राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा चाडबाडले छपक्कै छोपेको थियो। भर्खरै मात्र दसैं सकिएको थियो। सुनसान काठमाडौंमा भर्खरै मानिसहरूको व्यस्ता बाक्लिँदै थियो।
राजधानीको चहलपहल छाडेर हामी निस्कियौं–माथिल्लो मुस्ताङ यात्रामा।
बुलेट बाइकर्सहरुको संस्था ‘नासा बुलेट क्लब’ले यो वर्ष मुस्ताङ जाने चाँजो पाँजो मिलाएको थियो।
प्राय ६ महिना या वर्ष दिनमा लामो तथा छोटो दूरीमा रोयल इन्फिल्ड मोटरसाइकल र्याली गरिरहेको क्लबले यो पटक चुनौतीपूर्ण यात्रा गर्ने निधो गरेको थियो।
यसअघि नै मुस्ताङ पुगेको भए पनि मेरा लागि यो यात्रा फरक थियो । यसपालि हाम्रो गन्तव्य जोमसोम वा मुक्तिनाथ मात्र थिएन। हामी पुग्दै थियौ– वैकल्पिक नाकाका रुपमा चर्चा पाएको नेपाल–चीन सीमा कोरालासम्म।
नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार र आन्तरिक पर्यटन प्रवर्धन गर्न भन्दै क्लबका ३३ जनाको जम्बो टोली मुस्ताङ यात्रामा निस्कियो।
कात्तिक ७ गते २४ वटा रोयल इन्फिल्ड र एउटा जिपसहित ३३ जनाको टोलीलाई नेपाल सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शुभकामना दिँदै काठमाडौंबाट बिदा गरे।
माथिल्लो मुस्ताङको नेपाल- चीन सीमा नाका कोरला पुग्न उत्साहित टोलीको लर्को करिब-करिब १ किलोमिटर सडक ढाकेको थियो। यो र्यालीमा मिसिएको मेरा लागि यस्तो यात्रा पहिलो थिएन। सन् २०११ मा ताप्लेजुङको पाथिभरासम्म यात्रा गरेको थिएँ।
हरेक मोटरसाइकलको पछाडि राखिएको ठूला-ठूला राष्ट्रिय झण्डा फहराउँदा बाटो छेउमा उभिएर हामीलाई नहेर्न कोही भेटिएनन्।
प्राय अधिकांश समय ट्राफिक जाममा पर्ने बानी परेको हामीलाई बिहानको समय भएकाले कतै जाममा पर्नु परेन।
नागढुंगामा पुगेर सबैले आ–आफ्नो बाइकको ट्याङ्की फुल गरेसँगै हामीलाई लिड गरिरहेका राम साहले सबैलाई तयार हुन सिठी फुके। राइडरको अन्त्यमा रहेर सबैलाई समेटेर लैजाने जिम्मेवारी क्लब अध्यक्ष प्रकाश लिम्बुले लिए।
त्यसपछि बाइक मेकानिक्स मिथिलेस बाइक मर्मतका लागि आवश्यक सामाग्रीको झोला बोकेर तयारी अवस्थामा थिए। यस्तै लाइनको बिच बिचमा रोमान्स राणा, सुजन श्रेष्ठ, सम्राट वैद्य र प्रज्वल दाहाल राइडरहरूको सेफ्टीको लागि खटिए।
साइरनजडित बाइकमा बसेका रोड लिडरले साइरन बढाउँदै अघि बढेपछि हाम्रो यात्रा नागबेली बाटोहुँदै अगाडि बढ्यो। हेर्दै रहरलाग्दो र्याली देखेर सबैले हामीलाई बाटो छोडिदिन्थे। केहीले तस्बिरसमेत लिइरहेका हुन्थे। व्यस्त सडक भएको स्थानमा नेपाल प्रहरीले हामीलाई स्कर्टिङ गरेको हुन्थ्यो।
घाँसीकुवामा हाम्रो लागि खानाको व्यवस्था गरिएको थियो।
रोमाञ्चक माहोलबिच हामी घाँसी कुवा पुग्दा १२ बजिसकेको थियो। भोकले हो कि भोजनले हो खाना मिठो लाग्यो। त्यसपछि अबेर नगरी हाम्रो यात्रा अगाडि बढ्यो। पहिलो दिन बेनी पुग्ने योजना अनुसार हामी अगाडि बढ्यौं। बिचमा कसैलाई केही समस्या पर्दा साथीहरुसँग भएको रेडियो सेटले अवस्था बुझिरहेको हुन्थ्यो।
कतै कच्ची त कतै पक्की रोडहुँदै अगाडि बढेको हाम्रो यात्रालाई माछापुछ्रे हिमालले पोखरामा मुस्कुराएर स्वागत गर्यो। पोखराको अमरसिंह चोकदेखि एक लाइनमा भट् भट् भटटटटटट गरे र्याली अगाडि बढ्दा हाम्रोतिर अधिकांश पोखरेलीको ध्यान तानिएको थियो।
केही बेरपछि पोखराको उत्तम चोकमा हाम्रो स्वागतका लागि पोखरेली मित्र सुवास गुरूङ आइपुगे। उनले पोखराको बाक्लो जाम छिचोल्दै बैकल्पिक बाटो हुँदै ट्रुपर्स क्लवमा पुर्याए। त्यहाँ हाम्रा लागि जुस सहितको स्वागत रहेछ।
केही बेरको भलाकुसारी पछि करिब साढे चार बजे हामी बेनीतर्फ लाग्यौं।
पोखराका साथीहरू हामीलाई पुर्याउन बागलुङ बसपार्कसम्म गए। पोखराको त्यो चौडा खाली सडक अगाडि देखिएको माछापुछ्रेले हाम्रो यात्रालाई देखेर मुस्कुराइरहेको थियो।
हामी कुस्मा बजार पुग्दासम्म झमक्कै साँझ परेको थियो। ‘अब दिउँसो जस्तो छैन, बाइक अलि होसियारीपूर्वक चलाउनु पर्छ है राति गाह्रो हुन्छ,’ बेला बेलामा रोमान्स, सुजन र सम्म्राटले हामीलाई सम्झाइरहेका हुन्थे।
रातको करिब ८ बजे भुटुङ टुङ टुङ टुङ.... गर्दै बेनी पुगियो।
बेनीको होटल यतिमा हाम्रो बास बस्ने प्रवन्ध मिलाइएको थियो। हाम्रो जम्बो टोलीलाई होटल सञ्चालक एवम् स्थानीय समाजसेवी बिमला तुलाचनले फूलमालासहित भब्य स्वागत गर्नुभयो। यसले हामीलाई १२ घन्टाको थकान बिर्साइदिएको थियो।
दोस्रो दिन
हिजोको थकानले होला राति मजाले निदाइएछ। रोमान्स राणाले कोठा/कोठामा गएर सबै साथीलाई उठाउने काम गरे। फ्रेस भएर चिया पिउन तल झर्दा त हामीभन्दा अगाडिनै प्रकाश, सम्राट, सुजन र लाहुरे ग्रुप बिहानै बेनीलाई एक फन्को लगाएर चिया पिउदै रहेछन्।
हाम्रो टोलीमा सिंगापुर आर्मीमा कार्यरत साथीहरू शोम गुरूङ, मुक्तिजंग पुन, सन्जय थापामगर, प्रकाश लामा, देवेन्द्र लिम्बु र मुकेश मगर पनि थिए। उनीहरू बिदा मनाउन नेपाल आएका बेला हाम्रो यात्रामा निस्किएका थिए।
होटल यतिबाट बिहान ८ बजे निस्किएको हामी बेनी बजारलाई एक फन्को लगाएर अगाडि बढ्यौ।
हिड्ने बेलामा बिमला दिदीले धुप बालेर हाम्रो यात्राको सफलताको शुभकामना दिएर बिदा गरिन्।
आजको यात्रा बेनिदेखि जोमसोमसम्मको थियो। किलोमिटरको हिसावले हिजोभन्दा थोरै भए पनि बाटो अफरोड थियो। हिजोसम्म नेपाल प्रहरीको स्कटिङले यात्रामा केही सहज भए पनि आजबाट प्रहरीको स्कटिङ थिएन। यद्यपी हाम्रो रूटमा पर्ने प्रत्येक प्रहरी कार्यालयमा समन्वय भइसकेको थियो।
बिहानको समय हल्का घाम लागेर तातो/तातो थियो। बजार करिब करिब खुलिसकेको थियो। हाम्रो बाइकको लाइन अनि बुलेटको आवाजले होला सबैको नजर हामी तिरै तानेको थियो। बाटोमा पर्ने घरको झ्याल र कौशीबाट हामिलाई हेर्नेको भीड देखिन्थ्यो। सबैले हात हल्लाउँदै हामीलाई बिदाइ गरे।
गलेश्वर मन्दिरबाटै पक्की बाटो सकियो। अब बाटो पुरै अफरोड। कहीँ कतै समस्या नआओस् भनेर हाम्रा रोड लिडर को–अर्डिनेटर सबै सजक थिए। रोमान्स, सुजन, सम्राट र प्रज्वलले बिच बिचबाट राइडरहरुको हालचाल बुझ्दै थिए।
हरिया डाडा पाखा चिर्दै कच्ची बाटोमा बुलेट उफार्दै कालिगण्डकीको तिरै तिरको यात्रा सोचेभन्दा निकै रोमान्चक बनिरहेको थियो।
आजको खानाको ब्यवस्था मुस्ताङको लेतेमा गरिएको थियो। आदि साथीहरू पुगिसकेका थिए। हामी ५-७ जना अलि वरै थियौ।
त्यही बेला साथी सन्जय थापामगरको बाइक पन्चड भयो। यसको कुनै समस्या थिएन मेकानिक्स मिथिलेस हामीसँगै थिए। उनले बनाइहाल्थे। त्यो खाली समयमा साथीहरू रमाइलो गर्न थाले।
त्यो जाडोमा गीत बजाएर नाच्न थालेको केही बेरमा बाइक बन्यो। त्यसपछि होटल पुगेर खाना खाइयो।
साना साना खोल्सा धेरै भएकाले जुत्ता भिजेकाले केही साथीहरु हिटरमा मोजा सुकाउन लागे भने कोही जाडो धेरै भएकाले हिटर कै अगाडी बसेर निदाइदिए।
केहीबेर पछि हाम्रो नेता सिठी बजाउँदै अगाडि बढेपछि हामी पनि कालिगण्डकीका ठूला ठूला फाँट हेर्दै थसाङ गाउपालिका पुगियो। त्यहाँ हामीलाई आमा समूहले पञ्चेबाजासहितको ठूलै स्वागतको कार्यक्रम राखिएको रहेछ।
थसाङ गाउपालिका अगाडि माला र खादासहित आमा समूह हाम्रो स्वागतको लागि तयार थियो। स्वागतसँगै साथीहरू पन्चेबाजाको तालमा कम्मर मर्काउन थाले।
त्यही बेला बिदेशी पर्यटक पनि हामीसँगै पन्चेबाजाको तालमा नाच्न थाले। त्यहाँ धीत मरून्जेल नाचेपछि चिया नास्ता लिएर अगाडि बढ्यौ।
स्थानीय सबैले यसरी मुस्ताङ आएर मुस्ताङको पर्यटनमा प्रचार प्रसार गरिदिएको भन्दै हाम्रो यात्रामा खुसी देखिन्थे।। साँझ पर्न लागेको थियो। हिमालमा घाम पुगेका थिए। हिमाल टिलिक्क टल्किएर हामीलाई मुस्ताङमा स्वागत गरिरहेको थियो। ठाउँ ठाउँमा बाइक रोक्दै फोटो खिच्दै रमाइलो गर्दा गर्दै जोमसोम पुग्दा झपक्कै साँझ परिसकेछ।
जोमसोमको होटल ट्रेकर्स इनमा हाम्रो बास बस्ने व्यवस्था मिलाएको थियो। सबै बाइक त्यही रोकेर फ्रेस भइ जोमसोम बजार डुल्न निस्कियौ।
एउटा रेष्टुरेन्टमा गएर खाना खाने निर्णय भयो। तब सुरू भयो गीत गाउने/नाच्ने। हाम्रो समूहलाई ४ वटा समूह बनायर गीत गाउने प्रगियोगिता राखियो। रोमान्स राणा जज बने। सबै समूहले राम्रै कोशिस गरे। तर बाजी मारे भने लाहुरे ग्रुपले मारे। त्यसपछि होटल गएर आराम गर्यौ।
तेस्रो दिन
यात्राको तेस्रो दिन बिहानै ओछ्यानबाटै निलगिरीले हिमालले हामीलाई चिहाइरहेको थियो। त्यो चिसोमा तातो कफीसँगै आँखै अगाडीको हिमाल हेर्न पाउदा कस्को मन खुसी नहोला र।
त्यो बिहान हामीलाई जोमसोम उद्योग वाण्ज्यि महासंघले स्वागतको कार्यक्रम राखेको रहेछ।
त्यसपछि सबै जना कार्यक्रमस्थलमा तर्फ लाग्यौ। कार्यक्रममा नेपाल आर्मी, ससस्त्र प्रहरी, नेपाल प्रहरी जोमसोमका प्रमुख, जोमसोमका स्थानीय प्रतिनिधि, जोमसोम उद्योग बाणिज्य महासंघका प्रतिनिधिको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा सबैले आन्तरिक पर्यटनमा हाम्रो टोलीले सहयोग पुर्यायको भन्दै धन्यवाद दिँदै अगाडिको यात्राको शुभकामना दिएर बिदा गरे।
कार्यक्रम सकेर निस्कनै लाग्दा एक जना बुढी आमाले फ्रुटीको प्याकेट दिँदै भन्नुभयो- यो बाटोमा काम लाग्छ लानु है।
उहाँले दिएको माया जिपमा राखेर बाइकमा तेल भरी लागियो अपर मुस्ताङ।
जोमसोमसम्म त केही साथीहरू पहिले पनि यात्रा गरिसकेका थिए। तर, योभन्दा माथीको यात्रा कसैले गरेका थिएनन्।
हामी सबैको लागि अबको यात्रा विल्कुल नयाँ थियो। मनमा उत्साह भरिएको थियो। जोमसोमबाट बिदाई हात हल्लाएपछि एउटा जिपमा आएका केटीहरूको ग्रुपले ‘आइ लभ यू गाइज...’ भन्दै फाल्इङ किस दिँदै गए। हामी झनै फुरूङ्ग।
हाम्रो टोली अघि बढ्यो। मुक्तिनाथ दर्शन गर्न जाने/आउनेको भीडले गाडी रोकेर हामीलाई बाई बाई गर्दै गइरहेका हुन्थे। बाटोमा भेटिएका बच्चादेखि बुढापका सबै हाम्रो र्याली देखेर उत्साहित थिए। सँगैको प्राकृतिक मनोरम दृश्यले झनै मन तानिरहेको थियो।
केही बेरपछि कागबेनी पुगियो। त्यहाँ पनि स्थानीयको आतेमीय स्वागत पाइयो। खादा लगाएर हाम्रो टोलीलाई स्वागत गर्दै यात्राका लागि शुभकामना दिए।
त्यसपछि हाम्रो टोली अगाडि बढ्यो। मुक्तिनाथबाट आएको खोला तर्नुपर्ने भयो। चिसो पानीमा सबै मिलेर एक अर्काको बाइक तार्यौ। त्यतिनै बेला लोमानथाङबाट फर्किएर आएको ३-४ वटा बुलेटको ग्रुप भेटियो। उनीहरू भन्दै थिए - अगाडिको बाटो गाह्रो छ, तपाईहरूलाई समस्या पर्न सक्छ।
हाम्रा साथीहरू जोसिला थिए- केही फरक पर्दैन। बाइक बोकेर भए पनि कोरला नाका पुर्याइन्छ। यति भनेपछि उनीहरू बिस्तारै जानु भन्दै बिदा भए।
बाइक तार्न खोलाको बिचमा रोमान्स बसे, सम्राट र सुजनले बाइक तार्न थाले। बाइक तार्दै गर्दा रोमान्स खोलामा चिप्लीएर चिसो पानीमा चुर्लुम्मै। धन्न चोट चै लागेन। उनी भन्दै थिए- दम छ केही हुन्न।
मेरो बाइक राजेन्द्र दाइले तारिदिनुभयो। म जिप चढेर खोला तरेँ। यति हुँदासम्म भोक लाग्ने बेला भइसकेको थियो। अनि जोमसोमको आमाले दिनुभएको फ्रुटी त्यहाँ काम लग्यो।
त्यसपछि टोली अघि बढ्यो। बाटो त अलिक गाह्रै हो, तर बाटोबाट देखिएको दृश्यले सबै मात बिर्साइएको थियो।
जति हेरे पनि मन नभरिने घरमा बसेर ६० इन्चको टेलिभिजन पर्दामा एचडी सिनेमा हेर्दा के मजा हुन्छ र त्यो भन्दा कयौं गुणा आनन्द, खुल्ला निलो आकाश अनि नांगा डाँडाबाट मिलिरहेको थियो।
बाटैभरि भेटिने बिदेशी पर्यटकले गुड लक.. भन्दै थम्स अपसहित हामीलाई यात्राको शुभकामना दिइरहेका हुन्थे। सबैले हाम्रो त्यो यात्रालाई आफ्नो मोबाइलमा कैद गरेरै लैजान्थे। कोही सेल्फी लिन हततारिन्थे त कोही भिडियो बनाउन लाग्थे।
हामी जस्तै बुलेटमा राइड गरेका बिदेशी पर्यटकले हामीलाई देखाउँदै भन्थे–एडभेन्चर भनेको त यो पो हो त। नेपाली युवाहरुले पनि यस्तो किसिमको राइड गर्ने रहेछन् भन्दै रमाइरहेका हुन्थे।
आजको खाना छुसाङमा व्यवस्था गरिएको थियो। खाना तयार थियो। तर, हामी खानाभन्दा पनि स्याउ बगैचा छिरेका थियौं।
बोटैबाट टिपेर खानुको मजा नै बेग्लै। रसिलोको त कुरै छोडौं एक गाँस मुखमा लियो भने मुखभरि जुसै जुस। साथी प्रज्वल भन्दै थिए- यताका मान्छे किन राता पिरा हुन्छन् भनेको त यस्तो ताजा खाएर पो रै छ।’
यता प्रकाशले रेडियो सेटमा कराउँदै थिए- खाना छिटो खाउँ साथी हो नत्र हामीलाई रातपर्छ।
त्यसपछि चौरीको घ्यू र भात खाइयो।
त्यसैबेला स्थानीय कान्छा गूरूङले हामीसँग भन्दै थिए- हाम्रो यो छुसाङको पनि प्रचार गरिदिनु पर्यो। यहाँ धेरै घुम्ने ठाउँहरू छ, नुन खानी छ, स्याउ र अंगुरको राम्रो उत्पादन हुन्छ।
रोड लिडर राम शाहले सिठी फुकेसँगै हामी कालीगण्डकीको तिरैतिर उकालो लागियो। प्रकृतिको आनन्द लुट्दै हाम्रो यात्रा अगाडि बढ्यो।
हरियाली मात्र कहाँ राम्रो हो र खाली उजाड पहाडै पहाड त्यो मुस्ताङको रमाइलो कम्ति थिएन। हेर्दै जाँदा सिनेमाका पर्दामा देखिएका सिनहरू आँखै अगाडि देख्दा आफैंलाई भाग्यमानी ठाने।
बाटोमा जाँदै गर्दा यात्रीले बेला बेला आफूलाई सहारा मरुभूमीको कुनै ठाउँमा हराईरहेको अनुभुति गर्छ। एक त्याद्रो समेत हरियाली नभएको, कंक्रिडयुक्त वलौटे माटोले भरिएको उजाड मरूभूमी, जहाँ घण्टौं जाँदासम्म बाटोमा कुनै पसल होटल वा एउटा छाप्रो सम्म देखिँदैन।
त्यो प्रकृतिको स्वर्णिम आनन्द लुट्दै अगाडि बढ्यौ। हाम्रो बाटो त्यती सहज थिएन। एउटा उकालो यस्तो आयो कि हाम्रा प्रायः बाइकलाई तान्न हम्मे हम्मे भइरहेको थियो। नाक ठोकिने उकाले अनि हावा त्यस्तै बाइकनै लडाउलाकी जस्तो।
माथी चढ्न नसकेका बाइक कोहीले पछाडिबाट ठेल्ने त कोही तान्ने गर्न थाल्यौ। अर्को समस्या के भने धेरै हाइट भएर होला बलको काम त अलिकति पनि गर्न नसकिने रैछ। स्वावा... स्वावा... सास बढेर फेर्नै गाह्रो हुनेरैछ। तर समूहमा भएकाले सबैले अलिअलि गर्दै उकालो काट्यौ।
त्यसपछि हावाले फरफराएको हाम्रो बाइकको झन्डा अनि वरिपरि हिमाल कति रमाइलो। एकै छिन फोटोसेसन गरी अगाडि बढ्यौ। केही किमी पार गरेपछि फेरि एउटा सानो खोला आयो। खोला सानो भए पनि बाइक पार गर्न निकै कठिन। खोला बगेको छ तर, आइसनै आइस दाँया बाँया सबै हिउँ जमेको छ। अलिकति मिस्टेक भए लडिहाल्ने।
त्यहाँ पनि जसो तसो बाइक तारेर अगाडि बढ्यौ। ‘अब तपाईँहरूलाई अर्को खोला छ त्यो पछि त सहज हुन्छ, पारीबाट फर्किएकाले भन्दै थिए।
दिन ढल्की सकेको थियो। बाटो धेरै थियो अर्को खोला पनि आयो पहिलेको उकालो थियो भने अहिलेको ओराले तर यो पनि पार गर्न गाह्रै रैछ। यस्तै खोला उकालो ओराले गर्दै घामी बजार पुग्दा साँझ परिसकेको थियो।
साँझ परेपछि बाटो भुलिएलाकी भन्ने चै ठूलै चिन्ता परिरहेको थियो। किनकि बाटोको बारेमा हामी कसैलाई केही थाहा थिएन।
डोजरले जताततै खनेर बनाएको बाटोहरू पजल जस्तो जाँदै गर्दा कहाँ टुंगिने हो थाहै नहुने। अध्यारो पुरै भइसकेको थियो अन्दाजको भरमा बाइक कुदिरहेका थिए।
रातको समयमा बाटो थाहा नभए पनि नागबेली बाटो भनेर चाँही प्रस्टै हुन्थ्यो। हामी अगाडि थियौं पछाडिसम्मको लाइन धेरै तल हुँदा बाइकको बत्तीको लाइन हेर्न लायकको देखिन्थ्यो।
रातको समय कहाँ पुगियो थाहा छैन। फोन गर्न खोजेको नेटवर्कले साथ दिएन। अनि रामजीसँग सल्लाह गरेर बाटो नछोडी डाँडामा पुग्यौ।
त्यहाँबाट त केही देखिएला कि भनेको कुनै बस्ती देखिएन। तर, फोन लाग्यो। अनि त्यहाँका प्रहरी इन्चार्ज डोलराज भण्डारीसँगको सल्लाहपछि त्यही बाटो नछोडी अगाडि बढ्यौ।
केही बेर पछि बत्ति बलेको देखियो। जे होस रोड लिडर राम शाहले अन्ततः हामीलाई सुरक्षित तवरले चरङ पुर्याए।
त्यहाँ हाम्रो लागि होटल दामोदर कुन्ड बुक गरिएको रहेछ।
होटलमा तातो पानीले हाम्रो स्वागत गरे। सबैले तातो पानी पिएपछि केही बेरपछि नै खाना खाएर आराम गर्न लाग्यौ।
चौथो दिन
३६०० मिटरको उचाईमा रहेको चरङ एउटा ऐतिहासिक महत्व बोकेको स्थान हो।
तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टले राज्य गरेको यो स्थानमा हेर्नका लागि धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने रहेछन्।
स्थानीय होट व्यवसायी पेमा छिरिङले हामीलाई चरङ घुमाउनु भयो।
छाना भरी दाउरा सुकाएका एकै नासका घरहरूको सुन्दर बस्ती रचङको केही उचाईमा तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको दरबार रहेछ। अर्को छेउमा रहेको गुम्बाबाट देखिने दृश्य साच्चीको लोभलाग्दो थियो। ठूला ठूला नांगा पहाड हेर्दा लाग्छ साच्चीकै स्वर्गमा आइएछ।
करिव ९ सय वर्ष पुरानो यो दरबार र गुम्बा एउटै समयमा बनेको बारे पेमाले हामीलाई जानकारी दिए।
‘हाम्रा भगवान यही छन् यीनले हामीलाई सधै रक्षा गर्छन्,’ उनले धर्मप्रतिको आस्था देखाए।
हामी गुम्बा दर्शन गर्न गयौं। गुम्बा पुरानो भए पनि एकदम भब्य रहेछ। हामी पुग्दा बन्द रहेको गुम्बालाई छिरिङ दाइले हाम्रो लागि भनेर गुम्बा खोलाइदिन लामालाई बोलाउनुभयो।
दर्शन गरियो मनमा शान्ति छायो खै किन हो मलाई गुम्बा भित्रको वातावरण असाध्धै मनपर्छ। त्यहाँ भित्रको वातावरणले मनमा शान्ति ल्याउँछ। अनि त्यहाँ बत्ती बालेर हामी दरबारतर्फ लाग्यौ।
अहिले दरबारमा कोही रहेनछ। राजा जिग्मे दोर्जे परवल विष्टको पनि करिब २ बर्ष पहिले नै मृत्यु भएपछि सबै राजपरिवार लोमान्थाङमा बसोबास गर्नेरहेछन्।
अहिले दरबार संग्राहलयमा परिणत भएको रहेछ। दरवार जिर्ण भइसकेको रहेछ। अनि पेमा दाइ भन्दै हुनुहुन्थ्यो- यस्तो ऐतिहासिक सम्पदा सरकारले संरक्षण गरे हुने थियो। हामी स्थानीयले त के गर्न सक्थ्यौ र?
दरबारभित्र साँघुरो भर्याङ, साना-साना कोठा तर अधिकांश कोठा जिर्ण थिए। काठका दलिनहरु अनि अलि ठूलो एउटा कोठामा आफ्ना देवी देउताका लागि पूजा गरेर बत्ति सधै बालिनेरहेछ। त्यसका लागि एक जना खटिएका रहेछन्।
त्यसपछि माथिल्लो तल्लामा सानो संग्राहलय रहेछ। त्यहाँ तत्कालीन युद्व कलाका सामाग्री, मुस्ताङको कला संस्कृति र राजाका बारेमा बुझ्न पाइनेरहेछ।
त्यसपछि दरवारसँगै एउटा पोखरी रहेछ। त्यो पनि संरक्षणको पर्खाइमा देखिन्थ्यो।
रातै स्याउको बोट घर घरै भएको सुन्दर चरङ गाउँ हेर्दै स्याउ टोक्दै होटलतर्फ लाग्यौ।
हाम्रो मुख्य गन्तब्य लोमानथाङ-कोरला भएकाले हाम्रो टोली त्यहाँबाट अगाडि बढ्यो।
गुगलबाहेक अन्य नदेखेको लोमानथाङ आखिर कस्तो होला भन्ने सबैलाई उत्साह थियो।
बाटोमा अगाडि बढ्यो त्यति चिसो हावा चल्ने रहेछ। पत्रपत्र परेका डाँडा अनि त्यो माथि सेतै हिमाल यस्तै हेर्दा हेर्दै लोमानथाङ त पत्तै नपाइ पुगिसकिएछ।
वेलकम टु लोमानथाङ भनेको बोर्ड राखिएको रहेछ। आजको यात्रा अघिल्लो दिनको तुलनामा सहज र रमाइलोसँग भयो।
सबैको मुखमा रहेको लोमानथाङ घुम्ने रहर त्यो पनि आज पुरा पुरा भयो।
लोमानथाङमा हाम्रो लागि खाना र बासको व्यवस्था सांग्रिला गेष्ट हाउसमा तय थियो। हाम्रो लागि खाना तयार रहेछ।
त्यहाँका अध्यक्षले हामीलाई चाडै कोरला जान भन्नु भयो। धेरै बेर भए हावा धेरे चल्ने उहाले जानकारी दिनुभयो।
हाम्रो ठूलो समूह भएकाले होटल साहुजी अलि अलमलिए पछि हाम्रा फुर्तिला साथीहरू अमन, मुक्तिसंगै प्रज्वलले आफैं खाना पस्किन थाले।
केही साथीहरूलाई खानै पुगेन। फेरि पकाएर खाएपछि हाम्रो हाम्रो यात्रा सीमातिर अगाडि बढ्यो।
रोड लिडरले सिठी फुकेपछि सबै तयार थिए। दामोदर कुन्ड गाउँपालिकाका प्रमुख राजु बिष्ठ हामीसँगै थिए।
लोमानथाङको उचाइ ३७२० मिटर रहेछ। हामी ४८९५ मिटरको उचाइमा जानुपर्ने थियो।
हाम्रा साथी रोमान्सले लेक लाग्ने सम्भावनालाई मध्यनजर गरेर ब्यवस्थितसँग हिडेका रहेछन्। उनी भन्दै थिए- साथी हो लेक लाग्न सक्छ मसँग लसुन छ मुखमा राखिराख्नु है।
अब लागियो कोरला बोर्डरतर्फ बाटो राम्रै रहेछ ४ लेनको काटो बन्दैरहेछ केही ठाउँमा पिच गर्न तयारी अवस्थामा रहेछ। समग्रमा लोमान्थाङबाट कोरला जाने बाटे राम्रो थियो।
कालीगण्डकीको तिरलाई अलिक अगाडि पुगेर छोड्दै उकालो लागेपछि केही घुम्ति रहेछन्। ती घुम्ति उकालो र हाइ अल्टिच्यूटले बाइकको पिकअप कम हुँदै थियो।
उकालो सकिएसँगै आँखाले नभ्याउने फाँट अनि चौडा सडक त्यसपछि सबैको बाइकको स्पिड बढ्यो। अगाडि परैबाट ठूलो बन्दै गरेको भवन देखियो।
अनि सबै एकैठाउँ जम्मा भयौ। सबै खुसीले उफ्रन थाल्यौ। हातमा हात समाएर अंकमाल गर्न थाल्यौ। खुसीको सीमानै रहेन। सबै आइपुगेपछि एक साथ लाइन लागेर अघि बढियो।
२४ नम्बर पिल्लरमा अगाडि पुगेपछि सबैले आ–आफ्नो बाइक पिल्लरको लाइनमा लाइन मिलयर राखे। कोही उफ्रदै थिए, कोही नाँच्ने थिए।
साथी रोमान्स राणा त त्यो माइनस ८ डिग्रीको चिसोमा समेत ज्याकेट खोलेर कुदिरहेका थिए।
राइड कोअर्डिनेटर सुजन श्रेष्ठले स्वर्गमै आएजस्तो लाग्यो भन्दै आफूभन्दा माथि केही छैन मात्र आकास छ भनेर खुसी भएका थिए।
अमन गुरुङ भन्दै थिए-सबैले चाइना बोर्डर कोरला भने पनि कमै मात्र मान्छे यहाँ आउने गर्छन्। त्यसमा आफू बोर्डरमा आइपुग्दा खुसि लाग्यो। त्यस्तै प्रकाश लामा आफ्नो देशको सीमानासम्म आइपुगेर अवलोकन गर्न पाउदा खुसी थिए।
राइडमा रोडलिड गरेर नाकासम्म पुर्याउन सफल रोडलिडर राम शाह जिन्दगीमा पहिलोचोटी चाइना-नेपालको बोर्डरमा पुग्दा खुसी थिए।
मुकेश आले यात्रा सफल भएको मा नाच्दै गर्दा नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बु तीन दिनको यात्राबाट बोर्डर पुग्दा यात्रा अत्यन्त सफल भएको बताए। उनले सबैले एडभेन्चर राइड गरेकोमा धन्यवाद दिए।
केही बेरको रमाईलोपछि ग्रुप फोटोसेसन भयो। बस्न मन हुँदा हुँदै हाइअल्टिच्यूट र चिसो हावाले समस्या होला जस्तो भएपछि कोरलानाकाबाट फर्कियौ।
कोरलाबाट पारी चीनतर्फ जान नदिने रहेछ। त्यसैले पिल्लरको पारीपट्टी चिनीयाँ भूमीमा पाइला टेक्दै चीन पुगेको अनुभव गरेँ।
कोरला-लोमानथाङ बाटोमा झोङ गुफा रहेछ। एउटा पहाड भित्र रहेको गुफा अत्यान्तै रहस्यमयी भएको हामीसँगै रहेका लोघेकर दामोदर कुण्ड गाउँपालिका प्रमुख राजु बिष्टले जानकारी दिए।
उनका अनुसार गुफाको बिषेशता भनेको त्यो समयमा तिब्बतबाट हाचिगावा भन्ने लुटेराहरू आउने, धन सम्पत्ति लुट्ने पशु चैपाया लिएर जाने गर्थे रे। अनि त्यहाँका मानिसले उनीहरूबाट बच्न यही गुफामा गएर बस्ने र प्रतिकार पनि गर्ने भन्ने उद्धेश्यका साथ एउटा पुरै गाउँ यस गुफामा बसेको र आफ्नो जनधन को रक्षा गरेको भन्ने भनाइ रहेछ।
गाउँपालिका प्रमुखले नै हामीलाई गुफा घुमाए। त्यहाँ १०९ वटा कोठा रहेछन्। सबै कोठा साना-साना थिए।
हामीसँगै रहेका सिंगापुर पुलिस फोर्समा कार्यरत देबेन्द्र लिम्बु भन्दै थिए-आफु ट्रेनिङको समयमा ठूला ठूला गुफामा गएर ट्रेनिङ गरिसकेको भए पनि यो गुफा भने विषेश रहेछ।
यो एउटा इतिहाँस बोकेको गुफा भएकाले यसलाई सरकारले संरक्षण गरेर अझ प्रचार प्रसार गरेमा पर्यटनमा ठूलो टेवा पुग्ने अध्यक्ष विष्टले भने।
यस्तै अलि पर यस्तै किसिमको गुफामा नै गुम्बा रहेछ। गुम्बासम्म हामी पुग्दा साँझ परेकाले गुम्बा बन्द थियो। साँझ पर्न लागेकाले लोमानथाङ तर्फ लाग्यौ। होटल पुगेर केही रमाइलो पछि आराम गर्यौ।
यात्राको आज पाँचौ दिन
लोमानथाङ यात्राको पाँचौ बिहान बाहिरी वातावरण अत्यान्त चिसो थियो। धारामा पानी जमेको थियो। होटलको सुविधाले हामीले तातै पानीले हात मुख धोयौ।
चिया नास्ता गरेर लोमानथान बजार घुम्न निस्कियौ। त्यहाँ मुस्ताङे राजाको ठूलो रिसोर्ट रहेछ। सुबिधासम्पन्न रिसोर्टको बाहिरी डिजाइन नै निकै आकर्षक थियो।
राजाको व्यस्तताले उनीसँग भेट्ने समय १ बजे तय भयो। होटलमा खाना खाएर हामी राजालाई भेट्दै अगाडि बढ्यौ।
सबैले राजालाई खादा लगायौ। फोटो लियौं राजासँगको भेटले हाम्रो यो यात्रालाई अझ बढी उचाइमा पुर्यायको मनमा लागिरहेको थियो।
करिब २ बजिसकेको थियो। हामीलाई छुसाङ पुग्नु थियो। बाटो कठिन थियो। त्यसैले हामी ढिला नगरी छुसाङ तर्फ अगाडि बढ्यौं।
धरै दिनको राइडले होला सबैमा राइड कन्फिडेन्ट बढेको थियो। हिजो आउँदाभन्दा फर्कदा सबैले सहज रूपमा राइड गरिरहेका थिए। हामी करिब ८ बजे छुसाङ पुग्यौं।
राइडमा सबै मख्ख थिए। भोलिपल्ट छाराङ पुगेपछि सबैको मस्ति चलिरहेको थियो। बिहान भयो अनि आजको यात्रा लामो थिएन मक्तिनाथसम्मको मात्र भएकाले सबै साथीहरु स्याउ बगानतिर लागे।
स्याउको सिजन सकिन लागिसक्यो भन्दै थिए। तर, स्याउ भने यति धेरै थियो की भूइँमा त्यतीकै बोटमा बोटले नै धान्न नसक्ने स्थितिमा। अनि आफूले बोक्न सक्ने जति टिपेर आइयो र आ–आफ्नो प्याक गरेर लागियो मुक्तिनाथ तिर।
फेरि आयो कागबेनी खोला। यो पटक सबैले राम्रोसँग तारियो। तर हाम्रोभन्दा पनि अर्का बिदेशी ग्रुपले तारेको निकै रोमान्चक हुँदैथियो।
धेरैले बाइक चोपलीरहेका थिए। चिसो पानीमा मान्छेसँगै बाइक लडे पनि उनीहरू यसैमा रमाईरहेका देखिन्थे।
अब हामी मुक्तिनाथ तर्फ उकालो लाग्यौ। बाटो सबै पिच रहेछ। मुक्तिनाथभन्दा केही माथि थोरङ्लापास जाने बाटोको ४२ सय मिटरमा रहेको एक होटलमा पुगेर खाना खाइयो।
त्यहाँ पनि हाइअल्टिच्युटको समस्याले छिटै मुक्तिनाथ बजार तर्फ झर्यौ।
भोलि पल्ट बिहानै रोमान्सले सबैलाई मन्दिर जान उठाए।
मन्दिरमा पुगेर १०८ धारामा नुहाएर पाप पखालियो। मन्दिरअगाडि रहेको कुण्डमा डुबेर पैसासमेत टिपियो। त्यसपछि मन्दिरको दर्शन गरेर फर्कियौं।
अब हामी पोखराका लागि मुक्तिनाथबाट छुट्यौ। पोखरामा एक रात बास बसि कात्तिक १४ गते ८ दिनको सफल रमाइलो एडभेन्चर यात्रा सकेर काठमाडौं आइपुगियो।
समग्रमा यात्रा सफल भयो। सानो टोल, गाउँपालिकाहुँदै देश विकास गरे पक्कै पनि २०२० मा २० लाख पर्यटक नेपाल ल्याउन सकिन्छ। तर, पहिला हाम्रा पुर्वाधारमा ध्यान दिन पर्यो।
लोमान्थाङको पर्यटनमा पनि पहिला त त्यहाँसम्म पुग्ने बाटो छिटोभन्दा छिटो तयार गर्न जरूरि छ। यदी सहज प्रकारको बाटो हुने हो भने लोमानथाङले पर्यटकको चाप धान्न नसक्ने किसिमले आन्तरिक तथा वाह्य पर्याटक आउँछन्।
यसका लागि विभिन्न स–साना खोलामा पुल र सम्भव भएसम्म पिच नभए ग्राभेल रोडसम्मको बाटो आवश्यक छ।