मत विश्लेषणः
नेकपा एकीकृत समाजवादी (एस) का नेतृत्वले प्रतिनिधि सभा निर्वाचनमा 'भोट ट्रान्सफर' नभएको गुनासो गरिरहेको छ।
गठबन्धन दलहरूबाट सोचेजस्तो मत 'ट्रान्सफर' नभएपछि आफूहरूले चाहेजस्तो परिणाम नआएको यो दलका नेताहरूले नै टिप्पणी गरेका छन्।
एकीकृत समाजवादीले उम्मेदवारी दिएका १९ निर्वाचन क्षेत्रमा यो दलले समानुपातिकतर्फ पाएको मत र दलका उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत हामीले तुलना गरेर हेरेका छौं।
यसरी हेर्दा अत्यधिक मत ट्रान्सफर भएको मात्र देखिन्छ। त्यति मात्र होइन, मत ट्रान्सफर नभएको भए यो चुनावमा एकीकृत समाजवादीको हातमा अहिलेजस्तो १० सिट होइन, शून्य सिट हुन सक्थ्यो।
हेर्नुहोस् तलको तालिकाः

समानुपातिक र प्रत्यक्ष दुवैतर्फ मतगणना सकिएका १९ वटा निर्वाचन क्षेत्रमध्ये १७ निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ सो दलले जम्मा ५७ हजार ९ सय ५८ मत ल्याएको छ। यी १७ निर्वाचन क्षेत्रमा सो दलका उम्मेदवारले प्रत्यक्षतर्फ भने ३ लाख ९४ हजार ८ सय ४१ मत प्राप्त गरेका छन्। सिराहा ४ र धादिङ १ मा भने समानुपातिकतर्फको गणना बाँकी नै छ।
अर्थात् समानुपातिकमा एकीकृत समाजवादीले पाएको मतभन्दा प्रत्यक्षतर्फ उसका उम्मेदवारले सात गुणा बढी मत प्राप्त गरेका छन्।
तर गठबन्धन दलबाट यति धेरै मतको सहयोग पाएको दल नै 'मत ट्रान्सफर' भएन भनेर दुखेसो पोखिरहेको छ!
मत परिणामको विश्लेषण गर्दा बरू के दखिन्छ भने, गठबन्धन दलको राम्रो मत नपाएको भए एकीकृत समाजवादी दलका कुनै पनि उम्मेदवारले निर्वाचन जित्ने थिएनन्।
उदाहरणका लागि १९ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादी सबभन्दा बलियो रहेको सो दलका अध्यक्ष माधव नेपाल उठेको रौतहट-१ हो।
रौतहट १ मा समाजवादीका अध्यक्ष नेपाल ३३ हजार ५ सय २२ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजय कुमार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याए।
तर यहाँ एकीकृत समाजवादीले समानुपातिकमा जम्मा ९ हजार ५ सय ७८ मत ल्याएको छ। यही क्षेत्रमा कांग्रेसले समानुपातिकमा १९ हजार १ सय १९ र माओवादी केन्द्रले २ हजार ७ सय ९१ मत ल्याएका छन्।
एकीकृत समाजवादीलाई कांग्रेसको अधिकांश मत ट्रान्सफर भएको मत परिणामले देखाएको छ। त्यसै कारण अध्यक्ष नेपालले एमालेका उम्मेदवार गुप्तालाई हराउन सके।
एकीकृत समाजवादीले जितेका कैयन क्षेत्रमा त उसले पाएको मतको ८० प्रतिशतभन्दा बढी मत गठबन्धनका सहयात्री दलहरूको हो।
उदाहरणका लागि, बझाङमा एकीकृत समाजवादीले समानुपातिकमा ४ हजार ८ सय ६३ मत मात्र ल्याएको छ। जबकि विजयी भएका सो दलका उम्मेदवार भानुभक्त जोशीले २८ हजार ४ सय १३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २७ हजार ४ सय १२ मत ल्याएका छन्।
यहाँ कांग्रेसले समानुपातिकमा २० हजार ९३ र माओवादी केन्द्रले ८ हजार ५ सय १६ मत ल्याएका छन्। कांग्रेसलाई जाने अधिकांश मत एकीकृत समाजवादीलाई ट्रान्सफर नभएको भए यहाँ एमालले चुनाव जित्थ्यो।
अर्को उदाहरण, अछाम पनि हो।
एकीकृत समाजवादी विजयी भएको अछाम १ मा शेरबहादुर कुँवरले १९ हजार ५ सय ३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झपट बोहोराले १५ हजार ४५ मत ल्याएका छन्।
अछाम १ मा एकीकृत समाजवादीले समानुपातिकमा जम्मा २७ सय ४७ मत ल्याएको छ। यो क्षेत्रबाट कांग्रेसले समानुपातिकमा १४ हजार ५ सय २५ ल्याएको छ भने माओवादी केन्द्रले ७ हजार २ सय २८ मत ल्याएको छ।
गठबन्धनको मत ट्रान्सफर नभएको भए एकीकृत समाजवादीका बाँकी उम्मेदवारले पनि एमालेका उम्मेदवारसँग कसरी नराम्ररीसँग हार्थे भन्ने हेरौं।
दैलेख १ मा विजयी अम्बरबहादुर थापाले १८ हजार २ सय ९७ मत ल्याउँदा समानुपातिकमा उनको दलको जम्मा ३१ सय ६६ मत छ। थापाका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले १७ हजार ४ सय ४५ मत ल्याएका छन्।
दैलेख १ मा कांग्रेसको समानुपातिक मत १५ हजार ८ सय ३७ र माओवादीको २ हजार ६ सय ४५ छ।
डोल्पामा ११ हजार २ सय ९२ मतसहित धनबहादुर बुढा विजयी हुँदा समाजवादीले समानुपातिकमा १८ सय २४ मत मात्र प्राप्त गरेको छ। त्यहाँ कांग्रेसको समानुपातिकमा ३ हजार ५ सय ९१ मत छ भने माओवादी केन्द्रको ४ हजार ७ सय २१ मत छ। माओवादी र कांग्रेसकै मत ट्रान्सफर भएका कारण यहाँ समाजवादी फराकिलो अन्तरले विजयी भएको हो।
त्यस्तै सल्यानमा पनि प्रकाश ज्वाला ३५ हजार ७ सय मतले विजयी हुँदा समानुपातिकमा उनको दलको जम्मा ५ हजार ९ सय ७० मत छ। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिद्रोही राजेन्द्र बहादुर साहले १९ हजार ७ सय ९२ मत ल्याएका छन्। सल्यानमा कांग्रेसले समानुपातिकतर्फ १९ हजार ९ सय ६६ मत ल्याएको छ भने माओवादी केन्द्रले २१ हजार ३ सय २५ मत ल्याएको छ। माओवादी केन्द्र र कांग्रेसको मत ट्रान्सफर हुँदा प्रकाश ज्वालाको जीत सुनिश्चित भएको हो।
दाङ १ मा कमजोर देखिएका मेटमणि चौधरी गठबन्धनकै मतका कारण विजयी भएका हुन्। उनी २६ हजार ५ सय ६३ मत ल्याएर विजयी भएको दाङ १ मा हुँदा समाजवादीले समानुपातिकमा ३२ सय १८ मत पाएको छ। मेटमणिकी निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता चौधरीले २१ हजार ४ सय ९३ मत ल्याएकी थिइन्। त्यहाँ कांग्रेसको मत १५ हजार ६७ र माओवादी केन्द्रको मत ११ हजार ४ सय ५२ छ। माओवादी र कांग्रेसकै मत ट्रान्सफर हुँदा ५ हजार ७० मतले मेटमणि विजयी भएका हुन्।
बारा ४ मा कृष्णकुमार श्रेष्ठ १६ हजार ४ सय ३९ मतसहित विजयी भए भने समानुपातिकमा समाजवादीले जम्मा ४ हजार ६ सय ९१ मत प्राप्त गर्यो। त्यहाँ कांग्रेसको समानुपातिक मत ६ हजार ५ सय ७२ र माओवादीको मत ६ हजार ५ सय ६१ छ। त्यस्तै अर्को गठबन्धन दल लोकतान्त्रिक समाजवादी पार्टीको मत १० हजार ९ सय ११ मत थियो। कांग्रेस, माओवादी र लोसपाको मत ट्रान्सफर हुँदा कृष्णकुमार श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी हुन सफल भए।
धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे पनि ३५ हजार ९ सय ६४ मतसहित विजयी भए। त्यहाँ समानुपातिकको मतगणना हुन बाँकी छ।
एकीकृत समाजवादी आफूले उम्मेदवारी दिएका जम्मा ९ वटा निर्वाचन क्षेत्रमा पराजित भएको छ। समाजवादीले हारेका यी निर्वाचन क्षेत्र; पाल्पा २, गुल्मी २, कास्की २, मकवानपुर २, ललितपुर २ र उदयपुर २ र इलाम १ बाट समानुपातिकमा सो दलले जम्मा १८ हजार ३७ मत ल्याएको छ। जबकि त्यहाँ पराजित उम्मेदवारहरूले १ लाख ११ हजार ९ सय ३७ मत ल्याएका छन्।
यो पनि पढ्नुहोस्ः माओवादीलाई कांग्रेसको मत कति ‘ट्रान्सफर’ भयो, कति भएन?