थिएटर ओलम्पिक्स यात्रा भाग ३(भारतमा भएको आठौं थिएटर ओलम्पिक्समा मण्डला थिएटरको नाटक ‘एन्टिगोनी’ मञ्चनमा सहभागी हुन गएका सुरज सुवेदीको यात्रा श्रृंखला।)अशोक होटलमा चेक इन गर्न पर्खँदै गर्दा पर एक जना बुढा मानिसलाई देख्छु। उनको अनुहार परिचित लाग्छ। उनी निर्देशक राजन खतिवडासँग कुराकानी गर्दै छन्।
म नजिक गएँ। उनको कुरा सुनेँ। र आफूलाई चिनाएँ। राजन दाइले ‘सुरज नाटकको समीक्षा गरिरहेका छन्’ भनेर मलाई फुर्क्याइदिनुभयो।
बुढा मानिस खुसी भए।
उनको अनुहार याद छ। उनीसँग अघिल्लो वर्ष साउथ एसियन लिटरेचर फेस्टिवलको लागि दिल्ली जाँदा भेट भएको थियो। रामेन्डु मजुम्दार उनको नाम । उनी बङ्गलादेशका हुन्।
मैले नाटकको बारेमा लेख्नु कुरा सुनेर उनी एक छिन पर्खिन लगाए र आफ्नो झोला तिर लम्किए। फर्किँदा ‘दि वर्ल्ड अफ थिएटर’ नामको एक किताब ल्याए। त्यसमा २७ देशका नाटकहरूबारे लेखिएका लामालामा समालोचनाहरू प्रकाशित छन्।
उनले त्यो किताब मलाई दिए र भने ‘म तिमीले यो किताबमा नेपालको थिएटर बारेमा लेखेको प्रकाशित गर्न चाहन्छु।’
मजुम्दार त्यो किताबको सम्पादक हुन्।
उनले मलाई अँगालो मारे र भर्खरै काठमाडौंमा भएको युएस बंगालाको विमान दुर्घटना भएकोमा दुस्ख व्यक्त गरे।
कुराकानी भावुक बन्यो।
हरेक घटनासँग जोडिने पीडा र संवेदनाका क्षेत्रहरू कति कति विशाल। एउटा होटलमा संयोगले भेटिएका दुई व्यक्तिसम्म त्यसको प्रभाव छ।
भोलिपल्टः
नेसनल स्कुल अफ ड्रामा (एनएसडी) जाँदै छौँ। काठमाण्डौमा हुँदा धेरै सुनेको नाम हो यो। सुनिल पोखरेल, अनुप बराल र बिमल सुवेदी यहाँबाट ग्राजुएट गरेका हुन् भन्ने सुनेको थिएँ। भारतमा पनि त्यहाँ पढ्ने ठुलो क्रेज छ भन्ने कुरा पनि काठमाडौंले नै सुनाएको थियो। गुवाहाटीमा देखेको त्यहाँ पढेका रङ्गकर्मीलाई बोलाउँदा पनि ‘निर्देशक तथा एनएसडी ग्राजुएट’ भन्ने चलन रहेछ।
हाम्रो नाटक एनएसडिमा हैन त्यहाँबाट नजिकैको कमानी अडिटोरियममा प्रदर्शन हुँदैछ। त्यसैले पहिला कमानीमा ओर्लिएर एक छिन बसेपछि मात्र हामी एनएसडी जाँदैछौँ। नयाँ दिल्लीको मण्डीहाउस नजिकै पर्ने त्यो ठाउँ भारतीय फिल्म उद्योगमा उम्दा अभिनयबाट नाम कमाएका नसुरिद्धिन शाह, अनुपम खेर, नवाजुद्धिन सिद्धिकी, इरफान खान, राधिका आप्टे जस्ता कलाकारको ओजको कारण पनि मेरो लागि विशेष बन्दै छ।
बाटो काटिसकेपछि सानो पान पसल आउँछ। पान पसलको पछाडिको भित्तोभरीनै त्यहाँ प्रदर्शन हुन आएका विभिन्न नाटकहरूको पोष्टर लगाइएको छ। हामी त्यो पोष्टर हेर्दै दायाँ लाग्यौं। एक छिन हिँडेपछि मुखौटा नै मुखौटाले ढाकिएको ठुलो गेट आयो।
गेट एनएसडीको हो।
म एनएसडीको लोगोलाई गहिरिएर हेर्छु। त्यहाँ पनि मान्छेको मुखौटा देखिन्छ।
भित्र छिरेपछि कुनै विशाल महोत्सवमा छिरेको जस्तो लाग्यो। नजिकै चौर छ र त्यसको बिचमा भएको ठुलो रुखमा विभिन्न निर्देशकहरूको फोटो झुण्ड्याइएको छ। म केही अनुहार नियाल्छु। त्यहाँ नेपाली नाटकका निर्देशकहरूको पनि फोटो देखिन्छ। खुसी लाग्छ।
[caption id="attachment_151895" align="alignnone" width="1200"]
रुखमा झुण्डिएका निर्देशकका फोटाहरु[/caption]
गेटको देब्रेतिर विभिन्न स्टलहरू छन्। खानेकुरा देखिन लिएर विभिन्न कपडाहरू तथा किताबहरू पनि। वरपर झकिझकाउ पारेर सजाइएको छ। थिएटर ओलम्पिक्स लेखिएका ब्यानरहरू यत्रतत्र छोपिएका छन्। सांस्कृतिक प्रदर्शनी हुने एउटा स्टेज पनि छ।
दयाँतिर ठुलो किताबको प्रतिमा बनाइएको छ छ र त्यसको अझै अगाडि नाटक स्पेशल पुस्तकालय। हामी पुस्तकालय पनि छिर्छौँ । हिन्दीमा लेखिएका धेरै नाटकहरू देखिन्छन्। मलाई नेपालमा पनि त्यस्तै पुस्तकालयमा छिर्न पाए हुन्थ्यो जस्तो लाग्छ। जहाँ नेपालीले लेखेका धेरैभन्दा धेरै नाटकहरू भेटिऊन्।
पुस्तकालयबाट अझै अगाडि पुग्दा एनएसडीभित्र छिर्ने मुख्य गेटमा पुग्यौं। त्यहाँ भित्र छिर्छु। भित्ताभरि एनएसडीमा पढ्ने विद्यार्थीहरूले विभिन्न कालखण्डमा खेलेका नाटकहरूका तस्बिर राखिएका छन्। म ती तस्बिरहरूमा आफूले अहिले चिनेका अनुहारहरू नियाल्न खोज्छु। रमाइलो लाग्छ। र सबैभन्दा रमाइलो त तब लाग्छ जब उक्त भवनभित्र एउटा जिउँदो रूखको फेदनै उभिएको देख्छु। कसैले भनेको सुन्छु ‘पहिला यो भवन थिएन, पछि भवन बनाउँदा पनि यसलाई मासेनन्।’
रुख ती सबै नाटकहरूको साक्षी हो। साक्षीलाई नाटकहरूका तस्बिरहरूबाट कसरी हटाउने?
सौरभ आइग्यो। ऊ जेएनयूमा पढ्छ। केही महिना पहिला छुट्टिमा काठमाडौँ आएको बेला हाम्रो अफिसमा भोलेन्टियरिङ गर्नको लागि आएको थियो। त्यो छोटो बसाइमा हामी एकदमै नजिकियौँ। त्यसले मैले दिल्ली आउनुभन्दा पहिला उसलाई भनेको थिएँ। उ खुसी भएको थियो। जेएनयु बस्ने गरी आउनु भनेको थियो।
उसँगै दिल्ली घुम्न भनेर निस्कियौं। दिल्ली गेट जाने कुरा भयो।
केमा जाने भन्ने कुरा हुँदै गर्दा सौरभले भन्यो ‘एक जना अटो वाला दाइ त्यहाँ धेरैबेर उभिएर यतै हेरिरहनुभएको छ। वहाँलाई लिएर जाँउ न त।’
हामी बाटो काट्यौँ र अगाडि बढ्यौँ। उहाँलाई इन्डिया गेट जाने हो भनेर सुनायौँ।
‘यहाँ नाटक सिकाउँछ हो दाइ?’ उनले सोधेको पहिलो प्रश्न हो यो।
‘हो त दाइ, किन सोध्नुभयो’ मैले दिएको जवाफ।
‘मलाई पनि नाटक सिक्नु थियो तर पेटको मजबुरीले यता आएँ,' उनले भने। मलाई उनको कुरा अचम्म लाग्यो। उनले किन त्यतिन्जेल एनएसडीको गेटमा नियालेका रहेछन् भन्ने पनि बल्ल थाहा भयो।
‘सबैको आफ्नै आफ्नै बाध्यता छ नि दाइ। अनि कमाई त राम्रै होला नि’ म उनलाई सोधेँ।
‘कमाई त ठिकै हो तर अहिले स्वास्थ्यमा थोरै समस्या थपिइरहेको छ। दिल्लीको प्रदूषण यही हो’ उनले भने।
‘अनि एकपल्ट भित्र छिरेर सोध्नुभएको भए हुन्थ्यो नि त। बाटोमा किन उभिनुभएको त अघि?’
‘त्यस्तो पनि सोचेको थिएँ तर फेरि यस्तो ट्याक्सि चालक मान्छे कसरी भित्र जानूँ भनेर अप्ठ्यारो लाग्यो।’
उनको कुरा सुनेर मैले एनएसडी छिर्ने बेलामा गेटमा भेटेको एक जना भाइलाई सम्झेँ। त्यही दिन बिहान ऊ यहाँ पढ्नलाई के गर्नुपर्छ भनेर पुलिसलाई सोधिरहेको थियो। उसलाई त्यहाँ पढ्नु रहेछ। पुलिसले एकपल्ट भित्र गएर बुझ्नु भनेर पठाइदिएका थिए। एक छिन पछि उसलाई भित्र स्टल हेर्दै डुलिरहेको देखेको थिएँ।
[caption id="attachment_151897" align="alignnone" width="1200"]
कमानी अडिटोरियम[/caption]
ऊ पनि त भोलिको नसुरिद्दधिन शाह वा इरफान खान हुन सक्छ। अहिले भित्र छिर्न अन्कनाइरहेको छ। पहिलोपल्ट छिर्न अन्कनाएका कति सफलताहरू यत्रतत्र डुलिरहेका होलान्। त्यो अन्कनाहटको सम्झना कति मिठो हुँदो हो।
चालक दाइ मैले नेपालबाट नाटक लिएर आएको भनेपछि झनै खुसी भए।
ओर्लिने बेला पैसा लिन मानेनन्। मैले जबरजस्ती उनको हातमा पैसा थमाएँ र बेलुका नाटक हेर्न निम्ता दिएँ। उनी आउँछु भनेर मेरो नम्बर लिएर गए। म बेलुका पास बोकेर पर्खिरहेँ तर उनी आएनन्। सायद बाध्यताको लडाँईले उनलाई जित्यो।
इन्डिया गेटमा मानिसहरूको भिड छ। पहिलो विश्वयुद्धमा मारिएका ७० हजार भारतीय सेनाहरूको सम्झनामा बनाइएको विशाल गेट जति भव्य टाढाबाट देखिन्छ त्यतिनै भव्य नजिकबाट पनि छ। लँडाईमा मर्ने सबै सिपाहीहरूको नाम कुँदिएका इँटाहरूले बनेको छ गेट। सौरभले मलाई केही इतिहास बतायो।
त्यहाँ पनि फोटो खिचिदिन तयार मानिसहरू। मलाई तिनीहरूसँग कुराकानी गर्न मन लाग्यो।
सौरभले भन्यो ‘कुराकानी गर्नु। १०० भन्छन् फोटो खिचेको, तपाईँले १० मा गराउनुभयो भने तपाईँ भारत घुम्न सक्नुहुन्छ। यो तपाईँको क्षमताको कुरा हो।’
मलाई आफूलाई जाँच्न मनलाग्यो। एउटा भाइकोमा गएँ। उनले फोटो खिचाएको १०० हो भने। मैले महँगो भयो भनेँ।
कतिमा खिचाउनुहुन्छ भनेर सोधे। हामीबीच एक छिन वार्तालाप भयो। मैले १० मा खिचाउनेभए खिच्छु भनेँ। सौरभ मुसुमुसु हाँस्यो।
‘लु २५ मा गरिदिन्छु। एउटा फोटो खिचाइहेर्नु, मन परेमा धुलाउनु, मन नपरे पैसा दिनु पर्दन,’ भाइले मलाई प्रस्ताव गर्यो।
मलाई मानौं कि जस्तो पनि लागिरहेको थियो तर सौरभले रोक्यो। उसले रोकेपछि जबरजस्ती गरिनँ। पछि राष्ट्रपति भवन जाने बाटो नजिकैको चौरतिर जाँदै गर्दा उसले केही समय पहिला देखेको घटना सुनायो। उनीहरूले त्यसो भनेर फोटो खिचाए भने एकै छिनमा सबैजनाले घेर्छन् रे र फोटो नलिइकन जानै दिँदैनन् रे। त्यस्तो भएमा १०० रुपैयाँ नै पनि तिर्नुपर्ने हुन सक्छ रे।
चौरमा धेरैबेर बसेर हामी फेरि एनएसडी फर्कियौं। एक छिन बार्गेनिङ गरेपछि एक जना अटो चलाउने दाइ हामीलाई लैजान राजी भए।
नीसँग पनि बस्नेबित्तिकै कुराकानी गर्न थालिहालेँ। अरुण गुप्टो सरले वाल्टर बेन्जामिनलाई पढाउँदा ‘फ्लानर’ को बारेमा पढाउनुभएको थियो। फ्लानर त्यो हो जसलाई सहरको बारेमा थाहा हुन्छ र जसले सहरलाई धेरै तरिकाले चिनेको हुन्छ। उहाँ भन्नुहुन्थ्यो ‘ट्याक्सी ड्राइभरहरू फ्लानर हुन सक्छन्।’
म उहाँको कुराबाट प्रभावित भएको छु। त्यसैले पनि नयाँ ठाउँ पुग्दा प्राय गाडी चलाउने मानिसहरूसँग कुराकानी गर्न मन पर्छ। दिल्लीमा पनि त्यस्तै गरिरहेको छु।
उनी १२ वर्षदेखि अटो चलाइरहेका छन्। म नेपालबाट आएको भन्नासाथ उनले नेपालको एक जना भाइलाई सम्झिएँ। रोल्पाको रहेछ त्यो भाइ। उनले गाडी चलाउने साहुको घरमा सेक्युरेटी गार्डका काम गर्थ्यो रे। काम पनि सजिलो नै र मालिकले राम्रै व्यवहार गरेको थियो भन्दै थिए।
पछि एक्कासि काम छोड्छु भनेर नेपाल फर्किएछ। किन भनेर सोध्दा दाइले नै भने ‘दुबई जाने रहर चढेको थियो उसलाई। सायद उतै गयो होला।’
बेलुका कमानी हलमा नाटक प्रदर्शन भयो। हल ठुलो छ। गुवाहाटीमा भएको भन्दा डबल ठुलो। मानिसहरू धेरै बसेका छैनन् तर हलको अन्त्यमा एनएसडीको लागि भिडियो खिच्नेहरू तयार छन्। एनएसडीले प्रविधिमा खर्च गरेको जस्तो प्रचारप्रसारमा खर्च नगरेको हो कि? वा प्रचारप्रसार भएर पनि दिल्लीका मानिसहरू आउन नपाएका हुन्? मैले बुझ्न सकिनँ।
नाटक सकिएको भोलिपल्ट दिनभर दिल्ली बस्ने कार्यक्रम छ। त्यो दिन खासै काम छैन। सबै जना यताउता लागिरहेका छन्। मलाई भने दिल्लीको घाममा कतै जाने जाँगर छैन। बरु एनएसडीकै आँगनको दुबोमा पल्टिएर गफ गर्न निको लाग्छ। म एक्लै हुँदिन।
हामी घरीघरी यताउता जान्छौँ र फर्किएर त्यही चौरमा आइहाल्छौँ। कसैसँग फोन नभएकाले सम्पर्क गर्न सकिँदैन त्यसैले कसैलाई भेट्नु पर्यो भने एक छिन खोज्ने र भेट भएन भने त्यहाँ चौरमा गएर बसिहाल्ने। सबै जना भेटिने ठाउँ भएपछि फोनको पनि काम नपर्ने रहेछ।
बेलुका म, कलाकार सोमनाथ खनाल, अनुप न्यौपाने र फोटोग्राफर नवीन बाबु गुरुङ जवाहरूलाल नेहरू युनिभर्सिटी (जेएनयु) घुम्न गयौं। उभरले सौरभ बस्ने चन्द्रभागा होस्टलको गेटमा पुर्याइदियो। रातको लगभग ९ बज्न लागिसक्दा पनि जेएनयु पुरै जागा छ। मानिसहरू कोही ब्याडमिन्टन खेलिरहेका छन् त कोही कतै बसेर गफ गरिरहेका छन्। सौरभ भन्छ ‘पहिलापहिला त रातभर यस्तै हुन्थ्यो रे, अहिले ३ बजेसम्म यस्तै हुन्छ।’
उसले हामीलाई यताउता घुमायो। कलेजको पोलिटिक्सको बारेमा सुनायो। त्यहाँ एक जना प्रोफेसरले यौन दुर्व्यवहार गरेको कुराले माहौल तातिरहेको छ। ऊ भन्छ ‘माहौल तातिरहन्छ, तब न जेएनयु।’
दिल्लीमा उभर पाइन्छ। त्यो भनेको कारमा लिफ्ट मागेर जाने सिस्टम हो। मैले दिल्ली बसाइभर धेरै पल्ट उभर चढेँ। धेरै व्यक्तिहरूसँग कुराकानी गरेँ। उभर त्यहाँ आएको धेरै भएको छैन। मानिसहरूले नयाँ गाडी किनेर होस् वा भइरहेकै गाडी होस् उभरको नेटवर्कमा रजिष्टर गर्नुपर्छ। त्यसको एप डाउनलोड गर्नेहरूले लोकेसनको सहायताले खोज्दा नजिकै भएको गाडीलाई लिफ्ट दिनको लागि बोलाउन सक्छ्न्। २ जनासम्म लिफ्ट मागेर चढ्ने पाइन्छ। त्यसरी पैसा पनि सस्तो पर्छ।
म उभरमा चढ्छु र कुराकानी गर्छु।
एक ड्राइभर दाइ छन्। उनले गाडी चलाउन थालेदेखि नै उभर जोडेका रहेछन्। ग्राहक भेट्न सजिलो भएको छ उनलाई तर उभर पहिलाजस्तो नभएकोमा गुनासो पनि गरे।
‘पहिला उभरले प्रतिशत धेरै दिन्थ्यो। कमिसन पनि दिन्थ्यो। अहिले केही पनि दिँदैन। दिनभरमा अटोवालाले कमाउनेजति पनि कमाउन मुस्किल पर्छ कहिलेकाहीँ। पहिला धेरै दिएर पल्कायो र बानी लगायो, अहिले लुटिरहेको छ। उभर चढ्नेहरूलाई मात्र रमाइलो हो,’ उनले भने।
म ब्रिटिसले भारतमा कफीको लत लगाएको कहानी सम्झिन्छु। ‘अमेरिकानाइजेसन’ को पुँजीवादी पञ्जाले कसरी जकडिरहेको छ भन्ने कुरा सुनेर अत्यास लाग्छ। यदि उसको जस्तै उकुसमुकुस अरूको पनि होला त? के उसले भनेको जस्तै ‘पहिला मोहोर दिएर राजाले दास बनाउँथे, अहिले उभरले बनाउँदै छ’ सबैलाई परेको होला।
सबैको त रहेन रहेछ। अरू पनि ड्राइभरहरूसँग कुरा गरेँ। कसैलाई पहिला अटो चलाएको जस्तो दुःख नभएकोमा खुसी लागेको रहेछ। कसैले त्यही गाडीमा परिवारलाई ताजमहल पनि घुमाउन लगेका रहेछन्। कसैले गाडी चलाएको ३० वर्षमा पहिलोपल्ट यस्तो प्रविधि चलाउन पाएकामा खुसी छन्। कसैलाई एकआपसमा नचिनेका फरक फरक मानिसहरू चढ्दा कम हल्ला हुने गरेकोमा आनन्द लागेको छ। कसैलाई बुढेसकालमा प्रविधि सिक्नुपरेपनि अहिले चलाउन रमाइलो भएको छ।
[caption id="attachment_151894" align="alignnone" width="1200"]
नेसनल स्कुल अफ ड्रामाको गेट[/caption]
सहरमा हरेक चिज फरक फरक अनुभवमा बाँडिदा रहेछन्।
अटो चलाउने एक जना दाइ नेपाली भेटिए। हामीले हिन्दीमा सोधेको पहिलो वाक्यमै उनले नेपाली हो भनेर चिनिहालेछन्। नेपालीमै सोधिहाले ‘भन्नु भाइहरू कहाँ जाने?’
उनी १४ वर्षदेखि दिल्लीमा रहेछन्। घर इटहरी हो। दिल्लीमा पनि बस्छन् र नेपालमा पनि। नागरिकता र रासन कार्ड दुवै छ। भन्छन् ‘न उता चटक्क छोड्न सकिन्छ न यता।’ उनले दुःख गरेर कमाएको पैसाले छोराछोरी पढाइरहेका रहेछन्। उनी ‘ल राष्ट्रपति भवन नजिकैबाट हेरिहाल्नु भाइहरू’ भनेर नजिकैबाट लगिदिए। राष्ट्रपति भवनबाट इन्डिया गेट झनै सुन्दर देखियो।
अर्का एक जना दाइ १९७१ देखि दिल्लीमा गाडी चलाइरहेका छन्। त्यस बेला दिल्ली राजनैतिक ठाँउमात्र थियो। आर्थिक रूपमा खासै चहलपहल बढिसकेको थिएन। काम पाउन गाह्रो थियो। उनीहरू एयरपोर्टको पछाडि बस्थे। दुःख गर्थे।
उनले दिल्लीमा भएका धेरै राजनैतिक परिवर्तन देखे। नयाँ नयाँ पार्टीहरू पालैपालो सत्तामा पुगेका छन्। सबैले यो गर्छु त्यो गर्छु भनेको सुन्छन्।
‘अनि नयाँ पार्टी आएको फरक कस्तो छ त दाइ’ उनले वैकल्पिक शक्तिको विषयमा केही जवाफ देलान् भन्ने आशा लाग्यो।
‘फरक पर्दै छ। ड्राइभिङ लाइसेन्स लिन सजिलो भयो। भ्रष्टाचार पनि घटेको हो कि जस्तो लाग्छ। नयाँ मान्छे र पुस्ता बाठा छन्। सिस्टम प्रति सचेत हुँदै छन्। तपाईँ यो गाडीमा उठेको भन्दा धेरै पैसा तिर्नुहुन्न। म यो मिटरमा नगए उभरले चलाउन दिँदैन। यसरीनै सबै बाँधिने हुन्।’
‘अनि त्यो पर्याप्त छ त’ मैले सोधेँ।
‘आम आदमी पार्टीले गरिबको समस्या सुन्छ जस्तो लाग्छ । तर सँगसँगै अर्को कुरा के छ भने उ आएपछि दिल्लीमा धेरै फ्लाइ ओभर थपिएका छैनन्। पहिलाको सरकाले जे जे गरेको थियो त्यही चलिरहेको छ। यस्तै चल्ने हो भने त उ आएको र नआएको के फरक भयो? हेरौँ उसले करोडौँलाई रोजगारी दिन सक्छ कि सक्दैन।’
ड्राइभरहरूसँगको कुराकानीबाट एउटै कुरा निश्चित हुन्छु ‘मान्छे मात्र हैन विकासका पनि धेरै पाटाहरू छन्। एकातिरको विकासले अर्को तिरको विकासलाई रोक्यो भने पनि त्यो विकास नहुँदो रहेछ। समग्रतामा विकास हुनु धेरै कठिन रहेछ।’
नाटकसँग दिल्ली यात्रामा गएको मलाई दिल्लीका रियल पात्रहरूले धेरैथोक सोच्ने बनाइदिएका छन्। एनएसडी अगाडि उभिएका ती अटो वाला दाइ त्यो दिन नाटक हेर्न आएका भए के हुन्थ्यो? भारतमा काम गर्ने त्यो भाइ युएई गयो कि गएन? फर्कियो कि फर्किएन? ती नेपाली दाइले बुढेसकालमा नेपाल छोड्लान् कि भारत छोड्लान्? स्टल डुलिरहेको त्यो भाइ त्यहाँ पढ्न थाल्ला कि नथाल्ला?
मान्छेहरूसँग भेट भएपछि नयाँ नयाँ प्रश्नहरू थपिएका छन्। र ती पात्रहरूलाई काठमाडौंका विभिन्न पात्रहरूसँग तुलना गर्न खोज्छु। तुलना धुमिल धुमिल हुँदै जान्छन् ।
अब समग्र नाटक यात्राको सिकाइलाई एकैठाँउमा समेट्नु छ।
क्रमशः