निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या निर्धारण गरिदिएपछि प्रदेशहरूमा पनि कसको सरकार बन्छ भनेर चासो छ।
प्रदेश नम्बर १ मा प्रत्यक्ष र समानुपातिकतर्फ गरी नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। यहाँ एमालेको ४० सिट छ। एमालेसँग चुनावी तालमेल गरेको राप्रपाको ६ र जसपाको १ गरी एमाले गठबन्धनले सरकार बनाउन चाहे प्रदेश १ मा ४७ सिट जुटाउन सक्ने देखिन्छ।
९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा सरकार बनाउन ४७ सिट चाहिन्छ। प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको उपेन्द्र यादव नेतृत्वको जसपाले यहाँ समानुपातिकबाट १ सिट पाएको छ। जसपाका एक्ला ती सांसद जता उभिन्छन् उतै बहुमत पुग्ने र नयाँ सरकार बन्ने अवस्था छ।
प्रदेश १ मा नेपाली कांग्रेस दोस्रो ठूलो दल हो। कांग्रेसका २९ सांसद छन् भने नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। अहिले गठबन्धनमा रहेका यी दललाई सरकार बनाउन १ सांसद अपुग हुन्छ। कांग्रेस नेतृत्वको गठबन्धनले नयाँ सरकार बनाउन जसपाको साथ लिन सक्छ।
यहाँ कांग्रेस र एमाले मिले भने पनि सजिलै सरकार बनाउन सक्छन्। कांग्रेस २९ र एमाले ४० सांसद छन्। तर कांग्रेस र एमाले मिलेर सरकार बन्ने सम्भावना अहिले देखिँदैन।
जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेल मात्रै गरिएको बताएका छन्। उनले एमाले गठबन्धनलाई साथ नदिने संकेत गरेका छन्। यादवले प्रतिपक्षमा बस्नेबारे अहिलेसम्म बोलेका छैनन्। उनी सकेसम्म केन्द्रदेखि प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी गराउने तयारीमा छन्।
प्रदेश १ मा सरकार बनाउन जसपा निर्णायक हुने देखिन्छ। तर जसपाले समानुपातिक पाएको १ सिटमा कसलाई सांसद बनाउने निर्णय गरिसकेको छैन।