यहीँ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फको सबै १६५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले ५७ सिटसहित अग्रता लिएको छ। नेकपा एमालेले ४४ सिटमा जित निकालेर दोस्रो भएको छ।
यस्तै १८ सिट जितेको माओवादी केन्द्र तेस्रो र १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टी चौथो भएका छन्।
यता समानुपातिकतर्फको गणना पनि लभगभ अन्त्यतिर पुगेको छ। जसअनुसार मंगलबार दिउँसो २ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत नघाएर पहिलो पार्टी बनेको छ।
१ करोड ५ लाख ६० हजार ६७ मतगणना गर्दा एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको हो, अर्थात २६.९५ प्रतिशत मत पाएको छ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ अर्थात २५.७१ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११.१३ प्रतिशत मत प्राप्त गरेको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात १०.७० प्रतिशत मत पाएको छ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ अर्थात ५.५८ प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३.७४ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ।
यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ अर्थात २.८३ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ अर्थात २.५७ प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ३६७ अर्थात १.६० प्रतिशत मत प्राप्त गरेका छन्।
अन्य दलले १ लाख भन्दा कम मत ल्याएका छन्। प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५, हजार १६८ समान १ सिट जितेको राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ पाएका आयोगले जनाएको छ।
समानुपातिकतर्फ अब बाजुरा र दोलखाका मत गणना जारी छन्। समानुपातिकतर्फ मतपरिणाम आइसकेपछि आयोगले दलहरूले पाउने सिट संख्या निर्धारण गर्छ।
दलहरूले बन्द सूची बुझाएअनुसार उम्मेदवारहरू सिफारिस गर्न आयोगले दलहरूलाई समय दिने तयारी पनि गरेको छ।
यसपालिको चुनावका लागि एक करोड ७९ लाख ८ हजार ८ सय ५० मतदाता थिए। करिब एक करोड ९ लाख ७३ हजार २७ मत खसेको बताइएको छ।
कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था छ। यस अनुसार थ्रेसहोल्ड कटाउने आवश्यक मत नल्याएमा समानुपातिकको ११० सिटको भागवण्डाबाट उक्त पार्टी बाहिरिनेछ । ती दलहरुले पाएको मतलाई सदर मत मानिन्न। अर्थात् ती मत बदर सरह हुन्छन्।
हालसम्म ३ प्रतिशत भन्दा बढी मत ल्याउने दलहरु सात वटा छन्- नकेपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी।