काठमाडौंका दस निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई क्षेत्रबाट घन्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भइसकेका छन्। क्षेत्र नम्बर २ बाट सोविता गौतम र ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका हन्।
यसबाहेक थप दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले निरन्तर अग्रता लिइरहेका छन्।
काठमाडौं क्षेत्र नम्बर ६ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निरन्तर अगाडि बढिरहेका छन्। बिहान ५ बजेसम्म २६ हजार २ सय ९८ मत गन्दा शिशिरले ९८०२ मत ल्याएका छन्। उनी आफ्ना निकट प्रतिस्पर्धीको तुलनामा झन्डै चार हजार मतले अगाडि छन्।
यहाँ दोस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५८८२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भिमसेनदास प्रधान ५७०० मत ल्याएर तेस्रो स्थानमा छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १५६३ मत ल्याएका छन्।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर अग्रस्थानमा छन्। उनी आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन्।
उनलाई पछ्याइरहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् भने गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६०६३ मत पाएकी छन्।
यो क्षेत्रमा दुई हजार आसपास भोट ल्याउने उम्मेदवार पनि धेरै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्लले २८६३ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार याद्दवलाल कायस्थले २७८२ मत पाएका छन्। त्यस्तै जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले २४६१ मत ल्याएका छन्।