काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईभन्दा भारी मतले विजयी हुने देखिएको छ।
सेतोपाटी टिमले आइतबार यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सबै वडाका सबै मतदान केन्द्रमा गएर भोट खसालेर फर्किरहेका साढे आठ सयभन्दा बढी मतदातासँग प्रत्यक्ष कुराकानी गर्दा यस्तो स्थिति देखिएको हो।
यहाँ पछिल्ला दुईवटा चुनावदेखि गगन थापा र राजन भट्टराई नै प्रतिस्पर्धी रहँदै आएका छन्। यो उनीहरूको तेस्रो चुनावी भिडन्त हो।
हाम्रो टिमले क्षेत्र नम्बर ४ का सबै मतदान केन्द्रमा बिहान ७ देखि ५ बजेसम्म घुमेर ८५९ मतदातालाई प्रत्यक्ष भेटेको छ। यसरी मतदातासँग कुरा गर्दा सकेसम्म महिला-पुरूष र उनीहरूको उमेर समूहको सन्तुलन मिलाउने प्रयत्न गरेका छौं।
हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये ५०७ जनाले कांग्रेस उम्मेदवार गगन थापालाई भोट दिएको बताएका छन्। यो हामीले कुराकानी गरेका मतदाताको ५९ प्रतिशत हो।
नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई भोट दिएको बताउनेहरू २३२ जना अर्थात् २७ प्रतिशत मात्र छन्।
यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ठाकुरमोहन श्रेष्ठलाई ३९ जना अर्थात् साढे ४ प्रतिशतले भोट दिएको बताएका छन् भने अन्य उम्मेदवारहरूलाई मत दिएकाहरू ८१ जना छन्।
हामीले मतदातासँग कुरा गर्दा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसालेको भोटबाहेक प्रतिनिधिसभाकै समानुपातिक भोट कसलाई खसाल्नुभयो भनेर पनि सोधेका थियौं।
हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये १९६ जनाले समानुपातिक भोट नेपाली कांग्रेसलाई दिएको बताएका छन्।
यो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एमालेलाई पछि पार्दै दोस्रो धेरै भोट ल्याउने देखिन्छ। हामीले कुराकानी गरेकामध्ये १७९ जनाले आफ्नो समानुपातिक भोट घन्टीलाई दिएको बताए।
नेकपा एमालेलाई समानुपातिक भोट दिएकाहरू भने १३६ जना छन्।
विभिन्न मतदान केन्द्र घुम्दा हामीले एक जना यस्तो मतदाता पनि भेट्यौं जसले आफू समानुपातिकमा घन्टीलाई भोट हाल्न मात्र आएको बताए।
अघिल्लोचोटि २०७४ सालमा भएको निर्वाचनमा ३ हजार ४ सय १८ मतान्तरले विजयी गगनले यसपालि मतान्तर फराकिलो पार्ने स्थिति देखिनुमा उनले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नु मुख्य कारण देखिएको छ।
आफू विजयी भए कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष शेरबहादुर देउवालाई चुनौती दिन्छु भनेर गगनले दिएको अभिव्यक्तिका कारण उनीप्रति आश बढेको हामीले भेटेका धेरै मतदाताले बताएका छन्।
हामीले विभिन्न मतदान केन्द्र घुमेर त्यहाँका मतदातासँग कुरा गर्दा ज-जसले गगनलाई भोट हालेर आएको बताए, उनीहरू गगनको पछिल्लो अभिव्यक्तिका कारण आकर्षित भएको भन्छन्। कांग्रेसभित्र पुराना नेताहरूलाई चुनौती दिँदै नेतृत्वमा पुग्न सक्ने भएकाले गगनलाई भोट हालेको उनीहरूको भनाइ छ।
कांग्रेस महामन्त्री थापाले चुनावी प्रचारप्रसार क्रममा सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने बताउँदै आएका छन्।
‘हाम्रो यो सिधै प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था होइन। यसको एउटा बाटो छ। हामी निर्वाचित भएर सांसद बन्छौं। सांसद बनेपछि तीमध्येबाट संसदीय दलको चुनाव हुन्छ। त्यो संसदीय दलको नेता म लड्ने हो, जित्ने हो,’ उनले भनेका थिए, ‘जो कांग्रेस संसदीय दलको नेता हुन्छ उही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।’
गगनको दाँजोमा एमाले उम्मेदवार राजन भट्टराई भने मतदातामाझ धेरै नभिजेको र उनले परराष्ट्र विज्ञका रूपमा मात्र आफ्नो छवि बनाएकाले खासगरी नयाँ मतदातामा आकर्षण हामीले कम देख्यौं। पहिलोचोटि मतदान गर्ने नयाँ मतदातामा राजनभन्दा गगनप्रति आकर्षण धेरै नै देखिन्छ।
गगनलाई भोट हालेका ५०७ जनामध्ये ३० जना नयाँ मतदाता छन् भने राजनलाई भोट हालेका २३२ मध्ये जम्मा ९ जना नयाँ मतदाता छन्।
कपनको त्रिज्योति माध्यमिक विद्यालय मतदान केन्द्रमा राजन भट्टराईलाई मत दिएको बताउने एक मतदाताले हामीसँग भने, 'उहाँले अन्तर्राष्ट्रिय स्तरको राजनीति गर्नुभयो, मतदाताहरूसँग घुलमिल हुनुभएन।'
योभन्दा अगाडि एमालेलाई नै भोट दिँदै आएका परम्परागत मतदाताहरूको मत पनि राजनले जोगाउन नसक्ने स्थिति छ।अघिल्लोचोटि एमालेलाई भोट हालेका कतिपय मतदाताले हामीसँगको कुराकानीमा यसपालि गगनलाई दिएको बताएका छन्।
हामीसँग गगनलाई भोट हालेको बताउने ५०७ जनामध्ये २७२ जनाले यसअघि पनि उनलाई नै भोट हालेका थिए भने राजन भट्टराईलाई भोट हाल्ने ११६ जनाले अघिल्लोचोटि पनि उनलाई नै भोट हालेको बताए।
अघिल्लो निर्वाचनमा गगन २१ हजार ५ सय ५८ मत ल्याएर विजयी भएका थिए भने राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका थिए।