निर्वाचन पोस्टमर्टम शृंखला- २
हामीले यो स्टोरी लेख्दासम्म ३४ हजार चार सय ५० जनप्रतिनिधिको मतपरिणाम आइसकेको छ। त्यो भनेको ९८ प्रतिशत परिणाम हो।
अहिलेसम्म सबैभन्दा धेरै ४४ प्रतिशत जनप्रतिनिधि नेपाली कांग्रेसका निर्वाचित भएका छन्। २७ प्रतिशत जनप्रतिनिधिसहित एमाले दोस्रोमा छ। १६ प्रतिशत जनप्रतिनिधिसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।
त्यस्तै जनता समाजवादी पार्टीले ४ प्रतिशत जनप्रतिनिधि जितेको छ भने नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दुवैले समान तीन-तीन प्रतिशत भन्दा कम जनप्रतिनिधि जितेका छन्।
हेर्नुस् ग्राफ १:
यो स्थानीय निर्वाचनको एउटा सुखद् पक्ष धेरै स्थानीय सरकारमा यसपालि ठूलो संख्यामा तरूण जनप्रतिनिधि निर्वाचित भएका छन्। ४० वर्ष मुनिका जनप्रतिनिधिनै ४१ प्रतिशत छन्।
सबैभन्दा धेरै तन्नेरी जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। यो यस कारण पनि स्वभाविक छ कि, सबैभन्दा ठूलो संख्यामा कांग्रेसकै जनप्रतिनिधि निर्वाचित भएका छन्।
यसपालि २१ देखि ३० वर्षका जनप्रतिनिधि नै ३३ सय ८० जना चुनिएका छन्। जनप्रतिनिधि उठ्न कम्तिमा २१ वर्ष पुगेको हुनुपर्छ।
त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका १० हजार ८ सय ५० जना चुनिएका छन्।
यी दुई उमेर समूहलाई एक ठाँउ राख्ने हो भने सबैभन्दा धेरै जनप्रतिनिधि अर्थात ४१ प्रतिशत यसै समूहबाट निर्वाचित भएका छन्। त्यसले हाम्रो स्थानीय सरकारमा तरूण जनप्रतिनिधिको बढ्दो उपस्थितिलाई देखाउँछ।
दश वर्षको उमेर समूहलाई मात्र हेर्ने हो भने सबैभन्दा धेरै जनप्रतिनिधि ४१ देखि ५० वर्ष उमेर समूहका छन्। यो समूहका प्रतिनिधि १० हजार ९ सय ९० जना छन्।
अरू कुन समूहका जनप्रतिनिधि कति निर्वाचित भएका छन्, हेर्नुहोस् तलका ग्राफमा।