सेतोपाटी निर्वाचन विश्लेषण:
देशैभरिबाट चुनिने प्रतिनिधि सभाका सदस्यहरू अन्तत: काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आउने छन्। किनभने प्रतिनिधि सभा भवन यही निर्वाचन क्षेत्रमा पर्ने नयाँ बानेश्वरमा छ।
काठमाडौं क्षेत्र नम्बर १ भने चुनाव आउन दस दिन मात्रै बाँकी हुँदा पनि कसलाई मत दिने भनेर अलमलमा छ।
यो निर्वाचन क्षेत्र काठमाडौंको पनि मुटुमा पर्छ। यो काठमाडौंको एक मात्र यस्तो निर्वाचन क्षेत्र हो जुन महानगरभित्र मात्र पर्छ। महानगरका चार वडा १०, ११, २९ र ३१ मिलेर बनेको यो निर्वाचन क्षेत्र भौगोलिक हिसाबले पनि सानो छ।
काठमाडौंका घना बस्ती भएका त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, बबरमहल, अनामनगर, बिजुलीबजार, बुद्धनगर, नयाँ बानेश्वर, मीनभवन, शान्तिनगर, भिमसेनगोला र मध्येबानेश्वर यही निर्वाचन क्षेत्रमा पर्छन्।
शिक्षा, यातायात र सञ्चारको हिसाबले सुगम यो निर्वाचन क्षेत्रका मतदाताका लागि कसलाई मत दिने भनेर निर्णय गर्न धेरै कठिन हुन नपर्ने हो। तर मतदाताको ठूलो हिस्सालाई भइरहेको यही छ।
हामीले पछिल्ला केही दिनमा यो निर्वाचन क्षेत्रका मतदातासँग भेटेर कुरा गरेका छौं।
यो क्षेत्रका चुनावी एजेन्डा के हुन्, यहाँ केके समस्या छन्, राष्ट्रिय राजनीतिका बारेमा उनीहरू के सोच्छन्, उनीहरू कुन उम्मेदवारलाई, किन मत दिन चाहन्छन्, समानुपातिकतर्फ कसलाई मत दिन चाहन्छन्?
यिनै प्रश्न लिएर हामी मतदाताकहाँ पुगेका थियौं।
हामीले कुरा गरेका २२९ मध्ये ७६ जना अर्थात् ३३ प्रतिशत मतदाताले कसलाई मत दिनेबारे निर्णय गर्न बाँकी रहेको बताए। यो संख्या कुनै एक उम्मेदवारलाई मत दिन्छु भन्ने निर्णय गरिसकेको मतदाता संख्याभन्दा धेरै हो।
निर्णय गरिसकेका मतदातामध्ये सबैभन्दा धेरै, ५१ जना (२२ प्रतिशत) ले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई मत दिने बताए।
यो क्षेत्रबाट पछिल्ला तीन निर्वाचन जितेका प्रकाशमान सिंहबाहेक अरू चार जना यहाँ प्रमुख उम्मेदवार छन्।
प्रमुख प्रतिपक्षी दल एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र सुशासन पार्टीका रमेश खरेल।
त्यस्तै अधिवक्ता बालकृष्ण न्यौपानेले पनि यहाँबाट उम्मेदवारी दिएका छन्। न्यौपानेको चर्चा भने कतै छैन। नत मतदाताले नै उनलाई रूचाएको देखियो। उनलाई मत दिन्छु भन्ने जम्मा एक जना मतदाता मात्र हामीले भेट्टायौं।
आफूले छान्ने उम्मेदवारबारे निर्णय गरिसकेकामध्ये ३० जनाले रवीन्द्र मिश्र (१३ प्रतिशत), ३० जनाले पुकार बम (१३ प्रतिशत), २२ जनाले रमेश खरेल (१० प्रतिशत) र १६ जनाले किरण पौडेललाई (७ प्रतिशत) मत दिने बताए।
अन्तिम मत परिणाममा निर्णायक हुनसक्ने गरी यो क्षेत्रका ३३ प्रतिशत मतदाता अझै किन अनिर्णीत छन्?
त्यो बुझ्न अब केही मतदाताका कुरा सुनौं।
काठमाडौंको भित्री बस्तीमा पर्ने भोटेबहाल मुख्य व्यापारिक इलाका पनि हो। हामीले यहाँ घर भएका २५ वर्षीय सुधीर कँडेलसँग कुरा गर्यौं। उनी पहिलो पटक मत हाल्दै रहेछन्। तिहारका लागि अस्ट्रेलियाबाट आएका उनी अब भोट हालेर मात्रै विदेश फर्किने रे।
कसलाई मत दिने भन्नुभन्दा पहिले उनले यहाँका स्थानीय समस्याबारे कुरा गरे।
उनले भोटेबहाल क्षेत्रका भित्री सडकसम्म कालोपत्रे भए पनि ढलको समस्या र अव्यवस्थित बिजुलीका तार/पोलहरू यथावत रहेको बताए। यस्ता समस्या वर्षौंदेखि ज्यूँका त्यूँ रहेको भन्दै उनले असन्तुष्टि पोखे।
'मलाई त देशभरि नै बजेटको प्रयोग राम्ररी भएको छैन भन्ने लाग्छ। हामीसँग बजेट छ तर त्यसको प्रयोग राम्ररी भएको छैन। खर्च गर्ने व्यवस्थामा सुधार हुनुपर्यो। त्यसका लागि हाम्रो क्षेत्रको सांसदले कति काम गरेका छन्?' उनले प्रश्न गरे।
अब चुनिने सांसदले त्यस्ता कुरामा ध्यान दिऊन् भन्ने उनको चाहना छ।
उनले अहिले आफ्नो चुनाव क्षेत्रमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार के भन्छन् भनेर सुनिरहेका छन्।
'म पुराना होइन, नयाँलाई भोट दिने सोचिरहेको छु,' उनले भने, 'राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र सुशासन पार्टीका रमेश खरेल; यी तीन जनामध्ये कसलाई रोज्ने भन्ने टुंगोमा पुगिसकेको छैन।'
अनामनगर र मध्यबानेश्वर जोड्ने धोबीखोला माथिको पुल छेउमा किराना पसल गरी बस्ने गंगा केसी हामी उनको पसलमा पुग्दा सामान बेच्न व्यस्त थिइन्।
ग्राहक निस्केपछि उनले आफ्ना हात देखाउँदै भनिन्, 'हेर्नुहोस् न धूलो!'
उनी आफ्नो पसल छेउको पुल नबनेकोमा असन्तुष्ट छिन्।
'सिंहदरबारबाट दुई सय मिटर पर्छ होला यो ठाउँ। यो पुलको हालत सात वर्षदेखि यस्तै छ। चुनाव आए, गए। सांसद, मेयर सबै फेरिए। तर कसैले यो पुल किन बनेको छैन भनेर ध्यान दिएनन्,' उनले भनिन्, 'कामै गर्ने हो भने यो पुलमा दिनभरिको काम पनि छैन। तर बाँकी काम पूरा गर्दैनन्।'
यसरी काम अधुरो छाड्ने ठेकदार र सरकारी कर्मचारीलाई कसैलाई कारबाही नभएको गुनासो उनले गरिन्।
उनी प्रश्न गर्छिन्, 'हामीले चुनेर पठाएका नेता के गर्छन्?'
यसअघि कांग्रेसलाई मत दिँदै आएकी उनले यसपालि मंसिर ४ गते नयाँ पार्टी रोज्ने बताइन्।
'तर नयाँ अनुहारमा पनि कसलाई रोज्ने भन्ने दोधारमा छु,' उनले भनिन्।
पहिले कांग्रेसलाई मत दिए पनि यसपालि सो दललाई मत नदिने टुंगोमा पुगेकी गंगा मात्र होइनन्। अरू थुप्रै मतदाता छन्।
पुतलीसडकका ६५ वर्षीय रामकुमार श्रेष्ठले पनि यसपालि कांग्रेसलाई मत नदिने बताए।
'बहुदल आएको ३२ वर्ष भयो। हामी भोट हालेको हाल्यै छौं। यिनीहरूले खै के दिए?' उनले प्रश्न गरे, 'कांग्रेसलाई त दिन्नँ। यहाँ अरूले जित्दैनन्। कसलाई दिने, कसलाई! मैले निर्णय गर्न सकेको छैन।'
घट्टेकुलोका श्यामकृष्ण अमात्यले पनि यसपालि प्रकाशमान सिंहको सट्टा नयाँलाई भोट दिने मन बनाएका छन्। तर नयाँमध्ये को राम्रो हो, उनले निर्णय गर्न सकेका छैनन्।
'बुझ्दैछु, बुझ्दै जाँदा जो राम्रो लाग्छ उसैलाई मत दिन्छु,' उनले भने।
शंखमुलका २८ वर्षीय पराशर बस्नेतले पनि यसअघि नेपाली कांग्रेसलाई भोट दिएका थिए। प्रकाशमान सिंहलाई मत दिए पनि उनको कामबाट आफू सन्तुष्ट नभएको उनले बताए।
राज्यले रोजगार नदिएको कारण युवाहरू विदेशिनु परेको उनको भनाइ छ। युवाहरूका लागि सरकारले रोजगार दिनुपर्छ र रोजगारी सिर्जना कसरी हुन्छ भन्ने सोच्नसक्ने नेता चाहिएको उनले बताए।
'अहिले हामी जस्ता युवाहरू स्नातक पढेपछि पनि कुनै जागिर पाउँदैनौं। पाइहाल्यो भने पनि क्षमतावानले भन्दा कसैको आफन्तले पाउँछ,' उनले भने।
रोजगारीका अवसर कम भएको अहिलेको समयमा व्यावहारिक, प्राविधिक र सिपमूलक शिक्षामा ध्यान जानुपर्नेमा त्यसो नभएको उनले गुनासो गरे।
'युवाको समस्या युवाहरूले बुझेका हुन्छन्। त्यसैले मेरो भोट युवा नेतालाई दिने हो,' उनले भने।
उनले भने स्वतन्त्र पार्टीलाई मत दिने निर्णय गरिसकेको बताए।
परम्परागत हिसाबले कांग्रेसलाई यसअघि मत दिने गरेका मतदाताको ठूलो हिस्साले यसपालि कांग्रेसलाई मत नदिने बताए। त्यसमध्ये कतिपय कसलाई मत दिने भन्नेमा अझै अलमलमा छन् भने कतिले कसलाई मत दिने तय गरिसकेको बताए।
पहिले कांग्रेसलाई मत दिने गरेका कतिपय मतदाताले यसपालि मुख्यगरी रमेश खरेल, रवीन्द्र मिश्र, पुकार बमलाई मत दिने बताए। पहिले एमालेलाई मत दिने कतिपय मतदाताको मत पनि यी तीन जनाबीच बाँडिने देखिन्छ।
कांग्रेसका थुप्रै मत यसपालि कांग्रेसबाट बाहिरिए पनि प्रकाशमान सिंहलाई नै मत दिने कांग्रेसीको संख्या अझै ठूलो छ। त्यसैले हामीले कुरा गरेका मतदाताको सबैभन्दा धैरै मत पाउनेमा सिंह नै देखिए।
अरू मुख्य उम्मेदवारलाई जाने मत यसपालि बाँडिने भएकाले पनि सिंहलाई राहत मिलेको छ। त्यसको लाभ उनले उठाउन सक्छन्। पाँच वर्षअघि, २०७४ सालमा यो निर्वाचन क्षेत्रमा उनी र तत्कालीन विवेकशील साझाका रवीन्द्र मिश्रबीच मुख्य प्रतिस्पर्धा भएको थियो। मिश्र आठ सय १९ मतले मात्र पराजित भएका थिए। यसपालि सिंहको मत प्रतिशत पाँच वर्षअघि भन्दा घट्ने देखिन्छ। तर मिश्रलाई जाने मत पनि घट्ने देखिन्छ।
पाँच वर्षअघि ठिक्क चुनावअगाडि हामीले यसरी नै मतदातालाई सोध्दा सिंह र मिश्रको मत झनै हाराहारी थियो। खासमा मिश्र केही मतले अघि थिए। यसपालि भने उनलाई मत दिन्छु भन्नेको संख्या सिंहलाई दिन्छु भन्नेको संख्या भन्दा आधा जस्तो छ।
मिश्र, बम र खरेलबीच झन्डै हाराहारीमा मत बाँडिएकाले यस्तो भएको हो। एमालेका उम्मेदवार पौडेलको मत केही कम छ।
पाँच वर्षपहिले मिश्रलाई मत दिएका कतिपय मतदाता उनीबाट पनि चिढिएका छन्। कतिपयले मिश्रले पार्टी परिवर्तन गरेको मन नपरेको बताए। कतिपयले भने मिश्रको सट्टा अब झन् नयाँ स्वतन्त्रलाई मत दिन्छु भनेका छन्।
यसअघि रवीन्द्र मिश्रलाई नै भोट हालेका आलोकनगरका धनकुमार जोशीले यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीमा भोट हाल्ने बताए।
'पुराना पार्टीले केही गर्न सकेनन् भनेर यसअघि पनि विवेकशील साझाका रवीन्द्र मिश्रलाई दिएको हो। तर उनले त्यो पार्टीलाई व्यवस्थापन गर्न सकेनन्। वैकल्पिक राजनीतिमा आश गरेका मतदातालाई धोका दिएर पुरानै पार्टीमा गए। त्यसैले यसपालि उनलाई भोट दिन्नँ। स्वतन्त्र पार्टीलाई भोट हाल्छु,' उनले भने।
पहिले मिश्रलाई मत दिएका केहीले बम र खरेललाई मत दिने बताए भने चार जनाले कसलाई दिने निर्णय नगरिसकेको बताए। मिश्रको बाट यसरी केही मत बाहिर देखिन्छ भने केही नयाँ मत कांग्रेस र एमालेबाट पनि उनलाई आउने देखिन्छ।
शान्तिनगरकी सुनिता काफ्लेले यसअघि प्रकाशमान सिंहलाई मत दिएकी थिइन्। यसपालि उनलाई नदिने बताइन्।
'धारामा खानेपानी आउँदैन। फोहोर बेलामा फाल्न पाइँदैन। सांसद चुनेर पठाएका प्रकाशमानले जनताको मुद्दा संसदमा उठाएको देख्दिनँ। बरू पढ्न-लेख्न नजान्नेहरू बोलेको देख्छु, प्रकाशमान बोलेको देख्दिनँ,' उनले भनिन्, 'खाली म गणेशमानको छोरा हुँ भन्दै हिँडेको मात्र देख्छु।'
यसपालि काफ्लेलाई अरू नेताहरूसँग पनि रिस उठको छ।
'आजकाल त दस जना राजाजस्ता नेता पाल्नुभन्दा एक जना राजा ठिक भन्ने लाग्छ,' उनले भनिन्, 'त्यसैले राजा ल्याउनुपर्छ भन्ने मिश्रलाई भोट दिने।'
शंखमुलकी ५४ वर्षिया मायादेवी डंगोलले पनि यसपालि रवीन्द्र मिश्रलाई भोट दिने बताइन्। पहिला उनले कांग्रेसलाई भोट दिएकी हुन्। पुरानालाई जिताएर समस्या जस्ताको तस्तै भएको यसपालि नयाँलाई दिने उनले बताइन्।
'सरकारी कार्यालयमा गयो काम हुँदैन। भ्रष्टाचार उस्तै छ। रवीन्द्र मिश्रले जिते भने राम्रो काम गर्लान् कि भनेर उनैलाई दिन लागेको,' उनले भनिन्।
अहिलेसम्म निर्णय गरिसकेका मतदातामध्येबाट रवीन्द्र मिश्रकै हाराहरीमा मत पाउने देखिएका पुकार बमलाई भोट दिनेहरूमा पनि पहिले कांग्रेस, एमालेलाई मत दिएका मतदाता पनि छन्। उनलाई मत दिने मन बनाएका ३० मध्ये आधाभन्दा धेरै मतदाताले यसअघि कांग्रेस-एमालेलाई मत दिएको बताए।
कालिकास्थानका ४९ वर्षीय किशोर महर्जनले पुकार बमले पहिले गरेका सामाजिक कामलाई हेरेर मत दिन लागेको बताए।
'२०७२ सालको भूकम्प र कोभिड महामारीको समयमा बमले धेरै जनालाई सहयोग पुर्याएका छन्। नयाँ मान्छे र नयाँ सोच भएकाले केही गर्लान् भनेर उनलाई दिन लागेको,' उनले भने।
पूर्व डिआइजी रमेश खरेललाई मत दिन्छु भन्ने लगभग सबै मतदता योभन्दा पहिले कांग्रेस वा एमालेलाई मत दिएकाहरू छन्। यस्ता धेरै मतदाताले खरेलको इमान र छविका कारण उनलाई मत दिन लागेको बताए। कतिपयले पुराना पार्टी र उम्मेदवारका हर्कत देखेर वाक्क दिक्क भएकाले खरेललाई दिन लागेको बताए।
काठमाडौं क्षेत्र नम्बर १ मा यसपालि देखिएको एउटा नयाँ कुरा भने एमालेका उम्मेदवारले पाउन लागेको कम मत हो।
गएको स्थानीय तह चुनावमा वडा अध्यक्षहरूले पाएको मत हेर्ने हो भने यहाँ कांग्रेस र एमालेको हाराहारी मत छ। कांग्रेसका वडा अध्यक्षहरूले करिब तीन सय मत मात्र धेरै ल्याएका थिए।
संसदीय चुनावमा भने एमालेका किरण पौडेललाई मत दिन्छु भन्ने मतदाता एकदमै कम भेटिए। कांग्रेसका प्रकाशमान सिंहलाई ५१ जनाले मत दिन्छु भन्दा हामीले भेटेकामध्ये जम्मा १६ जनाले मात्र पौडेललाई दिन्छु भने। धेरै मतदाताले उनलाई नचिनेको बताए। यो निर्वाचन क्षेत्रमा पछिल्ला तीन चुनावमा कांग्रेसका सिंहले जितेको र गएको निर्वाचनमा एमालेको उम्मेदवारसम्म नभएकाले त्यसको पनि प्रभाव परेको हुन सक्छ।
गएको संसदीय निर्वाचनमा वाम गठबन्धन गरेको एमालेले यहाँ माओवादीका अनिल शर्मालाई छाडिदिएको थियो। उनले पनि उल्लेख्य मत ल्याएका थिएनन्। यसपालि पनि एमालेको कतिपय भोट अरू उम्मेदवारलाई जाने देखिन्छ।
समानुपातिकतर्फ भने २३ जनाले एमालेलाई मत दिने बताए। समानुपातिकतर्फ एमालेको मत पनि सिंहले पाउने मतभन्दा कम छ। समानुपातिकमा कांग्रेसलाई ६९ जनाले मत दिने बताए।
यो क्षेत्रमा एमालेका परम्परागत मतदातामा यसपालि खासै उत्साह नभएकाले पनि उसको मत कम भएको हुन सक्छ। यसअघि एमालेलाई भोट हालेका चार मतदाताले त यसपालि भोट हाल्नै नजाने बताए। उनीहरूमध्ये तीन जनाले एमालेलाई त्यति धेरै भोट दिएर सरकारमा पुर्याए पनि केही नगरेको बताए। एक जनाले भने कारण खुलाउन मानेनन्।
शान्तिनगरका ७५ वर्षीय रत्नबहादुर रिमालले पनि एमालेले चित्त दुखाएकाले उसलाई यसपालि मत नदिने बताए।
'अरू दलहरूले पनि भ्रष्टाचार गरे होला। एमालेले पनि गर्यो, रोकेन। सरकारमा हुँदा निर्मला पन्तको हत्यारा पनि खोजेनन्। पीडित निर्मलाका आमा आएर कति गुहारिन्, तर उनले न्याय पाइनन्,' उनले भने, 'त्यसैले मेरो चित्त दुखेको छ।'
पहिला एमालेलाई मत दिएका सुकुम्बासी टोलका मिनकुमार रानामगरले पनि यसपालि भोटै नहाल्ने बताए।
उत्पीडित सुकुम्बासी समितिका अध्यक्ष समेत रहेका उनले भने, 'मैले त अचेल भोट हालेर के पाइन्छ भनेर आफैंलाई प्रश्न गर्न थालेको छु।'
आफूहरूलाई लालपुर्जा दिलाइदिने भन्दै सबैजसो पार्टीले भोट लगे पनि कसैले केही नगरेको उनको गुनासो छ।
'कसैलाई पनि विश्वास नै गर्न नसकिने भैयो। यी नेताहरूले आश्वासन मात्रै दिन्छन्। झुट बोल्ने पनि सीमा हुन्छ नि,' उनले झोक्किँदै भने।
यसरी काठमाडौं- १ मा मूलधारका दलहरू; कांग्रेस र एमालेसँग चित्त दुखाउने मतदाताको संख्या ठूलो छ। उनीहरू यसपालि अरू दलका उम्मेदवारलाई मत दिनेमा छन्। तर विकल्पमा आएका मुख्य उम्मेदवारहरूबीच मत बाँडिने देखिन्छ। त्यसको लाभ प्रकाशमान सिंहले पाउन सक्छन्। किनभने उनीसँग अहिले पनि कांग्रेसको मतको ठूलो हिस्सा बाँकी नै छ।
तर यसपालिको चुनावमा निर्णायक भने अहिलेसम्म कसलाई मत दिने भनेर निर्णय गरिनसकेका ३३ प्रतिशत मतदाता हुने सम्भावना ठूलो छ।
यो मतको आधा जति मत कुनै एक मुख्य प्रतिस्पर्धी उम्मेदवारले लगे भने प्रकाशमान सिहंलाई चुनाव जित्न कठिन हुनेछ। अहिलेको अनिर्णीत मत सबै प्रमुख उम्मेदवारमा बाँडिएको खण्डमा भने यो क्षेत्रबाट चौथो पटक प्रकाशमानले बाजी मार्ने सम्भावना हुन्छ।
त्यसो भयो भने मुलुकभरिबाट जितेर काठमाडौं- १ मा आउने सांसदहरूसँग प्रतिनिधि सभा भवन, नयाँ बानेश्वरमा सांसद पदको सपथ लिने लाइनमा सिंह पनि हुनेछन्।
(शोभा शर्मा, मनिका विश्वकर्मा, सुसन चौधरी, निर्मला घिमिरे, युनिक श्रेष्ठ, सविना कार्की र सविना श्रेष्ठले संयुक्त रूपमा गरेको स्टोरी)
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा