दसवटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पाँच क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। मतगणना जारी बाँकी पाँच क्षेत्रमध्ये चारवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले निरन्तर अग्रता लिइरहेका छन्।
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले सुरूआतदेखिको अग्रता कायम राखेकी छिन्।
निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी गौतमले १२२८१ मत पाएकी छन्। उनी आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालभन्दा २९२० मतले अगाडि छन्। एमालेका फुयालले ९३६९ मत प्राप्त गरेका छन्।
यहाँ दोस्रोदेखि चौथो स्थानमा रहेका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। उनले ८५०७ मत ल्याएकी छन्।
गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन्। उनले ८०६७ मत ल्याएकी छन्।
काठमाडौं क्षेत्र नम्बर ६ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निरन्तर अगाडि बढिरहेका छन्। उनले ७७१५ मत ल्याएका छन्। सोविताजस्तै उनी पनि आफ्ना निकट प्रतिस्पर्धीको तुलनामा तीन हजारभन्दा बढी मतले अगाडि छन्।
यहाँ दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भिमसेनदास प्रधानले ४६४२ मत ल्याएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल ४६३२ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १३१३ मत ल्याएका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर अग्रस्थानमा छन्। उनी आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन्।
उनलाई पछ्याइरहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् भने गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६०६३ मत पाएकी छन्।
यो क्षेत्रमा दुई हजार आसपास भोट ल्याउने उम्मेदवार पनि धेरै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्लले २८६३ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार याद्दवलाल कायस्थले २७८२ मत पाएका छन्। त्यस्तै जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले २४६१ मत ल्याएका छन्।
काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ९५४० मत ल्याएर सबभन्दा अगाडि छन्। उनलाई लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टीका सुमन सायमिले ६०६८ मतसहित पछ्याइरहेका छन्। सुमनको दाँजोमा विराज ३४७२ मतले अगाडि छन्।
यहाँ एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो स्थानमा छन्। गठबन्धनका यी उम्मेदवारले ४५४३ मत ल्याएका छन्।
यसबाहेक नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूले पनि तीन हजार आसपास मत ल्याइरहेका छन्।
एमालेका शिवसुन्दर राजवैद्यले ३५८४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले ३०१३ मत ल्याएका छन्।