पहाडै पहाडको देश भएर पनि नेपालमा माउन्टेन बाइकिङ अझै शिशुकालमै छ। हाम्रो कठिन धरातलमा धेरै विदेशीले साइकल हुइँक्याउँछन्। खास गरी अन्नपूर्ण चक्रीय पदमार्ग लगायत रुटमा धेरै साइकल देखिन्छन्।
केही उत्साही नेपाली साइक्लिस्टले पनि हिमालका कठिन ट्रेल छिचोल्ने गरेका छन्। तर सहरमा दैनिक यातायातको साधनका रूपमा धेरै प्रयोग नभएजस्तै साइकल साहसिक खेलका लागि समेत हामीकहाँ यथोचित प्रयोग हुन सकेको छैन।
पहिले पश्चिमा विश्वमा बिगबिगी रहेको मोटोपन र मधुमेह अब नेपालजस्ता देशमा सरेझैं हामी अझै पनि पैदल वा साइकल यात्रालाई मोटरबाइक वा कारको यात्राले विस्थापित गर्ने चरणमा छौं। सँगै स्वास्थ्य सचेतना र पर्यावरणप्रतिको संवेदनशीलताले पनि हाम्रो समाजमा विस्तारै ठाउँ पाउँदैछ।
पहाडका टुप्पाहरूमा केबलकार चढेर मानिसहरू धुइरिएसँगै उक्लिएर त्यहाँ पुग्ने र ट्रेकिङको आनन्द लिनेको संख्या बढ्दैछ। सप्ताहन्तमा हाइकिङ वा साइक्लिङ जाने जमात सहरी क्षेत्रमा तीव्र बढिरहेको छ।
हाम्रा पहाडहरूमा माउन्टेन बाइकिङको सम्भावना अनन्त छ। जंगली गोरेटो, एक लेनको कच्ची सडक, बिना सडकको नांगो भूभाग र आंशिक रुपमा पिच सडक समेतमा साइकल गुडाइने ‘क्रस कन्ट्री साइक्लिङ’का लागि त नेपाल आदर्श गन्तव्य नै हुन सक्छ।
हाम्रो मिसमासे विकासका कारण सधैंभर सहजै गाडी नजाने ग्रामीण सडकहरू र पर्यटकीय गन्तव्यसम्म जाने गोरेटाहरू त्यसका लागि खोजेजस्तै हुन सक्छन्। हाल कायम पूर्वाधारमा थोरै मात्रै सुधार गर्ने हो भने कम लगानीमा निकै राम्रा रुट विकास हुन सक्छन्।
पश्चिमदेखि पूर्वसम्म फैलिएको उत्तरको हिमालय र मध्य नेपालको महाभारत श्रृंखला नेपालका अमूल्य सम्पदा हुन्। तर तिनबाट हामीले साहसिक खेल र पर्यटनलगायत कुनै पनि हिसाबले पर्याप्त लाभ लिन सकेका छैनौं।
यी दुई पर्वतीय श्रृंखलाका विभिन्न गन्तव्य समेटेर साहसिक साइकल यात्राका लागि भौतिक पूर्वाधार तयार गर्ने हो भने नेपाल यस खालको गतिविधिका लागि विश्वकै मुख्य गन्तव्य बन्न सक्छ।
त्यस्ता रुटको खोजी गर्दै यो तिहारअगाडि चितवन र धादिङका २२ जना साइक्लिस्टको टोलीले धादिङको मौवाखोलादेखि माथि चढेर बाँसपुर, तेर्से, उपर्दाङगढी र शक्तिखोर हुँदै भरतपुरसम्मको ६० किमि लामो साइकल यात्रा गर्यो। एक दिनमा सक्ने लक्ष्य रहेको यात्राले डेढ दिन लगाए पनि यसले सिकाएका अमूल्य पाठले आगामी यात्रा सहज बनाउने निश्चित छ।
भरतपुरस्थित 'वाह बाइक'द्वारा आयोजित कार्यक्रममा चितवनमा सक्रिय 'एक सपना साइकल र सफा नेपाल' अभियानका साइकल यात्रीको वर्चस्व थियो। कक्षा बाह्र पढ्ने किशोरदेखि युवा र वयस्कको समूह उक्त यात्रा पूरा गर्ने क्रममा चितवनको ऐतिहासिक उपर्दाङगढी किल्लामा समेत पुग्यो।
यो यात्राको सफलतासँगै वाह बाइक र एक सपना साइकल र सफा नेपालको अभियान चितवनलाई केन्द्र बनाएर नवलपुर, नवलपरासी, तनहुँ, धादिङ, गोर्खा, लमजुङ र मकवानपुर लगायत जिल्लाहरूमा महिनामा कम्तीमा एउटा अफरोड साइक्लिङ गर्ने योजनामा छन्।
वार्षिक रूपमा चाहिँ साइकलको बृहत महोत्सव मनाउने र त्यस क्रममा धेरै दिनको आधिकारिक ‘क्रस–कन्ट्री साइक्लिङ’ गर्ने र त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता दिलाउने दुवै संस्थाको लक्ष्य छ। दीर्घकालमा भने साहसिक खेल र मनोरञ्जनका लागि मात्रै नभई यातायातका लागि दैनिक रूपमा साइकल प्रयोग बढाएर सहर सुन्दर र सफा राख्ने उनीहरूको योजना हो।
सबै तस्बिर सौजन्यः जीवन क्षेत्री