घुमघामबाट धेरै कुराको ज्ञान पाइन्छ। आकाश खुलेका बेला घुम्नुको मज्जा खास हुन्छ। केही दिन अघि पोखराका उत्साही पथप्रदर्शकको टोलीले माछापुच्छ्रे हिमालको काख घलेखर्कदेखि सिक्लेससम्म पदयात्रा योजना बनायो। नढाँटी भनुँ भने मलाई निस्कने मन थिएन किनकि, मौसम धुम्मिएको थियो। तर, घलेखर्क नपुगेको भए मैले धेरै कुरा छुटाउने रहेछु भन्ने बोध भयो।
यस पदमार्गमा सन् ८० र ९० को दशकमा विदेशीको बाक्लै चहलपहल हुन्थ्यो। तिनताका क्याम्पिङ ट्रेक चल्थ्यो। हाम्रो सहयात्री एवं बरिष्ठ पथप्रदर्शक धनबहादुर तामाङले धेरै विदेशी समूहलाई यहाँका पाखापखेरामा डुलाउनु भएको थियो।
घलेखर्क र सिक्लेस गाउँको बीचमा पर्ने तारा हिलटप प्रकृतिको सुन्दर बरदान हो। त्यहाँबाट म्याग्दीको पुनहिलबाट जस्तै हिमश्रृंखला देखिँदो रहेछ। तर, तारा हिलटप कुन गाउँको हो भनेर अन्नपूर्ण पदमार्गको पर्यटन नक्सामा उल्लेख गरिएको छैन।
बाटो माथि फराकिलो गरामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चिटिक्क भवनमा एक समय पदयात्रीको चेकजाँच गर्ने कार्यालय थियो। त्यतिबेला कर्मचारीले पदयात्रीका अनुमति पत्र जाँच गर्दागर्दै खाना खाने फुर्सद समेत पाउँदैनथे रे!
हामी पुग्दा बादलले धुम्म पारेको सगरलाई कब्जियत भएको जस्तो थियो। न हिमाल हाँसेका थिए, न वसन्त ऋतुको मादकता नै थियो। घलेखर्क देखि उत्तर तर्फका खादरजुङ, च्याङलुङलगायत गाउँबाट धेरै युवा बेलायती सेनामा भर्ती भएका कारण गाउँ खाली छन्। ढुङ्गैढुङ्गाले छाइएका गुजुमुज्ज घरहरू बादलको च्यादर ओढेर परिवारलाई पर्खिरहे झैं लाग्यो।
पश्चिमतिर नजिकैको सेती गण्डकीबाट ढुङ्गा तथा बालुवाको अत्यधिक दोहनले दिगो संरक्षणको अवधारणा बगरजस्तै बनेको छ। तथापी ठ्याक्कै एक वर्ष अगाडीको जस्तो कोरानाको त्रास भने थिएन। त्यसैले आन्तरिक पर्यटन पुनरुत्थान समिति (गण्डकी प्रदेश) का संयोजक अग्नी कंडेल, विद्धान एवं अनुभवी पदयात्रा पथप्रदर्शक शेषकान्त शर्मा, अन्नपूर्ण संरक्षण क्षेत्रका शिव देवकोटा र पथप्रर्दशक सहित ३० जनाको हाम्रो टोली भुर्जुङ खोलाबाट घलेखर्क तर्फ उकालियो।
भुर्जुङ खोला क्षेत्रमा ढुङ्गा खानी रहेछन्। ती ढुङ्गा पोखरेली घरका बाहिरी भित्तामा सजाइन्छ। त्यसैले पोखरा घुम्न आइपुग्नेहरूका आँखा पनि तिनै कलात्मक ढुङ्गामा टाँसिन्छन्।
अचेल सबैतिर मोटर बाटो खुलेको छ। घलेखर्क जाने बाटामा पनि ट्रक गुड्दा रहेछन्, हामीले पनि अलिअलि धुलोका स्वाद लियौं।
हामी हिंडदै गफिंदै थियौ। पानी अमला जस्ता जडीबुटी, सुनाखरी, अंगेरी, एंसेलु आदि कन्दमुलका झाडीका कुरा गर्दै हिँड्यौं। पानी अमला डायबिटिजका बिरामीका लागि लाभदायक मानिन्छ भने उन्युँ र मौरौ खाएमा जनावर बिरामी पर्दछन भनिन्छ।
अचानक मित्र शिव देवकोटाले माथिको बृक्षतिर औंल्याउँदै सोध्नु भयो, ‘यसको बारेमा केही थाहा छ कि?’
झलक्क हेर्दा ताडको रूख जस्तो देखिन वृक्षलाई नियालेँ। छगडा जस्तो लाग्यो तर यकिन गर्न सकिनँ। त्यसैले अहँ मलाई थाहा छैनको संकेतस्वरुप मुण्टो हल्लाइदिएँ।
‘यो छत्रे उन्यूँ हो’, उहाँले चिनाउनु भयो, ‘करोडौं वर्ष अघि लोप भएको शाकाहारी प्राणी डाइनोसरले मन पराउने वनस्पति।’
मेरा कान ठाडा भए अनि टक्क अडिएर वरपर हेरेँ। परजिवि लहराले ढपक्क ढाकेको करिब ३ देखि ४ मिटर अग्ला छत्रे उन्यूँका थुप्रै वृक्ष देखेँ। म रोमान्चित भएँ अनि स्टेफेन स्पाइलवर्गको जुरासिक पार्क चलचित्रका भिमकाय प्राणी सम्झेँ। प्रकृति संरक्षण र दिगो पर्यटनको नमुना मानिने अन्नपूर्ण संरक्षण क्षेत्रमा छत्रे उन्यूँका वृक्ष मानौं करोडौ वर्ष अघिको उथलपुथलका साक्षी बनेर उभिएका छन्।
‘जैविक विविधताको भण्डार पञ्चासेमा पनि केवल एकादुई रुख मात्र होलान्’, शेषकान्तजीले थप्नु भयो, ‘अंग्रेजहरूले टी फर्न भन्ने उन्यूँको सबैभन्दा ठूलो यो प्रजाती अष्ट्रेलिया, न्यूजिल्याण्ड र नजिकका टापुका उष्ण र ओसिला पर्वतमा पाइन्छ।’
विकसित देशका बगैचामा पनि स्याहार गरेर हुर्काइँदो रहेछ। छत्रे उन्यूँको टुप्पामा निगुरोका जस्ता मुन्टा हुन्छन् भने यसको डाँठ भित्र सेतो पदार्थ हुन्छ जुन अन्य जडीबुटीसँग पकाएर खाएमा मर्केका हात खुट्टा निको हुने रहेछ।
अकाट्य प्रमाण अझै नभेटिए पनि वैज्ञानिकहरू १६ करोड वर्षभन्दा बढी समय सम्म पृथ्वीमा उधुम मचाउँदै स्वछन्द रुपमा विचरण गरेका यी डरलाग्दा प्राणीमाथि करिव ६ करोड पचास लाख वर्षअघि अन्तरिक्षबाट उछिट्टिएर आएको बिशाल धुम्रकेतु वा उल्का पिण्ड पृथ्वीमा बजारिए पछि ठूलो आपत परेको थिए रे।
छत्रे उन्यूँ जस्ता धेरै वनस्पति र जिवले भने त्यस प्रलयका बावजुद अस्तित्व जोगाए तर डाइनोसर जोगिएन। अहिले पनि वनमा डढेलो लागे पछि सबैभन्दा पहिला उन्यूँ जातिका वनस्पति नै उम्रन्छन्।
घलेखर्क पुगेपछि आमा समुहले हामीलाई लालीगुराँसका फुलमालाले स्वागत गर्यो। मिठो सेल रोटी र अचार खुवायो। उनीहरूको आतिथ्यतामा कुनै वनावटीपन थिएन, न त कुनै व्यापारिक लाभ नै लिने मनसाय। उनीहरूको मुस्कान अर्गानिक थियो।
उत्तरका हिमाल नेपथ्यमा लुकेका भए पनि पूर्वमा ताराहिलटप पिरामिड आकारमा ठडिएको स्पष्ट देखिन्थ्यो। भोलिपल्ट ताराहिलमा क्यापिङ गर्ने र पर्सिपल्ट सिक्लेस नजिकै पुगेर पोखरा फर्कने योजना थियो। तर हामी दुईजनाको भने घलेखर्कबाट फर्कनुपर्ने बाध्यता थियो।
अघिल्लो दिन चैत ९ गते अग्नी कँडेल र म बेगनासताल परिक्रमा पदयात्रामा गएका थियौं। उहाँको खुट्टा अलि मर्केको रहेछ, ज्वरो नै आएको थियो। तैपनि खोच्याउँदै हिँड्नुभएको थियो। फर्कंदा घलेखर्ककि एउटी दयालु दिदीसँग तीन पाने रक्सी मागेर मर्किएको ठाउँमा लगाए पछि अलि आराम भएछ ।
म भने प्राग ऐतिहासिक समयको सोचाइमा मग्न थिएँ। के साँच्चिकै माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा रहेको घलेखर्कका जंगलमा स्पाइलवर्गले जीवन्त बनाएका अलौकिक लाग्ने पृथ्वीबाट अलप भएका बडेमाका जन्तु कुनै समयमा मडारिंदै एक आपसमा इत्रिंदै छत्रे उन्यूका अवयव चपाइरहेका थिए होलान् त ?
भुगर्भविदको आंकलनअनुसार भने यो संभव छैन किनभने दक्षिण तर्फबाट निरन्तर उत्तरतर्फ सरिरहेको इन्डो–अष्टे«लियन प्लेट र उत्तरको युरेशियन प्लेट करिव ५ करोड ५० लाख वर्ष अघि जुध्दा यहाँ रहेको टेथिस सागर मुनिको भाग उठेर हिमालय पर्वतमालाको निर्माण भएको थियो भने त्यो कालखण्डको लगभग डेढ करोड वर्ष अगावै डाइनोसरको अस्तित्व यस संसारबाट समाप्त भइसकेको थियो।