धनुषाका चार वटा निर्वाचन क्षेत्रमध्ये तीन वटामा नेकपा एमाले र एउटामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ। जबकि गएको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार चार वटै क्षेत्रमा सत्तारूढ गठबन्धनले जसपा–एमालेभन्दा धेरै बढी मत ल्याएको थियो।
हालसम्मको मतगणनाअनुसार क्षेत्र नम्बर १ मा जसपाका दीपक कार्कीले ४६०२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातान्त्रिक पार्टीका मनोज मल्ल ठकुरीले ३८१२ मत प्राप्त गरेको छ। सत्तारूढ गठबन्धनको तर्फबाट माओवादीका उपमहासचिव समेत रहेका मातृका प्रसाद यादवले ३२२८ मतसहित तेस्रो स्थानमा छन्। जनमत पार्टीका किशोरी साहले २५८६ मत ल्याएका छन्।
क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमाशंकर अरगरियाले सुरूदेखि नै अग्रता कायम राखेका छन्। उनले ५११४ मत ल्याउँदा नेपाली कांग्रेसका रामकृष्ण यादवले ४८७४ मत प्राप्त गरेका छन्। जसपाका आनन्द यादवले ४०८९ मत ल्याएका छन्।
क्षेत्र नम्बर ३ मा पनि एमालेकी जुली महतोले सुरूदेखि नै अग्रता कायम राखेकी छन्। हालसम्मको गणनामा उनले ७५४४ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले ६१६० मत ल्याएका छन्। जनमत पार्टीका शम्भुनाथ साहले भने २१०१ मत पाएका छन्।
धनुषा–४ मा एमालेका सचिव रघुवीर महासेठले १०७३ मत ल्याउँदा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ८८० मत ल्याएका छन्।