देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका मतपरिणाम आइरहेका छन्। अहिलेसम्म नेपाली कांग्रेसको अग्रता छ। सत्ता गठबन्धनबीच तालमेल गरेर चुनावमा गएको कांग्रेसले ९१ ठाउँमा उम्मेदवारी दिएकोमा केही क्षेत्रमा पछाडि परेको छ भने समानुपातिकतर्फ पनि कांग्रेसको अघिल्लो पटकभन्दा यसपालि मत घटेको छ। चुनावी परिणामका विषयमा सेतोपाटीका प्रशन्न पोखरेलले कांग्रेस नेता मीनेन्द्र रिजालसँग गरेको संक्षिप्त अन्तर्वार्ता-
अहिले मतपरिणाम आइरहेको छ, प्रत्यक्षतर्फ कांग्रेसले कस्तो गरिरहेको छ?
अहिलेको अवस्था हेर्दा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ६० सिट हाराहारीमा जित्ने देखिएको छ, यसमा केही सिट बढ्न सक्ला।
कांग्रेस लडेका ९१ मध्ये ७१ सिटमा सत्ता गठबन्धनका दलहरूको मत बढी थियो। मैले पहिलेदेखि भनिआएको थिएँ- मत ट्रान्सफर हुन सकेन भने कांग्रेसले ५९ सिट मात्रै जित्न सक्छ। यो कुरा मैले लेख लेखेर पनि उल्लेख गरेको थिएँ।
समानुपातिकतर्फ पनि मतपरिणाम आइरहेका छन्, कांग्रेसको मत पहिलेभन्दा घटेको छ नि!
अहिलेको अवस्था हेर्दा समानुपातिकतर्फ कांग्रेसको ३३ सिट आउँछ जस्तो देखिएको छ। मलाई ३८ सिट आउँछ कि भन्ने लागेको थियो। तर विशेषत: राष्ट्रिय स्वतन्त्र पार्टीले जुन आधार निर्माण गरेको छ, त्यसले गर्दा कांग्रेसको केही मत ३८ बाट घटेर ३३ सिट हुन्छ जस्तो लाग्छ।
समानुपातिकतर्फ मत घट्नुका कारण के हुन्?
गत वैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा कांग्रेसले समानुपातिकमा ४२ सिट ल्याउँछ भन्ने लागेको थियो।
गठबन्धन गर्दा केही सिट गुमाएर ३८ सिट आउँछ जस्तो लाग्यो। अहिले ३२/३३ सिट आउँछजस्तो देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र राप्रपा पनि केही सुधार गरेकोले त्यसको प्रभावले मत घटेको हो।
अहिलेको चुनावका परिणाम हेर्दा जनताले गठबन्धनलाई स्वीकृत गरे कि गरेनन्?
म त गठबन्धन गर्न हुँदैन, पार्टीहरू अलग-अलग लड्नुपर्छ भन्नेमा थिएँ। म आफैं टिकट त पाउने हैसियतमा रहिनँ भने पार्टीमा मेरा विचारले प्रभावित हुने कुरा नै भएन। एक्लाएक्लै लड्नुपर्छ भनेर विचार राख्नेहरू ठिक थिए भन्ने अहिलेको चुनावको म्यान्डेटले देखाएको छ। हिजो एक्लाएक्लै लड्नुपर्छ भन्ने विचार राख्नेहरूले भोलिका दिनमा पार्टीमा कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने महत्वपूर्ण पक्ष हो।
यसपालि नयाँ दल आएका छन्। यसको सन्देश के हो?
पुराना पार्टीप्रति निराशा छ, सच्चिनुपर्यो भन्ने सन्देश मतदाताले दिए। हामीहरूले निर्वाचनभन्दा अघि सत्ता निर्माण गर्यौं।
जनताको ४/५ प्रतिशत मत तलमाथि हुँदा एउटा पार्टीका सट्टा अर्को पार्टीले बहुमत ल्याउने खालको प्रतिस्पर्धा कांग्रेस र एमालेका बीचमा थियो। अघिल्लो पटक केपी शर्मा ओलीले र अहिले हामीले त्यो प्रतिस्पर्धाको बाटो त्याग्यौं।
हामीले ओलीजीकै किताब पढेर निर्वाचनभन्दा पहिले नै सत्ता निर्माण गर्यौं, जनताको ४/५ प्रतिशत मतले तलमाथि गर्न नसकोस् भनेर। त्यो गलत थियो। त्यसलाई पनि जवाफ दिन मानिसहरूले यति बलियो विकल्पको सन्देश दिएको हुन सक्छ। निर्वाचनभन्दा पहिले नै सत्ता निर्माण गर्ने कुराले थप निराश बनाएको थियो।
नयाँ दलहरूको उदयबारे के भन्नुहुन्छ?
राष्ट्रिय स्वतन्त्र पार्टीलाई विशेष किसिमको सफलता प्राप्त भएको छ। उहाँहरूले संसदीय राजनीतिमा भोलिका दिनमा आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, त्यो अत्यन्त महत्वपूर्ण छ।
ठूला दलप्रति निराशा र जनताले विकल्प खोज्दा उहाँहरू यो ठाउँमा हुनुहुन्छ। तर विकल्प नै बनेर त्यसलाई सकारात्मक र सिर्जनशील रूपमा प्रयोग गर्ने ऊर्जालाई उहाँहरूले कसरी प्रयोग गर्नुहुन्छ त्यो भविष्यले देखाउँछ।
राप्रपाले पनि प्रत्यक्षतर्फ धेरै सिट जितिरहेको छ, यो राप्रपाको पुन:उदय हो?
यसपालि राप्रपाले राप्रपाकै रूपमा उदय भएको भन्दा पनि नयाँ ब्राण्डमा उदय भएको छ। कमल थापाको सट्टा राजेन्द्र लिङ्देन नेतृत्वमा आउँदा मानिसहरूले विकल्प देखे। राप्रपाले आफ्नो नीति परिवर्तन गरेर नभई नेतृत्व परिवर्तन गरेर एउटा जनचाहना बढाउन सक्यो। यस्तै २०७० मा पनि राप्रपाले राम्रो सफलता प्राप्त गरेको थियो- विशेषगरी सहरी क्षेत्रमा। कमल थापा नेतृत्वमा समानुपातिक तर्फबाट उहाँहरू राम्रै संख्यामा संसदमा पुग्नुभएको थियो। तर त्यसलाई जसरी उपयोग होस् भन्ने चाहेको थियो त्यसरी हुन सकेन।
अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूले नै बहुमत ल्याउने सम्भावना छ कि छैन?
सामान्य अवस्थामा बहुमत पुग्न सक्ला। यही गठबन्धन अघि जान्छ कि जाँदैन म बोल्न चाहन्न। म संसदमा पनि छैन र आगामी ५ वर्ष पनि संसदमा म हुन्न। त्यसकारण यसमा विचार राख्न उचित हुन्न।
मेरो आशा के छ भने, भोलिको कांग्रेस बनाउँछु भनेर विचार राख्ने नेताहरूले केही विकल्प दिनुहुन्छ। चित्तबुझ्दो विकल्प दिनुभयो र पार्टी निर्माणको विकल्प दिनुभयो भने म उहाँहरूलाई सहयोग गर्छु। अहिलेसम्म भएको पार्टीको पुँजीलाई प्रयोग गरेर सत्ता निर्माण गर्नेभन्दा पार्टी पुनर्जागरणका लागि हिँड्नुपर्छ बाटो जसले समात्छ मैले उसलाई सहयोग गर्ने हो।