बिहानी सूर्यको प्रकाशमा सर्वोच्च शिखर सगरमाथा लगायत गणेश हिमाल, अन्नपूर्ण, लाङटाङ, गौरीशंकर हिमालहरूमा सुनौलो लाली चढेको प्रत्यक्ष अनुभूति लिँदै, ‘फर्पिङ-चम्पादेवी-भष्मासुर-चन्द्रागिरी हाइकिङ’ रूट यात्रामा एकसाथ साक्षात्कार गर्न सकिन्छ। जहाँ दिनमा चाँदीझैं टल्केको महशुस गर्न सकिन्छ भने गोधुलिमा पुन: गाढा सुनौलो प्रकाशमा नियाल्न सकिन्छ।
त्यतिमात्र नभै यो यात्राबाट पूर्वतर्फ फुलचोकीको सुन्दरता, पूर्व-उत्तरतर्फ नगरकोट, कालिञ्चोक, उत्तरतर्फ शिवपुरी, ककनी र नागार्जुन पहाडहरू साथै दक्षिणतर्फ दक्षिणकाली, फाखेल, दामन, चित्लाङको पहाडी चंचलतालाई सेता बादलहरूसँग सुस्तरी लुकामारी खेल्दै रमाइलो गर्न सकिन्छ।
हाइकिङ रुटहरूमध्येको महत्वपूर्ण तथा रमणीय रुट
यदि तपाईं प्रकृति प्रेमी हुनुहुन्छ र हाइकिङ(पदयात्रा) मा रूचि राख्नुहुन्छ भने काठमाडौं उपत्यका नजिकको प्रसिद्ध हाइकिङ रुटहरूमध्येको एक महत्वपूर्ण तथा रमणीय रुट, जुन काठमाडौं उपत्यकाको दक्षिणतर्फ लमतन्न रहेको, समुद्री सतहदेखि २२७८ मिटरको उचाइमा रहेको चम्पादेवीदेखि, २५०० मिटरको उचाइमा रहेको भष्मासुर डाँडा हुँदै २५५१ मिटरको उचाइमा रहेको चन्द्रागिरि पहाडी श्रृंखलासम्मको उतारचढाव अनुभूति गर्नु जीवनको सम्झन लायकको यात्रा हुनेछ।
काठमाडौं, भक्तपुर र ललितपुर सहरबाट नजिकै एकदिनको लागि भए पनि तनावमुक्त भई प्रकृतिसँग रमाउन चाहनेहरूको लागि यो रुट उत्तम विकल्प हुनसक्छ।
काठमाडौं उपत्यकाको कुनै पनि स्थानबाट सुरूमा बल्खु पुगि त्यहाँबाट उपलब्ध सार्वजनिक वा निजी सवारीसाधनबाट करिब ३० मिनेटमा फर्पिङ भञ्ज्याङ पुगी पदयात्रा सुरू गर्न सकिन्छ।
बनेपा-चप्लेटी शुभ बिहानी समूहको तयारी
हाम्रो बनेपा-चप्लेटी शुभ बिहानी समूह करिब ३ वर्षदेखि "स्वास्थ्यको लागि बिहानी हिँडाइ" नारासहित हाइकिङ गर्दै आएको छ। जहाँ कम्तिमा २ सय जनासम्मको सहभागिता रहन्छ।यो समूहले यसअघि नगरकोट नमोबुद्धपाँचखाल लगायतको रुटमा हाइकिङ गरिसकेको छ। यो पटक नागार्जुन-जामाचो हाइकिङ गर्ने योजना थियो तर भिलेन बनिदियो कोभिड।
त्यस क्षेत्रमा सामूहिक प्रवेशमा निषेध गरिएको रहेछ भन्ने सूचना पायौं। त्यही विकल्पमा चम्पादेवी हाइकिङ रुटको छनोट गर्ने सहमति भएको थियो।
सो रुटसम्बन्धी जानकारी युट्युब, भ्लग, गुगल सर्च, गुगल अर्थ एप आदिबाट लिने प्रयास गर्दा मुख्यतया सो रुटमा तीन वटा मुख्य गन्तव्यहरू, पहिलो फर्पिङदेखि चम्पादेवीसम्म-करिब ४.५ किमी दूरीको, दोस्रो भष्मासुरसम्म करिब ७.५ किमी दूरीको र तेस्रो चन्द्रागिरि (भालेश्वर) सम्म करिब १२ किमी दूरीको भएको थाहा भयो। त्यही अनुरूप साथीहरूलाई जानकारी गराइयो। समूहमा ४०/४५ जनामा मात्र जाने सहमति भयो।
हप्ता दिन अघिदेखि नै जान इच्छुक साथीहरूको नामावली संकलन, सो क्रममा आवश्यक पर्ने चिया, नास्ता, समेवजी (नेवारी खाजा सेट), फलफूल, पानी, क्यामेरा, लगायतका सामग्रीको व्यवस्थापनमा जुटिसकेका थिए।
त्यो दिनको उत्साहपूर्ण हाइकिङको सुरूआत
मिति २०७७ पुस १८ गते शनिबार बिहान ५:०० बजे ४२ जनाको हाइकिङ टिम अँध्यारोमा नै रिङरोड छिचोल्दै बल्खुबाट फर्पिङ भन्ज्याङको लागि दक्षिणकाली तर्फको बाटोमा तेर्सियौं।
करिब बिहानको ६:४५ बजेतिर फर्पिङ भन्ज्याङ पुग्यौं। त्यहाँ नास्ता गरी करिब बिहानको ७:३० बजे नेपालको झण्डा लहराउँदै उकालो उक्लिन तम्सियौं।
बिहानी पहिलो प्रहरमा फुल्चोकीबाट नियाल्न प्रयास गरेको गुलाबी सूर्य किरणको स्पर्श सल्लाका अग्ला रुखहरूमा लुकामारी खेलिरहेको उज्यालोसँगै सबै जना उत्साहका साथ हाइकिङमा रम्न सुरू भयो।
करिब २०-२५ मिनेटको उकालो यात्रापछि हात्तीवन रिसोर्टको चौरमा साथीहरू एकछिन फोटो खिच्दै र मस्ती गर्दै तेर्सो लागियो। उत्तरतर्फ काठमाडौं खाल्डोमा मानव निर्मित संरचनाहरूको विविधता र दक्षिणतर्फ दक्षिणकाली वरपरको भौगोलिक सुन्दरताको बीचमा सूर्यको न्यानो मीठो तापसँगै हल्का उकालो सहितको यात्रा सबैको लागि रोमाञ्चक थियो।
चम्पादेवी पुग्न सकस
केही क्षणको तेर्सो उकालोपश्चात डाँडाको टुप्पा जस्तो स्थानमा पुग्दा चम्पादेवी आइपुग्यो कि? भन्ने भान परेको थियो।
तर सो स्थान चम्पादेवी नभै हामीलाई पहाडको देव्रेतर्फ ढुंगाले निर्मित खुड्किला बाटोतर्फ सोझ्याइदियो।
सँगै आएका साथीहरूले त्यहाँको रमणीय दृष्यलाई ड्रोन क्यामेरामार्फत् कैद गर्ने प्रयास गरे।
केही अगाडि बढेपछि पश्चिमतर्फ उज्यालो ऐनाजस्तै अग्लो अजङ्गको डाँडा आँखासामु तेर्सियो। एकछिन अलमलमा परें कि त्यो टुप्पो भष्मासुर डाँडा हो कि? चम्पादेवी नै? तत्काल खल्तीबाट मोबाइल झिकी त्यसमा रहेको म्याप्स डट मि भन्ने एप्लिकेसनबाट हेर्दा सो डाँडा चम्पागिरि हो भन्ने अनुमान लगाएँ।
मनमा अलि चिसो पस्यो, यदि त्यो टुप्पो नै चम्पादेवी हो भने भष्मासुर डाँडा कति पर? र कति अग्लो होला? मनमा चिसो पस्नुको केही कारण थिए।
पहिलो, ४२ जनाको समूहको टोलीमा ५०-५५ वर्ष कटेका सदस्यहरू धेरै थिए, महिलाहरूको सहभागिता पनि उल्लेख्य थियो।
दोस्रो, एक जना साथी सुरूमै आत्तिएका थिए।
तेस्रो, प्रारम्भिक गुगल अर्थ एपबाट अनुमान लगाउँदा जम्मा रुटको दूरी ८-९ किमी मात्र र करिब ५ घन्टा जतिको यात्रा गर्दा गन्तव्यमा पुगिन्छ भनि साथीहरूलाई आश्वासन दिएको थिएँ। जुन त्यहाँ पुग्दा गलत साबित हुँदै थियो।
एकातिर आँखा अगाडि तेर्सिएको ढुङ्गे खुड्किलो सहितको टिठ लाग्दो उकालो अर्कोतिर थकान बढ्दै गएको साथीहरूको अनुहार।
जसोतसो हाँसखेल गर्दै, उठ्दै, बस्दै, साथीहरू गफिँदै आफू आफूलाई उकालोमा तान्दै करिब १०:१५ बजेतिर पहिलो गन्तव्य चम्पादेवीको थुम्को पुगियो। करिब ११:०० बजे त्यहाँबाट भष्मासुरको यात्रा सुरू भयो।
टिठलाग्दो भष्मासुर डाँडाको उकालो
केही तेर्सो, केही ओरालो गर्दै पश्चिमतर्फ अगाडि बढ्दा पुन: शरीर ताजा र हलुको भएको थियो। साथीहरू गफिँदै ओरालो लाग्दै गर्दा अगाडितर्फ पुन: अर्को अजङ्गको नांगो डाँडा आँखामा तेर्सिंदा मन खुसी हो कि अत्तालिएको हो? थाहा भएन।
तर साथीहरूलाई भनें “ऊ त्यही हो भष्मासुर डाँडा; वास्तवमै त्यो टिठलाग्दो उजाड डाँडाको टुप्पो नै हाम्रो अर्को गन्तव्य हो तर अन्तिम भने होइन” भन्दै आफैंलाई अनि साथीहरूलाई सम्झाउने प्रयत्न गर्दै थिएँ, यद्यपि पाइलाहरू अघि बढ्दै नै थिए।
मनमा केही रोमाञ्चकता, केही नौलो प्रकृति संगको संसर्गसहित थकानको भाव पनि देखिन थालेको थियो, सवैको मुहारमा।
केहीछिनको ओरालोपछि देउरालजस्तो स्थानमा पुग्दा त्यहाँ अन्य समूहका पदयात्रीहरू पनि आराम गरिरहेको भेट्यौं।
बाटोमा मोबाइल नेटवर्क ठाउँ- ठाउँमा मात्र लाग्ने रहेछ। जहाँ नेटवर्क उपलब्ध भयो, त्यहाँबाट नै परिवारसँग सम्पर्क गर्दै तथा खाना व्यवस्था गर्ने होटलसँग सम्पर्क गर्दै अघि बढिरह्यौं।
करिब दिनको १:०० बजेतिर नीलो आकाशमा सेता बादलले छुनै खोजेझैं लाग्ने भष्मासुर डाँडाको टुप्पा पुग्न लाग्दा थप उज्यालो अनि आकाश खुलेको झैं आभास भयो।
त्यहाँबाट उत्तरतर्फ शितल, चाँदीका लहरझैं उभिएका हिमाली श्रृंखला र तल खाल्डोमा काठमाडौं उपत्यका मोहित पार्ने किसिमको देखिन्थ्यो।
त्यो ढुङ्गा माथिको स्थानमा पालो पर्खेर फोटो खिच्न आफ्नो पालो पर्खिरहँदा केही अगाडि ठाडो उकालोको थकान बिर्सिएको जस्तो भान भयो।
बानेश्वर डाँडाको टुप्पामा पुग्दा
भष्मासुर भनिएको डाँडाको टुप्पामा पुग्दा त्यहाँ भेटिएका दुइटा बाटाले हामी अलमलमा पर्यौं। चन्द्रागिरी देखिने दाहिने तर्फको बाटोमा अघि बढेपछि त्यहाँ बानेश्वर डाँडा लेखिएको बोर्ड देखियो। त्यो थुम्कामा पुग्दा वरपरका सबै थुम्काहरू होचा देखिन्थे, मानौं आफू उभिएको स्थान त्यहाँको सबभन्दा उच्च स्थान हो कि जस्तो लाग्यो।
त्यहाँबाट पश्चिमतर्फ तल मैदानजस्तो चौर पनि देखिन्थ्यो भने केही पर अग्लो थुम्कोमा केबुलकार सलल बगेझैं, घुमाउरो बाटो, घर, मन्दिर सहितको चन्द्रागिरि थुम्को उभिएर हामीलाई छिट्टै आइपुग्न बोलाइरहेको भान हुन्थ्यो।
समुद्री सतहदेखि करिब २५०० मिटरको उचाइमा रहेको भष्मासुर (बानेश्वर डाँडा) मा पुस महिनाको चिसो सिरेटोले हानिरहँदा पनि वरपरको दृष्यले मन शान्त भई त्यही स्थिर भई रहौंजस्तो लाग्थ्यो।
घडीले दिनको १:३० बजाइसकेको थियो। तल भन्ज्याङ्गमा साथीहरू कोही हिँडिरहेको, कोही चौरमा लमतन्न सुतिरहेको देखेपछि आफूहरू पनि यथाशक्य छिटो ओरालो लाग्न कर लाग्यो।
केहीबेर अगाडि आएको उकालोको बदलामा अब पालो थियो ठाडो ओरालोको।
ओरालोमा खुट्टा केही काँपिरहेको जस्तो महशुस भयो भने कोही साथीहरू भन्दै थिए - उकालोभन्दा त ओरालो हिँड्न पो झन गाह्रो, जोर्नी पो दुख्दो रहेछ।
ओर्लंदै केही क्षणमा खुला चरण चौरजस्तो स्थानमा पुगेपछि सबै साथी सँगै उत्तानो पल्टिएँ। चौरको उत्तर भागमा केही विशेष शिलाहरूलाई भष्मासुरको रूपमा पूजा गरिराखिएको देखेपछि त्यहाँ सामूहिक फोटो खिच्यौं।
त्यहाँबाट केही मिनेट अगाडि ओरालो लागेपछि पूर्व खाना अर्डर गरेको छाप भन्ज्याङ्ग रिसोर्टमा पुगियो। त्यहाँ केहीबेर आराम गरी करिब ३:०० बजेतिर पुन: चन्द्रागिरिको लागि पश्चिम तेर्सियौं।
थकाइको बीचमा केबुलकारको टिकट ५:०० बजे अगाडि काटी सक्नुपर्ने तनाव समूहमा थियो। यद्यपि रिसोर्ट संचालकले साँझ ६:०० बजेसम्म पनि टिकट लिन पाउने जानकारी दिएको थियो।
करिब २ घन्टामा सबै जना चन्द्रागिरि उक्लिसक्नुपर्ने बाध्यता एकातिर थियो सबैमा, भने अर्कोतिर दिनभर उकाली ओराली गरेको थकान।
एउटा डाँडा पूरै उक्लिन बाँकी थियो, चन्द्रागिरि अर्थात् भालेश्वरको। त्यो अन्तिम उकालोले पनि धेरैको आत्मबललाई घटाउन मलजल गरेको हो कि भन्ने जस्तो पनि लाग्यो।
केहीबेरको तेर्सो अनि ओरालो बाटो हिँडेपछि हामी मातातीर्थबाट मार्खु पुग्ने मोटरबाटो तथा ऐतिहासिक हेटौंडा-थानकोट रोपवे भएको भन्ज्याङ स्थानमा पुग्यौं।
थकाइका आगे सिंगै चन्द्रागिरिको उकालो
अब त्यहाँबाट त्यो दिनको अन्तिम लडाइँ लड्न बाँकी थियो। स्थानीयको सुझावअनुसार त्यहाँबाट देखिने सिधा खुड्किलाको बाटो नहिँडी हामी देब्रेतर्फ तलबाट जाने मोटरबाटो समाउँदै पुन: चन्द्रागिरि तर्फको उकालो बाटोतर्फ लाग्यौं।
जति माथि गयो, उति चिसो सिरेटो अनि बढ्दो शिथिलता। मोटरेवल व्यवस्थित सडक, नयाँ निर्मित रिसोर्ट राम्रा देखिएको थियो। पूर्वतर्फ अघि छिचोल्दै आएको चम्पादेवी, भष्मासुर डाँडा हामीलाई देखेर हाँसिरहेको भान हुन्थ्यो। चिसो सिरेटोमा हिमाल रंगिन हुँदैथ्यो। हामीले छिचोलेका पहाड, भन्ज्याङ हामीसँगै हाँस्दै सफलताको शुभकामना सहित बधाई दिँदै थियो, हामी थाकेका शरीर र जितेका मनहरूलाई।
करिब साँझको ५:०० बजे केबुलकार स्टेसनमा पुगेर टिकट बुक गर्यौं। करिब साँझ ६:०० बजेतिर थानकोट ओर्लियौं।
वास्तवमा नै प्रकृति प्रेमी, हाइकिङमा रुचि हुने व्यक्तिहरूको लागि सहज, सजिलो र सस्तो रुटको रूपमा फर्पिङ-चम्पादेवी-भष्मासुर-चन्द्रागिरि हाइकिङ रुट महत्वपूर्ण हुनेछ। जहाँ हामी सम्झन लायकको प्रकृतिको विविधता, उतारचढाव, रमणीय दृष्य नजिकबाट महशुस गर्न सक्छौं।
(फोटो संकलन: सुरेश मानन्धर, हरिगोपाल वैध, विश्व मानन्धर, कल्पना तौजले, नारायण जोशी लगायतका साथी)