कालीगण्डकीको पानी नै चिसो। त्यसमा पनि माघको महिना! हिम्मत बटुलियो र हेलियो नदीमा। अनि बगियो राफ्टमा। अहो त्यो आनन्द, कसरी शब्दमा वर्णन गरौं म?
पहिलापहिला गाउँबाट गलेश्वर झर्दा गोरा (पर्यटक) हरूले कालीगण्डकीमा जलयात्रा गरेको देखेको थिएँ। त्यही बेलाबाट हो, कालीमा बग्ने रहर पलाएको।
कालीमा राफ्ट (डुङ्गा) चिप्लिए झैं समय चिप्लिरह्यो। मनको कुनामा रहर टुसाएको धेरै वर्ष पछि वि.सं. २०७४ को माघमा मात्र जलयात्राको साइत जु¥यो। त्यसो त विगतका म्याग्दी महोत्सवमा पनि जलयात्रा गर्ने मेसो मिलेको थिएन। मनको रहर मनमै थियो।
त्यो बिहान १० बजेतिर पसलमै थिएँ। म्याग्दी उद्योग वाणिज्य सङ्घका तृतीय उपाध्यक्ष राजेश शाक्य दाइले ‘राफ्टिङ गर्ने भए सिट खाली छ है’ भन्नु भयो। १२ वर्ष पहिलेदेखिको रहर पुरा गर्नु थियो मलाई, त्यसैले नाइँ भन्ने कुरै थिएन। ‘हुन्छ आउँछु दाइ,’ भनें।
महोत्सवका सुरुवाती दिनमा जलयात्रामा मानिसले खासै रुचि नदेखाए पनि उहाँहरूको समूहले यात्रा गरेपछि चहलपहल बढ्दै गएको थियो। हाम्रो जलयात्रा बेनीबाट बिहान ११ बजे सुरु गर्ने बताइएको थियो। त्यसैले हतारहतारमा खाना खाँदै थिएँ, खम थापाले ‘छिटो आउनुस नत्र छुट्नु होला’ भनेपछि खाँदाखाँदैको गाँस छाडें।
एक जोर एक्स्ट्रा कपडा प्याक गर्दै प्रमोद श्रेष्ठ दाइको फर्निचर पसल मुनि पुगेँ। त्यहाँ ५/७ जना मात्र देखेँ। मनले भन्यो, ‘लौ म त छुटेछु क्यारे !’
अलि पर खम र नन्दुलाई देखेपछि बल्ल ढुक्क भएँ। ‘फेमिली रिभर’को परिचय पाएको कालीगण्डकी विदेशीको रोजाइमा पर्दछ। यहाँ अन्य नदीको भन्दा केही जोखिम पनि छ।
‘मनको रहर पनि पूरा हुने र बेनी–देखि पनि राफ्टिङको सम्भावना छ है’ भनेर बाहिर प्रचार पनि हुने भएकाले म निकै उत्साहित थिएँ।
एउटा राफ्टमा ८ जनाको दरले ४ वटामा ३२ जनालाई चढाउने कुरा भयो। मध्यान्ह पौने १२ बजे सबै मान्छे भेला भए तर डुङ्गा आएन। ११ बजेबाट ‘अब १० मिनेटमा आउँछ’ भन्न थालेको डुङ्गा १२ बजेसम्म पनि आएन। त्यसपछि म, खम थापा, नन्दु पाइजा, दुर्गा बुढामगरले घर फर्कने कुरा गर्यौं।
फर्कौँ चाहना अधुरै होला भन्ने पिर, नफर्कौं ल्याङ्ल्याङ् भएर अत्यार लागिसक्यो। त्यसपछि डुङ्गा व्यवस्थापनका मान्छेले ‘अब १० मिनेटमा आएन भने जानुहोला’ भन्यो। त्यसमा पनि १० मिनेट थप्दै जाँदा साँढे १२ बजेतिर बल्ल एउटा डुङ्गा आयो, मन शान्त भो। हाम्रा गाइड ज्ञानुले सबैलाई बोलाएर राफ्टिङ गर्दा अपनाउनु पर्ने सावधानीबारे हामीलाई सिकाए। उनले बेनी–मालढुङ्गाको जलयात्रा धेरै साहसिक भएकाले कमजोर मुटु भएकाहरूलाई यात्रा नगर्न सुझाइरहेका बेला ममा भने झन् छिटोछिटो जलयात्रा गर्न उत्सुकता बढिरहेको थियो।
म्याग्दी उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यम विकास समितिका सभापति सुनिता केसीको नेतृत्वमा १२ महिला उद्यमी, सङ्घका कोषाध्यक्ष अमित बानियाँ, सदस्य लक्ष्मण शर्मा, मोती पौडेललगायत हामी ३२ जना जाने भने पनि ३४ जना भयौं।
हामीहरू बाँडिएर डुङ्गामा बस्यौं। हाम्रो डुङ्गामा म, नन्दु पाइजा, दुर्गा मगर, विष्णु रिजाल, उमेश आचार्य, सिर्जना भट्टचन, शारदा हमाल, शिशिर भण्डारी गरि आठ जना भयौँ। पछि लक्ष्मण दाइ थपिनु भो। खमजी ग्रुपबाट छुट्नु भो।
डुङ्गाको अगाडि बस्न साथीहरूले त्यति आँट नगरेपछि दायाँ साइडमा म र बायाँ साइडमा शिशिर बस्यौँ। अनि सुरु भयो हाम्रो जलयात्रा सलल...।
दिनको १ बजे यात्रा सुरु भयो। मनमा कौतुहलता, केही भय, रोमाञ्चकता थियो। एकै छिनको अभ्यासपछि म्याग्दी र कालिगण्डकीको दोभानसँगै डुङ्गा खियाउँदै अघि बढ्यौं। म्याग्दी र कालीको संगम आउने बेलामै पहिलो खोंचमा डुङ्गा हामफाले पछि मनको भय धेरै कम भयो। त्यसपछिको केही समथर बहावमा यात्रापछि अन्य स–साना छाल पार गर्दै जाँदा आनन्द ज्यादा, भय कम हुँदै गयो।
मिलनचोक नजिकै पुग्दा आनन्द र मजा चरम उत्कर्षमा पुगेको थियो भने भय शून्यमा। त्यसमा कालिगण्डकीको छालले निथ्रुक्क भिजाउँदाको मजा बेग्लै। चिसो मौसममा कालीको चिसोको कुनै वास्ता थिएन। वास्ता थियो वस जलयात्रा अनुभवको।
सबैभन्दा अगाडि हाम्रो डुङ्गा थियो। अन्य गाइडभन्दा हामीलाई गाइड गरेका ज्ञानु बढी अनुभवी रहेछन्। उनैले नै हामी भन्दा पछाडि रहेका डुङ्गाका गाइडलाई समेत निर्देशन दिँदा रहेछन्। त्यसैले हामी ढुक्क थियौँ।
हामी दायाँबायाँ बसेका जलयात्रीलाई पालैपालो कालिगण्डकीले नुहाइदिन्थ्यो। बीचमा वस्ने साथीहरू त्यति नभिजे पनि हामी अगाडि बस्ने बढी भिजेका थियौ।ँ त्यसपछि पछाडिका साथीहरू।
‘काली खोला फनक्क घुमेको, छैन माछी जाल केलाई बुनेको, जाऊँ साइँली बेनीबजार’ को गीतले गण्डकी नै गुञ्जायमान भयो। यस गीतमा मलाई विष्णुले साथ दिए।
‘बेनीको बजार जता माया उतै छ नजर’ गीत त छुट्ने कुरै भएन। ज्ञानुको ‘फरवार्ड’, ‘फाष्ट फरवार्ड’, ‘व्याकवार्ड’, ‘स्टप’, ‘होल्ड’, ‘डाउन’ लगायतको निर्देशनमा हामीले ‘प्याडल’ चलाउँदै गयौं।
कतिपय अवस्थामा नदीको उच्च बहावले उनले भनेको निर्देशन र हामीले चलाएको प्याडलको दिशा फरक हुन्थ्यो।
अमित दाइहरू चढेको डुङ्गा हुनुपर्छ २, ३ ठाउँमा अड्कियो। एक डुङ्गाका यात्रीले अर्को डुङ्गाका यात्रीलाई प्याडलको सहयाताले निथु्रक्क भिज्ने गरि छ्यापिदिँदाको पल सम्झनलायक थियो। त्यसमा पनि अष्ट्रियाबाट आएका ‘सेफ काइट’का चालकले नेपालीमा बोल्ने प्रयास गर्थे। उनी हाम्रो प्राकृतिक सौन्दर्य देखेर मख्ख थिए।
‘धेरै रामरो छ’, सम्भवत उनले यही नेपाली वाक्य प्रयोग गर्न जानेका थिए। बेलाबेलामा भनिरहन्थे, ‘रामरो छ।’
जति मजा आइरहेको थियो जलयात्रामा २, ३ ठाउँमा त्यति नै जटिल पनि रहेछ। हामी अगाडिअगाडि गइरहेका थियौँ।
लस्ती नजिकै पुग्ने बेलामा वीचबाट लैजान खोज्दाखोज्दै हाम्रो डुङ्गा कुनातिर गयो र ढुङ्गामा अड्कियो। त्यही मुन्तिर अलि जोखिम ठाउँ रहेछ। गाइडले तत्काल सबैलाई कुनातिर आउन इशारा गरेअनुसार सबै डुङ्गा त्यतै आए। नदीको ठूलै बहाव र जोखिम हुनसक्ने आँकलन गर्दै गाइडले सम्भवत हामी हिँडेर जानुपर्ने र केही तलबाट मात्र डुङ्गा चढ्ने भन्दै जोखिम क्षेत्र हेर्न केही तल गए।
त्यही बेलामा विस्तारै खमजीहरू चढेको डुङ्गा बग्न थाल्यो। सबै एकै ठाममा डल्लो परेका थिए। धन्न गाइड ठिक समयमा आएर सबैलाई आ–आफ्नो पोजिसनमा जान निर्देशन दिएर जोखिम छिचोल्दै गयो। त्यसपछि हाम्रो डुङ्गा पनि बग्यो। खासमा राफ्टिङ गर्नुको मजा त्यही जोखिममा थियो।
ज्ञानुले ‘फाष्ट प्याडल’ चलाउन निर्देशन दिइरहेका थिए, नदीको बहावले प्याडल नै बगाउला जस्तो हुन्थ्यो। जलयात्रा साहसिक भन्ने अनुभव त्यहीँ खोचमा भयो। गाइडले त्यो खोच पार गरेपछि पानीमा भिजाउनुसम्म भिजाए। डुङ्गालाई एकै ठाउँमा ४–५ पटक घुमाएर नदीको छहरामा लगेर थापे।
चिसो मौसममा कालिगण्डकीको चिसो पानीमा भिज्दा जलयात्राको वास्तविक मजा आयो। ज्ञानु भन्दै थिए, र्याफ्टिङ् भनेको गुड टिम वर्क हो।’
सम्भवत अरुको भन्दा हाम्रो टिम वर्क गजब थियो त्यो दिन। ज्ञानुकाअनुसार विदेशी नागरिकलाई डुङ्गा पल्ट्याएन भने गुनासो गर्छन् रे!
डुङ्गा पल्टने कुराले मनमा चिसो नपसेको होइन तर संयोग म भने झण्डै एक मिनेट कालीमा विना डुङ्गा रहेँ। हामी लस्तीभन्दा केही तल पुगेका थियौँ। ठूलो छाल आयो। डुङ्गा स्पिडमा गयो र फनक्क घुम्यो। खुट्टा लक गर्दागर्दै साह्रै दुखेकाले समथर आउन लागेकोले भर्खर खुट्टा बाहिर के निकालेको थिएँ, डुङ्गाको पछाडिको भाग ढुङ्गामा ठोक्कियो र एक्कासी म नदीमा खस्न पुगें। त्यसपछि एक हातले प्याडल र अर्को हातले डुङ्गामा रहेको डोरी समातें।
नदीमा खस्नासाथ डर लागे पनि डोरीमा समातेर एकछिन नदीमा बग्दा छुट्टै आनन्द आयो।
पानीले कुमभन्दा तल सबै निथु्रक्क। त्यसपछि साथीहरूको सहायताले फेरि डुङ्गामा चढेँ। नदीबाट माथि आइसकेपछि त भय भन्ने कुरो नै हरायो। ठूलोठूलो खोंच आउँदा झन मजा आउन थाल्यो।
चार वटा डुङ्गाका हामी यात्रीले एकले अर्कोलाई पानी छ्याप्दै चिसो मौसम र चिसो पानीलाई समेत चुनौती दिँदै समथर आउँदा फोटो खिच्ने, एकले अर्कोलाई पानीले छ्याप्ने, गीत गाउने, ओरालो, खोंच आउन लाग्यो भने चिच्याउँदै यात्रा जारी राख्यौं।
नदी किनारमा देखिएका मानिस, वस्ती र विद्यार्थीलाई हात हल्लाउँदै, ४ बजे हाम्रो यात्रा मालढुङ्गामा पुगेर रोकियो।
साथीहरू नयाँपुलसम्म जाउँ भन्दै थिए तर जाडोले यात्रा त्यहीँ टुङ्ग्यायौं।
डुङ्गा मालढुङ्गामा ल्याण्डिङ् भएसँगै माघको चिसो र कालीगण्डकीको छालले भिजाएको महशुस हुन थाल्यो।
विशेषगरि विदेशीहरू कालीगण्डकीमा जलयात्रा गर्छन्। केही वर्षयता नेपालीको पनि जलयात्रामा भिड बढेको हाम्रा गाइड ज्ञानुले सुनाए।
बेनीदेखि मालढुङ्गासम्म जलयात्राको प्रचुर सम्भावना छ। म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सवमा जलयात्रा गराएर त्यसको सम्भावना उजागर गरेको छ। यसलाई ‘क्यास’ गर्न सके यहाँ जलयात्रा व्यवसाय फस्टाउन सक्छ।
‘जोखिम त अलि जोखिम नै छ तर पनि जलयात्रा भनेकै साहसिक यात्रा हो, त्यसैले यो क्षेत्र एकदमै उपयुक्त छ’, ज्ञानुले हामीलाई भने।
उद्योग वाणिज्य संघ धन्यवादको पात्र त छँदैछ। अब महोत्सवमा मात्र नभएर निरन्तर हप्ता, १५ दिन वा एक महिनामा एक पटक बेनी–मालढुङ्गा जलयात्राको चाँजोपाँजो मिलाउनु पर्छ है! अथवा अन्य कुनै निकाय, व्यवसायिक फर्मले पनि यो कामलाई अगाडि बढाए हुन्छ।
मालढुङ्गामा कपडा फेरेर माछाको सुप, खाजा र चियाको चुस्किले ज्यानलाई तताएपछि हामी बेनीतिर फर्कियौं। फर्कनु अघि हाम्रो समूहले मालढुङ्गाका स–साना रेष्टुराँ भरिएका थिए।
सुनिता म्याडम गाडीको व्यवस्था गर्दै हुनुहुन्थ्यो। म, खम, नन्दु र दुर्गा भने अलि छिटो बेनी पुग्नु पर्ने भएकाले ट्याक्सीमा चढ्यौं। ‘फेवा तालमा साइँली डुङ्गा सललल...’ गीत सुन्दा काम मुग्ध थिए भने आँखाहरू भने त्यहि अघि राफ्टिङ गरिएको कालीगण्डकीमा टाँसिइरहेका थिए।