मल्लरानी टाकुरा (हिजोआजको प्युठानी चलनचल्तीमा मल्लरानी डाँडा) दाङको भालुबाङबाट करिब ६८ किमी उत्तरपूर्वमा अवस्थित छ।
खलंगा बजारबाट बसपार्क हुँदै मल्लरानीको टाकुरामा पुग्न झण्डै ५ किमी जति बाटो पूरा गर्नुपर्दछ। ग्राभेल गरेको बाटो भएकोले सजिलै यहाँ पुग्न सकिन्छ। यही २०७८ भदौ २२ गते कुशेऔंसीका दिन त्यही टाकुरामा पुग्ने अवसर मलाई पनि जुरेको थियो।
भालुवाङबाट मल्लरानीको टाकुरासम्म पुग्नका लागि राप्ती नदीको किनार हुँदै चकचकेबाट माडी र झिमरुक खोला तरेर उकाली ओराली गर्दै पुग्न सकिन्छ। ती खोला र नदी निरन्तर बगिरहेका छन्। बाटामा ती हाम्रा सहयात्री। उत्तराखण्डका कवि विमल कुमारका शब्दमा 'नदीहरूका आफ्नै इतिहास हुन्छन्।'
त्यसरी नै निरन्तर बगेका यी नदी र खोलाले आफ्नो इतिहास आफैं रचेका छन्। त्यसैले त यिनीहरू स्वतन्त्र छन्। गतिशील छन्। निश्चल र निर्झर पनि। निरन्तर बगिरहेका। गाउँघरतिर गाइने 'खोली हिँड्यो सागर भेट्नलाई' भन्ने गीतका शब्दहरू जस्तै। स्थिर विशाल पहाडहरूले अर्को सुन्दरता पस्किएका छन्।
एउटा पहाडले अर्को पहाडको कौतुहलता जगाएका छन्। यिनले मानिसका यात्राहरू स्मरणीय बनाउन ठूलो योगदान दिएका छन्। प्रकृतिका यी अनुपम उपहारप्रति कृतज्ञ छु।
मानिसको सबभन्दा ठूलो गुरू यही प्रकृति र समाज रहेछ। यी दुई प्रकृति र समाजले मानिसलाई सबभन्दा धेरै प्रज्वलित हुन सिकाउँछ। प्रज्वलनशीलता बहुउपयोगी गुण हो। बाँच्नका लागि। समूहमा रहनका लागि। नवीन खोज र चिन्तनका लागि आदि- इत्यादि। संस्कृत शब्द गुरूको तादम्यता पनि यही प्रज्वलनशील हुने बहुगुणी विधासँग जोडिएको छ।
किंवदन्ती
यो बाइसे चौबीसे राजाहरूका पालाको टाकुरे मल्लराजाको कथा हो। यो टाकुरालाई मल्लरानीले असाध्यै मन पराएको लोकोक्ति छ। यहाँबाट चारैतर्फ देख्न सकिन्छ। राजाले यो ठाउँ छोडेर अन्तै जाऊँभन्दा रानीले अस्वीकार गरिन् र यहीँ बसौं भनेर प्रस्ताव राखिन्। यति बेला रानी सात दिनको सुत्केरी अवस्थामा थिइन्। राजाको छोड्ने चाहना र रानीको त्यहीँ बस्ने चाहनाका बीचमा मतभेद भएपछि राजाले एउटा सर्त राखे। सर्तमा भनिएको थियो।
'रातभरिमा यो टाकुरा घेर्ने गरी बाटो खन्ने।' (आजको भाषामा घेरा लगाउने/कम्पाउण्ड गर्ने)। रानीले खन्न सुरू गरिन् र खन्दै जाँदा एक हात बाँकी रहँदा भाले बासेछ। घडीको प्रचलन आउनुअघि गाउँघरतिर भाले बास्नु अर्को दिनको बिहानी संकेत हो। यद्यपि आज पनि यो प्रचलनमा छ।
मानिसको मृत्यु भाले बासेको अघि कि पछि यहीँ आधारमा दिनको गणना गर्ने चलन अझ पनि छ। त्यही एक हात बाँकी रहेकाले रानी सर्तमा हारिन्। त्यसपछि त्यो ठाउँ छोडेर राजा रानी पूर्वतिर लागेको भन्ने किंवदन्ती छ। सर्त पुरानो नेपाली समाजको नैतिक मूल्यमा आधारित समाज व्यवस्था हो। एक माना तोरीमा कति दाना हुन्छन् ? काक्रो, फर्सीमा कति बिया हुन्छन् ? जस्ता अनुमान गरेर खेल्ने खेलहरू पनि यही सर्तमै खेलिन्थे। हिजो आज यो लोप भइसकेको छ।
मगर समाजको झाम्रे नाचमा गाइने गीतमा पनि शाब्दिक सर्तहरू पाइन्छ। आजका दोहोरी गीतहरूमा पनि प्रशस्तै छन्। गुरूङ समाजको रोदी घरमा पनि सर्त राखेर नाच्ने गाउने प्रचलन छ। तर ती सबै आज परिस्कृत हुँदै गएका छन्।
समाज
मल्लरानी टाकुरा नजिकै टोप्रे गाउँ पर्दछ। यहाँ मगर र गुरूङ समुदायको मिश्रित बसोबास छ। सद्भाव र एकता यहाँको विशेष पहिचान हो। स्थानीय अनुभव अनुसार यो डाँडामा पहिले केही खण्डहर थिए। रानीले टेकेको ढुंगा थियो भनिन्छ। तर ती अहिले अस्तित्वमा छैनन्। सशस्त्र विद्रोहको समयमा सेनाको टुकडी त्यहीँ बसेकाले केही ऐतिहासिक पदचापहरू हराएको गुनासो स्थानीयको छ।
पर्यटन
पर्यटन प्रवर्द्धनका लागि यो ठाउँलाई इतिहास र भूगोलले साथ दिएको छ। यहाँबाट जाडो समयमा स्पष्ट रूपमा हिमशृङ्खलाहरू देख्न पाइन्छ भने आसपासका जिल्लाहरू अर्घाखाँची, बागलुङ, गुल्मी, रोल्पाका भागहरू मजाले देख्न सकिन्छ। जिल्ला वन कार्यालयले जंगल जिमको लागि तीन वटा संरचना बनाएको छ। जसमा दुइटा संरचना मल्लरानीले खनेको घेराभित्र पर्दछ। त्यहाँ वनभोज खाने एउटा पाटी पनि छ। शौचालय बनेको छ। वनभोज र शौचालयको लागि पानीको व्यवस्था हुन बाँकी छ। वि.सं २०५२ सालमा स्थापना गरेको मल्लरानी शिव मन्दिर पनि छ। दूरसञ्चारको टावर पनि त्यहीँ छ। जनभावना र इतिहास जोडिएको परिसरमा संरचना बनाउन अघि सोच्नु पर्दछ।
यस्ता संरचनाहरू पछि सार्न सकिँदैन। सम्पदाभित्र बनाउँदा सम्पदाको नै क्षति हुन जाने भएकाले पुनर्विचार गर्न जरूरी छ।
साथीभाइ, घरपरिवार वा शिक्षालयहरूको छोटो भ्रमणका लागि यो स्थान उपयुक्त छ। बिहान साँझ हल्का जाडो हुने भएकाले जाडो मौसममा बाहेक हल्का पातलो ज्याकेट लैजाँदा उपयुक्त हुन्छ।
भ्रमणमा जानेहरूका लागि स्थानीय नारायण गुरूङले 'मल्लरानी कटेज' सञ्चालनमा ल्याएका छन्।
उनको कटेजमा अर्डर अनुसारका खाजा पाइन्छ। तर बास बस्नको लागि भने सुविधा बनिसकेको छैन। डाँडामा बसेर जताततै नियालेर खाँदा मन रंगीन बन्छ। बिजुवारको फाँट र झिमरुक नदीले विशेष स्वाद थपिदिन्छ। चराका चिरविर आवाजहरूको आफ्नै माधुर्यता छ। यसको भू-बनोट थुम्काजस्तै छ। किंम्बदन्तीका आधारमा रानीले खनेको जस्तै घेरा बाटो पनि अहिले बनाइएको छ। यहाँ प्रवेश गर्नका लागि अहिलेसम्म कुनै शुल्क लाग्दैन।
पर्यावरण
यो ठाँउ समुद्री सतहबाट १६५५ मिटरको उचाइमा अवस्थित छ। यहाँ लाकुरी, काफल, सल्ला, गुराँससहित विभिन्न प्रजातिका वनस्पति पाइन्छन्। साना र राम्रा हरियो घाँसे मैदान छन्।
पर्यटन प्रवर्द्धन गर्दैगर्दा पर्यावरण जोगाउँदै जानु उत्तिकै चुनौतीपूर्ण छ। अर्थोपार्जनका दृष्टिकोणले पर्यटन र पर्यावरण एक अर्काका परिपूरक हुन्। पर्यावरण जोगाउनका लागि आगन्तुकहरूले फोहोर जताततै फाल्नु हुँदैन। व्यवस्थापन समितिले पनि फोहरमैला व्यवस्थापनका लागि उचित प्रबन्ध मिलाउनु आवश्यक छ।
पर्यावरणीय न्याय अन्तर सन्ततीय न्याय हो। पर्यावरणलाई संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्याउनु नागरिक, समाज र सरकार सबैको दायित्व हो।
वि.सं २०४५ सालको माघ महिनामा यहाँ तीन दिनसम्म हिउँ परेको कुरा स्थानीयहरूको अनुभव छ। त्यसपछि अहिलेसम्म हिउँ परेको छैन। भगवान शिवले पनि आफ्नो सन्ततिलाई सांकेतिक रूपमा प्रकृति र समाजको बारेमा सिकाएको ज्ञान यहीँ जोडिन्छ। पहाडहरू सपनाका विकट होइनन्।
यिनीहरू त समृद्धिका आधारशीला हुन्। भगवान बुद्धले आफ्नो उपदेशमा भनेका छन्, 'फूलको रस माहुरीले खाँदा कसैलाई क्षति हुँदैन, परस्पर अस्तित्व दुबैको जीवन्त रहिरहन्छ।' ठिक त्यसरी नै मानवले पनि प्रकृति र समाजप्रति त्यस्तै व्यवहार दर्साउनु पर्दछ।
हाम्रा सन्ततिहरूले पनि पर्यावरणलाई प्रेम र स्नेहताले हेरून्। त्यस्ता हिउँ पर्ने दिनहरू फेरि ब्युँताउनु छ। नारायण गोपाल र अरुणा लामाले आफ्नो सुमधुर आवाजमा 'म खोली बनेर सुस्तरी आउँला, तिम्रो सारा तृष्णा मै मेटिदिऊँला' भनेजस्तै पर्यावरणलाई माया गरे पर्यटन जीवन्त हुन्छन्। अनि फोहोर वस्तु लथालिंग नफ्याँकी व्यवहारमा अँगालून्।
पर्यावरणीय न्यायसहितको दीगो पर्यटनको शुभकामना।