मंसिर ४ को निर्वाचनले सबैभन्दा ठूलो दल बनाएको नेपाली कांग्रेसभित्र संसदीय दलको नेतामा दाबी गर्नेहरुको संख्या धेरै छ।
धेरै दाबीकर्ताहरु मध्येका एक हुन्, महामन्त्री गगन थापा। थापाको दाबीबारे उनकै पक्षका नेताहरु अहिलेसम्म मौन नै छन्। मंगलबार विराटनगरमा नेता शेखर कोइराला, महामन्त्री थापा, नेता चन्द्र भण्डारी लगायतका नेताहरु एकै मन्चमा उपस्थित थिए।
सन्दर्भ थियो- अर्का नेता गुरुराज घिमिरेले लेखेको पुस्तक विमोचन कार्यक्रम। संस्थापन इतरका नेता कोइराला सहितका नेताहरुले संसदीय दलको भावी नेतृत्वबारे कुरै गरेनन्। कांग्रेसको लोकप्रिय मत घटेर साख गिरेको प्रसंग निकाल्दै कोइरालाले यत्ति भने ‘काँग्रेस एकढिक्का भएर अघि बढ्नेछ। सरकार पनि गठबन्धनकै बन्नेछ।’
कोइरालाले कांग्रेसभित्र कुनै समस्या नआउने कुरा गर्दा उपस्थित कार्यकर्ताले तालीले समर्थन जनाए। तर, काठमाडौं फर्किनुपर्ने भन्दै कोइराला चन्द्र भण्डारी र गगन थापाको मन्तव्य नसुनी उनी बाहिरिए। नेता चन्द्र भण्डारीले आफ्नो समूह बलियो हुँदै गएको बताउँदै यही समूहले पार्टी र सरकारको नेतृत्व गर्नुपर्ने बताए।
‘हाम्रो समूह बलियो बनाउनुपर्ने आवश्यकता छ, बलियो बन्दै गएको पनि छ’, उनले भने, ‘अब पार्टी र मुलुक हाक्न यो समूह सक्षम छ।’
मंगलबारको कार्यक्रममा एउटा रोचक दृश्य के थियो भने मन्चमा धेरैबेर सँगै बसेका कोइराला र शेखरले मुखामुख गरेर भने बात मारेनन्। अरुभन्दा ढिलो कार्यक्रमस्थलमा आइपुगेका थापालाई मन्चमा आइपुग्ने बित्तिकै शेखर र चन्द्र भण्डारीले बधाइ दिए।
‘बधाई दिन पनि यहाँ आइपुग्नुपर्यो’, चन्द्र भण्डारीले मन्चमा उक्लिँदै गरेका महामन्त्री थापालाई भने ‘लौ बधाइ छ।’ प्रत्युत्तरमा गगनले पनि ‘धन्यवाद दाई’ भन्दै बधाई फर्काए। त्यसपछि गगन र शेखर अन्य वक्ताहरुको कुरा सुन्न थाले। आपसमा कानेखुसी समेत नगरी कार्यक्रमको अधिकांश समय बिताए। सबैभन्दा अन्तिममा बोलेका महामन्त्री थापाले गुरु घिमिरेको व्यक्तित्व र कृतिको बारेमा चर्चा गरिसकेर अहिलेको बहुप्रतिक्षित मुद्दामा प्रष्ट कुरा राखे।
‘अहिले यहाँ सरकार बन्नेबारे धेरै कुरा भइसकेको छ’, थापाले भने ‘सरकार गठबन्धनकै बन्ने निश्चित छ तर अब हामीले बनाउन चाहेको सरकार कस्तो हो? हामीलाई एक थान सरकार चाहिएको हो कि प्रष्टता, प्रतिबद्धता र क्यारेक्टर भएको नेतृत्वसहितको सरकार चाहिएको हो ?’ अब बन्ने सरकार किन र केका लागि भन्ने कुरा मा प्रष्ट उभिएको हुनुपर्ने उल्लेख गर्दै थापाले भने, ‘एउटा दृश्य छ अब नेताहरू भित्र–भित्र तमसुक गर्छन्, पछि गएर बबण्डर बन्छ । सरकार बन्छ, कुनै उद्देश्य हुँदैन, केही संवेदना हुँदैन। यस्तो भयो भने के अर्थ हुन्छ? अर्को परिदृश्य पनि छ, गठबन्धनकै सरकार बन्छ। जसले स्पष्टता, प्रतिबद्धता र क्यारेक्टरसहित सरकारको नेतृत्व गर्नेछ। त्यस्तो सरकार सम्भव छ। बनाउनैपर्छ।’
उनले थपे ‘त्यो नेतृत्वले आफ्ना सबै सीमाहरु बुझेको हुनेछ। सरकारसँग शक्ति, समय र स्रोतको सीमा हुन्छ भन्ने सत्य बुझेको हुनेछ। त्यो नेतृत्व तयार छ। देश बिग्रियो भनिरहने, हामी बदल्छौं भन्दा बाबुहरुको उमेर कति भयो भनेर सोध्ने? यसरी बन्छ देश?’
थापाले कांग्रेसको परिवर्तन र रुपान्तरणको एजेण्डामा शेखर कोइरालासँगै उभिएको दोहोर्याउँदै अब सरकारमा बसेर ‘डेलिभरी’ दिन सक्नुपर्नेमा जोड दिए।
‘अहिले भर्खरै शेखर कोइरालाले लोकप्रिय मत घटेकोमा चिन्ता प्रकट गर्नुभयो। यो चिन्ता जायज छ। तर, सरकारमा हामी नै बस्ने अनि तल भोट घट्यो भनेर चिन्ता गर्ने कहिलेसम्म?’ सरकारमा बसेर राम्रो काम गर्न सक्दा संगठनमा आफैं मान्छे थपिँदै जाने दाबी गर्दै थापाले थपे ‘सरकारमा बसेर पूर्वाधारमा यसो गर्यौं, स्वास्थ्यमा यसो गर्यौं, सार्वजनिक स्कुलमा यसो गर्यौं भन्ने कुरा भयो भने भोट बढ्ने होला। सरकारमा रहेर डेलिभरी नदिने अनि तलबाट भोट बढेन भनेर चिन्ता गर्नुको के अर्थ छ ?’
सरकारमा गएर राम्रो काम गरे लाखौं भोट आफैं बढ्ने उनले बताए।
उनले भने, ‘तर, सरकारमा पनि जाने, डेलिभरी पनि नदिने, नेताहरु मन्चमा बोलेको बोल्यै गर्ने, कार्यकर्ता ताली ठोकेको ठोक्यै गर्ने, गुरु दाई बाटो बिराएको राजनीति लेखेको लेख्यै कहिलेसम्म गर्ने ?’ उनले आउँदो पाँच वर्षमा देशलाई नयाँ दिशा दिन सकिने विश्वास प्रकट गर्दै जनतालाई डेलिभरी दिन सकिने सरकार अबको आवश्यकता रहेको बताए।