सेतोपाटी निर्वाचन विश्लेषणः काठमाडौं- ५
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल संविधान सभाको दुवै कार्यकालमा संसद भवन छिर्न पाएनन्। २०५६ सालमा पहिलोपटक काठमाडौं- ५ मा निर्वाचित पोखरेललाई २०६४ र २०७० मा भएका दुवै चुनावमा नेपाली कांग्रेसका नेता नरहरि आचार्यले हराएका थिए।
२०७४ सालमा कांग्रेस नेता प्रकाशशरण महतलाई हराएर सांसद निर्वाचित पोखरेलको सांसद पद यसपालि फेरि धरापमा पर्ने सम्भावना छ। काठमाडौं- ५ मा यसपालि पनि चुनाव लडेका ६८ वर्षीय पोखरेलले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको चर्को चुनौती बेहोरेका छन्।
हामीले पछिल्ला केही दिनदेखि यो निर्वाचन क्षेत्रका अधिकांश वडामा पुगेर मतदातासँग कुरा गरेका छौं। यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५ नम्बर गरी चारवटा वडा पर्छन्। त्यस्तै बुढानिलकण्ठ र टोखा नगरपालिकाका जम्मा ११ वटा वडा पर्छन्।
हामीले २७३ जना मतदातासँग कुरा गर्दा पोखरेललाई यसपालि चुनाव जित्न पौडेलको ठूलो चुनौती हुने देखिन्छ। अझ हामीले मतदाताहरूसँग कुरा गर्दा झिनो मतले पौडेल नै अघि देखिए। तर मतदानको केही दिनअघि कायम यो अग्रता जीत सुनिश्चित गर्न पर्याप्त हुन्छ भन्ने होइन।
हामीले कुरा गरेका मतदातामध्ये सबभन्दा धेरै ६६ जनाले (२४ प्रतिशत) कांग्रेसका पौडेललाई मत दिने बताए। त्यसपछि ५१ जनाले (१८ प्रतिशत) पोखरेललाई मत दिने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शमशेर राणालाई ३१ जनाले (११ प्रतिशत) मत दिने बताए। राप्रपालाई १५ जना (५ प्रतिशत) र स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठलाई १४ जनाले (५ प्रतिशत) मत दिने बताए।
काठमाडौं- ५ मा एकदमै धेरै स्वतन्त्र उम्मेदवारहरू छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका साना दलका पनि उम्मेदवार छन्। यी सबैलाई जाने मत जम्मा २३ (८ प्रतिशत) छ।
हामीले केही दिनअघिसम्म कुरा गर्दा ७२ जना मतदाताले (२६) प्रतिशत) कसलाई मत दिने निर्णय गरिनसकेको बताए। पाँच वर्षअघि एमालेलाई मत दिएका एक जना मतदाताले यसपालि मत हाल्नै नजाने बताए।
काठमाडौं- ५ एमालेको बलियो संगठन छ। गत स्थानीय तह निर्वाचनमा एमालेका वडा उम्मेदवारहरूले पाएको मत र पाँच वर्षअघि पोखरेलले कांग्रेका उम्मेदवारलाई जुन भारी मतान्तरले हराए, त्यसले पनि यहाँ एमालेको वर्चश्व कति धेरै छ भन्ने देखाउँछ।
काठमाडौं क्षेत्र नम्बर ५ मा २०७४ मा पोखरेलले २३ हजार २९ मत ल्याएर नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलाई १० हजार मतको अन्तरले हराएका थिए। महतले जम्मा १३ हजार १ सय ६९ मत मात्र ल्याएका थिए।
गएको स्थानीय तह चुनावमा पनि एमालेका वडा अध्यक्षहरूले १९ हजार ७ सय ५ मत ल्याएका थिए। नेपाली कांग्रेसका वडा अध्यक्षहरूले १४ हजार ८ सय ५२ मत पाएका थिए। यहाँ राप्रपाको २ हजार ९ सय २ मत छ भने एकीकृत समाजवादीको १ हजार ८ सय २७ र नेकपा माओवादी केन्द्रको १ हजार १ सय ६८ मत छ।
एमालेको यति बलियो उपस्थिति रहेको निर्वाचन क्षेत्रमा पोखरेल भने कमजोर देखिएका छन्। यो उनको व्यक्तिगत अलोकप्रियताको परिणाम हो। पोखरेलले प्रत्यक्षतर्फ पाउने मत र एमालेले समानुपातिकतर्फ पाउने मतले पनि यो पुष्टि गर्छ।
हामीले कुरा गरेका २७३ मध्ये सबैभन्दा धेरै ६६ जनाले समानुपातिक एमालेलाई मत दिने बताए। तर तीमध्ये ५१ जनाले मात्रै पोखरेललाई प्रत्यक्षमा मत दिने बताए। यसरी एमालेलाई समानुपातिकमा मत दिनेमध्ये २३ प्रतिशत मतदाताले पोखरेललाई प्रत्यक्षमा मत नदिने देखिएको छ।
अर्कोतिर यो क्षेत्रमा कांग्रेसलाई समानुपातिकमा मत दिनेभन्दा प्रदीप पौडेललाई प्रत्यक्षतर्फ भोट दिने मतदाता धेरै छन्। हामीले कुरा गरेका ४८ जनाले मात्रै कांग्रेसलाई समानुपातिकतर्फ मत दिने बताउँदा ६६ जनाले पौडेललाई प्रत्यक्षमा मत दिने बताए।
पाँच वर्षअघि ईश्वर पोखरेललाई मत दिएको ठूलो हिस्सा यसपालि उनीबाट टाढिएको छ। हामीले भेटेका २७३ जनामध्ये १०४ मतदाताले पाँच वर्षअघि पोखरेललाई मत दिएको बताए। तीमध्ये यसपालि आधाभन्दा कम अर्थात् ४८ जनाले मात्र उनलाई मत दिन्छु भने।
बाँकी मत भने उनको भागबाट अन्तै सरेको छ। यसअघि पोखरेललाई भोट दिएका १९ जनाले यसपालि कांग्रेसका प्रदीपलाई दिने बताए। जबकि यसअघि कांग्रेसलाई मत दिएका एक जनाले मात्रै पोखरेललाई मत दिने बताए।
यसअघि पोखरेललाई मत दिएका २० जनाले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणय शमशेर राणालाई, ४ जनाले स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठलाई, ४ जनाले राप्रपालाई, बाँकी ९ जनाले नेमकिपा तथा अन्य स्वतन्त्र उम्मेदवारलाई भोट दिने बताए।
पोखरेललाई पोहोर मत दिएका ४८ जनाबाहेक दुई जना नयाँ मतदाताले मात्र उनलाई मत दिन्छु भने।
यसरी पोखरेलले यसपालि कुनै दलबाट आफूतिर मत तान्ने देखिँदैन। जबकि उनलाई पाँच वर्षअघि दिएको मत धेरैतिर छरिने देखिन्छ।
अर्कोतिर प्रदीप पौडेलले कांग्रेसबाहेक अरू थुप्रैतिरबाट मत जोड्ने देखिन्छ। प्रदीपले एमाले, राप्रपा र नयाँ मतदाताको भोट पनि तान्न सक्नेछन्। पाँच वर्षअघि एमालेलाई भोट दिएका १९, राप्रपालाई दिएका २ र ५ जना नयाँ मतदाताले यसपालि पौडेललाई भोट दिने बताए।
अहिलेसम्म कसलाई भोट दिने भन्नेबारे निर्णय गर्न नसकेका ७२ मतदाता (२६ प्रतिशत) पनि हामीले भेट्यौं। यी अनिर्णीत मतदातामध्ये सबभन्दा ठूलो संख्या पनि पाँच वर्षअघि एमालेलाई मत दिएका ५५ जना छन्। जबकि यसअघि कांग्रेसलाई दिएका ८ जना मात्र अर्निणीत देखिए। यसले पनि पाँच वर्षभित्र पोखरेलको लोकप्रियता कति धेरै खस्किएछ भन्ने देखाउँछ।
काठमाडौं- ५ मा ससाना दल र स्वतन्त्र उम्मेदवार धेरै छन्।
हामीले भेटेमध्ये कैयन मतदाताले स्वतन्त्रलाई भोट दिन मन भएको तर स्वतन्त्र उम्मेदवार धेरै भएर वातावरण गिजोलिएको बताए। धेरैले एउटा उठ्या भए त उसैलाई दिन हुन्थ्यो भने।
बुढानिलकण्ठ- ७ हेपाली हाइटका ४६ वर्षीय राजु श्रेष्ठलाई यसपालि स्वतन्त्र उम्मेदवारलाई भोट हाल्न मन थियो।
'तर स्वतन्त्र उम्मेदवार नै धेरै भए। सबैले बालेनको बाटो पछ्याएर स्वतन्त्र उठे। एउटा उठ्या भए त उसैलाई दिन्थेँ,' उनले भने।
एउटा मात्रै स्वतन्त्र उम्मेदवार नभएको गुनासो गर्नेहरूमध्ये कतिले पुरानै पार्टीलाई भोट हाल्न लागेको बताए। तीमध्ये एक हुन् टोखा- ३ का नारायण खनाल।
'ठूला पार्टीलाई दिऊँ फेलियर (असफल) भए, स्वतन्त्रलाई दिऊँ जित्दैन। त्यसैले मैले राप्रपालाई भोट दिन्छु,' उनले भने।
नयाँ र स्वतन्त्र उम्मेदवार खोज्ने मतदाताका लागि यहाँबाट उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणय शमशेर राणा एक विकल्प बनेका छन्। तर उनी यसअघि नेपाली कांग्रेसकै महाधिवेशनमा प्रतिनिधि रहेकाले पनि हुन सक्छ, उनलाई धेरैले 'फ्रेस' वा स्वतन्त्र मानेको देखिँदैन। कतिले उनलाई दिनुभन्दा कांग्रेसकै पौडेललाई दिने बताए।
टोखा- २ का गोविन्द श्रेष्ठले यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिकमा भोट दिने बताए। अध्यक्ष रवि लामिछाने उनलाई मनपर्ने रहेछ। प्रत्यक्षमा भने उनले राणाको सट्टा स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठलाई भोट दिने बताए।
'स्वतन्त्रले उठाउँदा विचारै नगरी उम्मेदवार उठायो, त्यसैले भोट दिन्नँ,' उनले भने।
केही समयअघिसम्म नेपाली कांग्रेसमा रहेका राणाले कांग्रेसको धेरै मत तान्ने आकलन धेरैले गरेका थिए। तर हामीले कुरा गरेका मतदातामध्ये यसअघि कांग्रेसलाई मत दिएका ५ जनाले मात्र राणालाई भोट दिने बताए। कांग्रेसभन्दा उनले एमालेकै धेरै मत काट्ने छन्। यसअघि ईश्वर पोखरेललाई दिएका २० जनाले यसपालि राणालाई भोट दिन्छु भनेका छन्।
कुन उम्मेदवारलाई किन मत दिने वा नदिने भन्नेबारे मतदाताका भिन्न धारणा छन्।
हामी पुग्दा बुढानिलकण्ठका कृष्णबहादुर कुमाल आफ्नो किराना पसलमा ग्राहकलाई सामग्री बिक्री गरिरहेका थिए। उनी १६ वर्ष संयुक्त अरब इमिरेट्समा बिताएर फर्किएका हुन्। कृष्णबहादुर संसदीय निर्वाचनमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्दै छन्।
'म दुई वर्षअगाडि फर्किएको हुँ। योभन्दा अगाडिको स्थानीय निर्वाचनमा मात्रै भोट खसाल्न पाएको थिएँ। परदेशी परियो, भोट खसाल्न भनेर बिदा पाइँदैन। त्यही भएर छुटिरहेको थिएँ,' उनले भने।
यो पटक भोट खसाल्न पाउँदा पनि उनी धेरै उत्साहित भने छैनन्।
'राजनीतिक दलका मान्छे काम गर्ने खालका छैनन्। केही गर्छन् कि भनेका जस्ता व्यक्ति स्वतन्त्रबाट उठेका छन्। हारजीत जे भए पनि मेरो एउटा मत चाहिँ स्वतन्त्रलाई नै खसाल्छु।'
यो पटक आफूले स्वतन्त्र उम्मेदवार हेमराज थापालाई भोट हाल्ने बताए।
'हाम्रो देश आफैंमा नराम्रो होइन नि! युएईले आफ्नो मरूभूमिमा कति धेरै विकास गरेको छ। हरियाली सुन्दर बगैंचा बनाएको छ। तर प्राकृतिक सौन्दर्यले आफैं भरिपूर्ण नेपाललाई नेताहरूले मरूभूमि बनाउन लागिसके,' उनले दुखेसो व्यक्त गरे।
अघिल्लोपटक नेपाली कांग्रेसमा भोट हालेकी टोखाकी कान्छी खत्री यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीमा भोट हाल्ने सोचमा छिन्। पुराना पार्टीले काम नगरेकाले नयाँबाट आशा राखेको उनले बताइन्।
उनले यसअघि स्थानीय तहको चुनावमा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेको र हाल राम्रा काम गरेको उदाहरण दिइन्।
'हेर्नु त स्वतन्त्रले कति राम्रा काम गरेका छन्। तर पुराना पार्टी कसरी भ्रष्टाचार भन्ने मेसोमा मात्र छन्,' उनले भनिन्, 'त्यसकारण म त स्वतन्त्र पार्टीलाई भोट हाल्छु, अरूलाई पनि सुझाव दिइरहेकी छु।'
हामी पुग्दा लाजिम्पाट बस्ने ६१ वर्षका उत्तम थापा घाम ताप्दै चिया पिउँदै थिए।
चुनावको कुरा सुरू गर्नेबित्तिकै उनले हामीसँग भने, 'यसपालि कसले जित्छ थाहा छैन, कांग्रेसका प्रदीप पौडेल २० जनामध्येका राम्रो उम्मेदवार हुन्।'
उनी आफू राप्रपाको समर्थक भए पनि यसपालि कांग्रेसलाई मत दिने बताए।
'अरू थप स्वतन्त्र बहुलाएर उठेका हुन्। सबै स्वतन्त्र भनेका छन्। यता घर, उता घर सबै स्वतन्त्र रे,' उनले भने, 'सबै स्वतन्त्र एक भएर केही मात्र उठेका भए पक्कै जित्थे, अब जित्दैनन्। म चाहिँ प्रत्यक्षमा कांग्रेसलाई दिन्छु, समानुपातिकमा राप्रपालाई।'
काठमाडौं महानगरपालिका- ५ का कृष्ण ढुंगेलले यसअघि चुनावमा सबै मत एमालेलाई दिएका थिए। यसपालि उनले प्रत्यक्षमा प्रदीप पौडेल र समानुपातिकमा एमालेलाई मत दिने बताए।
'हामीले ईश्वर पोखरेललाई धेरै पटक जितायौं तर उनले केही काम गरेनन्। कोभिडका समयमा उनले स्थानीयलाई हेरेनन्। आफ्नै व्यक्तिगत स्वार्थको कारण विवादमा परे,' उनले थपे, 'यस्तालाई भन्दा युवा नेता प्रदीपलाई दिनु राम्रो हो, केही नगरे पनि नेता त नयाँ फेरिन्छ।'
टोखा नगरपालिका वडा नम्बर ३ मा बस्ने सानुमाया बानियाँ ७० वर्षकी भइन्। बुढेसकालमा सुगर र प्रेसर भएकी उनी हामी पुग्दा पसलको पिँढीमा मुख छोपेर बसिरहेकी थिइन्। बाटो भत्किएकाले धूलो उडिरहेको थियो।
'जसलाई भोट दिए पनि त्यस्तै रहेछ। पाँच वर्षअघि सबै भोट एमालेलाई दिएको, जो उठे पनि के गर्छन् र! जनताको मर्का कहिले बुझ्दैनन्। योपालि भोट हाल्न जाँदिनँ। खुट्टा दुखाएर तिनीहरूलाई भोट दिन किन जाने! जान्नँ,' उनले भनिन्।
बुढानिलकण्ठ वडा नम्बर ६ की अप्सरा केसीले अघिल्लो चुनावमा कांग्रेसलाई मत दिएकी थिइन्। यसपालि उनले समानुपातिकमा रूखलाई मत दिए पनि प्रत्यक्षमा भने ईश्वर पोखरेललाई मत दिने बताइन्।
'पहिला पनि रूखलाई दिएकै हो, जितेन। यसपालि पनि एमालेले नै जित्छ। जसले जित्छ त्यसैलाई त दिने हो,' उनले भनिन्।
बुढानिलकण्ठ वडा नम्बर ४ का विकास श्रेष्ठ पनि ईश्वर पोखरेललाई नै भोट दिने सोचमा छन्। एमाले देशको विकास गर्ने पार्टी भएकाले भोट दिन लागेको उनले बताए।
'एमालेले के गरेको छैन?,' उनले भने, 'सडक कालोपत्रे गरेको छ। देशभर झोलुंगे पुल निर्माण गरिरहेको छ। सुरूङ मार्ग एमालेले नै बनाएको हो। अरू कसले सुरूङ बनाएको थियो?'
एमालेमा बलिया नेता भएका कारण आफूले एमालेमै भोट दिन लागेको उनले बताए।
बुढानिलकण्ठ वडा नम्बर ३ का अजुर्न मालबुल लामो समयदेखि नै माओवादीलाई भोट हाल्दै आएका छन्। योपटक उनी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका प्रदीप पौडेललाई भोट दिँदै छन्। समानुपातिकमा भने पुरानै पार्टीलाई भोट दिने उनले बताए।
'यो संविधान बचाउने गठबन्धन हो। गठबन्धन छाडेर मेरो भोट अन्त जाँदैन,' उनले भने।
अघिल्लो पटकको संघीय निर्वाचनमा एमालेलाई भोट दिँदै आएका कतिपयले ईश्वर पोखरेलको कामसँग चित्त नबुझेको बताए। पोखरेलले जनहितमा काम गर्नुको सट्टा आफ्नै हितमा मात्रै काम गरेको आरोप उनीहरूको छ।
टोखाका ४३ वर्षीय रमेश डंगोल यसअघि एमालेलाई भोट हाल्दै आएका थिए। योपटक उनी कांग्रेसलाई भोट हाल्ने पक्षमा छन्।
'ईश्वर पोखरेललाई फेरि उठ्न लाज हुनुपर्ने हो। महामारीको समयमा भ्रष्टाचारको त्यत्रो ओम्नी काण्ड मच्चाए। तर पनि उठिरहेका छन्। आफ्नै ट्यांकी भर्नेलाई किन भोट दिनु?,' उनले भने।
तुरचा- ३ टोखाकी राममाया श्रेष्ठ पसलअगाडि बोरामा धूलो उठाउँदै भेटिइन्।
यसअघि एमालेलाई भोट दिँदै आएकी उनी योपटक नेपाल मजदुर किसान पार्टीलाई भोट दिने सोचमा छिन्।
'एमालेलाई भोट दिएँ। केही सुधार भएन। यस्तो धूलो छ यी!,' उनले बोरामा उठाएको धूलो देखाउँदै भनिन्।
बुढानिलकण्ठ नगरपालिका वडा ५ का स्थानीय कृष्ण ठकुरी जुन पार्टीको सरकार बने पनि टोलको विकास हुन नसकेको गुनासो गर्छन्। चिसिनी टोलका ठकुरी टोलमा सडक र बत्तीको समस्या रहेको बताउँछन्। अझ उनको गुनासो भने पाटीप्रति नै छ।
'एमालेले जित्दा हाम्रो टोलको विकास गर्दैन, यो टोल कांग्रेसको टोल हो भनेर हामीलाई छुट्याइदिएका छन्,' उनले सेतोपाटीसँग गुनासो पोखे, 'जुन टोल भए पनि आखिर एउटै नगरपालिका होइन र! विकासका लागि हामीले त्यही पार्टीलाई नै भोट हाल्नुपर्ने भन्ने हुन्छ त?'
यसअघि उनले प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली कांग्रेसलाई मत हालेका थिए। यसपटक पनि उनको सोच कांग्रेसलाई नै दिने छ।
'यसपटक कांग्रेसबाट युवा नेता उठ्नुभएको छ। न हाम्रो टोलको समस्या पनि बुझ्नुहुन्छ कि!,' उनी भन्छन्, 'यसपालि पनि भोट नेपाली कांग्रेसलाई नै हो।'
त्यस्तै पाँच वर्षअघि नेकपा एमालेलाई भोट दिएकी बुढानिलकण्ठकी अञ्जली दुलाल यसपटक पनि एमालेमै भोट खसाल्ने सोचमा छिन्। स्थानीय उम्मेदवारले स्थानीयको समस्या बुझेर पाँच वर्षे कार्यकालमा राम्रो काम गरेकाले प्रत्यक्षमा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई र समानुपातिकतर्फ पनि एमालेमै भोट हाल्ने उनले बताइन्।
'एमालेले यसअघि जितेर धेरै राम्रो काम गर्यो। स्थानीयवासीको समस्या बुझेको छ। पहिलै धुलाम्मे र हिलाम्मे हुने सडक अहिले ढलान भएको छ,' उनले ढलान गरेको सडक देखाउँदै भनिन्, 'पिउने पानीको समस्या थियो। अहिले दुई सय घरलाई दुइटा ट्यांकी राखिदिएको छ।'
(शोभा शर्मा, निर्मला घिमिरे, सबिना कार्की, मनिका विश्वकर्मा, सुसन चौधरी र मन्दिरा घिमिरेले संयुक्त रूपमा गरेको स्टोरी)
यी पनि:
पढ्नुहोस् सेतोपाटी निर्वाचन विश्लेषण शृंखलाका स्टोरी