निर्वाचन आयोगले समानुपातिकतर्फ खसेको मत गनेर आज सक्ने भएको छ।
मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको मत गनिसकिएको छ। बाँकी रहेका क्षेत्रका समानुपातिक मत गणना जारी छ।
अहिलेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मत गनिसकिएको छ। आयोग स्रोतका अनुसार समानुपातिकतर्फ मत गनेर आज सकिन्छ।
समानुपातिकतर्फ स्याङ्जा क्षेत्र नम्बर २, बाजुरा र दोलखाका मत गणना जारी छन्। समानुपातिकतर्फ मतपरिणाम आइसकेपछि आयोगले दलहरूले पाउने सिट संख्या निर्धारण गर्छ।
दलहरूले बन्द सूची बुझाएअनुसार उम्मेदवारहरू सिफारिस गर्न आयोगले दलहरूलाई समय दिने तयारी पनि गरेको छ।
यसपालिको चुनावका लागि एक करोड ७९ लाख ८ हजार ८ सय ५० मतदाता थिए। करिब एक करोड ९ लाख ७३ हजार २७ मत खसेको बताइएको छ।