म काठमाडौंको बासिन्दा हुँ, त्यसैले स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकाको मतगणनालाई नजिकबाट हेरिरहेको छु।
अहिलेसम्म मतगणना भएका वडा कांग्रेस र एमालेका प्रभाव क्षेत्र हुन्। त्यहाँ सामाजिक-आर्थिक हिसाबले सबै किसिमका मानिसको बसोबस रहँदै आएको छ। यसपालि ती सबै वडामा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले समान र एकनासले मत पाएको देखिन्छ।
यसको अर्थ, कुनै एक ठाउँको कुनै एउटा उमेर समूहका मान्छेले मात्र बालेन शाहलाई भोट दिइरहेका छैनन्। उनले सराबरी सबैतिरका सबै उमेर समूहको भोट पाइरहेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका परम्परागत मतदाताहरूले पनि उनलाई भोट दिएका छन्। वडा स्तरमा कांग्रेस र एमालेलाई भोट दिएका मतदाताले पनि मेयरमा बालेन शाहलाई नै हालेको देखिन्छ।
उदाहरणका लागि, वडा नम्बर १ मा पर्ने नक्साल कांग्रेसको प्रभाव भएको ठाउँ हो भने वडा नम्बर ३२ मा एमाले एकदमै बलियो छ। यी दुवै ठाउँमा बालेनले कांग्रेस र एमालेका मेयर उम्मेदवारले भन्दा बढी मत पाएका छन्।
अघिल्लो स्थानीय चुनावमा पनि विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले संयुक्त रूपमा ४२ हजार मत ल्याएका थिए। त्यसको संकेत राजनीतिक दलहरूले बुझ्नुपर्थ्यो।
म मेरै पार्टीको कुरा गर्छु। अघिल्लो चुनावमा रञ्जु दर्शना र किशोर थापाले पाएको मतको संकेतअनुसार हामीले पार्टीगत रूपमा जुन सुधार गर्नुपर्थ्यो, त्यो गरेनौं। काठमाडौंका मतदातालाई जुन भरोसा दिलाउन सक्नुपर्थ्यो, त्यो दिलाउन सकेनौं। हामीले जसरी आफूलाई प्रस्तुत गर्नुपर्थ्यो, त्यसरी प्रस्तुत हुन सकेनौं।
हामीले अघिल्लोपटक विवेकशील र साझाले पाएको मत यसपालि फिर्ता आइहाल्छ भनेर एकदमै हलुका ढंगमा लियौं। अहिले त्यसैको नतिजा देखिएको हो।
अर्कातिर, एउटा नौजवान जसले यत्रो मत र जनविश्वास प्राप्त गरेका छन्, म त्यसको अवमूल्यन गर्न चाहन्न। मतदातालाई हामीसँग चित्त बुझेन, त्यसैले उनीहरूले बालेन शाहलाई मत दिए। यति मात्र होइन, बालेनले पनि आफ्नो तर्फबाट जनता आकर्षित गर्न सफल भए।
जसरी उनले चुनावी मैदानमा आफूलाई प्रस्तुत गरे, उनले जनतालाई आफ्नो अवधारणामा भरोसा दिलाउन सकेछन् भन्ने हामीले बुझ्नुपर्छ। आफ्नो कुरा बुझाउन सकेछन्, जनतालाई रिझाउन सकेछन्, मतदातालाई तिमीहरूको नेतृत्व गर्छु भनेर मनाएछन् र भरोसा आर्जन गर्न सकेछन् भनेर हामीले स्वीकार गर्नैपर्छ।
हामी जहिले पनि परम्परागत राजनीतिभन्दा बाहिर गएर आउने परिणामलाई एउटा दृष्टिबाट मात्र हेर्छौं। जस्तो भइरहेको छ, जे भइरहेको छ त्यसमा चित्त नबुझेर मतदाताले विपरीत प्रतिक्रिया दियो भन्छौं। तर त्यो एउटा पक्ष मात्र हो।
हामीले विकल्प दिनेले मतदातालाई भरोसा दिलाउन सक्यो भन्ने कुरा पनि हेर्नुपर्छ।
जहाँसम्म मतदाताले राजनीतिक दलप्रति देखाएको प्रतिक्रिया मान्ने कुरा छ, निर्वाचन परिणामले दिने संकेतलाई राजनीतिक दलहरूले बुझ्यो, त्यसअनुसार काम गर्यो र सुधार गर्यो भने त्यसले दलहरूलाई नै फाइदा हुन्छ। हामी जनताले दिएको सन्देश बुझेर आफूलाई सच्याउने प्रयास गर्छौं।
बालेन शाहले जिते भने राजनीतिक दलले सहयोग गर्दैनन् भन्ने जुन सवाल छ, त्यस्तो चाहिँ हुँदैन। म काठमाडौंको सांसद हुँ। गएको पाँच वर्ष मैले काठमाडौंको निर्वाचित नगरप्रमुखसँग स्वास्थ्य र पूर्वाधार विकासमा साझेदारी गरेरै काम गर्न खोजेको थिएँ। साझेदारी गरेर काम गर्ने त हाम्रो पनि चाहना हुन्छ, आवश्यकता पनि हुन्छ। त्यसैअनुसार म एमालेसँग साझेदारी गर्न गएको हुँ। चाहे त्यो कोभिड महामारी बेला होस् वा काठमाडौंको स्वास्थ्य प्रणाली सुधार गर्ने विषय लिएर होस्, म काठमाडौंको सांसदका रूपमा विद्यासुन्दर शाक्यकहाँ सहकार्य निम्ति गएकै हो। तर दुर्भाग्यवश हामीले ठाउँ पाएनौं।
म काठमाडौंको सांसदका हिसाबले यहाँको स्थानीय तहमा निर्वाचित भएर आउने जोसुकै जनप्रतिनिधि वा अहिलेकै ट्रेन्ड हेर्दा बालेन शाह निर्वाचित भएर आए पनि साझेदारीमै काम गर्न चाहन्छु। सँगै काम गरौं, परिणाम दिऊँ भन्ने नै हाम्रो मनसाय हुन्छ।
त्यसैले काठमाडौं महानगरमा निर्वाचित भएर आउने जनप्रतिनिधिलाई हाम्रो पूर्ण सहयोग हुन्छ, साझेदारी हुन्छ। त्यसलाई कसरी लिने भन्ने कुरा निर्वाचित भएर आउनेहरूको सोचाइमा भर पर्छ।
यसअघि विद्यासुन्दर शाक्यले जित्नुभएका बेला पनि वडाहरूमा कांग्रेसले जितेको थियो। काम गर्न खोजेको तर कांग्रेसका वडाध्यक्षले गर्न दिएनन् वा सहयोग गरेनन् भनेर शाक्यज्यूले एकपटक पनि कतै गुनासो गर्नुपरेको छ र?
कांग्रेसबाट जितेर गएका वडाध्यक्षहरूको पनि मेयर जो भए पनि मिलेर काम गरौं र आफ्नो वडाको सर्वोत्तम विकास गरौं भन्ने नै ध्येय हुन्छ।
अब देशभर जारी मतगणनाको परिणामबारे कुरा गरौं। नेपाली कांग्रेसले धेरै ठाउँ जित्छ र पहिलो पार्टी हुन्छ भन्ने थियो। हामी एमालेलाई राम्रो संख्याले पछि छाड्छौं भन्ने थियो। अहिलेसम्मको परिणाम हेर्दा त्यस्तै भइरहेको छ।
कतिपय महानगर र उपमहानगरपालिकाहरूको अहिलेसम्मको रूझानका आधारमा अन्तिम परिणाम अनुमान लगाउन त सकिन्छ तर वडा-वडामा कसको पकड कति छ भन्नेले धेरै कुरा निर्धारण गर्ने भएकाले अझै आकलन नमिल्न सक्छ। त्यसको निम्ति चाहिँ कुर्नुपर्ने छ।
हाम्रो अरू पार्टीसँग गठबन्धन भएको पनि महानगर र उपमहानगरमा हो। त्यसैले तालमेल वा गठबन्धनलाई आमजनताले कसरी लिएछन् भन्ने बुझ्न पनि त्यहाँ अझै केही समय हेर्नुपर्ने हुन्छ।
कतिपय ठाउँमा हामीले राम्रो गर्न सकेनौं भन्ने मलाई लागेको छ। त्यसका केही कारण छन्। सामान्यतया पुरानो मान्छे दोहोर्याएका धेरै ठाउँमा हामी हारेका छौं। उम्मेदवार दोहोर्याएको मतदाताले मन पराएनन्। गाउँ र नगरपालिकामै पनि त्यो देखियो।
हाम्रो पार्टी अधिवेशनलगत्तैको अवस्था र गठबन्धनका कारण समयमा निर्णय नगरेकाले पनि चुनावी परिणाम प्रभावित भएको छ। यसपालि कांग्रेसले क्षेत्र, जिल्ला र केन्द्रबाट उम्मेदवारी छनौट गर्यो। यी तीन तहबीच समन्वय भएन। त्यसको घाटा भएको छ। त्यो मिलाउन सकेको भए अझ राम्रो हुन्थ्यो।
घात-अन्तरघात गर्ने नेपाली कांग्रेसभित्रको परम्परागत समस्या हो। उम्मेदवार मन नपरे कार्यकर्ताले भोटै नदिने र हराइदिने समस्या योपटक पनि दोहोरियो। असन्तुष्ट साथीहरूले अर्कोतिर मतदान गरिदिएर प्रतिक्रिया दिँदा हामीले कतिपय ठाउँ गुमाएका छौं।
नेकपा विभाजन, एमालेले आफ्नै सरकार र पार्टी सम्हाल्न नसकेको अवस्था लगायत परिस्थितिका आधारमा हामीले अझ धेरै राम्रो गर्न सक्थ्यौं भन्ने मलाई लाग्छ। मलाई लाग्ने मात्र होइन, तथ्यांक आँकडामा पनि त्यो देखिन्छ।
गठबन्धन गरेर हामीलाई केही ठाउँमा फाइदा भएको छ। कति ठाउँमा घाटा पनि भएको छ। तर मलाई एक्लै लडेको भए पनि नेपाली कांग्रेसको मत यसपालि बढ्थ्यो भन्ने लाग्छ। अहिले नजितेका कति ठाउँमा जित्थ्यौं होला। कति ठाउँमा हार्थ्यौं पनि होला। कुनै ठाउँमा गठबन्धन गरेकाले उनीहरूको मत यता आएर हामीलाई गठबन्धन ठिक छ भन्ने लागेको होला। तर कति हामीले जित्ने ठाउँ हार्यौं, आफ्नो उम्मेदवार नै उठाउन पाएनौं। गठबन्धन गरेर पनि हारेका ठाउँहरू छन्।
हाम्रो जम्माजम्मी ३०-३२ प्रतिशत मत अहिले छ। हामीले एक्लै लडेका भए पनि पाँच प्रतिशत अरू भोट थप्थ्यौं। ती नयाँ मतदाता कांग्रेसका हुन्थे।
जहाँसम्म गठबन्धन गरे पनि कांग्रेसका मतदाताले अरूलाई भोट हालेनन्, कांग्रेसले मात्रै अरू पार्टीका मत तान्यो भन्ने सवाल छ, हामीले यही त भन्दै आएको हो। नेपाली कांग्रेसका मतदातालाई आफ्नोबाहेक अर्को चुनाव चिह्नमा मत हाल्न लगाउनु निकै गाह्रो कुरा हो। अरू पार्टीबाट पनि कहीँ हामीलाई मत आएको छ, कहीँ आएको छैन।
गठबन्धन गरेका धेरै ठाउँमा हाम्रो ८० छ, उनीहरूको २० छ। उनीहरूले थोरै दिए हाम्रो जित हुन्छ। तर उनीहरूको त आधार नै कम छ। हाम्रो जाँदा धेरै जान्छ। अर्को कुरा, हामीसँग संगठित मतदाता छैनन्। कांग्रेसलाई हजार मत खस्छ भने चार-पाँच सय मात्र पार्टीसँग आबद्ध मतदाता हुन्। सदस्य वा सदस्यको तत्काल प्रभावमा रहेका मतदाता त्यत्ति हो।
हाम्रा मतदाता कम्युनिस्ट पार्टीका भन्दा फरक छन् जो अलि खुला छन्, हाम्रो नियन्त्रणमा छैनन्। पार्टीसँग उनीहरूको सम्बन्ध आदेशपालकको जस्तो छैन। पार्टीले भन्दैमा उनीहरू अरू चिह्नमा भोट हाल्दैनन्। त्यही कुरा मैले महिनादिनसम्म भन्दै आएको थिएँ। यसमा कांग्रेसका मतदाताले धोका दियो भनेर अर्को पार्टीले भन्छ भने उनीहरूले कुरा नबुझेको हो।
काठमाडौं लगायत कतिपय ठाउँका मतदाताले दिएको सुधारको सन्देशलाई भने अब राजनीतिक दलहरूले सुन्नुपर्छ। कांग्रेसले त झन् नसुनी हुन्न। मतदाताले सुधार गरेर अघि बढ्न कांग्रेसलाई दबाब दिएका छन्।
कांग्रेसले तत्कालै गर्नुपर्ने सुधार भनेको उम्मेदवारी चयन प्रक्रियामा हो। चुनावमा देशभरि हुने पार्टीगत अन्तरघातको समस्या सल्टाउने गरी उम्मेदवारी चयनको परिपाटी बदल्नुपर्छ कि भन्ने सामान्य छलफल भइरहेको थियो। हामीकहाँ उम्मेदवारका आकांक्षी असाध्यै धेरै हुन्छन्। अन्तिममा एउटा त छान्नैपर्छ। मैले गरे पनि, जसले गरे पनि उम्मेदवार चयनमा असन्तुष्टि हुन्छ नै। त्यो असन्तुष्टिले उम्मेदवारलाई असहयोग गर्ने रोग छ। यो झन् गहिरो हुँदै गयो।
आजसम्मको प्रक्रियामा उम्मेदवारी छान्ने बेला जनताको जुन चाहना छ, त्यो हामीकहाँ आइपुग्दैन। हामी बन्द कोठामा बसेर उम्मेदवार छान्छौं। यो बदलेर अझै खुला, अझै पारदर्शी र अझै सहभागितामूलक बनाउनुपर्ने छ। यसका दुई-तीन तरिका छन्।
एउटा तरिका भनेको आमसदस्यमाझ इच्छुकमध्ये एउटा उम्मेदवार छान्न मतदान गराउने हो। सदस्य र बाहिरका मान्छेलाई समेत उम्मेदवार छान्न दिने कि भन्ने कुरा पनि छ।
यस्ता तरिकाहरूमा सामान्य छलफल सुरू भएको भए पनि काठमाडौं लगायत ठाउँमा आएको मतपरिणामले त्यसलाई गति दिन्छ कि भन्ने मलाई लागेको छ। यो पनि सकारात्मक कुरा हो।
(गगन थापासँग सेतोपाटीका शोभा शर्माले गरेको कुराकानीमा आधारित)
यो पनि हेर्नुहोस्: