स्थलगत
स्थानीय चुनाव हुन तीन दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंको मेयरमा जनताले कसलाई छान्छन् भन्ने चासो उत्कर्षमा पुग्न लागेको छ।
सेतोपाटीले पछिल्ला केही दिनदेखि काठमाडौं महानगरका मतदातासँग भेटेर उनीहरूका चासो र उनीहरूले चुन्न चाहेको मेयरबारे कुरा गरिरहेको छ। पहिलो चरणमा हामीले टेकुदेखि ठमेलसम्मका १२ वटा वडामा फैलिएको मुख्य नेवार बस्तीका २०० मतदातासँग कुरा गरेर स्टोरी प्रकाशित गरिसकेका छौं। (हेर्नुहोस्: काठमाडौंको भित्री नेवार बस्तीमा केशव स्थापित, सिर्जना सिंह र बालेन शाहमध्ये को बलियो?)
दोस्रो चरणमा हामीले भित्री नेवार बस्ती बाहेकका २० वटा वडाका मतदातासँग कुरा गरेका छौं।
हामीले पछिल्ला केही दिनमा नक्साल, हाँडिगाउँ, बालुवाटार, महाराजगन्ज, लाजिम्पाट, सामाखुसी, बालाजु, नयाँबजार, सोह्रखुट्टे, स्वयम्भू, कालिमाटी, बाफल, रविभवन, कलंकी, कुलेश्वर, बानेश्वर, शान्तिनगर, कोटेश्वर, नरेफाँट, बौद्ध, महांकाल, कुमारीगाल, गौरीघाट, चाबहिल, पशुपति लगायत ठाउँका ३३० मतदातासँग उनीहरूकै टोल, गल्ली र चोकमा भेटेर कुराकानी गरेका हौं।
भित्री नेवार बस्तीमा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहबीच मुख्य प्रतिस्पर्धा देखिन्थ्यो भने स्वतन्त्र उम्मेदवार बालेन शाह तेस्रो स्थानमा थिए। भित्री बस्ती बाहेकका २० वडामा भने सबभन्दा धेरै मतदाताले शाहलाई मत दिने बताएका छन्।
हामीले कुरा गरेका ३३० मतदातामध्ये १०३ जना अर्थात ३१ प्रतिशतले बालेन शाहलाई भोट दिने बताए। त्यस्तै, ६५ जना अर्थात झन्डै २० प्रतिशतले एमालेका केशव स्थापितलाई र ५१ जना अर्थात १५ प्रतिशतले नेपाली कांग्रेसकी सिर्जना सिंहलाई भोट दिने बताए।
यी तीन जना उम्मेदवारबाहेक राप्रपाका मदनदास श्रेष्ठलाई २४ जनाले र स्वतन्त्र उम्मेदवार सुमन सायमिलाई १६ जनाले भोट दिन्छु भने। यसबाहेक अन्य उम्मेदवारलाई मतदाताहरूले लगभग सम्झिएनन्। ५३ जना मतदाताले भने अझै निर्णय गरिनसकेको बताए।
वैशाख ३० गते भोट हाल्ने दिन मतदाताले यीमध्ये कसलाई रोज्छन्, त्यो त अन्तिम मतपरिणामले नै बताउनेछ। कतिपय मतदताले भोट हाल्ने दिन मात्रै अन्तिम निर्णय गर्ने बताएका छन्। तर अहिलेसम्म मतदाताको कुरा सुन्ने हो भने यसपालिको चुनावमा नयाँ र स्वतन्त्र उम्मेदवार शाहप्रति काठमाडौंका यी २० वडामा ठूलो आकर्षण देखिएको छ।
हामीले पछिल्लोपटक नेवार बस्ती भएको 'कोर-सिटी' मा स्टोरी गर्दा पनि उनी मतदाताको तेस्रो छनौटमा थिए। त्यहाँ सबभन्दा धेरैले स्थापित, दोस्रोमा सिंह र तेस्रोमा शाहलाई मत दिन्छु भनेका थिए।
२०७४ सालको स्थानीय चुनावमा पनि साझाका किशोर थापा र विवेकशील पार्टीका रञ्जु दर्शनाले कोर-सिटीबाट ५-७ हजार मत मात्र ल्याएका थिए। यसपालि यो मुख्य नेवार बस्तीमै शाहलाई भोट दिन्छु भन्ने मतदाता बढेका छन्। शाह आफैं पनि नरदेवीका बासिन्दा हुन्।
कोर-सिटीमा स्थापितलाई भोट दिन्छु भन्ने ३१ प्रतिशत र सिंहलाई दिन्छु भन्ने २५.५ प्रतिशत मतदाता भेटिँदा बालेनलाई दिन्छु भन्ने १८ प्रतिशत थिए। मतदाताको ठूलै संख्याले कसलाई भोट दिने अझै निर्णय गरिनसकेको बताएका थिए।
दोस्रो चरणमा मुख्य नेवार बस्तीभन्दा बाहिरका २० वटा वडामा पुगेर कुरा गर्दा बालेन शाहलाई मत दिन्छु भन्नेको संख्या ह्वात्तै बढेर उनी मतदाताको पहिलो रोजाइमा पुगेको देखिएको छ।
यसरी बालेनलाई भोट दिन्छु भन्ने मतदाता बढ्नुका पछाडि स्थापित पार्टीहरूप्रतिको विकर्षण मुख्य कारण देखिन्छ। उनलाई यसपालि एमाले र कांग्रेसका परम्परागत मतदाताले पनि ठूलो संख्यामा भोट दिन्छु भनेका छन्।
बालेनलाई भोट दिन्छु भन्ने १०३ मतदातामध्ये ३८ जनाले अघिल्लोपटक एमालेलाई र २६ जनाले कांग्रेसलाई दिएको बताए। त्यस्तै, २१ जनाले अघिल्लोपटक साझा र विवेकशील पार्टीलाई दिएका थिए भने १८ जनाले पहिलोपटक भोट हाल्न लागेको बताएका छन्।
बालेन शाहलाई मत दिने निर्णय गरेका मतदाता किन त्यो निर्णयमा पुगे? के भन्छन् उनीहरू?
चाबहिल, कुमारीगाल बस्ने ३८ वर्षीया सुनिता तामाङले बालेनलाई मत दिने निर्णय गरिसकेकी छन्। 'कांग्रेस, एमाले र माओवादीलाई यसअघिका चुनावहरूमा भोट हालेकै हो। यसअघिको स्थानीय चुनावमा पनि परिवारले कांग्रेसलाई दिनुपर्छ भनेकाले उतै दिइयो। अब चाहिँ पुग्यो,' सुनिताले भनिन्, 'यसपालि म बालेनलाई भोट दिने हो। उनको कुरा मलाई मन परेको छ।'
उनी आफूलाई राजा मनपर्ने भएकाले उपमेयरमा भने हलोमा भोट हाल्ने बताउँछिन्।
'जसले जिते पनि मलाई बागमती सफा भएको हेर्न मन छ,' उनले भनिन्, 'यहाँ पौडी खेल्दै हुर्किएका मानिस अझै छन्। तर अहिले नजिक जाँदा पनि गनाउँछ। नेताहरूले खोला सफा पार्न कामै गरेनन्।'
उनले अगाडि भनिन्, 'काठमाडौंमा कति धेरै पुराना र राम्रा कुरा छन्। हामीलाई ती पुराना कुराहरू जोगाउने मेयर चाहिएको छ। भक्तपुर र ललितपुरका मेयरले कति धेरै काम गरे। काठमाडौंमा त्यत्तिको काम देखिएन। त्यसैले हामीलाई राम्रो काम गर्ने मेयर चाहिएको छ।'
बौद्ध, महांकालकी ३७ वर्षीय विमला तामाङ पनि मेयरमा बालेन शाहलाई भोट दिने निर्णयमा पुगिसकेको बताउँछिन्।
'अरूमा कसलाई दिने निर्णय गरेको छैन, मेयरमा चाहिँ बालेनलाई नै दिने हो,' उनले भनिन्, 'नेपालमा धेरै नेता छन्। माओवादीले धेरै वर्ष द्वन्द्व गरेर आयो, केही गरेन। सबै दलले विकासभन्दा धेरै भ्रष्टाचार गरे। बालेनले जे गर्छु भनेको छ, त्यो मलाई राम्रो लागेको छ। अरूले त यहाँ राजनीति मात्र गर्ने हो, काम केही गर्दैनन्।'
जसले जिते पनि सरकारी अड्डाअदालतमा काम छिटो हुनुपर्ने र नातावाद, परिवारवाद र भ्रष्टाचार अन्त्य हुनुपर्ने उनको भनाइ छ।
हामीले कुराकानी गरेकामध्ये पहिले कांग्रेस, एमाले वा अन्य दललाई भोट हालेकाहरू पनि धेरै जना यसपालि बालेनप्रति आकर्षित देखिए।
वडा नम्बर ६, बौद्धका ३९ वर्षीय स्याङ्बो शेर्पा तिनैमध्ये एक हुन्। उनले यसअघि कांग्रेसलाई मत दिएका थिए, यसपालि बालेनलाई दिने भनी निधो गरेर बसेका छन्।
'उनको अन्तर्वार्ता सुनेको, राम्रै कुरा गर्ने रहेछन्। यत्तिको सोच भएको मान्छे राजनीतिक दलका उम्मेदवार छैनन्,' उनले भने, 'रिसर्च गरेरै आए होलान्, त्यसैले यसपालि उनैलाई भोट दिने हो।'
शेर्पाको पनि काठमाडौं कस्तो हुनुपर्छ भन्नेमा अरू मतदाताको जस्तै धारणा छ।
'जो मेयर भए पनि सडक, खानेपानी र सहरको सरसफाइमा राम्रो काम गर्नुपर्यो। फुटपाथ बनाउनुपर्यो। शारीरिक अपांगता भएकाहरूका बारेमा सोचेर उनीहरूलाई सजिलो हुने गरी बाटो बनाइदिनुपर्यो। सबका लागि सिस्टममा काम हुनुपर्यो,' उनले भने।
वडा नम्बर ३१ को एमके सिंह मार्गमा बस्ने अच्युत पौडेलले गएको चुनावमा विवेकशीलकी रञ्जु दर्शनालाई भोट दिएका थिए।
'ठूला पार्टीलाई चुनौती दिएको भएर अहिले बालेनलाई दिने निर्णय गरेको छु,' उनले भने, 'निजी र सामुदायिक विद्यालयमा उत्तिकै गुणस्तरको पढाइ हुनुपर्छ। जसले जित्छ सामुदायिक स्कुल सुधारमा काम गर्नुपर्यो।'
काठमाडौंको स्थलगत भ्रमण क्रममा सोमबार हामी वडा नम्बर १४, रविभवनको चियापसल पुग्दा तीन जना विद्यार्थी चिया खाँदै गरेका भेटिए। तीमध्ये एक जनाले आफू गठबन्धन दलको एउटा पार्टीसँग जोडिएको बताए। पार्टी र आफ्नो नाम भने खुलाउन चाहेनन्। उनले पनि यसपालि बालेनलाई नै भोट दिने बताए।
'बालेनले जिते भने दलका नेताहरूले युवालाई नेतृत्व तहमा पुर्याउनेबारे सोच्लान् कि! अहिले त खाली वडामा पनि बूढाहरूलाई टिकट दिएर युवाहरूलाई बाहिर पारे,' उनले भने।
आफ्ना नेताहरूलाई पाठ सिकाउन पनि बालेनले जितेको हेर्न चाहेको उनको भनाइ छ।
त्यस्तै, वडा नम्बर ७, गौरीघाट बस्ने सविना नेपालले अघिल्लोपटक कांग्रेसलाई भोट हालेकी थिइन्। उनले यसपालि पुराना दललाई भोट नदिने बताइन्।
'सरकारले केही गरेन। झन् महँगी बढायो, जनतालाई दुःख दिने काम गर्यो। जनतालाई भेँडा सोचेको होला। जुलुस गरेर के काम? खाल्डाङखाडल्डुङ बाटो छ, विकासको नाममा केही काम भएको छैन। त्यसैले यसपालि बालेनलाई मौका दिनुपर्छ,' ३२ वर्षीया सविनाले भनिन्।
वडा नम्बर ७, टुसाल बस्ने ७२ वर्षीय एकनाथ चौलागाईंले पनि बालेनलाई भोट दिने निधो गरिसके।
'सबैको काम हेरियो, योपटक नयाँ पुस्ताको काम हेर्न मन छ,' उनले भने, 'पुराना पात झरेर गइसके, नयाँले सहारा देलान् कि भनेर योपटक बालेनलाई भोट दिँदैछु।'
यसरी बालेन शाहलाई मत दिन्छु भन्ने अधिकांश मतदातामा स्थापित राजनीतिक दलहरूप्रति गहिरो असन्तुष्टि देखिन्छ। डेलिभरी र सुशासन दिन नसकेको भनेर पुराना दलहरूप्रति मतदातामा एक किसिमको दिक्दारी छ। सँगसँगै, नयाँले केही राम्रो गर्छन् कि भन्ने आशा पनि छ।
२०७४ को चुनावमा पनि रञ्जु दर्शना र किशोर थापालाई राम्रो मत दिएर काठमाडौंका जनताले पुराना पार्टीहरूको विकल्प खोजिरहेको संकेत गरेका थिए। यसपालि पनि मतदाताको खोजी जारी देखिन्छ र त्यसको लाभ बालेन शाहले उठाउने छन्।
यति हुँदाहुँदै नयाँलाई नपत्याउने र परम्परागत पार्टीहरूलाई नै निरन्तर भोट हालिरहने मतदाता पनि कम छैनन्।
वडा नम्बर ४ स्थित महादेव चउरमा बस्ने जीवनलाल श्रेष्ठ पहिले काम गरेको अनुभवी मान्छे भएकाले केशव स्थापितलाई भोट हाल्ने बताउँछन्। कलाकारितामा लागेका मान्छेले राजनीतिक काम गर्न सक्छन् भन्ने उनलाई लाग्दैन, त्यसैले उनी बालेन शाहको पक्षमा छैनन्।
'गीत गाउने मान्छेमा राजनीतिक खुबी हुँदैन। गीत गाउनेले गर्दा नै रूस र युक्रेनमा युद्ध भएको हो। युक्रेनका जनताले कलाकारितामा लागेको मान्छेलाई राष्ट्रपति बनाएपछि सास्ती भोग्नुपर्यो,' ६४ वर्षीय श्रेष्ठले भने, 'विदेशको यस्तो उदाहरण देख्दादेख्दै यहाँ पनि बालेनलाई भोट दिएर दु:ख पाउन मन छैन।'
यस्तै राय वडा नम्बर २९, डिल्लीबजारका ४० वर्षीय मदन शाहीको छ।
यसअघि कांग्रेसलाई भोट दिएका उनी त्यति बेला आफ्नो भोट खेर गएको र संघीय सरकारको नेतृत्वमा आउँदा पनि कांग्रेसले केही गर्न नसकेको भन्दै यसपालि एमालेका स्थापितलाई भोट हाल्ने बताउँछन्।
'कांग्रेसले शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि केही गरेन। अरू विकासका काम पनि खासै केही गरेझैं लाग्दैन। त्यसैले मेयरमा केशव स्थापितलाई भोट दिने हो,' उनले भने, 'मान्छेहरू स्थापितले राम्रो काम गर्छ भन्छन्। मलाई पनि अनुभवी मान्छे भएकाले राम्रै गर्ला भन्ने लागेको छ।'
उता वडा नम्बर ३१, शान्तिनगर बस्ने सरोज खड्गी कांग्रेसभन्दा एमाले विकास निर्माणका काममा अगाडि भएकाले स्थापितलाई भोट दिने बताउँछन्।
निर्माण व्यवसायमा संलग्न खड्गीले सेतोपाटीसँगको कुराकानीमा भने, 'यसअघि पनि मैले विद्यासुन्दरलाई दिएको हो। विकास त एमालेले नै गर्छ। म निर्माण व्यवसायी भएकाले कसको पालामा विकास निर्माणका कति धेरै टेन्डर खुल्छन् भन्ने थाहा हुन्छ। यस आधारमा कांग्रेसले भन्दा एमालेले विकासका काममा बढी टेन्डर खोल्छ।'
उनले यो पनि भने, 'केशव स्थापित पनि विकास गरेरै हिँडेको मान्छे हो। अनुभवी छ। त्यसैले मेरो भोट उनैलाई जान्छ।'
खड्गीले काठमाडौंका केही विकास आवश्यकता पनि औंल्याए, 'यहाँ खानेपानी छैन, ढल निकासको राम्रो सुविधा छैन। हाम्रो क्षेत्रमा बागमती करिडोर बन्न बाँकी छ। सुकुम्बासी समस्या पनि उस्तै छ। अब आउने मेयरले यी सबै कुराको व्यवस्था गरे यो सहर राम्रो हुन्थ्यो।'
शान्तिनगरका शेखर थापाले भने पहिले विद्यासुन्दर शाक्यलाई भोट दिएका थिए। विगतका अन्य निर्वाचनमा पनि एमालेलाई नै भोट दिँदै आएका उनी यसपालि भने पाँचदलीय गठबन्धनका सिर्जना सिंहलाई दिन चाहन्छन्।
'पहिले विद्यासुन्दरलाई भोट दिएको हो। उनले गएको पाँच वर्षमा हामीलाई झुक्याए। खरिबोट नजिकैको बाटो नबनाएर वर्षौंदेखि हामीलाई दुःख दियो। त्यसैले यसपालि म एउटा भोट पनि एमालेलाई दिन्न,' ३८ वर्षीय थापाले भने, 'यो पटक मेरो भोट कांग्रेसलाई जान्छ। सिर्जना सिंह पहिले पनि हामीलाई भेटिरहने र हाम्रो दुःखसुखमा साथ दिने मान्छे हो।'
वडा नम्बर १६, सोह्रखुट्टेकी रमा श्रेष्ठ भने महिला मेयर भए महिलाहरूको पिरमर्का बुझ्ने र महिला सशक्तीकरणमा राम्रो काम गर्ने आश गर्दै सिर्जनालाई भोट दिने तयारीमा छिन्।
५० वर्षीया रमा विवाहअघि माइतीमा जागिर खान्थिन्। अहिले पसलमा बस्छिन्। महिलाहरूलाई मन लागेको ठाउँमा जागिर खाने स्वतन्त्रता पनि नभएको उनी बताउँछिन्।
'महिला सशक्तीकरणमा काम गर्ने आश मैले सिर्जना सिंहमा देखेकी छु। उनले जितिन् भने महिलाले भान्सा मात्र होइन, देश पनि चलाउन सक्छन् भन्ने उदाहरण हुनेछ। त्यसैले मेरो भोट यसपालि सिर्जनालाई जान्छ,' अघिल्लोचोटि विद्यासुन्दरलाई भोट दिएकी रमाले भनिन्।
वडा नम्बर १९ का ५८ वर्षीय रामशंकर श्रेष्ठलाई चाहिँ केशव स्थापितले महिलाहरूमाथि गरेको अभिव्यक्ति चित्त बुझेको छैन।
अघिल्लोचोटि एमालेका विद्यासुन्दर र कांग्रेसकी हरिप्रभा खड्गीलाई भोट दिएका रामशंकरले भने, 'उहाँहरूले राम्रै काम गर्नुभयो। तर यसपालि एमालेलाई दिन्नँ। एमालेबाट उठेका केशव स्थापितले महिलामाथि गरेको अभिव्यक्ति राम्रो छैन। जसले महिलाको सम्मान गर्न सक्दैन, उसले कसरी देशको काम गर्ला? जित्यो भने पनि हाम्रा चेलीबेटीको हकअधिकारका लागि काम गर्न सक्दैन भन्ने मलाई लाग्छ।'
उनले अगाडि भने, 'त्यसैले यसपालि म कांग्रेसबाट उठ्नुभएको सिर्जना सिंहलाई भोट दिन्छु। सिर्जना महिला भएकाले स्थानीयवासीले भोग्नुपरेका साना-साना समस्याहरू धेरै थाहा छ। ती समस्या समाधान गर्न राम्रो काम गर्ने छिन् भन्ने मेरो विश्वास छ।'
यी पनि पढ्नुस्: