‘टाउन हाउस’ माथिदेखि तलसम्म देखाउनुभयो। फोहोर व्यवस्थापन, लुगा धुने मेसिन, गाडी पार्किङ आदिबारे विस्तारमा भन्नुभयो। समूदाय र सामूहिक कार्यबारे केही कुरा सुनाउनुभयो। नजिकैका ठूला घर र वृद्धाश्रम पनि देखाउनुभयो। अनि खुइलिएका रुख हेर्दै भन्नुभयो–‘यहाँ स्प्रिङमा धेरै नै रमाइलो हुन्छ।’
चिया खाँदै गर्दा मैले झ्यालको पर्दा उघारेर बाहिर हेरेँ। त्यहाँ केही मानिस जम्मा भएका थिए। नजिकै पहेँलो रंगको स्कूल बस रोकिएको थियो। अनि त्यसको पछाडि अरू गाडीको लामो लाइन थियो।
यत्तिकैमा दाइले भन्नुभयो–यहाँ स्कुल बसले बच्चा चढाउँदा वा ओराल्दा त्यसलाई क्रस गरेर कुनै पनि गाडी चल्न पाउँदैन।
सोधेँ–अरुलाई हतार भए के गर्ने?
भन्नुभयो–सबैले कुर्नैपर्छ। रुल इज रुल। नत्र कडा कारवाही हुन्छ।
सोचेँ– यो त अरुलाई सास्ती दिने कुरा मात्रै पो भयो कि? तर केहीबेरमै मेरो मनले मलाई उत्तर खोजिदियो।
मैले केही समयअघि सुर्खेतमा भएको घटना सम्झिएँ। स्कुल बसबाट झरेर बाटो काट्दै गरेको एक बालकलाई अर्को गाडीले ठक्कर दिएको थियो। सडक पारिपट्टी कुरिरहेकी आमाले त्यसपछि कहिल्यै छोरोलाई बस चढाउन ल्याइनन्।
सोचेँ– यसरी स्कुल बसले बालबालिका झार्दा वा सडक पार गर्दा अरु गाडी पछाडि नै रोकिने नियम भएको भए त्यो बच्चा पनि राम्रोसँग घर पुग्दो हो। आमाको काखमा खेल्न पाउँदो हो। तर के गर्नु हाम्रोमा धेरै केटाकेटी यसरी नै मर्छन्, मारिन्छन्।
स्वाभाविक हो–बालबालिका चञ्चल हुन्छन्। चकचक गर्नु उनीहरूको विशेषता हो। तर हामी जहिल्यै उनीहरूलाई रोक्न मात्रै खोज्छौं। उनीहरूको दृष्टिबाट हेर्ने हो भने यही कुरा ठीक हो कि उनीहरू स्कुल बसमा चढ्दा वा ओर्लिँदा अर्को गाडी नआओस्। सडक स्थिर होस्।
आफ्नै रफ्तारमा मात्रै मस्त हुनेले अरुको कहाँ ख्याल गर्छ र? बालबालिकाका लागि राज्यले यति सोचे न बाल अधिकारको संरक्षण हुने हो। तब न तिनीहरू सुरक्षित हुने हुन्। हामी त बालबालिकाको ‘बाल मतलब’ पनि भन्न भ्याउँछौं।
सजिलै भनिदिन्छौं–राम्रोसँग हेरेर नहिँडे त्यस्तै हुन्छ। यसो भन्दै गर्दा हामीले दृष्टिविहीनहरूलाई बिर्सिएका हुन्छौं।
आफैंलाई सोधेँ–के हामी साँच्चै बालमैत्री छौं त?
अहँ।
नत्र कसरी पुग्थे होला १३ वर्ष मुनिका बालबालिका गाडीको ढोकामा झुन्डिन? भट्टीमा इँटा बोक्न वा होटलमा भाँडा धस्काउन। आखिर हामी के मैत्री छौं? को मैत्री छौं?
म हर्नडनस्थित पार्क एभेन्यू हेर्दै टोलाएँ मात्र। केहीबेरमै बेगले गाडी यताउता गर्न थालिसकेका थिए।
खाना खाइवरी दाइभाउजू काममा जानुभयो। मलाई भने उहाँहरूकी छोरी सुजलले रेस्टन सहर घुमाउन लगिन्। हामीले लेक एनाको छेउछाउ केही थान फोटो खिच्यौं। केटाकेटीले सहर बीचको कृत्रिम हिउँमा स्की खेलेको हेर्यौं। अनि चिसोमा आइसक्रिम खाँदै यताउता डुल्यौं। मैले मनमा रेस्टनका पब्लिक पार्कहरूको सम्झना कैद गरेँ। सफा र सुरम्य।
बेलुकीको खाना खाइवरी मलाई अनिता बहिनीको घरसम्म छोड्न दाइभाउजू स्प्रिङफिल्ड जानुभयो। भाउजूले हाँकेको कारमा बस्दै गर्दा बेतोडले मेरो मनमा आएको प्रश्न हो– महिलालाई हामीले अघि बढ्न किन रोकेको होला? र, ‘महिलाले सक्दैनन्’ भन्ने बोक्रे सत्य पत्याएर किन बसेको होला?
डिज्ने वर्ल्ड घुम्न जान लागेकोले धेरै दिन सँगै बस्न नपाएको गुनासो गर्दै उहाँहरू केहीबेरमै घर फर्कनुभयो। म भने अमेरिकामा जता गए पनि आफन्त वा साथीभाइ कोही न कोही भेट हुने कुराले त्यसै त्यसै दंग थिएँ।
अनिताको अमेरिकास्थित घरमा बसेर विचार गरेँ– एउटा स्वतन्त्र मान्छे कतिसम्म उड्न सक्छ होला? कहाँको मान्छे कहाँ पुगेर घरजम गरेको छ हगि! ग्लोबलाइजेसन भनेको यही होला सायद। आखिर धर्ती त केवल आर्जिने कुरा न हो। यस्तै यस्तै।
भोलिपल्ट बहिनी अनिता, ज्वाइँ सुवास र भाञ्जा आश्रेषसँगै मैले भर्जिनियास्थित पोटोम्याक रिभरको ग्रेट फल्स घुमेँ। ‘ग्रेट फल्स’ भनिए पनि हाम्रो लागि त्यो ‘स्मल फल्स’ नै थियो। यद्यपि माल पाएर पनि चाल नपाउने हामीले त्यहाँको व्यवस्थापनबाट धेरै कुरा सिक्न सकिन्छ जस्तो लाग्यो।
नेपालका धेरै पर्यटकीय स्थान यस्तै व्यवस्थापनको पर्खाइमा छन्। सरसफाइमा ध्यान दिने र ब्रान्डिङ गर्ने हो भने हामीले धेरै ठाउँमा धेरै पर्यटकलाई धेरै दिन लोभ्याएर राख्न सक्छौं। पक्का।
अमेरिकाको संघीय राजधानी वासिङटन डिसी पुग्दा मेरो मन त्यसै प्रफूल्ल थियो। त्यहाँ सबभन्दा पहिले म लिंकन मेमोरियल पुगेँ। अमेरिकाको १६ औं राष्ट्रपति लिंकनको सम्झनामा बनाइएको उक्त मार्बल मोनुमेन्टले एकातिर अमेरिकी भव्यता झल्काइरहेको थियो। अर्कोतिर त्यसले इतिहासप्रतिको सम्मान र गौरव गाथा गाइरहेको थियो।
‘हामी केही हौं’ भनेर कसैले केही नभने पनि त्यो देखिएको थियो। बुझिएको थियो। त्यहाँ पुग्नेहरू त्यसकै वरपर नाचिरहेका थिए। फोटो खिचिरहेका थिए।
लिंकनको विशाल मूर्तिको मुन्तिर फोटो खिच्दा लाग्यो–मेरा राज्य निर्माताहरूसँग यसरी तस्बिर लिने अवसर मैले कहिल्यै पाउँछु होला कि नाइँ?
सोचेँ– इतिहास आलोचनाको विषय बन्न सक्छ। तर त्यसको सम्मान नगर्नेले वर्तमानलाई मानमर्दन गरेको हुन्छ। अनि भविष्यलाई नजर अन्दाज। जहाँ हरेकको सम्मान हुन्छ त्यहाँको सूदुर भविष्य उज्वल हुन्छ।
मैले हामीमा खिइँदै गएको दुर्बलता त्यतिखेर देखेँ जति बेला म रेफ्लेक्टिङ पुलको पुछारमा रहेको दोस्रो विश्वयुद्ध स्मारक पुगेँ। त्यहाँ देशका लागि शहीद भएकाहरूको सम्मानमा ताराहरू बनाइएको थियो। ती तारामा शहीदका सन्ततिले आफ्नो अनुहार खोज्न मिल्थ्यो। भावुक हुन पाउँथ्यो। अनि सलाम गरेर निस्कन सक्थ्यो।
त्यतै कतै लेखिएको थियो ‘हेयर वी मार्क द प्राइस अफ फ्रिडम’।
हाम्रोमा शहीदप्रतिको सम्मान पातलिँदै गएको बेला त्यसले मभित्र पनि एक किसिमको ऊर्जा थपेको थियो। चार हजार ४८ सुनौला ताराहरूको सामुन्ने बसेर पहेँलो हुडीमा मैले त्यहाँ एक तस्बिर लिएँ।
डिसी वरपर रहेका वासिङटन मोनुमेन्ट, कार्यकारी भवन, ह्वाइट हाउस, ट्रेजरी डिपार्टमेन्ट, क्यापिटल हिल आदि हेर्दा लाग्यो अमेरिका आफैंमा मख्ख छ। अचम्मको कुरा त के भने संसद भवनको ढोकैमा पुग्दासम्म पनि कसैले ‘किन आएको’ भनेर केरकार गरेन। राष्ट्रपति भवनको वरपर तस्बिर खिच्न कसैलाई मनाही गरिएको थिएन।
अमेरिकनहरूका लागि यो नागरिक स्वतन्त्रताको विषय पनि होला। सबल सुरक्षा प्रणालीको परिणाम पनि होला। सुरक्षाका नाममा सास्ती बढी भोगेको मलाई भने तत्काल महसुस भयो– अमेरिकी सुरक्षा प्रणालीको केन्द्रमा नागरिक सुरक्षा रहेछ। हामी अझै व्यक्ति केन्द्रित छौं। केहीलाई सुरक्षा दिने नाममा धेरैलाई असुविधा पुर्याउँछौं।
लाग्यो–सु रक्षा समग्रमा सामूहिक सरोकारको कुरा हो। राज्यको सुरक्षा नीतिमा सबै अटाउन सक्नुपर्छ। हरेक मान्छे सुरक्षित हुनु नै मुलुक सुरक्षित हुनु हो। त्यसैले होला त्यहाँको संघीय संसद भवन वरपर न कुनै पर्खाल छ। न कसैलाई त्यहाँ जान छेकबार छ।
त्यहाँका ठूल्ठूला सरकारी कार्यालय, व्यापारिक केन्द्र र निजी भवनहरू सरसर्ती हेरेपछि लागेको कुरो नि– ‘नागरिकलाई नै सुरक्षा खतरा ठान्नु’ र ‘पर्खालले सुरक्षित पार्छ’ भन्नु दुबै दृष्टिकोण सही होइन।
क्यापिटल हिलको बाहिर मैले बेपर्वाह तस्बिर लिँदै गर्दा सामुन्नेको सर्वोच्च अदालतले पनि न्यायका आँखाले हेरेजस्तो लाग्थ्यो।
सोचेँ–सिंहदरबारबाहिर एकछिन उभिएर तस्बिर लिन नपाउनेले कसरी महसुस गर्दो हो आफ्नो देश? क्यामरा बाहिरै राखेर ‘पशुपति’ भित्र छिर्दा मान्छेको मनमा कस्तो तस्बिर आउँदो हो? देश चलाउनेले सोच्नुपर्ने यस्तै यस्तै कुरा टाउको घुम्नेगरी सोच्दै सोच्दै म अमेरिकाको केन्द्र डिसी घुमेँ।
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
भाग २- आकाशमा उड्दै बिहानको ३ बजे 'डिनर'
भाग ३- 'ड्रेडलक' भएकी उनलाई मैले भनेँ– म पनि बब मार्लीको फ्यान हुँ नि!
भाग ४- अमेरिका जाँदा दुइटा जहाज छुटेपछि...
भाग ५- मायामीमा बितेका रंगीन ६ घन्टा!
भाग ६- शानदार अमेरिका!
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush