नुवाकोटको निर्वाचन क्षेत्र नं १ स्थित ककनी गाँउपालिका वडा नं ५ का एक सय जना मतदातालाई समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा प्रतिनिधिसभाकै मतपत्र दिएको पाइएको छ।
जारी रहेको मत गणनाका क्रममा ककनी–५ मा स्थित जाल्पादेवी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका एक सय जना मतदाताले समानुपातिकतर्फ प्रदेश सभाको सट्टामा प्रतिनिधि सभाकै मतपत्रमा मतदान गरेको पाइएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए।
उनका अनुसार मतदान अधिकृतले हस्ताक्षर गरेको मतपत्र मतदातालाई दिन बसेका कर्मचारीको त्रुटिका कारण एक सय मतदाताले समानुपातिकतर्फ प्रतिनिधि सभाको मतपत्रमा नै दोर्याएर मतदान गरेको पुष्टि भएसँगै ती मतपत्र बदर गरिएको छ।
‘जुन मतपत्र जुन पेटिकामा परेको भए पनि गणना गर्ने निर्वाचन आयोगको निर्देशन भए पनि प्रदेश सभाको मतपेटिकामा फेला परेका प्रतिनिधि सभाको समानुपातिक प्रणालीको एक सय मतपत्र बदर गरिएको छ,’ निर्वाचन अधिकृत भुसालले भने, ‘मतदाताले एक मतपत्रमा एक पटक मात्रै मतदान गर्ने अवसर पाउने हो। तर, यहाँ त प्रदेश सभाको मतपत्रको सट्टामा प्रतिनिधिसभा कै मतपत्रमा दोहोर्याएर मतदान गरेको पाइएकाले प्रदेश सभाको मतपेटिकामा भेटिएका एक सय मतपत्र स्वतः बदर हुने निर्णय निर्वाचन आयोगसँगको परामर्शमा गरेका छौं।’
ककनी गाँउपालिकामा कूल खसेको ११ हजार ६८४ मतको गणनाको क्रममा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाँच सय १९ मत बदर भएको छ भने प्रतिनिधिसभाको समानुपातिक र प्रदेश सभा तर्फको दुवै निर्वाचन प्रणालीको मतगणना अहिले पनि जारी छ।
त्यसक्रममा बदर मतको संख्या अपेक्षाभन्दा धेरै पाइएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए।