सप्तरी-२ मा गएराति जनता समाजावदी पार्टीले गरेको मतगणना विथोल्ने प्रयासप्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले आपत्ति जनाएका छन्।
९ हजार ८१९ मत गणना भइसकेपछि गएराति जसपाका नेताहरूले मतपेटिकाको सिल नमिलेको र जसपा अध्यक्ष उपेन्द्र यादवलाई अन्तर्राष्ट्रिय शक्तिले षड्यन्त्र गरेको भन्दै मतगणना रोक्न लगाएका थिए। साथै कर्यकर्ताहरूले गणनास्थलमा धर्ना बसेर प्रदर्शन समेत गरेका थिए।
पछि शिल मिलेकै पाइएपछि मतगणना जारी राखिएको थियो।
यादव भारी मतान्तरले पराजित हुन लागेपछि जसपाका नेता कार्यकर्ताहरूले यहाँ मतपेटिका लुट्ने र मतगणना विथोल्ने प्रयास गरेको प्रेस विज्ञप्तिमार्फत आरोप लगाएका छन्।
‘विपक्षी पार्टीका नेता कार्यकर्ताहरूले राति पूरै राजविराजमा आगो लगाइदिने र सोको तयारी आफूहरूले गरेर आएको धम्की दिँदै स्थानीय प्रहरी र प्रशासनलाई समेत उनीहरूले आफ्नो अगाडि झुक्न बाध्य बनाएका छन्,’ राउतले भनेका छन्, ‘यस्ता अलोकतान्त्रिक र गैरजिम्मेवारपूर्ण गुन्डागर्दी एवम् आतंकी गतिविधिको घोरभर्त्सना गर्दै सम्पूर्ण जनसमुदायमा संयमता राखेर मतगणना कार्य शान्तिपूर्ण रूपमा सफल बनाउन आग्रह गर्दछु।’
हालसम्मको मतगणनामा राउतले यादवभन्दा दोब्बर बढी मतान्तर फराकिलो बनाएका छन्।
राउतले २७ हजार ४७७ मत ल्याउँदा यादवले १३६८३ मत पाएका छन्। सत्तारूढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ५५७७ मत सहित तेस्रो स्थानमा छन्।