प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म ६३ स्थानको परिणाम सार्वजनिक भएको छ, जसमध्ये केही स्थानको मतान्तर निकै कम छ।
स्थानीय निर्वाचनमा जस्तो एक-दुई मतले परिणाम तलमाथि नभए पनि तीनवटा क्षेत्र यस्ता छन् जहाँ तीन सयभन्दा कम मतमा परिणाम निस्किएको छ।
काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह जम्मा १३२ मतले विजयी भएका छन्।
सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी राप्रपाका रविन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरे।
त्यस्तै पर्सा-३ मा १५१ मतले हार जित तय भएको छ।
नेकपा एमालेका राजकुमार गुप्ताले कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीलाई १५१ मतले हराएका हुन्। राजकुमारले २४ हजार २ सय ६० मत प्राप्त गरे भने सुरेन्द्रले २४ हजार १ सय ९ मत ल्याए।
ताप्लेजुङको क्षेत्र नम्बर १ मा पनि एमालेका योगेश भट्टराईले २०८ मतले जित हात पारेका छन्।
योगेशले २१ हजार ९ सय ४३ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७ सय ३५ मत ल्याएका छन्।
यसैगरी दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही १५३ मतको अन्तरले विजयी भएका छन्।
उनले २०१५८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २०००५ मत ल्याएका छन्।