नवमीको दिन, कात्तिक ९ गते। बिहानै उठेर छिमेकी जिल्ला नवलपुरस्थित मौलाकालिका मन्दिर जाने योजना थियो।
उठेँ, साइकल निकालेँ र बत्तिएँ।
नारायणगढ पुग्नै लाग्दा साथीहरूले फोन गरे, फेदीमा पुगेछन्। उनीहरूलाई जाँदै गर्नू भनेँ। एकैछिनमा फेदी नजिकै पुगेँ। सिँढीको उकालो साइकल चढ्दैन। त्यसैले साइकल बत्ताउँदै डाँडालाई दाँया पारेर पश्चिम हानिएँ।
पल्लो खोल्सोनेर सानो बस्तीको छेउबाट खानेपानीका टंकी हुँदै एउटा कच्ची सडक माथि लाग्छ। त्यतै लागेँ। पानी टंकीको छेउमा ठाडो बाटो आयो। साइकलबाट ओर्लेर डोर्याउन थालेँ। एकैछिनमा ट्रान्समिसन लाइनका लागि जंगल फाँडेको ठाउँ आयो। अनि सुरू भयो उकालो।
पूरा नभए पनि कम्तीमा आधा वा एक तिहाइ साइकल चलाउन पाइएला भन्ने आश थियो। तर बर्खे भेलले खोलेर बाटोलाई खोल्सो बनाइदिएछ। साइकल जुरुक्क पार्नु वा धकेल्दै डोर्याउनुको विकल्प थिएन। कपडा पसिनाले निथ्रुक्क भिजे। पाखुरा लत्रक्क गले। साथीहरू माथि पुगिसक्ने बेला भयो। आत्तिएर मात्रै के गर्नु!
बाटोमा घाँस काट्न वन जाँदै गरेका एक जना दाइ भेटिए। आजकल साइकल माथि पुग्ने गरेको बाटो अलि पर, पहाडको अर्को पाखाबाट जाँदो रहेछ। उनीसित गफिँदै, साइकल घिसार्दै माथि पुगेँ।
मन्दिरनेर पुगेर फोन गर्दा साथीहरू पूजा गरेर फर्केर हेलिप्याड पुगिसकेछन्। तिनलाई माथि नै बोलाएँ। अनि तीन जनाको ओरालो यात्रा म आएकै बाटोतिर सुरू भयो। उकालोमा घिसार्न जति गाह्रो, ओरालोमा डोर्याउँदै धान्न उति नै साह्रो। आखिर तल निस्केपछि साथीहरूको यात्रा मोटरबाइकमा सुरू भयो भने मेरो बाइकमा।
घर पुगेर खाना खाएँ। अस्पतालमा खासै बिरामी थिएनन्, काम पनि थिएन। फेरि तीन जना साथी लिएर पौडीका लागि निस्केँ, एक जनालाई साइकल समेत दिलाएर। टिकौली जंगल पारि मूल पलाएको दहमा बाह्रै महिना पौडन सकिन्छ। त्यहाँ पुग्दा हरियो दहले हामीलाई पर्खिरहेको थियो। लगातार दुई घण्टा पौडी खेल्यौं।
निस्केपछि बाँकी दिन साइक्लिङका लागि थियो। मेरोबाहेक साइकल एउटा मात्र थियो तर दुई साथी साइक्लिङ जान चाहन्थे। मुश्किलले एक जनालाई मोटरबाइकमा फर्कन मनाएर दुई जना लाग्यौं खोलेसिमलतिर। एक किलो स्याउ किनेर खाँदै, गफ गर्दै साँझसम्म साइकल चलायौं।
साँझ पर्दा शरीरका हरेक मांसपेशी लठ्ठीले हिर्काए झैं दुखिरहेका थिए। त्यसैले मेथी पड्काएको तेलले ज्यान मालिस गरेर सुतेँ। भोलि दसैंको टीका जो थियो।
कात्तिक १०, टीकाको दिन।
यसपालि गाउँका दाजुभाइमा तीन जनाको मृत्यु भएकाले दसैंमा टीका लाउनु थिएन। तीमध्ये दुईको अकालमा मृत्यु भएको थियो। त्यसैले दसैं निराशाजनक हुने अपेक्षा थियो। तर बिहान २ बजे भाइ कान्छोलाई पुत्रीलाभ भएकाले टीका नभए पनि दसैं उल्लासपूर्ण भयो। त्यसमाथि बुहारीले कष्टपूर्वक कोभिडलाई जितेको चार दिनपछि नै सकुशल बच्चालाई जन्म दिएकी थिइन्। साता दिन अगाडिको भय र आशंका अब खुसीमा परिणत भएको थियो।
टीका नभएकाले र राती निद्रा खल्बलिएकाले बिहान ढिलो गरी उठेँ। आजका दिनदेखि म शाकाहारी बन्छु भनेर घरमा सबैलाई भनिसकेको थिएँ। तर आफैं मासु नखाने श्रीमतीले बिहान खानामा मासु पकाएपछि चखाउने बहानामा मासु ल्याएर खुवाउने प्रयास गरिन्। खाइनँ। कोच्याउने नै प्रयास गरिन्। आखिर मासुमा चोपलिएको चम्चा बन्द ओठबाट छिराइदिएर मलाई बिटुलो पारिदिइन्।
खाना खाएपछि फेरि सुतेँ। दिउँसो अबेर उठेँ। निबुवा साँधेर खायौं। आरामै गरेर पूरा दिन बित्यो। तर तिघ्रा र पिँडौलाका मांसपेशीमा पीडा उस्तै थियो। भोलिपल्ट उपर्दाङगढीसम्म साइकलमा जाने योजना थियो। त्यसैले खुट्टा ठीक पार्नुको विकल्प थिएन। फेरि शरीरभर तेल मालिस गरेर सुतेँ, नौ नबज्दै।
कात्तिक ११, एकादशी।
छिटो र गहिरो निद्रा सुतेकाले होला, बिहान छ बजे नै उठेँ।
आठ बजे निस्कने योजना थियो। तर पाँच जना साथी जुट्दा साढे आठ भयो। साइकलहरू कसकास गर्दै बन्दोबस्तीका सामग्री जुटाएर नौ बजे हामी निस्क्यौं। मेरा मांसपेशीको दुखाइ बढेको त थिएन तर एक तहको दुखाइ निरन्तर थियो।
भरतपुरको बाइपास रोड छाडेर भोजाड र पदमपुर हुँदै हामी हानियौं शक्तिखोरतिर। उपर्दाङगढी चढ्नेका लागि शक्तिखोर आधार शिविर हो। त्यहाँ पुग्नै उकालो बाटो भएकाले हामीलाई झण्डै दुई घण्टा लाग्यो। थकाइ लाग्ने नै भयो। त्यसमाथि एक जना साथी दसैं लागेका कारण बिहान पाँच बजे सुतेर मैले फोन गरेपछि आठ बजे उठेको रहेछ। अर्को साथी बिहान १२ किलोमिटर कुदेर आएको रहेछ। अर्को साथीले यति लामो बाटो साइकल पहिले चलाएकै रहेनछ।
जे होस्, शक्तिखोरमा एउटा घर अगाडिको भुइँमा बसेर फलाहार गरेपछि हामी पाँच भाइ उकालो लाग्यौं। मेरा लागि समेत यो नौलो र चुनौतीपूर्ण यात्रा थियो। समुद्र सतहबाट २०८ मिटर उचाइमा रहेको भरतपुरबाट १,२२८ मिटरको उपर्दाङगढी पुग्दा सिंगो एक किलोमिटरको 'भर्टिकल' दुरी पार गरिन्थ्यो।
विगत ९ वर्षदेखि बर्सेनि जसो हिँडेर त्यहाँ गए पनि साइकलमा यत्रो उकालो कहिल्यै चढेको थिइनँ। त्यसमाथि दुई दिन अगाडि ५६१ मिटरमा रहेको मौलाकालिका मन्दिरसम्म साइकल लिएर उक्लन त हम्मे परेको थियो। थकाइ मरेकै थिएन।
शक्तिखोरसम्म पनि तिघ्रा र पिँडुलाको दुखाइ नबढेपछि म माथि जान सक्नेमा ढुक्क थिएँ। मांसपेशीको दुखाइ अंग्रेजीमा 'फ्याटिग' भनिने थकानका कारण भएको हो भने त्यसलाई केही हदसम्म मनोबलका भरमा पेलेर पनि जान सकिन्छ। तर अचानक भारी काम गरेका कारण मांसपेशीका तान्द्राहरूमा क्षति भएर हुने दुखाइलाई नटेर्नु वा पेल्नु भने घातक हुन सक्छ। त्यस्तो दुखाइ अक्सर काम गरिरहँदा बढ्दै जान्छ र आरामबाहेक त्यसको तत्कालीन उपचार हुँदैन।
उकालो लाग्नासाथ म र एक जना साथी अलि अगाडि पर्यौं, बाँकी साथी पछि पर्दै गए। अलि बेरपछि त्यही साथी पनि छुट्यो। साथीलाई पर्खिँदा पर्खिँदा झण्डै डेढ घण्टा यसै खेर गयो।
साइकल चढ्दा यसै पनि मलाई संगीत सुन्दै एक्लै पाइडल मार्न आनन्द आउँछ। नागबेली परेको नवनिर्मित कच्ची सडकमा पुष्कर शाहलाई याद गर्दै मैले पाइडल दबाइरहेँ। तर जब ढुंगा र गेग्र्यानले छोपिएको बाटो आउँथ्यो, ओर्लेर साइकल डोर्याउनुको विकल्प हुँदैनथ्यो। यो बाटो बनेपछि मोटरबाइक, स्कुटर र अटोरिक्सा माथि पुगे पनि साना कार जान सक्दा रहेनछन्।
साथमा रहेको एक बोतल पानी र केही स्याउ बीच बाटोमा पुग्दा सकिए। भाग्यवश तबसम्म तलको जंगल छिचोलेर म चेपाङ बस्ती पुगिसकेको थिएँ। एउटा घर अगाडि धारो देखियो, पिँढीमा दाइ देखिए।
'पानी भरूँ?' दाइलाई सोधेँ।
'धारोमा पानी आउँदैन, म बोतल भरिदिन्छु' भन्दै दाइले ढोका खोलेर दुई लोटा पानीले बोतल भरिदिए। तल सडकमा साइकलको ह्याण्डलमा एक्लै मोबाइलमा गीत बजिरहेको थियो।
इन्धनको जोहो भएपछि म ढुक्कसित उकालो लागेँ। तर खुट्टाका मांसपेशी अब आफ्नो अधिकतम क्षमताको सीमामा काम गरिरहेका थिए। अलिकति बढी बल गर्यो कि खुट्टै जाम होलान् भन्ने डर। त्यसैले पहिले मज्जाले उकाल्ने बाटोमा पनि साइकल डोर्याउँदै, खुट्टालाई 'आराम दिँदै' उकालो चढिरहेँ।
आधाभन्दा बढी चढेपछि उपर्दाङगढी जाने बाटो एउटा सानो डाँडोको सम्म थाप्लो हुँदै जान्छ। त्यसको अगाडि माथिपट्टि गढी देखिन्छ। दुवैतिर होचा र सुन्दर डाँडा र पाखा छन्। बाटोले सिध्याउन नभ्याएको हरियाली अझै बाँकी छ। सिर्सिर बतासबीच त्यही थाप्लोमा साइकल कुदाउँदै थिएँ, मोबाइलमा एउटा सुमधुर धुन बज्योः
चलो दिलदार चलो,
चाँदके पार चलो
हम भी तैयार चलो
कैफ भोपालीका शब्द, गुलाम मोहम्मदको संगीत अनि लता मंगेशकर र मोहम्मद रफीको स्वरको यो गीत हिन्दी सिनेमा 'पाकिजा'को हो। यसै पनि मन पर्ने गीत, साइकलको थकान र गढी पुग्नै लागेको उमंगले लैश भएको बेला सुन्न पाउँदा म अर्कै संसारमा पुगेँ। हरेकजसो यात्रामा यस्ता विरल क्षण आउँछन् जसले यात्राका सारा थकान बिर्साइदिन्छन् र व्यक्तिलाई दैनिक जीवनको अनन्त कोलाहलबाट टाढा एउटा सुन्दर संसारमा पुर्याइदिन्छन्।
त्यो गाउँको सम्म बाटो हिँडिसकेपछि पहाडको दक्षिणी मोहडा हुँदै गढी पुग्ने गोरेटो छ। पूर्व र उत्तरतिरबाट अहिले सडक बनाइएको रहेछ। अघिल्लो पल्टसम्म हामी त्यही गोरेटो हुँदै अमला टिपेर खाँदै माथि चढ्थ्यौं। अहिले साइकल भएका कारण धुलाम्य भए पनि सडक हुँदै जान कर लाग्यो। अबको घुम्ती पारिपट्टिको अर्को डाँडामा भएकाले बाटो त्यति उकालो र असहज थिएन। थाकेकै खुट्टाले पनि पाइडल दबाउँदै र ठाडा गेग्र्यानी घुम्तीमा साइकल डोर्याउँदै अघि बढेँ।
तीन बजेतिर बल्ल गढीमुनि सडक पुग्ने अन्तिम बिन्दुमा उक्लेँ। त्यहाँबाट अरु सय मिटर जति उकालोको सिँढीमा साइकल जुरुक्कै बोकेर जानुपर्यो।
सडक पुगेसँगै गढीमा पर्यटक बढेछन्। तर परिणाम आहा भन्नेभन्दा कठै भन्नेजस्तो भएछ। मान्छे पहिलेझैं पैदल हिँड्दै एकान्तका लागि त्यहाँ जानुको सट्टा मोटरबाइक, अटोरिक्सा वा गाडीमा मदिरा र जंकफुडका भारी बोकेर 'ड्राइ पिक्निक' जान थालेछन्। हामी पुग्दा चार जना किशोरले गढी किल्लाभित्रको कुनामा बसेर बियर दन्काइरहेका थिए। एउटा स्पिकरमा गीत पनि घन्काइरहेका थिए।
कोक लगेर बोतल पाखामा मिल्काउने त कति कति। पहिले हरियो दुबोको चौरमा अब पाइलैपिच्छे चाउचाउ र चिप्सका प्लास्टिक भेटिने भएछन्। साथी सुवास श्रेष्ठ फालिएका प्लाष्टिक टिप्न यति मग्न थिए कि हामीले गढीमा खिचेका फोटामा उनलाई देख्नै गाह्रो छ।
त्यहाँको माहोल हेरेपछि हामीलाई लाग्यो, सहरका भट्टीका सबै सुविधा थपक्क मोटरगाडी चढेर गढी पुग्न थालेछन्। गढी अब गढी हैन, अविकसित देशको अव्यवस्थित सहरको एउटा हिस्सा बनेछ।
निराश हुँदै हामीले हाम्रा साइकलसँग फोटो सेसन गर्यौं। साथी बसन्त ढुंगाना र खगेन्द्र क्षेत्रीले फोटो सेसनको नेतृत्व गरे। गढीबाट झर्दै गर्दा अर्का साथी अशोक उप्रेतीले बाटोमा मिल्काइएका बोतल टिप्दै गरेको केही महिलाले देखेछन्। साथी नजिकै पुगेपछि आफूसितको कोक हतपत रित्याएर त्यसको बोतल पनि थमाइदिएछन्!
गढी छेउको होमस्टेमा खाना खाने बेला साथीहरूले कुखुराको मासु खुवाउन बल गरेर मेरो 'शाकाहारी धर्म'को परीक्षण गर्न खोजे। मैले आनन्दपूर्वक आलु र सोयबिनको तरकारीसित भात दबाएँ। मलाई सात्विक आहार र सन्तोषी जीवनतिरको यात्रा गर्नु थियो।
हामीले खाना खाँदै गर्दा माथि बियर पिउने किशोरहरू यहीँ आइपुगेर गिलासका गिलास छ्याङ थपेर पिइरहेका थिए। चुरोट त पिउने नै भए। ब्याट्री सकिएर गीत बजाउँदै नाच्न पाइएन भनेर गुनासो पनि गर्दै थिए। जुन दिन त्यहाँ बिजुली पुगेर त्यस्ता साधन चार्ज गर्न मिल्छ, त्यस दिनदेखि तिनको त्यो सपना पनि पूरा हुनेछ। अनि पहाडको टुप्पामा चराको चिरबिर हैन, 'लैजाऊ घुमाउन मलाई ठमेल बजार...' घन्किनेछ।
यसरी देश विकासको सिंगो 'प्याराडाइम' देख्न पाइयो उपर्दाङगढीमा।
हाम्रो आन्तरिक पर्यटनको नमूना हेरेपछि गढीबाट बिदा भएर ओरालो हान्नियौं। जाँदा तिघ्रा र पिँडुलाका मांसपेशीको परीक्षा भएजस्तै गेग्र्यानी ओरालो बाटोमा ब्रेक हान्ने हातका मांसपेशी र शरीरलाई सन्तुलित गर्ने मस्तिष्कको तल्लो र पछिल्लो भागको परीक्षा हुँदै थियो। जाँदाभन्दा बल कम परे पनि गति धेरै हुनाले 'वन मिस, गेम फिनिस'को अवस्था थियो। त्यसैले होसियारीपूर्वक ब्रेक हान्दै तल झर्यौं। शक्तिखोर कटेर जुटपानी आउँदा झिसमिसे भयो।
फर्किँदाको एउटा अनुभव उल्लेखनीय रह्यो। सडकको जुन हिस्सा जाँदा ओरालो थियो, त्यो फर्किँदा पनि ओरालै लाग्यो। कारणः माथितिर उकालोको जुन मानक बनेको थियो, त्यसलाई सानोतिनो उकालोले भेट्न सक्दैनथ्यो। जाँदा जत्तिको उकालोलाई हामी गियर निकै घटाउँथ्यौं, अब बढी गियरमै सजिलै त्यत्तिकै उकालो कट्थ्यो।
सात बजे भरतपुर पुगेपछि एउटै काम थियोः दिनभर सेवा गर्ने मांसपेशीलाई तेल मालिस दिने र सुत्ने। शरीर अब दुखेको पक्कै थियो होला तर त्यो दुखाइ महशुस गर्ने शरीरको प्रणाली नै दिनभर तिरीमिरी भएको थियो। दुखाइ र थकान महशुस गर्न त भोलि छँदैछ।
यसपल्ट दसैंको तीन दिने यात्राको सन्देशः
तपाईंमा पर्याप्त इच्छाशक्ति छ भने 'तँ आँट्, म पुर्याउँछु' भन्ने तपाईंका आफ्नै मांसपेशीहरू छन्। तिनलाई विश्वास गर्नुभएन भने तपाईंको जीवन यत्तिकै खेर जानेछ। तपाईंले बोकेका यावत् सम्भावना दिनको उज्यालो नहेरी गायब हुनेछन्। विश्वास गर्नुभयो भने तपाईं आफैंले देखेका हरेक सीमा भत्किनेछन् र तपाईंले कल्पनै नगरेका खुट्किला चढ्नु हुनेछ।