मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनको पछिल्लो परिणाम अनुसार समानुपातिकमा एमालेले सबभन्दा धेरै मत ल्याएको छ।
एमालेले २६.६ प्रतिशतका साथ समानुपातिकमा अहिलेसम्म सबभन्दा धेरै मत ल्याउने दल बनेको छ। अहिलेसम्मको मतगणनामा एमालेले ४ लाख ५२ हजार ८५१ मत ल्याएको छ।
दोस्रो हुने नेपाली कांग्रेसको २४.५ प्रतिशत आएको छ। मतगणनामा उसले पाएको मत ४ लाख १६ हजार ८२५ हो।
तेस्रोमा छ १३.८ प्रतिशतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी। जसले २ लाख ३४ हजार ७५९ मत ल्याएको छ।
नेकपा माओवादीले भने २ लाख मत कटाएको छैन। उसको जम्मा ११.३ प्रतिशत छ। माओवादीले १ लाख ९२ हजार ७६८ मत ल्याएर चौँथो स्थानमा छ।
एकलाख मत कटाउने अर्को पार्टी हो राष्ट्रिय प्रजातन्त्र पार्टी। जसले ल्याएको छ १ लाख २३ हजार ९२० मत। यो अहिलेसम्म गणना भएको मतमध्ये ७.३ प्रतिशत हो।
अहिलेसम्मको मतगणनामा ३ प्रतिशत कटाउने दल भने जनता समाजवादी पार्टी,नेपाल हो। जसपाले अहिलेसम्म ५७ हजार ९१० मत ल्याएको छ।
यी बाहेक अन्य दलहरुले ३ प्रतिशत मत प्राप्त गर्न सकेका छैनन्। प्रतिनिधि सभाको समानुपातिक तर्फको ११० सिटको बाँडफाँडका लागि दलहरुले ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ।
अहिलेसम्मको मतगणना अनुसार नेपाल मजदुर किसान पार्टीले २.५ प्रतिशत, एकिकृत समाजवादीले १.७ प्रतिशत र अन्यले ५.८ प्रतिशत मत ल्याएका छन्।