खुरूखुरू गएर कुनै बसमा बसूँ झैँ हुन्छ।
एउटा अपरिचित यात्रा गर्न, अलमलिएको यात्री हुन र नयाँ गन्तव्यमा पुगेर सुख, दु:ख साट्न।
जीवनमा हमेसा यस्तै सोचले सताइरह्यो। कतै जाउँ भन्यो कहिले के मिल्दैन कहिले के। यसपटक अपरझट यात्रामा निस्किएँ- खोटाङ।
मंसिर महिनामा बहाना बन्यो दिदीको बिहे। घुम्न निस्कियौं, म र साथी टेरेसा। दिदीभिनाजुले काटिदिनुभएको बसको टिकटको सहारामा हामी काठमाडौंबाट उदयपुर गाइघाटसम्म हानियौं।
रात्री बस, त्रिशूलीको बाटो, नौलो केही थिएन र यात्रा पनि सहज थियो। ११९८ नम्बरको बसले हामीलाई गन्तव्य पुर्याउनु थियो, तर बीच बाटोमा पुगेपछि हामीलाई अरु बसमा जिम्मा लगाइदियो।
हामी उभिएरै उदयपुर जिल्ला टेक्न थाल्यौं।
गाइघाट बजारमा बिहानीको खाजा नास्ता खाइसकेपछि हामी टिकट काट्न गयौं। भोक र अनिद्राको सूरमा पहिले नै टिकट काट्न पर्छ भन्ने होस् भएन। पछि थाहा भयो बिहानी समयमा चाँडै जाने गाडी त गैइसकेछन्।
हामीले अर्को गाडीको लागि डेढ घण्टा कुर्न पर्ने भयो। यो समयलाई सदुपयोग गर्न कतै नजिकै घुम्ने ठाउँ छ कि भनि स्थानीयलाई सोध्यौं। यति छोटो समयको लागि भनेर नजिकै डाँडोमा रहेको राधाकृष्ण मन्दिर जाने बाटो देखाइदिए।
पहिलोपटक गएकोले पनि हुनसक्छ हामी त दलदलको बाटो छिरेछौं। त्यो दूरी काट्न हामीलाई धेरै समय लाग्यो नि।
हामी फर्कंदा गाडी आइपुगेको रहेछ। अगाडि सिट रोजेको हुनाले बाटाका दृश्य हेर्दै जाने अवसर मिल्यो।
गाईघाट बजारबाट करिब ५६ किलोमिटरको दूरीमा हाम्रो गन्तव्य थियो। रातभरको गाडीको यात्रा अनि फेरि अर्को अपरिचित ठाउँतर्फको त्यो यात्रा।
सुरूसुरूमा आउने ती कालोपत्र बाटा र वरिपरि रहेका रुखले खुबै उत्साह दिए। मन रमाउँदै गाईघाट बजारबाट केही पर रहेको बरुवा पुल तरेर अघि बढ्यो गाडीको गतिसँगै ढलपल ढलपल।
जंगलका बाटा चहार्दै जाँदा थाहा भयो त्यहाँ सार्वजनिक वन थुप्रै रहेछन्। वन उपभोक्ता समूह पनि।
हाम्रा थकान ती हरिया वनले विस्तारै उत्साहमा परिणत भए। तर त्यो क्षणिक उत्साहलाई केही परको दूरीपछि सुरू हुने कच्ची सडकले निरासामा पुर्याइदिए।
सूचना पाएअनुसार हामीले तीन घण्टामा त्यो दूरी कटिसक्नु पर्ने थियो। बाटोभरि धुलाम्मे परेका ती पात सायद वर्षौंदेखि आफ्नो अस्तित्व स्वीकार गरेर बसिरहेका छन्।
भिराला पाखामा चालकको हिम्मत देख्दा जीवन अझ बढी बाँच्न पर्छ भन्ने भान भैइरहेको थियो। हामीले यो यात्रामा थुप्रै गाउँले जीवन देख्न पायौं।
साउने कटेपछि कालोपत्रे बाटो सकियो। रानीबारी पुगेपछि सकिएको उकालोबाट अब बिस्तारै गाडी ओराली झर्न थाल्यो।
छाम्लिङ पुल तरेपछिको अर्को लमतन्न परेको बाटो काट्दै गएपछि फेरि आउने रहेछ, अँधेरी पुल। नाम अँधेरी भएपनि ती दुईतिर निर्धक्क उभिएका भिरालो पहाडले उज्याला बनाइदिएका रहेछन्।
यो पुलमा हामीले धेरै गाइवस्तु देख्यौं। हाम्रो यात्रा अघि बढिराखेको थियो जल्केनीतर्फ।
केहीबेरमा पोखरी बजार आयो। यहाँ बटुवा, यात्री, बस चालकले खाजा खाने रहेछन्।
यहाँबाट केहीबेरपछि हुरहुरे भिर आयो।
बेजोडले हावा चल्ने भएकोले यसको नाम हुरहरे भीर राखेको रे।
अब विस्तारै दुधकोशी नदी किनार देखियो। गाढा हरियो रंगमा दुधकोशी बगेको होइन, कसैले हरियो रंग पोतेर गएझैं पो लाग्यो मलाई।
हाम्रो ५६ किमी यात्रा कोशीपारि टुंगियो। भलै त्यो हाम्रो गन्तव्य होइन। तर कोशी नदीमा पुल निर्माण नभएकोले दुधकोशी पारिबाट अर्कै गाडी पाइने रहेछ।
ती गाडी खोटाङका लागि छुट्ने रहेछन्।
थाहै नपाई हामीले रौतामाइ गाउँपालिकाले स्वागत गरिसकेछ। कोशी नदी खोटाङ र उदयपुरको सीमाना रहेछ।
भनिन्छ नि, सीमानाले छुट्याएको मात्र होइन जोडेको पनि हुन्छ। यी दुई जिल्लाको आत्मीयताले यो भनाइलाई पुष्टि गरे।
पुल तर्नु अघिका घर प्रेमले सजाइएका ती सुन्दर माझी बस्ती र इतिहास बनिइसकेको केहि प्रमाण त्यहाँ देखिए। यहाँ भित्तामा क्रान्तिकारी अक्षर पनि रहेछन्। लेख्नेहरू ज्युँदै छन् कि मरे कुन्नी!
दुधकोशीको पुलमा बालकहरू पनि भेटिए। उनीहरू त भारी बोक्न पो गएका रहेछन्। उनीहरूले एक सयदेखि डेढसय रूपैयाँसम्म पैसा पाउने बताए। उनीहरूले बटुवा र यात्रुका भारी बोकिदिने रहेछन्।
यस्तै कुराकानी गर्दागर्दै रसुवाघाट आयो। हामी यहाँ केहीबेर सुस्तायौं। स-साना झुप्राहरू यहाँ रहेछन्। हामी यसरी बसिराखेर कहाँ हुन्थ्यो र? सिमपानी जाने बसमा अब डेढ घण्टाजति यात्रा गर्नुपर्ने थियो।
यहाँ हामीले गाउँकी फूपू भेट्यौं। रमाइलो लाग्यो। पहिले कम बोले पनि पछि फूपूसँग भलाकुसारी गरियो बाघेढुङ्गासम्म।
दुई किलोमिटर हिडेपछि ओरालो झर्नुपर्ने रहेछ दिदीको घर पुग्न। कच्ची बाटो छाडेर अर्को साढे २ किमि फेरि झर्नुपर्ने भयो। सामान बोकेर ओरालो झर्न गाह्रो हुने नि।
ढुंगामाटाले बनेका साना घर बाटामा देखिए। कतै फुसले छाएका। अम्बाका बुटामा चढेर रमाइराखेका बालबच्चा देखेपछि हामीले रमाइलो मान्यौं।
केही तल झरेपछि गीत घन्केको सुनियो। बिहे घर त्यसै पनि रौनक हुन्छ। हामी अपरान्ह ४:३० बजेतिर घर पुगेका थियौं।
बिहेघरमा चहलपहल थियो युवाको। युवा क्लबले बिहे घरमा सघाउने यहाँ राम्रो चलन रहेछ।
इलाम र काठमाडौं चिसो खपेकोले हुनुपर्छ यहाँ खासै चिसो महशुस भएन।
भिनाजुको भाइलाई सोल्टी साइनो पर्ने र सोल्टी सोल्टिनी कुटुम्बको हिसाबले हकदार हुने हामी राई जातिको संस्कार रहेकोले पनि त्यहाँको वातावरण रमाइलै बन्यो।
बारीमा बसेर प्रिति भोज खाइरहेका स्थानीय
भोजमा बेहुलाबेहुलीले नखाइन्जेल कसैले पनि नखाने चलन रहेछ। भर्खरै काटिएको धान कोदो बारीमा बसेर भोज खानुको मजा छुट्टै थियो। उडिरहेका धुलोमा पनि आनन्दले रमाएर भोज खान सक्ने सार्है सहनशील रहेछन् खोटाङवासी।
समस्या भएन भने जिन्दगी अलि खल्लो पनि लाग्दछ। त्यसैले होला त्यहाँ पनि केही समस्या जरुर थिए। तीन खोप्रेभित्र एउटा जड समस्या भनेको खानेपानीको देखिन्थ्यो। बाटो र बिजुली उस्तै समस्या। भाषण दिनेले काम पनि गर्नू नि!
इतिहास बनेका ती अक्षरहरू
विवाहको दिन आफू बेहुलीको साथी बस्न परेकोले दिनैभर व्यस्त। साँझ थकान थियो तर पनि विवाह भनेपछि नाँच्ने गाउँने खुबै उत्साह हुन्छ। दुर्भाग्य साँझ बिजुली थिएन के गर्ने।
खोटाङवासी मिजासिला रहेछन्। नयाँ मान्छेलाई पनि वर्षौंदेखि चिनेजस्तो गरी व्यवहार गरिदिए। म उनीहरूप्रति सधैं ऋणी हुनेछु।
यहाँ नुन र कपडाबाहेक अरू सरसामान खासै बजारको भर पर्न नपर्ने रहेछ। खाद्यान्न यहीँ फल्ने कति राम्रो।
बाघेढुंगाको दृश्य
यहाँका बासिन्दाबाट मैले आत्मनिर्भरता कसरी हुन सकिन्छ भन्ने सिकेँझैं लाग्छ। आफ्नो भर आफैं भए भोलि जीवन धान्न सजिलो पर्छ भन्ने ज्ञान पाएँ।
अर्को दिन हामी झिसमिसेमा फर्किनु पर्ने थियो। अघिल्लो दिन चिनजान भएको साइनोले सोल्टी पर्ने नबराजजी, थोरै समयको चिनजानमै हामी नजिक भैसकेका थियौं। बिहान हामीलाई गाडी चढ्ने ठाउँसम्म पुर्याउन पनि उहाँ नै पो आउनुभयो।
झिसमिसेमा बिदा मागेर हामी उकालो लाग्यौं।
बिहान चिसो अनि उकालो बाटोमा गह्रुंगो झोलाले अलि गाह्रो पनि भयो। उकालो लाग्दै गर्दा काठमाडौंको बसाइँ मैले सम्झेँ। रहरले हाइकिङ गइन्थ्यो यहाँ त हिँड्नु बाध्यता पो रहेछ।
केहीबेर हिडेपछि बाघेढुङ्गा आइपुगियो। सोल्टी नवराजले गाडी भनिदिनुभएको थियो। हामीले भोक मेटाउन सुन्तला किनेर खायौं।
हर्न बजाउँदै बस आयो।
बसमात्र होइन यहाँ त बाख्रो पनि रहेछ।
धुलोले भरिएको बसभित्र बसेर हामीले घरतर्फको यात्रा थाल्यौं।
यात्रा दौरानका अन्य तस्बिरहरू: