सेतोपाटी निर्वाचन विश्लेषण:
चुनावको दिन नजिकिँदै गर्दा देशभर राजनीतिको पारो चढेको छ। काठमाडौं शंखरापुर १ को नाङ्लेभारेकी ३५ वर्षीया अन्जु तामाङलाई भने राजनीति गर्छु भन्नेहरूसँग कन्चट तातेको छ रे!
आफ्नो खेतबारीमा उत्पादन कम हुँदै गएको र किसानलाई परेको मर्कामा राजनीति गर्नेहरूले ध्यान नदिएकोमा उनलाई रिस उठेको छ। किसानका समस्या राजनीति गर्नेहरूको असफलतासँग जोडिएको उनले तर्क गरिन्।
‘पहिले दशमुरी फल्ने ठाउँमा अहिले दुईमुरी पनि फल्दैन। पहिले खेतबारीको अन्न मिसाएर खाँदा वर्ष दिनलाई पुग्थ्यो अहिले दुई-चार महिना नै धान्न गाह्रो भो,’ उनले भनिन्।
पछिल्लो पाँच वर्षमा सबै पार्टी सत्तामा पुगे पनि किसानलाई चाहिने मल कसैले नल्याइदिएकोले उनको चित्त दुखेको छ।
‘अनुदानमा हामीले २५ सयमा पाउनुपर्ने मल व्यापारीले ल्याएर ५ हजार सम्ममा बिक्री गरेका छन्,’ उनले भनिन्, ‘सरकारले मल किनेर ल्याउन नसक्ने तर व्यापारीले सक्ने कसरी हुन्छ?'
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भोट दिएकी उनलाई यसपालि कसैलाई पनि भोट दिन मन छैन।
‘त्यो दिन उस्तै परे म सुतेर बस्ने हो। टन्न खाजा खाने, बरू काममा पनि नजाने। अनि पारिलो घाममा ढाड फर्काएर सुत्ने,’ उनले भनिन्।
शंखरापुर नगरपालिका काठमाडौं निर्वाचन क्षेत्र २ मा पर्छ। नगरपालिका भए पनि यहाँ ग्रामीण बस्ती पनि छन् र खेती किसानी गर्ने मानिसहरू पनि छन्।
शंखरापुर-९ का ४० वर्षीय विकास खड्कालाई हामीले टोलको चिया पसलमा भेट्यौं। निर्वाचनबारे कुरा गर्ने सिलसिलामा तपाईंको खबर के छ भन्नेबित्तिकै उनले भने, ‘खबर के हुनु, मल नपाएर पाँच रोपनी बारी बाँझो छ। दु:ख छ नि!’ खेतमा राख्ने रासायनिक मल नपाउँदा किसानहरूको बारी बाझै रहेको उनले पनि दु:ख पोखे।
राजनीतिक रूपमा उनी सधैं नेपाली कांग्रेसको समर्थक रहेछन्। मल नपाएर आफैं सास्ती पाएका खड्काले यसपालि सत्तारूढ गठबन्धनलाई मत दिन्नन् होला भन्ने अनुमान गर्नु अस्वाभाविक थिएन।
तर हैन रै’छ। उनले यसपालि पनि समानुपातिकतर्फ कांग्रेसलाई नै मत दिने रे। अनि प्रत्यक्षमा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीलाई।
‘राष्ट्रिय स्तरमा हिजो द्वन्द्वका बेला टाउकाको मोल तोक्नेहरू अहिले मिलेर राजनीति गरेका छन्,’ उनले प्रश्न गरे, ‘हामी चाहिँ किन नमिल्ने?’
शंखरापुर वडा नम्बर ९ मा बस्ने २४ वर्षीया मनु खड्का यसपालि पहिलो पटक मत हाल्दैछिन्। हामी उनको घर पुग्दा उनी भर्खरै कामबाट आइपुगेकी रहिछन्। उनी भाइ र आमासँग पिँढीमा बसेर कुरा गरिरहेकी थिइन्।
एउटा सहकारीमा काम गरिरहेकी उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिने बताइन्। घरपरिवारले मत दिँदै आएको पुरानो पार्टीलाई मत नदिने निर्णय उनी आफैंले गरेकी हुन्।
‘चुनावका बेला नमस्ते गर्न आउने र त्यसपछि वास्ता नगर्ने पुराना पार्टीलाई भन्दा नयाँ युवालाई मत दिन्छु,' उनले भनिन्, ‘बरू उनीहरूले केही काम गर्छन् भनेर आशा गर्न सकिन्छ।’
घण्टीले जितेपछि महिलाहरूको सुरक्षाको लागि अझ बलियो नीति ल्याओस् भन्ने चाहना उनको छ। उनी आफैं पनि रातको समयमा हिँड्दा, सहकारीको कामको लागि दिनहुँ फिल्डमा हिँड्दा असुरक्षित महसुस गर्छिन्।
‘रातको समय हिँड्डुल गर्दा महिलाहरूले डराउनु पर्ने वातावरण हुनुहुन्न,’ उनले भनिन्।
यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका कट्टर समर्थक मतदाता पनि हामीले धेरै भेट्यौं। शंखरापुर ८ स्थित बज्रयोगिनीका शंकर मोक्तानले आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने म्याण्डेट पाउँदा पनि बीचमा दुई-दुई चोटि संसद भंग गरेको कुरा खासै राम्रो मानेका छैनन्।
‘जनताले पाँच वर्ष काम गर भनेर पठाएको हैन? पाँच वर्षसम्म काम गरेर देखाएको भए पार्टी कति बलियो हुन्थ्यो? देशको राजनीति स्थिर र राम्रो हुन्थ्यो। अर्को १० वर्ष पनि जित्ने अवस्था आउन सक्थ्यो,’ उनले भने, ‘नेताहरूले बिगारे। नेतासँग चित्त बुझ्दैन तर एमाले पार्टी त आफ्नै हो। भोट अन्त दिन मन पनि लाग्दैन।’
विगतका चुनावलाई हेर्ने हो भने काठमाडौं-२ एमालेको वर्चश्व भएको ठाउँ हो। यहाँबाट पछिल्लो पटक तत्कालीन एमाले नेता माधवकुमार नेपालले ठूलो अन्तरका साथ चुनाव जितेका थिए। उनले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी खोलेका छन्। तर पनि यो क्षेत्रमा एमालको बलियो प्रभाव छ।
हामीले यो निर्वाचन क्षेत्रका अधिकांश वडा पुग्दा एमालेको उपस्थिति प्रमुख दलहरूमध्ये सबभन्दा बलियो पायौं। त्यसैले एमालेका मणिराम फुयाल यो चुनावमा एउटा मुख्य प्रतिस्पर्धी बन्नेछन्। अर्कोतिर पुराना दलहरूसँग असन्तुष्ट मतदाताहरूको मत भने एक जना उम्मेदवारमा गएर एकत्रित हुने देखिएको छ। पहिले एमाले, कांग्रेस र राप्रपालाई मत दिएका तर उनीहरूसँग यसपालि असन्तुष्ट भएका अधिकांश मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमतिर आकर्षित छन्।
त्यसैले काठमाडौं-२ मा एमालेका मणिराम र स्वतन्त्र पार्टीकी सोबिताबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ।
यी दुई उम्मेदवारबीच पहिलो स्थानका लागि प्रतिस्पर्धा हुँदा राप्रपाकी कुन्ती पोखरेल र सत्ता गठबन्धनकी ओनसरी घर्तीबीच तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुने देखिन्छ।
हामीले यो निर्वाचन क्षेत्रका विभिन्न गाउँ, वडा र टोलमा गएर कुरा गरेका ३०४ मतदातामध्ये सबैभन्दा धेरै ६७ जनाले (२२ प्रतिशत) एमालेका उम्मेदवार मणिराम फुयाललाई मत दिन्छु भने। त्यसकै हाराहीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमलाई ६५ जनाले (२१.३ प्रतिशत) मत दिने बताए।
काठमाडौं मूलपानीका मणिराम बाग्मती प्रदेशमा काठमाडौं-२ बाट निर्वाचित निवर्तमान प्रदेश सभा सदस्य हुन्। पाँच वर्षअघि शिक्षकबाट राजीनामा दिएर उनी निर्वाचन लडेका थिए। सोबिता गौतम दोलखाको तामाकोशी गाउँपालिकामा जन्मेकी हुन्। हाल उनी पेप्शीकोलाकी निवासी हुन्। पत्रकार गौतम नेपाल टेलिभिजनमा पत्रकारिता गर्थिन्। त्यहाँ उनले स्वास्थ्य सरोकार भन्ने कार्यक्रम चलाउँथिन्। नेपाल टेलिभिजनपछि उनी एसडिजी टिभीमा खानपानसम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन्।
त्यस्तै, सत्ता गठबन्धनकी घर्तीलाई ४० जना (१३ प्रतिशत) र राप्रपाकी कुन्तीलाई ३७ जना (१२ प्रतिशत) ले मत दिन्छु भनेका छन्। हामीले कुराकानी गरेका ४ जनाले अरू विभिन्न उम्मेदवारलाई मत दिने बताए।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी सत्ता गठबन्धनमा रहेकाले घर्तीले यति मत पाएकी हुन्। अर्कोतिर यही निर्वाचन क्षेत्रमा पर्ने शंखरापुर नगरपालिकामा यसपालि मेयर जितेर राप्रपाले पनि यहाँ आफ्नो उपस्थिति थप बलियो बनाएको थियो।
पञ्चायतकालमा काठमाडौंका हस्ती पूर्वगृहमन्त्री जोगमेहर श्रेष्ठको गाउँ रहेको शंखरापुरका केही वडामा लामो समयदेखि राप्रपाले जित्दै आएको छ। एमाले र कांग्रेसबाट समेत केही मत तानेर कुन्तीले यसपालि सम्मानजनक उपस्थिति देखाएकी छन्। तर मतदाताको ठूलो हिस्साले कसलाई मत दिने अझै निर्णय गरिनसकेको बताए। हामीले कुरा गरेका ९१ जनाले (२९ प्रतिशत) कसलाई मत दिने टुंगो गर्न बाँकी रहेको बताएका छन्।
यी ९१ जनामध्ये ५७ जनाले पाँच वर्ष अघिको चुनावमा एमालेलाई मत दिएको बताएका छन्। यसले पनि यो निर्वाचन क्षेत्रमा एमालेको कति बलियो प्रभाव छ भन्ने देखाउँछ। पाँच वर्ष अघि एमालेलाई मत दिएका र यसपालि निर्णय गर्न बाँकी मतदाता नै आजका दिनमा एमालेका लागि सबैभन्दा ठूलो भरोसा र संशयको कारण हुन्।
मंसिर ४ गते मत हाल्न जाँदा यीमध्ये धेरै मतदाताले एमालेलाई नै मत दिए भने फुयालको जीत सुनिश्चित हुनेछ। यदि यो मतको ठूलो हिस्साले सोबितालाई रोज्यो भने उनले जित्ने छिन्।
यो मत कता धेरै जान्छ भनेर अड्कल गर्न कठिन छ। अन्तिमसम्म अलमलमा रहने दलका परम्परागत मतदाताले चुनावका दिनमा कसलाई मत दिन्छन् भन्नेमा दुइटा तर्क छन्।
कतिले भन्छन्, लामो समयसम्म अलमलमा परेका मतदाताको ठूलो हिस्सा अन्तिममा पुरानै दलमा फर्किन्छन्।
अर्को तर्कले भन्छ, पहिले नै दलबाट निरास भएर अलमलमा परेका मतदाताको ठूलो संख्या निर्वाचनका दिन दलमा फर्किन्न। अर्को कुनै उम्मेदवारको माहोल बन्यो भने उसैलाई मत दिन्छ।
पहिलो तर्क ठीक भयो भने एमालेका फुयाललाई चुनाव जित्न सजिलो हुनेछ। पछिल्ला दिनमा मतदाताको ध्यान आफूतिर तान्दै लगेकी गौतमतिर यो मत आकर्षित भयो भने उनैले जित्नेछिन्। त्यसबाहेक अरू दलबाट अनिर्णीत मत तान्ने सम्भावना पनि गौतमकै छ।
एमालेलाई मत दिन्छु भन्ने ६७ मतदातामध्ये ५७ जनाले गएको चुनावमा पनि एमालेलाई नै मत दिएको बताए। थप ९ जनाले अघिल्लो पटक कांग्रेसलाई मत दिएको बताए भने एक जनाले पहिलो पटक मतदान गर्न लागेको बताए।
तर सोबितालाई मत दिन लागेका ६५ मतदाता भने गएको चुनावमा फरक-फरक दललाई मत दिएकाहरू छन्। सबैभन्दा धैरै एमालेलाई मत दिएका ३१ जना छन्। कांग्रेसलाई मत दिएका १६ जना, राप्रपालाई (समानुपातिकमा भोट दिएका) ६ जना, पहिलो पटक मत हाल्न लागेका ८ जना र अघिल्लो पटकको मत खुलाउन नचाहने ४ जना छन्।
माओवादी केन्द्रकी ओनसरी घर्तीलाई मत दिने ४० जनामध्ये १८ जनाले अघिल्लो पटक एमाले-माओवादी गठबन्धनका उम्मेदवारलाई मत दिएको बताए। १७ जनाले कांग्रेसलाई, २ जनाले विवेकशीललाई र ३ जना पहिलो पटक मत दिँदै गरेका छन्।
राप्रपाकी कुन्तीलाई मत दिने ३७ जनामध्ये १४ जनाले यसअघि एमाले र १४ जनाले राप्रपालाई समानुपातिकमा मत हालेको बताए। यसरी एमालेको मत यो निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीलाई मात्र हैन राप्रपालाई पनि जाने देखिन्छ। पहिले कांग्रेसलाई मत दिएका ७ जना र नयाँ मतदाता २ जनाले पनि राप्रपालाई मत दिने बताए।
समानुपातिकमा पनि पहिलो पटक चुनाव लड्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ राम्रो मत ल्याउने देखिन्छ। यहाँबाट सबैभन्दा धेरै मत भने एमालेले पाउने छ। एमालेले ६८ मत पाउँदा, राष्ट्रिय स्वतन्त्र पार्टीले ५३, कांग्रेसले ३७, राप्रपाले ३७, माओवादी केन्द्रले १४ र एकीकृत समाजवादीले ६ मत पाउने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ५३ मत पनि मुख्यत: एमाले कांग्रेसबाटै आउने मत हो। अघिल्लो पटक एमालेलाई मत दिएका २५ जना, कांग्रेसलाई मत दिएका १२ जना, राप्रपालाई मत दिएका ६ जना नयाँ र अन्य दललाई मत दिएका १० जनाले यसपालि पहिलो पटक समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिने बताए।
माधव नेपालले पहिले जितेको काठमाडौं-२ मा एकीकृत समाजवादीलाई मत दिने केही मानिस पनि भेट्यौं। शंखरापुर वडा नम्बर १ मा बस्ने ५७ वर्षीय सूर्यमान तामाङले यसअघि एमालेलाई मत दिएका थिए। यसपालि भने उनले समानुपातिक र प्रत्यक्ष दुवैतर्फ मत बदल्ने बताए। उनले समानुपातिकमा कलमलाई मत दिने प्रत्यक्षमा ओनसरीलाई दिने बताए।
हामीसँग कुरा गरेका ८१ जनाले समानुपातिकमा कसलाई मत दिने यकिन नभएको बताए।
एमालेलाई मत नदिनुको कारण खुलाउँदै उनले भने, ‘केपी ओलीले संविधानको मर्यादा विपरीत गएर संसद विघटन नगरेको भए मैले एमालेलाई मत दिन्थे, ओलीले घमण्ड गरेकै एमालेलाई मत नदिने निर्णय गरेको हो।’
मनोहरा कागेश्वरी- ४ स्थित पर्ने डाँछीमा बेकरी सञ्चालन गर्दै आएका सुशील थापा यसपालि राप्रपालाई मत दिने पक्षमा छन्। उनले यसअघि कांग्रेसलाई मत दिएका थिए। तर अब देशमा राजाको आवश्यकता देखिएको हुँदा राप्रपालाई मत दिने निर्णय गरेको बताए।
‘देशमा राजाको आवश्यकता देखिसकेको छु। अहिले राप्रपाका एजेन्डा पनि मन परेको छ। विशेष गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकाल बढी प्रधानमन्त्री बन्न नपाउने एजेन्डा मन परेको हुँदा पनि मैले राप्रपालाई मत दिने निर्णय गरेको हुँ,’ उनले भने, ‘केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले के गरे त?’
संविधान बनाउँदा धर्मनिरिपेक्षता राखेकोमा पनि उनी असन्तुष्ट छन्।
‘संविधान बनाउँदा धर्म निरिपेक्षता गरे। त्यसको लागि यिनीहरूले जनमत संग्रह गर्नुपर्थ्यो,’ उनले भने।
समानुपातिकमा भने यसअघि पनि उनले राप्रपालाई नै हालेको र अहिले पनि त्यसैमा हाल्ने बताए।
शंकरापुर नगरपालिका नाङ्ले बजारको सडकमा घाँसको भारी बोकेर हिँडिरहेकी थिइन्, स्थानीय सुमित्रा खनाल। उनलाई चुनाव र नेताहरूको घरदैलो कार्यक्रमको कुनै वास्ता थिएन। बरू उनी भन्दै थिइन्, 'समस्या नबुझ्नेहरू आश्वासन देखाउन पनि नआए हुन्थ्यो, झूटा आश्वासनले हामी दिक्क भइसक्यौं।'
उनको यो भनाइ सबै पार्टीमा सम्बन्धित थियो। भारी बोकेर हिँडिरहेको सुमित्राको त्यो दिक्कलाग्दो कुरा सुनेपछि हामी उनको गोठसम्मै पुग्यौ।
'घाँस त काटेर ल्याइयो। अब पानी बोक्न गाग्रो बोकेर हिँड्नुपर्छ' उनले भारी बिसाउँदै भनिन्, 'यहाँ एउटा मात्र होइन धेरै कुराको समस्या छ। पिउने पानी छैन, खेती लगाउने बेला मल पाइँदैन कसरी गरी खाने।'
यसअघि उनले प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमालेमा मत हालेकी थिइन्। तर यसपटक प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमलाई र समानुपातिकमा पनि घण्टी चिन्हमा मत हाल्ने बताइन्।
'पहिले फरक पार्टीलाई मत दिइयो केही भएन यसपालि चाहिँ नयाँ स्वतन्त्र पार्टीलाई मत दिने सोचमा छु केही गर्ला कि,' उनले भनिन्।
कागेश्वरी नगरपालिकाका एक मतदाताले भने कुनै पनि पार्टीले विकास नगर्ने बताउँछन्।
'पूरा नहुने एजेण्डा बनाउँछन्, पत्याउनै नसकिने कुरा गर्छन्' पार्टीप्रति आक्रोश हुँदै उनले भने, 'आशा लाग्दो कोही छैनन् तर पनि मत त दिनै पर्यो।'
उनले विगतमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राप्रपालाई भोट हालेका थिए। नाम नखुलाउने सर्तमा बोलेका उनले यसपालि भने गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसलाई मत हाल्ने बताए।
साँखुका प्रवीन श्रेष्ठ कांग्रेस हुन्। उनले पहिलेदेखि कांग्रेसलाई मत हाल्दै आएका थिए। यसपालि केन्द्रबाट गठबन्धन गरी माओवादीका उम्मेदवारलाई उठाएकाले मत दिने/नदिनेबारे सोच्न बाध्य बनाएको उनी बताउँछन्। समानुपातिकमा मत हाले पनि ओनसरी घर्तीमगरलाई मत हाल्ने/नहाल्नेबारे सबै गाउँका साथीहरूसँग छलफल गरेर मात्रै निर्णय लिने उनले बताए।
‘यो क्षेत्रबाट जितेका नेताहरू प्रधानमन्त्रीसम्म भइसकेका छन्। साँखुको मत नै निर्णायक मत पनि हुने गर्छ। अहिले गठबन्धन गरेको छ। त्यसैले मत माओवादीलाई नै हाल्छु भनेर यत्तिकै भन्न सकिने अवस्था भएन,’ उनले भने, ‘हामी यहाँ साथीभाइहरूसँग छलफल गर्छौं, त्यसपछि मात्रै निर्णय गर्छौं।’
ओनसरीलाई मत दिन्छौं भन्नेहरूले संविधान जोगाउनका लागि अहिलेको गठबन्धन जरूरी रहेको बताउँछन्। तीमध्ये एक हुन्- कागेश्वरी-मनोहरा ५ का हिमसरोज बिसी।
पाँच वर्ष शासन गर्न पठाएको एमालेले दुई-दुईपटक संसद विघटन गरेर संविधान विथोल्न खोजेको बताउँदै भने– संविधान जोगाउन पनि गठबन्धनलाई भोट दिने हो मैले। मैले यसअघि कांग्रेसलाई भोट हाल्थेँ। अहिले भने ओनसरीलाई दिने हो।
नेपालीहरूले विकास नभएको भनेर सरकारको अनावश्यक आलोचना गर्ने गरेको उनले तर्क गरे।
‘विकास विस्तारै हुँदै जाने कुरा हो। हामीकहाँ कामै नभएको होइन। छिटो भएन होला। तर कति धेरै काम भइरहेका छन् नि हामीले त्यो पनि हेर्नुपर्छ,’ उनले भने, ‘विकास रातारात खोजेर हुने कुरा होइन।’
मनोहराको थलिबजारको चोकमा बिसीसँगै बसेका दिलीप तामाङले भने सत्तारूढ गठबन्धन मन पराउन्नन्। माधव नेपाल र प्रचण्डले पदका लागि पार्टी फुटाएको उनको आरोप छ। गठबन्धनले जित्यो भने यी दुवै नेताले गर्दा सरकार राम्रोसँग चल्न नसक्ने उनले बताए। ‘यसअघि नेकपाको सरकार पनि उनीहरूकै कारण ढलेको हो,’ उनले भने।
आफू पहिलैदेखि नै एमाले भएकाले एमालेलाई नै भोट दिने बताए।
७९ वर्षीय योगप्रसाद खनाल शंखरापुर १ का हुन्। पहिलेदेखि एमालेलाई मत दिँदै आएका उनी यसपालि पनि एमालेलाई नै मत दिने बताए। वृद्धभत्ता बढाएको कारण यो पनि एमालेलाई दिने विचार गरेका रहेछन्।
'अब एमालेले नै भत्ता बढाएको छ, त्यसैलाई दिनुपर्छ, जसले हाम्लाई हेर्छन् त्यसैलाई त दिने हो नि त,' उनले भने।
२२ वर्षीया मनमाया तामाङ पहिलो पटक संघीय चुनावमा मत दिँदैछिन्। गत वैशाखमा भएको स्थानीय चुनावमा पनि सूर्य चिन्हलाई मत दिएकी थिइन्। घरपरिवार सबै एमाले नै भएकोले प्रत्यक्ष र समानुपातिक दुवैमा सूर्य चिन्हलाई नै मत दिने उनले बताइन्।
(शोभा शर्मा, निर्मला घिमिरे, सबिना कार्की, मनिका विश्वकर्मा, युनिक श्रेष्ठ,सुसन चौधरी र मन्दिरा घिमिरेले संयुक्त रूपमा गरेको स्टोरी)