जाजरकोटका दुइटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ।
गठबन्धनबाट उम्मेदवार बनेका राजीव विक्रम शाह र बेदराज सिंह प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका शाह प्रदेश सभा (ख) बाट १६ हजार ४० मतसहित निर्वाचित भएका हुन्।
शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारेका छन्। एमाले उम्मेदवार शाहीले १० हजार ५३० मत पाएका छन्।
२०७० सालमा संविधान सभा सदस्य बनेका शाह ०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतसँग पराजित भएका थिए।
अहिलेको गठबन्धनअनुसार बस्नेत प्रतिनिधि सभामा लडेपछि राजीव प्रदेशमा लडेका थिए।
जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बेदराज सिंहले १८ हजार ५४३ मत ल्याएका छन्।
कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सिंहले एमालेका उम्मेदवार डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पछाडि पारेका हुन्।
एमाले नेता सिंहले ११ हजार ४७० मत पाए।
प्रदेश सभा सदस्यमा निर्वाचित सिंह ०७४ को निर्वाचनमा पनि प्रदेशमा लडेका थिए। त्यतिबेला माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए।
योसहित कर्णाली प्रदेशमा ३ वटा प्रदेश सभामा कांग्रेसले जितेको छ। दैलेख-१ (क) मा काँग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन्।
कर्णालीमा प्रतिनिधिसभातर्फ पनि काँग्रेसले खाता खोलेको छ। सुर्खेत-२ बाट प्रतिनिधि सभामा कांग्रेसका हृदयराम थानी विजयी भएका छन्।