नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले डडेलधुरामा ११ हजार मत कटाएका छन्।
निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार यहाँ सुई चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले ११ हजार २ सय ५२ मत ल्याएका छन्।
उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन्। उनी देउवाभन्दा १० हजार ४ सय ९३ मतले पछाडि छन्।
यहाँ देउवाले २१ हजार ७ सय ४५ मत ल्याएर जित सुनिश्चित गरिसकेका छन्। अन्तिम मत परिणाम भने घोषणा हुन बाँकी छ।
डडेलधुरामा नेपाली कांग्रेस (बिपी) का कर्णबहादुर मल्ल तेस्रो स्थानमा छन्। उनले ६ हजार १ सय ८६ मत ल्याएका छन्।