कपुचे हिमताल पदयात्रा नेपालको अन्नपूर्ण क्षेत्रको नयाँ पदमार्ग हो। पोखराबाट ४-५ घण्टाको जीप यात्रापछि पुगिने गुरूङ गाउँ सिक्लेसबाट कपुचेको पदयात्रा सुरू हुन्छ।
अन्य क्षेत्रभन्दा कम भीडभाड हुने यो नयाँ पदमार्गले एउटा मनमोहक गन्तव्यमा पुर्याउँछ, जुन हो - कपुचे हिमताल।
नेपालका सबै हिमताल समुद्री सतहको ४००० मिटर माथि अवस्थित छन् तर कपुचे भने समुद्री सतहबाट जम्मा २,५४६ मिटरमा मात्र छ। मुख्यत: अन्नपूर्ण दुई र चार, तथा लमजुङ हिमालबाट बेला बेला आइरहने हिमपहिरो नै कपुचे तालको स्रोत हो।
गुरूङ भाषामा कपुचेको अर्थ हिउँबाट बनेको सादा सतह भन्ने हुन्छ रे। यो पदयात्राको क्रममा मौसमले साथ दिएमा अन्नपूर्ण दुई र चार, तथा लमजुङ हिमालको मनोरम दृश्यलगायत जंगलमा विभिन्न प्रजातिका चराहरू पनि देख्न पाइन्छ। ईदी झरना पनि यो पदमार्गको अर्को आकर्षणको केन्द्र हो।
यात्राको पहिलो दिन 'काठमाडौं- पोखरा'को दोस्रो उडानमा हामी लाग्यौं पोखरातर्फ जहाँ हामीलाई सिक्लेस पुर्याउने जीप कुरिरहेको थियो। आन्तरिक विमानस्थलको बिहानको अव्यवस्थित भीड छिचोल्दै प्लेन चढ्दा झण्डै साढे आठ बजिसकेको थियो।
एकदमै सफा नभए पनि केही खुलेका अन्नपूर्ण र मानश्री हिमश्रीङ्खलाका दृश्य हेर्दै २५ मिनेटमा पोखरा पुग्यौं।
पोखरामा सामान्य खाजा खाएर हामी सिक्लेसको लागि जीप चढ्यौं। पोखरा- सिक्लेस कच्ची रूटको यात्रामा हाम्रा सारथी थिए- कान्छा दाइ, जो सो रूटमा छिटो गाडी चलाउने चालक भनेर चिनिँदा रहेछन्। कास्कीको काहुखोला, विजयपुर पुल, छाचोक गाउँ र ताङतिङ गाउँ हुँदै हामी ३ घण्टामै सिक्लेस पुग्यौं।
सिक्लेस कास्की जिल्लामा अवस्थित सुन्दर गुरूङ गाउँ हो जहाँ अन्नपूर्ण र लमजुङ हिमालको मनोरम दृश्यसहित गुरूङ संस्कृति र गुरूङ समुदायको जीवनशैलीको उत्कृष्टता अनुभव गर्न पाइन्छ।
सिक्लेसबाट सुरू हुने कपुचे पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र र स्थानीय समुदायद्वारा प्रवर्द्धन गरिएको छ।
पर्यटकीय गाउँ सिक्लेसमा खाना र बसाइको लागि गेस्ट हाउस र होम स्टेको राम्रो प्रबन्ध छ।
सिक्लेसका चर्चित माइला दाइ (धन गुरूङ) को नमस्ते गेस्ट हाउसमा खाना खाएर हामीले बाटोको बारेमा जानकारी लियौं। त्यो दिनको हाम्रो यात्रा हुगु गोठसम्मको थियो। सोही सल्लाह अनुसार हुगु गोठमा रहेको माइला दाइकै 'नमस्ते दुई'मा स्याटेलाइट फोनमार्फत् हामी आउने जानकारी गरायौं र लाग्यौं सिक्लेस गाउँ छिचोल्दै कपुचे पदमार्गतर्फ, त्यो बेला दिउँसोको २ बजिसकेको थियो।
सुरूआतमा ओरालो र केही सजिलो बाटो हुँदै झोलुंगे पुल कटेर दाहिनेतिरको तेर्सो बाटो अगाडि बढ्यौं।
सानो गोरेटो बाटो विस्तारै उकालो लाग्दै थियो भने बाटो माथि देखिने ढुङ्गा खस्न सक्ने भिरले मनमा डर पैदा गर्थ्यो।
एकै छिनको हिँडाइपछि बाटो ठाडो उकालोमा परिणत भयो, भिरमा घुमी घुमी उक्लिरहेको सानो बाटोमा बार लगाइएको थियो, माथिबाट खसेको ढुङ्गा लागेर भत्किएका बार देख्दा डर झन् बढ्थ्यो।
सो छोटो तर चुनौतीपूर्ण उकालोपछि ओरालो बाटो सुरू भयो। मोबाइल फोनको टावर त्यो ठाउँसम्म मात्र टिप्ने रहेछ।
छोटो विश्रामपछि जङ्गलभित्रको ओरालो र ढुङ्गे बाटो ईदी झरना नपुन्जेल रहिरह्यो।
झरनाको मनोरम दृश्य झोलुङ्गे पुलबाटै हेर्दै हामी अगाडि बढिरह्यौं। पटक पटक ओरालो झारेर खोला नजिक पुर्याउने अनि फेरि ठाडो उकालो चढाएर माथि पुर्याउने यो पदमार्गको विशेषतानै थियो र सो क्रम हुगु गोठ नपुगुन्जेल चलिरह्यो।
जंगलको बाटोको नजिकै ढुङ्गा र रूखमा भिरमाहुरीले घार बनाएका रहेछन् बच्दा बच्दै पनि दुई जना साथीलाई टोकिहाल्यो, धन्न धेरैले चाहिँ भेटेनन्।
छेवैबाट बगिरहेको मादी खोलाको सुसाइसँगै अगाडि बढेर हुगु गोठ पुग्दा झमक्कै साँझ परिसकेको थियो।
सिक्लेसबाट हुगु पुग्न ४ घण्टाभन्दा केही बढी लाग्यो। हुगुमा सिक्लेसका माइला दाइका दाइले हाम्रो स्वागत गर्नुभयो, वातावरण केही चिसो थियो।
अघिल्लो दिनकै केही पाहुनाहरू नफर्किएकाले कोठाहरू भने खाली थिएनन्, सोहीकारण हामीले त्यो रात टेन्टमा बिताउनु पर्ने थियो, टेन्ट नै भएनि त्यो खुला आकाशमुनि भने थिएन साथै टेन्टभित्र ओढ्ने ओछ्याउने छुट्टै प्रबन्धसहित स्लिपिङ ब्याग पनि उपलब्ध थियो।
खाना खाएर केही समय आगो तापेर हामी भोलिपल्टको रोमान्चक दृश्यको कल्पना गर्दै स्लिपिङ ब्यागमा घुस्रियौं।
पदयात्राको दोस्रो दिन हुगु गोठबाट हामी बिहान साढे पाँच बजे नै अगाडि बढ्यौं।
पदमार्ग जंगलको बीचबाट अघि बढ्दै थियो भने दायाँपट्टि मादी खोला सुसाइरहेको थियो। त्यही सुसाइलाई पछ्याउँदै मादीकै मुहानतर्फ हामी उक्लिँदै गयौं।
मादी खोलाको मुख्य दुई स्रोतमध्ये कपुचे हिमताल पनि एउटा स्रोत हो।
हुगु गोठपछिको पदमार्ग मुख्यत ठाडो उकालो नै छ, केही उक्लिएपछि बिहानीको घामसँगै टलक्क टल्केको लमजुङ हिमाल अगाडि देखापर्यो र त्यस्तै मनोरम दृश्य हेर्दै हामी अगाडि बढिरह्यौं।
कपुचे हिमताल पुग्ने बाटोको केही ठाउँमा ठूल्ठूला ढुङ्गासहितको पहिरो गएकाले निकै होस पुर्याएर हिँड्नुपर्ने अवस्था छ।
हुगुबाट हिँडेको झण्डै डेढ घण्टापछि कपुचे हिमतालको पहिलो दृश्यले नै मनमोहक बनायो।
हरियो र निलो मिश्रित रंगको तालको पानीमा घामका किरणहरू पर्दाको दृश्य पदयात्रीलाई रोमान्चित बनाउन भरपुर थियो।
सन् २०१५ तिर जापानी पर्यावरणविद् जिरो कोमोरीले गरेको अध्ययनले तालको लम्बाई ४०० मिटर, चौडाई ३०० मिटर र ४० मिटर गहिरो भएको जानकारी दिएका थिए भने अहिले ताल केही वर्ष पहिलाको भन्दा फैलिएको ताल क्षेत्र नजिकका स्थानीयको भनाइ छ।
जोखिमपूर्ण अवस्थामा नपुगिसकेको भएता पनि सरकारले हिमतालको अवस्था, सम्भावित प्रभाव र खतराका लागि यसको उचित सर्वेक्षण गर्नु आवश्यक छ।
अरूबेला एकदमै शान्त ताल वरिपरिबाट बेला बेला ढुङ्गा झरेको जस्तो आवाज सुनिन्थ्यो जुन साना साना हिउँका ढिस्का खस्दा आउने रहेछ। त्यो शान्त र शालिन वातावरणमा हामीले निकै बेर बितायौं, किनारै किनार यताउता डुल्यौं। धित मरुन्जेल फोटोहरू खिच्यौं।
झण्डै साढे दश बजेतिर हामी तालको निकास भएको क्षेत्रतिर गइरहेको बेला अन्नपूर्ण दुई हिमालतिरबाट ठूलो आवाज आयो। उत्तरतर्फ फर्केर हेर्दा हिमाली खोंचबाट सेतो बादल जस्तो आकार देखा पर्यो, त्यो हिमपहिरो गएपछि उडेको हिउँ थियो।
हामी भाग्ने, लुक्ने या हेरिरहने भन्ने दोधारमा पर्यौं। भाग्नैपर्ने खालको ठूलो नहोला भन्ने सोचेर केही उँचो ठाउँमा पुगेर हिमपहिरोबाटै बनेको तालमा आएको पहिरोलाई हेरिरह्यौं।
एकछिनपछि भने हिमपहिरोबाट आएको पानी मिश्रित हावाले राम्रैसँग हान्यो अनि केही समयमा वातावरण भयो उही सौम्य र शान्त - छाडेर कतै नजाऊँ जस्तो।
थोरै समयमै आइपुगिएको यो गन्तव्यले सबै प्रकारका अनुभव दिएकोले हामीमा भएको खुसीको सन्चार भने वर्णन गर्न सकिने खालको थिएन। भनिन्छ नि यात्रा भन्नेको गन्तव्यमा पुग्नु मात्र हैन, त्यहाँको अनुभव संगालेर फर्किनु पनि हो - हामीलाई पनि त त्यो दिन फर्किनु थियो सिक्लेस गाउँसम्म अनि अर्को दिन पोखरा हुँदै काठमाडौं।
कपुचेको वरिपरि त अघाउन्जेल घुमिसकेका थियौं, त्यही सम्झना लिएर हामी फर्कने तर्खरमा लाग्यौं।
कपुचे पदमार्ग पारिबाट आइरहेको मादी खोलाको आवाज हो, आँखा प्रसन्न पार्ने विशाल हिमाली दृश्य हो, हरियो र निलो मिश्रित रंगले देखाएको गहिराइ हो, जङ्गलका रूखहरूले दिएको सुगन्ध हो, उत्साहले भरिपूर्ण अद्भुत झरना हो, यो सम्पूर्ण इन्द्रियहरूको अनुभव हो जुन अनुभवले हामीलाई सम्झाउँछ - आहा! आत्मालाई भरिपूर्ण पार्ने संसार त यो पो हो...