सप्तरी-२ को मतगणना स्थगित भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवाद पार्टी (जसपा) का कार्यकर्ता गणनास्थलमा धर्ना बसेपछि मतगणना रोकिएको हो।
खसेको मत र गणना भइरहेको मत संख्या नमिलेको जसपाको आरोप छ। राजविराज नगरपालिकाबाट ल्याइएको मतपेटिकाको सिल आफ्ना प्रतिनिधिहरूलाई जाँच गर्न नदिई गणनास्थलमा लगिएको उनीहरूको भनाइ छ। उनीहरूले वडा नम्बर ३ 'ख' को सिल नमिलेको बताएका छन्।
जसपाले मतगणना स्थगित गर्न मुख्य निर्वाचन अधिकृतलाई निवेदन दिएको थियो। गणना फेरि सुरू गर्नुअघि सबै मतपेटिकाको सिल मिलाउन जसपाले माग गरेको छ।
यहाँ जनमत पार्टीका सिके राउतले जसपाका उपेन्द्र यादवको तुलनामा दोब्बर बढी मत ल्याएका छन्।
निर्वाचन आयोगका अनुसार सिके राउतले २२२६० मत ल्याएका छन् भने जसपाका उपेन्द्र यादवले ११३२३ मत पाएका छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ४५६५ मतसहित तेस्रो स्थानमा छन्।