नेकपा (माओवादी केन्द्र) की रेखा शर्माले पहिलो प्रयासमै नेकपा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेललाई हराएकी छन्।
दाङ क्षेत्र नं २ मा भएको रोचक प्रतिस्पर्धामा शर्माले पोखरेललाई झिनो मतले हराएकी छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी नेतृ शर्मा र पोखरेलबीचको रोचक प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो। सुरूदेखि नै अग्रता लिएकी शर्माले पोखरेललाई १ सय ९६ मतले पराजित गरेकी छन्।
उनी माओवादीको तर्फबाट निर्वाचित एक मात्र महिला हुन्। उनी माओवादीकी स्थायी कमिटी सदस्यसमेत हुन्। माओवादीले यो चुनावमा ८ जना महिलालाई प्रत्यक्षतर्फ टिकट दिएको थियो। तीमध्ये ६ जना पराजित भइसकेका छन् भने कञ्चनपुरमा वीना मगर पनि एमाले उम्मेदवारभन्दा निकै पछि छन्।
२०७२ मा केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएकी शर्मा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक समेत भइसकेकी छन्।
शर्मा जनयुद्धकालमै अखिल नेपाल क्रान्तिकारी महिला संघको अध्यक्ष भइसकेकी छन्। संसदीय राजनीतिमा पनि शर्मा माओवादीभित्र परिपक्व सांसदको रूपमा चिनिन्छिन्।
यो क्षेत्रमा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जितेका थिए।
शर्मासँग पराजित पोखरेलले २०७४ को निर्वाचनमा दाङबाटै प्रदेश सांसद जितेका थिए।
पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत हुन्। पोखरेलले २०७० को निर्वाचनमा दाङबाट हारेका थिए। २०५१मा पहिलो पटक सांसद बनेका पोखरेल २०५६मा पराजति भएका थिए। उनी २०६४मा समानुपातिक सांसद बनेका थिए। एक पटक सञ्चारमन्त्री भइसकेका एमाले महासचिव पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन्।